अब फोन गर्दा कम पैसा लाग्ने, यस्तो छ नयाँ शुल्क

काठमाडौं । नेपाल टेलिकमले घटाएको कल र एसएमएस शुल्क आजदेखि लागु भएको छ । टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको अन्तर-आवद्धता निर्देशिका अन्तर्गत अन्तर्देशीय अन्तर-आवद्धतामा उल्लेख गरिएको प्रावधान अनुसार शुल्क घटाउँदै नयाँ शुल्क लागु गरेको हो । नेपाल टेलिकमका ग्राहकले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई भ्वाइस कल गर्दा लागु गर्नुपर्ने महशुलदर स्वीकृतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाएकोमा नेपाल दूरसञ्चार प्राधिकरणको माघ १६ र १८ गतेको निर्णयानुसार स्वीकृत भई आएकोले परिमार्जित महशुल दर आज (माघ १८ गते) देखि कार्यान्वयनमा ल्याएको हो । सो अनुसार कम्पनीको तारवाला फोनबाट अर्को सेवा प्रदायकको मोबाइलमा कल गर्दा महशुल दर प्रति मिनेट एक रुपैयाँ १० पैसा मात्र लाग्नेछ । यसैगरी कम्पनीको जीएसएम, सीडीएमए र सि फोन पोस्टपेडबाट अर्को सेवाप्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रति मिनेट एक रुपैयाँ ८ पैसा तथा कम्पनीको जीएसएम, सीडीएमए र सि फोन प्रिपेड सेवाबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रति मिनेट एक रुपैयाँ ६२ पैसा लाग्नेछ । साथै, कम्पनीको जीएसएम तथा सीडीएमए सेवाको पोस्टपेड र प्रिपेडबाट अन्य सेवा प्रदायकको नेटवर्कमा सन्देश पठाउँदा लाग्ने शुल्क प्रति सन्देश एक रुपैयाँ १० पैसा लाग्नेछ । उल्लेखित दररेटमा करवापत लागु हुने रकम समावेश नगरिएको टेलिकमले जनाएको छ ।

एनसेलले ल्यायो आगमन कलमा कुरा गर्दा ट्याबलेट पाइने योजना

काठमाडौं । एनसेलका ग्राहकले आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसियाबाट गरेको कलमा कुरा गर्दा ट्याबलेट जित्ने मौका पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसँगको सहकार्यमा यो आकर्षक योजना ल्याएको हो । यो योजना मंगलबार (माघ १८) बाट १० दिन सम्म संचालनमा रहनेछ । यो योजना अवधिमा मलेसियाबाट आउने आगमन कलमा सबैभन्दा धेरै कुरा गर्नुहुने तीन जना ग्राहकले १/१ वटा फिल्पकेस र टी–पेन सहितको टीसीएल ट्याब टेनएस पाउनेछन् । ग्राहकले उठाएको आगमन कलको कुल संख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा तीन जना विजयी ग्राहकको नाम छानिने छ । मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै ट्याब जित्ने मौका पाउनेछन् । मलेसियाबाट आउने आगमन कलमा कम्तिमा दुई मिनेट कुरा गर्ने ग्राहक यो योजनामा सहभागी हुन योग्य हुनेछन् । मलेसियाबाट आउने कलमा कुरा गर्ने ग्राहक लगायत अन्य देशहरुबाट आएको कलमा कुरा गर्ने एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा २० रुपैयाँसम्म बोनस पनि प्राप्त गर्नेछन् । ग्राहकहरुले १७१२६ डायल गरी सजिलै यो सेवा निःशुल्क सुचारु गर्न सक्नेछन् । यसरी प्राप्त बोनस तीन दिनको लागि मान्य हुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्नेछन् ।  

आइएमएस सफ्टवेयर र सेलपेबीच सहकार्य सुरु

काठमाडौं । आइएमएस सफ्टवेयरले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि सेलपेसँग सहकार्य सुरु गरेको छ । सहकार्य सम्झौतामा आइएमएस सफ्टवेयरका तर्फबाट सन्तोष ताम्राकार र सेलकमका तर्फबाट पवन प्रधानले हस्ताक्षर गरेका छन् । सेलपे, सेलकम प्रालिद्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाताका साथै वालेटबाट पनि भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । सेलपेसँग सहकार्य पछि आइएमएस सफ्टवेयरका प्रयोगकर्ताहरुले आफ्ना क्रेडिटर्सहरुलाई आइएमएस सफ्टवेयर प्रयोग गरी सेलपे मार्फत भुक्तानी गर्न सक्नेछन् । सेलपेमार्फत विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी आदि वास्तविक समयमा गर्न सकिन्छ ।