काठमाडौं उपत्यकाभित्रै छैन मोबाइल फोनको गुणस्तर, टेलिकमभन्दा एनसेल अगाडि
काठमाडौं । काठमाडौं उपत्यका भित्रै मोबाइल फोन सेवाको गुणस्तर कमजोर रहेको पाइएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल सेवाको गुणस्तर परीक्षण रिपोट अनुसार कुनै पनि सेवाप्रदायक कम्पनीले गुणस्तर कायम नगरेको पाइएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम गरी तीन सेवा प्रदायक कम्पनीको मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको थियो । तीन टेलिकम कम्पनीहरुको नेटवर्कभित्र प्राधिकरणले गत पुस १६ गतेदेखि २७ गतेसम्म ११ दिनको अवधिमा कल लाग्ने समय र कल स्थापित हुन लाग्ने दरको परीक्षण गरेको थियो । प्राधिकरणले बुधबार सार्वजनिक गरेको परीक्षण रिपोट अनुसार कल स्थापना हुने लाग्ने समय र कल स्थापना हुने सफलताको दरमा अन्य दुई सेवाप्रदायक कम्पनीभन्दा अगाडी एनसेल देखिएको छ । उक्त परीक्षणमा भ्वाइस कलका लागि तोकिएको मापदण्ड नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले पूरा नगरेतापनि टेलिकम र स्मार्ट भन्दा अगाडी एनसेल देखिएको हो । परीक्षणअनुसार कल सम्पर्क सफल हुने दरमा तीनै सेवा प्रदायक असफल भएका छन् । प्राधिकरणले कल सम्पर्क हुने दर ९९.९९ प्रतिशत तोकेकामा एनसेलको औसत दर ९२, टेलिकमको ८९ र स्मार्ट टेलिकमको ७२ प्रतिशत रहेको छ । यस्तै, कल सम्पर्क हुने समय पूरा गर्न पनि तीनवटै सेवा प्रदायक असफल छन् । पाँच सेकेन्डभन्दा कम समयमै कल सम्पर्क हुनुपर्ने मापदण्ड रहेकामा एनसेलको औसत दर ६.२४, टेलिकमको ९.३२ सेकेन्ड र स्मार्ट टेलिकमको ११.५४ सेकेन्ड रहेको छ । कल ब्लक दर २ प्रतिशतभन्दा कम हुनुपर्नेमा तीनवटै सेवा प्रदायकको यस्तो दर बढी नै देखिएको छ । जसमा एमसेलले औसतमा ८ प्रतिशत, नेपाल टेलिकमको ११ प्रतिशत र स्मार्ट टेलिकमको २८ प्रतिशत देखिएको छ । कल सम्पर्क विच्छेद हुने दर (कल ड्रप) २ प्रतिशतभन्दा कम हुनुपर्नेमा एनसेलले भने मापदण्ड पालना गरेको पाइएको छ । कल ड्रप दर औसतमा १.१८ प्रतिशत हुनुपर्नेमा एनसेलको १.१८ प्रतिशत रहेको छ । नेपाल टेलिकमको ४.३८ प्रतिशत र स्मार्टका १० प्रतिशत रहेको छ । प्राधिकरणले परीक्षण गर्दा चलायमान सवारीसाधनमा जडान गरिएको परीक्षण उपकरणबाट लगातार फोनकल वा डेटा प्रयोग गरी मोबाइल नेटवर्कको मुख्य सेवा मानकहरुको तथ्यांक संकलन गरेको जनाएको छ ।
अब खल्तीबाटै ब्लुबुक नवीकरणको पैसा तिर्न सकिने
काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले खल्ती डिजिटल वालेट प्रयोग गरि ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको छ । खल्तीले निजी सवारी साधन भएका प्रयोगकर्ताहरुको लागि लक्षित गर्दै सो सुविधा ल्याएको हो । यससँगै अब आफ्नो ब्लुबुकको शुल्क बिना कुनै झन्झट अनलाइनबाटै बिल तिर्न मिल्ने छ । यो सेवा बागमती प्रदेशका खल्ती प्रयोगकर्ताहरुले मात्र पाउने भएका छन् । त्यस्तै, आगामी दिनमा यो सुविधा देशभरि उपलब्ध गराइने छ। यस्तो छ प्रकृया प्रयोगकर्ताहरुले भुक्तानी गर्नु पुर्व सर्वप्रथम आफ्नो सवारीको सम्पूर्ण आवश्यक विवरणहरू अनलाइन भेहिकल रजिष्ट्रेसन सिस्टम (भीआरएस) मा दर्ता गर्नुपर्ने हुन्छ । यो कार्य नागरिक एप या यातायात व्यवस्थापन सूचना प्रणालीको वेबसाइट मार्फत सहजै गर्न सकिन्छ । यसरी गरिएको दर्ता नेपाल सरकारद्वारा मान्यता प्राप्त हुन्छ । एक पटक दर्ता प्रक्रिया पूरा भएपछि प्रयोगकर्ताहरूले विभिन्न चरणहरू प्रयोग गरेर नवीकरण ब्लुबुक गर्न सक्छन् । पहिला खल्ती एप भित्र भएको गभरमेन्ट सर्विसेस् मा रहेको ‘ब्लुबुक रिन्यु’ मा नवीकरणमा ट्याप गर्ने र त्यसपछि आवश्यक विवरणहरू भरि भुक्तानी गर्ने खल्तीले जनाएको छ । नयाँ प्रयोगकर्ताले भुक्तानी गर्न साथ आफूले नवीकरण गरेको ब्लुबुकको बिल तुरुन्तै खल्तीमा प्राप्त हुनेछ भने भीआरएसद्वारा उपलव्ध गराईने बिल प्रयोगकर्ताहरुले १० मिनेटमा खल्तीबाटै प्राप्त गर्नेछन् । खल्ती होमपेजको ट्रान्ज्याक्शन मा गइ दुबै बिल प्राप्त गर्न सकिन्छ । थप प्रक्रियाको लागि ३० दिन भित्र सम्बन्धित सरकारी कार्यालयमा गई प्राप्त औपचारिक बिल पेश गर्नु पर्ने खल्तीले जनाएको छ ।
सुबिसुको ६५० एमबिपिएस इन्टरनेट र टिभी सेवा मात्र १ हजार ७७० रुपैयाँमा
काठमाडौं । टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले सेवाग्राहीको निम्ति सुपर रफ्तार अफर ल्याएको छ । यस अफर अन्तर्गत सेवाग्राहीले ६५० एमबीपिएससम्मको उच्च गतिको इन्टरनेटको प्रयोग गर्न पाउनेछन् । कम्पनीको अनुसार ग्राहकहरुले ६५० एमबीपिएसको इन्टरनेटको साथमा ४ वटा क्लीयर टिभी सब्सकृप्सन वार्षिक सेवा मात्र १७७० रुपैयाँ प्रति महिनामा प्राप्त गर्नेछन् । यसमा सर्त तथा नियमहरु लागु हुने कम्पनीले जनाएको छ ।