कनेक्ट आइपिएस मार्फत ६ महिनामा साढे २ खर्बको कारोबार

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो ६ महिनामा कनेक्ट आइपिएसको कारोबारमा उल्लेख्य बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको (गत साउनदेखि पुससम्म) वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०७८ अनुसार कनेक्ट आईपिएस मार्फत २ खर्ब ४७ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत मंसिर महिनासम्म २ खर्ब २८ अर्ब ४५ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । पछिल्लो समय कनेक्ट आईपीएस मार्फत हुने कारोबारको रकममा बृद्धि हुन थालेको छ । पुस महिनामा कनेक्ट आईपिएस सँगै क्यूआर कोड, डिजिटल वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायत विद्युतीय माध्यमबाट हुने कारोबार रकममा बृद्धि भएको छ । पुसमहिनासम्म क्यूआर कोर्ड मार्फत ६ अर्ब ५२ करोड ५० लाख, डिजिटल वालेटमार्फत १६ अर्ब २७ करोड ६० लाख, मोबाइल बैैंकिङ मार्फत, ९४ अर्ब ४० करोड ९० लाख र इन्टरनेट बैंकिङ मार्फत १३ अर्ब ४९ करोड ६० लाख बराबरको कारोबार भएको छ । मंसिर महिनासम्म क्यूआर कोड मार्फत ६ अर्ब २८ करोड २२ लाख, डिजिटल वालेटमार्फत १५ अर्ब ५२ करोड ७६ लाख, मोबाइल बैंकिङ मार्फत ८८ अर्ब ५३ करोड १४ लाख, र इन्टरनेट बैंकिङ मार्फत १२ अर्ब ७३ करोड ४९ लाख रुपैयाँको कारोबार भएको थियो ।

मेरो डाक्टर एप १ लाखभन्दा बढी डाउनलोड

काठमाडौं । ‘मेरो डाक्टर’ ८ महिनाको छोटो अवधिमा १ लाखभन्दा बढी डाउनलोड भएको छ । ‘मेरो डाक्टर’ मिदास टेक्नोलोजीको हेल्थकेयर एप हो । कम्पनीको अनुसार यसले हालसम्म ३५ हजारभन्दा बढी बिरामीहरुलाई सेवा पुर्याइसकेको छ । यस्तै मेरो डाक्टरमा सूचीवद्ध अस्पतालहरुबाट ३ महिनाको अन्तरालमा १० हजारभन्दा बढी अस्पतालको ओ।पी।डी।टिकट बिरामीहरूले आफैँ अस्पतालमा नगई घरबाटै भुक्तानी गरी सेवा लिएको कम्पनीले जानकारी दिएको छ । मिदास टेक्नोलोजी विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा संलग्न छ । यस कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्ण रूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको छ । मिदासले देशभरका १ सय ५० भन्दाबढी अस्पतालहरूलाई व्यवस्थापन पद्वतिमा सहयोग गर्दै आइरहेको छ ।

धनगढीमा डिशहोमको फाईबरनेट सह वितरकको शोरुम उद्घाटन

धनगढी । धनगढीको चटकपुरमा डिशहोमकाे फाईबरनेट सह वितरकको शोरुम उद्घाटन भएको छ । डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सो शोरुमको सञ्चालन गरीएको कम्पनीले जनाएको छ । शोरुम उद्घाटन डिशहोमका तर्फबाट सेल्स अफिसर कमल रिमाल र सेल्स अफिसर लक्ष्मी राज जोशीले गरेका थिए । कम्पनीको अनुसार उक्त शोरुमको सञ्चालन कृष्ण ईन्टरप्राईजेजले गर्नेछ । विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको कृष्ण ईन्टरप्राईजेजले अब डिशहोम फाईबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शोरुममार्फत दिनेछ ।