नेपाल टेलिकमको सजिलो अनलिमिटेड पोस्टपेड प्याक, यसरी प्रयोग गर्न सकिन्छ
काठमाडौं । नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि ल्याएको ‘सजिलो अनलिमिटेड पोस्टपेड प्याक’ लोकप्रिय बनिरहेको छ । दैनिक प्राप्त हुने प्याक सकिए पनि थप शुल्क बिना नै प्याकेज अवधिभरी नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस कल गर्न सकिने टेलिकमले जनाएको छ । त्यसैगरी प्याकमा उपलब्ध डाटा लिमिट सकिएपछि प्याकेजको बाँकी अवधिभरी ६४ केबीपीएसको स्पिडमा निःशुल्क डाटा चलाउन सकिनेछ । प्याक अवधिभरी ग्राहकले आफ्नो आवश्यकता अनुसार थप सुविधाहरु प्राप्त गर्न चाहेमा एड अन प्याक समेत खरिद गरी चलाउन सक्नेछन् । “सजिलो अनलिमिटेड प्याक” अन्तर्गत पोस्टपेडमा विभिन्न ४ प्याकहरु रहेका छन् । जसमा ५९९ रुपैयाँ, ७९९, ९९९ र एक हजार ४९९ रुपैयाँका का प्याकहरु उपलब्ध छन् । सजिलो अनलिमिटेड पोस्टपेड ५९९ रुपैयाँ अफर अन्तर्गत ३० दिनसम्म चलाउन मिल्नेगरी ५९९ रुपैयाँमा अनलिमिटेड अननेट (नेपाल टेलिकमको नेटवर्कमा कल गर्न सकिने) भ्वाइस सेवा उपलब्ध हुनेछ । सजिलो अनलिमिटेड पोस्टपेड ७९९ अफर अन्तर्गत जम्मा ७९९ रुपैयाँमा अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन १ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जिबी डाटा, २०० वटा अननेट सन्देश, ५० मिनेट अफ नेट भ्वाइस (अन्य नेटवर्कमा समेत कल गर्न सकिने) र ५० वटा अफ नेट सन्देश पठाउने सुविधा उपलब्ध हुनेछ । सजिलो अनलिमिटेड पोस्टपेड ९९९ अफर अन्तर्गत जम्मा ९९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस र ४०० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन २ जिबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जिबी डाटा, १०० मिनेट अफ नेट भ्वाइस र १०० वटा अफ नेट सन्देश पठाउन सकिन्छ । सजिलो अनलिमिटेड पोस्टपेड १४९९ अफर अन्तर्गत जम्मा १४९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस, १००० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन ४ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने १२० जिबी डाटा, २०० मिनेट अफ नेट भ्वाइस र २०० वटा अफ नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुनेछ । उल्लेखित सबै प्याक लिंदा जिएसएम पोस्टपेडमा लागु हुने रेन्टल चार्जवापतको ३८४ रुपैयाँ समेत जोडेर प्याक लिन सकिन्छ । यी प्याकहरु *1415# डायल गरी प्राप्त निर्देशन अनुसार वा सहज रुपमा नेपाल टेलिकम एपबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । एड अन प्याक कसरी खरिद गर्ने ? कम्पनीले उपलब्ध गराउँदै आएको विभिन्न ४ प्याकेजमा प्रतिदिन १ जीबी, २ जीबी र ४ जीबी प्रयोग गर्न सकिने डाटा सकिएमा प्याकेजको बाँकी अवधिभरीका लागि सस्तो दरको एड अन प्याक खरिद गर्न सकिन्छ । यस अन्तर्गत २९९ रुपैयाँमा प्रतिदिन १ जिबीका दरले ३० दिनसम्म उपयोग गर्न सकिने ३० जिबी डाटा सेवा एड अन प्याकको रुपमा खरिद गर्न सकिन्छ । प्रतिदिन प्रयोग गर्न सकिने १ जिबी डाटा सकिएमा ६४ केबिपिएसको निःशुल्क अनलिमिटेड डाटा सेवा भने उपलब्ध नै हुनेछ । यदि ग्राहकले ६४ केबिपिएसभन्दा बढी गतिको डाटा सेवा प्रयोग गर्न चाहेमा जम्मा ३० रुपैयाँमा १ जिबी, ४० रुपैयाँमा २ जिबी र ५० रुपैयाँमा ३ जिबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी एड अन प्याक कै रुपमा खरिद गर्न सकिन्छ । यसैगरी अटम अफरमा ग्राहकले ३० दिनसम्म प्रतिदिन १ जिबी प्रयोग गर्न सकिने ३० जिबी डाटा सेवाको प्याक ५९९ रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । सो अफर खरिद गरेपश्चात् ग्राहकले सुलभ दरमा भ्वाइस सेवा पनि लिन चाहेमा जम्मा २९९ रुपैयाँमा ३० दिनसम्म अनलिमिटेड प्रयोग गर्न सकिने एड अन प्याक खरिद गर्न सकिन्छ । यस प्याकेजमा पनि प्रतिदिन प्रयोग गर्न सकिने १ जिबी डाटा सकिएमा ६४ केबिपिएस अनलिमिटेड डाटा सेवा प्याकेजको बाँकी अवधिभरी निःशुल्क उपलब्ध हुनेछ । सो भन्दा बढी गतिको सेवा लिन चाहेमा जम्मा ३० रुपैयाँमा १ जिबी, ४० रुपैयाँमा २ जिबी र ५० रुपैयाँमा ३ जिबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिनेछ ।
‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१’ बाट गुणकेशरी प्रधान सम्मानित
काठमाडाैं । नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१’ बाट सम्मानित भएकी छिन् । लिभिङ विथ आइसिटीले आयोजना गरेको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ अन्तर्गत रहेका विभिन्न १२ विधा मध्ये आइसिटीमा योगदान गर्ने महिलालाई सम्मान गर्ने वुमन आइकन आइसिटी अवार्ड विधामा प्रधानले यो पुरस्कार जितेकी हुन् । काठमाडौंको सोल्टी होटलमा शुक्रवार आयोजना भएको ग्राण्ड फिनालेमा एनसेल वुमन आइकन आइसिटी अवार्ड प्रधानलाई प्रदान गरिएको हो । प्रधानलाई एनसेलले आइसिटीमा उनको योगदानको कदर गर्दै विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एण्ड इन्क्लुशन (डीइआइ) लाई सधै प्रोत्साहन गर्ने कम्पनीको नीति अनुरुप आइसिटी अवार्डमा आवद्ध भई ३ लाख रूपैयाँ नगद सहित पुरस्कार प्रदान गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक दिपेश आचार्य, एनसेलका चिफ इन्फरमेशन अफिसर विशालमणी उपाध्याय र एनसेलका कर्पोरेट कम्युनिकेशन तथा सीएसआर प्रमुख बिशाखा लक्ष्मी खड्काले अवार्ड विजेता प्रधानलाई शिल्ड, सर्टिफिकेट तथा चेक संयुक्तरुपमा प्रदान गरेका थिए । प्रधानले नेपालको आइसिटी क्षेत्रमा ३५ वर्ष देखि अनवरतरुपमा योगदान पुर्याउँदै आएकी छिन् । नेपाल टेलिकम तथा सरकारी संस्थामा मात्रै करिब ३१ वर्ष महत्वपुर्ण स्थान र पदमा रहि काम गरेकी प्रधान हाल वुमन इन आइटी संस्थालाई नेतृत्व गरिरहेकी छिन् । प्रधानले नेपाल टेलिकमको कम्प्युटर इन्जिनियरको रूपमा करियर सुरु गरेकी थिइन् भने प्रवक्ता र निर्देशक जस्तो गरिमामय पदमा रहेर काम गरेकी थिइन् । प्रधानले सरकारी सेवाबाट अलग भएपनि नेपालमा सूचना प्रविधिमा महिलाहरुको सहभागिता र दक्षता बढाउन विभिन्न ढंगले काम गरिरहेकी छिन् । केहि वर्षदेखि वुमन इन आइटी सस्थाको अध्यक्षमा रहि यस क्षेत्रमा महिला शशत्तिकरण र सहभागिता बढाउन सचेतनात्मक कार्यक्रम, तालिम तथा रिसर्चहरुमा काम गरिरहनु भएको प्रधानले यस वर्षको वुमन आइकन आइसिटी अवार्ड प्राप्त गरेकी हुन् । वुमन आइकन आइसिटी अवार्ड विजेता प्रधानसँगै अन्य ११ विधामा विशिष्ट व्यक्ति, संस्था, प्रडक्ट र स्टार्टअपहरुले अवार्ड प्राप्त गरेका छन् । यस अवार्ड कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण, एनसेल लगायत ३० बढि सस्थाहरुको सहकार्य रहेको थियो ।
टेलिकमले स्थानिय तहको सबै कार्यलयमा इन्टरनेट र टेलिफोन सेवा दिने
काठमाडौं । नेपाल टेलिकमले देशका सबै स्थानीय तहमा रहेका सरकारी कार्यालयहरुमा टेलिफोन तथा ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । टेलिकमले स्थानिय तह अन्तर्गतकाे वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र स्थानीय तहमा रहेका अन्य सरकारी कार्यालयहरुमा टेलिफोन तथा ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको हाे । यसकाे लागि बिहिबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल टेलिकमबीच सम्झौता भएकाे छ जसम मन्त्रालयको तर्फबाट सहसचिव डा. गोपीकृष्ण खनाल र कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यी कार्यालयहरुमा टेलिफोन तथा ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने सम्बन्धमा माग संकलन तथा कार्यक्रम कार्यान्वयनको लागि सम्बन्धित स्थानीय तह र नेपाल टेलिकमसँग आवश्यक सहजीकरण तथा समन्वय गर्नेछ । त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणमा रहेको ग्रामीण दूरसञ्चार कोष प्रयोग गरी नेपाल टेलिकममार्फत सञ्चालित परियोजना कार्यान्वयनमा मन्त्रालयले नेपाल टेलिकम र स्थानीय तहलाई आवश्यक समन्वय र सहजीकरण गर्नेछ । साथै मन्त्रालयले सेवा विस्तारको लागि स्थानीय तहमार्फत आवश्यक पर्ने राइट अफ वे उपलब्ध गराउन सहजीकरण गरिदिने छ । सम्झौता अनुसार नेपाल टेलिकमले सबै स्थानीय तहहरु र अन्तर्गतका वडा कार्यालयहरु, स्वास्थ्य कार्यालयहरु, सामुदायिक विद्यालयहरु र अन्य सरकारी कार्यालयहरुमा टेलिफोन तथा ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउन मन्त्रालयको समन्वयमा योजना तर्जुमा तथा कार्यान्वयन गर्नेछ । स्थानीय तहको वेबसाइट तथा अनलाइन सेवाको लागि प्रयोग हुने वेब बेस्ड एप्लिकेसन को लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउने छ । यसका लागि कम्पनीले विभिन्न प्याकेजको व्यवस्था गर्नेछ भने ग्रामीण सूचना केन्द्रहरुको स्थापना, हार्डवेयर तथा सफ्टवेयरको व्यवस्था र डिजिटल नेपालको अभियानलाई संस्थागत गर्न र विभिन्न सेवा विस्तारको लागि पूर्वाधार विकास एवं विस्तार गर्न आवश्यक सहकार्य गर्नेछ । त्यसैगरी हाल भीस्याटमार्फत भ्वाइस सेवा मात्र उपलब्ध भइरहेका अति दुर्गम स्थानमा दूरसञ्चार सेवा प्रदायकहरु समेतको सहकार्यमा मोबाइल ब्रोडब्याण्ड सर्भिस लगायतका सेवा सञ्चालन गर्ने गराउने छ ।