ग्राहकको विश्वाश जित्दै सीजी नेट, उपत्यकाभर सेवा विस्तार
काठमाडौं । सीजी नेटले काठमाडौं भरी सेवा विस्तार गरेको छ । चौधरी ग्रुपको इन्टरनेट सेवा प्रदायक संस्था सीजी नेटले आफ्नो नेटवर्क काठमाडौं उपत्यकाको सबैजसो क्षेत्रमा विस्तार गरेको हो । सीजी नेटका प्रमुख कार्यकारी अधिकृत संजय पोखरेलले अब काठमाडौं उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन आफुहरु सक्षम भएको जानकारी दिए । ‘हामी काठमाडौंका सबै नागरिकलाई चाहिएको बेला नै सेवा दिन सक्ने भएका छौं’ उनले भने, ‘सस्तो मुल्यमा उच्च गतिको गुणस्तरीय सेवा दिएकैले हामी छोटो समयमै लोकप्रिय भएका हौँ ।’ इन्टरनेट प्रयोगकर्ताले सीजी नेटप्रति देखाएको विश्वासले आफुहरुलाई हौसला प्रदान गर्दै थप जिम्मेवार बनाएको उनको भनाई छ । ९ सय ९९ रुपैयामै १२० एमविपिएस गति सहितको योजनाले सुरुवातबाटै चर्चा बटुल्न सफल सीजी नेटले ६ सय ४९ रुपैयामै पचास एमविपिएसको गतिमा इन्टरनेट दिने ‘सुपर सस्तो प्याकेज’ पनि ल्याएको छ । नयाँ प्याकेज ल्याएपछि बजारमा माग व्यापक बढेको कम्पनीले जनाएको छ । गत जेठमा काठमाडौंका सिमित क्षेत्रबाट इन्टरनेट सेवाको सुरुवात गरेको सीजी नेटले हाल आफुलाई काठमाडौंका सबै भुभागमा पु¥याउदा ग्राहकसंख्या दश हजार नाघेकोे छ । सस्तो मुल्यमा तीव्र गतिको इन्टरनेट खोज्नेहरुको लागि सीजी नेट सबैभन्दा उपयुक्त विकल्प रहेको कम्पनीको दाबी छ ।
राजमार्ग विस्तारका क्रममा अप्टिकल फाइबर काटिँदा नेटवर्कमा समस्या
फाइल फाेटाे कावासोती । राजमार्ग विस्तारका क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा दिनहुँजसो नेटवर्कको समस्या हुन थालेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर क्षेत्रमा नारायणगढ–बुटवल सडक विस्तारका क्रममा पटक–पटक अप्टिकल फाइबर काटिँदा नेटवर्कको समस्या भएको हो । बिहीबारमात्रै अरुणखोला क्षेत्रमा बाटो विस्तारका क्रममा अप्टिकल फाइबर काटिँदा दिनभरजसो नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या भएको थियो । यो समस्या नवलपुरमा अहिले पटक–पटक हुन थालेको छ । मोबाइलमा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने गर्दा नेपाल टेलिकमका सेवाग्राही समस्यामा परेका छन् । नेपाल टेलिकमको मोबाइल र ल्याण्डलाइन फोन दुवैमा समस्या हुने गरेको छ । जिल्लाको गैँडाकोट थुम्सीबाट दाउन्नेसम्मका सेवाग्राही समस्यामा पर्दै आएका छन् । गैँडाकोट बजार क्षेत्रमा भने भरतपुरबाट सेवा प्रवाह हुने भएकाले समस्या नभएको नेपाल टेलिकम कावासोती शाखाका कार्यालय प्रमुख चन्दनकुमार झाले जानकारी दिए। गैँडाकोट बजार क्षेत्रबाहेक अन्य ठाउँमा भने बाटो विस्तारको क्रममा अप्टिकल फाइबर काँटिदा समस्या भएको उनले बताए । पटक–पटक विभिन्न क्षेत्रमा तार काँटिदा समस्या बल्झिएको उनले बताए । प्राविधिकले तार काटिएका ठाउँमा मर्मत गरी सेवा प्रदान गर्न खटिएको भए पनि बाटो विस्तारका क्रममा पटक–पटक तार काँटिदा समस्या जटिल बन्दै गएको कार्यालय प्रमुख झाले सुनाए । बाटो विस्तारका क्रममा अप्टिकल फाइबर भएको क्षेत्रको पहिचान गरी सावधानी नअपनाउँदासमेत समस्या भएको छ । धेरै ठाउँमा काटिएका तार मर्मत गरी सेवा प्रदान गरिएकाले कुनै पनि समय सेवा अवरुद्ध हुनसक्ने र सेवाको गुणस्तर कम हुनसक्ने कार्यालय प्रमुख झाले बताए । “पटक–पटक तार काटिएको छ, जसोतसो मर्मत गरी सेवा प्रदान गरिरहेका छौँ”, उनले भने, “तारमा धेरै क्षति भएकाले सेवा कुनै पनि समय अवरुद्ध हुने, कम गुणस्तरको हुने, बोलेको नबुझिने हुने समस्या आउन सक्छ ।” यसअघि बिछ्याइएका नेपाल टेलिकमका तार पुरानो बाटो नजिकै रहेका र अहिले विस्तार गर्दा ती तार झण्डै बाटोको बीच भागमा पर्ने अवस्था छ । यही अवस्थामा सेवा प्रदान गर्न समस्या हुने कार्यालय प्रमुख झाले बताए । नयाँ अप्टिकल फाइबरसहित व्यवस्थापनका लागि हालै केन्द्रबाट कुनै योजना नरहेको उनले बताए । “हालै नयाँ योजना केही छैन, तर केन्द्रमा समस्याका बारेमा भन्छौँ”, उनले भने। बाटो विस्तारका क्रममा पटक–पटक तार काटिँदा नेपाल टेलिकमका सेवाग्राहीले लामो समयसम्म समस्या भोगिरहनुपर्ने अवस्था देखिएको छ ।
हिमपातका कारण टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध
काठमाडौं । दुई दिनदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ । मङ्गलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । “हिमपातले गाउँ सञ्चारविहीन भएको छ, मौसम सफा भएपछि मर्मतकार्य हुन्छ”, अध्यक्ष छन्त्यालले भने । त्यसैगरी धौलागिरि–४ मुदीको सिंकोस बगर क्षेत्रमा भएको हिमपातले घरका छाना ढाकिएर सेताम्मे बनेका छन् । धौलागिरि पदमार्गले समेटिएको बगर, सिंकोसलगायतका बस्तीमा घरका छाना ढाकिएका छन् भने जमिन पूरै ढाकिएको छ । रुखसमेत हिउँले सेताम्मे बनेका छन् । हिउँ परेपछि कृषक खुसी भए पनि पशुपालन गर्ने किसान भने घाँसपातको बन्दोबस्त मिलाउन नसकेर समस्यामा परेका छन् । बुधबार म्याग्दीको माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ । घर र हिँड्ने बाटो पनि हिउँले पुरिएपछि स्थानीयवासीलाई निकै सकल भएको मुदीका बलबहादुर विकले बताए । समुद्री सतहदेखि तीन हजार २२० मिटर उचाइमा अवस्थित जिल्लाको अतिविकट मानिने गूर्जा गाउँ तथा आसपासका क्षेत्र भारी हिमपात भएको छ । गुर्जा गाउँ आसपासमा आवतजावत गर्ने पदैलमार्गमा समेत छपक्कै हिमपात छोपेका कारण गाउँको जनजीवन कष्टकर बनेको छ । चिसो र हिमपातले बालबालिका, वृद्धवृद्धालाई जोखिम मुस्किल भएको छ । गाउँपालिकाको वडा नं १ गुर्जा र वडा नं ३ लुलाङको सिमाना पर्ने देउराली आसपासमा समेत हिमपात भएपछि आवतजावतसमेत रोकिएको छ । गूर्जामा लगातार हिमपात भए करिब चार फिटसम्म हिउँ जम्ने गरेको छ ।