नेपाल टेलिकमको नेटवर्कमा समस्या, नियामकले बनायो छानबिन समिति

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा पटक/पटक समस्या देखिएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले छानबिन समिति गठन गरेको छ । नियामक निकायको रुपमा रहेको प्राधिकरणले टेलिकमको नेटवर्कमा पछिल्लो समय धेरै समस्या देखिएको भन्दै विजयकुमार रोयको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । प्राधिकरणले मंगलबार अनुगमन विभागका निर्देशक रहेका रोयको संयोजकत्वमा समिति गठन गरेको हो । सरकारी स्वामित्वको लगानीमा सञ्चालीत नेपाल टेलिकमको नेटवर्कमा निरन्तर समस्या आएपछि किन र कसरी समस्या आउँछ, एक पटक समस्या आउँदा कति नोक्सान भयो लगायतका विषयमा उक्त समितिले छानबीन गर्नेछ । संयोजक रोय उक्त समितिले सोमबारसम्म प्रतिवेदन सार्वजनिक गर्ने बताए । यसअघि आएको समस्याका बारेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले छानवीन गरेको थियो । बुधबार दिउँसो १ बजेदेखि टेलिकमको नेटवर्कमा समस्या देखिएको थियो । दिउँसो टेलिकमको कुनैपनि नेटवर्कमा फोन गर्दा फोन नै नलागी काटिने, म्यासेजिङ र डेटामा समेत समस्या देखिएको थियो ।

भोटेकोसीमा पहिलोपटक फोन र इन्टरनेट सेवा सुरु

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको बगाम सञ्चारको पहुँचमा जोडिएको छ । नेपाल टेलिकमकले भोटेकोसी गाउँपालिका–१ बगाममा मोबाइलको टावर निर्माण गरेपछि बगामवासी सञ्चारको पहुँचमा जोडिएका हुन् । बल्ल बगामवासीको मोबाइलमा कुरा गर्ने सपना पूरा भएको छ । गाउँपालिकाका अनुसार उक्त स्थानमा यसअघि मोबाइल सेवाको पहुँच थिएन । ग्रामीण बस्तीलाई सञ्चारको पहुँचमा जोड्न टेलिकमले थ्रिजी सेवा विस्तार गरेको गाउँपालिकाले जनाएको छ । उक्त क्षेत्रका जनतालाई सञ्चारको पहुँचमा ल्याउन सो टावर विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाइएको भोटेकोसीका अध्यक्ष पासाङ नुर्पु शेर्पा बताउँछन् । थ्रिजी सेवा एकसाथ सञ्चालनमा आएपछि गाउँपालिकाका बगाम, छगाम, साबुखानी, गिप्ते, तारतुङ, सेबुङलगायत गाउँका झण्डै एक सय ६० परिवार लाभान्वित भएका स्थानीय साङ्गे लामा बताउँछन् । यसअघि फोनमा कुरा गर्न एक घण्टा पैदल हिँडेर लिस्ती पुग्नुपर्ने बाध्यता थियो । रासस

एनसेलको तीन दिने ह्याकाथनको पहिलो विजेताले पाए साढे एक लाख रुपैयाँ

काठमाडौं । एनसेल आजियाटासँगको प्रमुख सहकार्यमा शिक़्वल फाउन्डेसनले आयोजना गरेको तीन दिने नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन ‘ह्याकिंग फर ह्युम्यानिटी’ सम्पन्न भएको छ । कार्यक्रममा देशका विभिन्न ठाउँबाट आएका ४८ सहभागीहरुले एकै ठाउँमा बसेर समाजका विभिन्न क्षेत्रका लागि उपयोगि हुने सोलुसन्सहरुमा काम गरेका छन् । यस ह्याकाथनको अन्तिम दिन आइतबार सम्बन्धित समुहहरुको पिचिङ् पश्चात विजयी समुहहरुको घोषणा गरिएको थियो । ह्याकाथनमा सहभागी १६ टिममध्ये टिम कोड क्राफ्टर्सले नगद पुरस्कार १ लाख ५० हजार रुपैयाँसहित प्रथम पुरस्कार जितेको छ । टिम क्राफ्टर्सको सोलुसनले सांकेतिक भाषा बुझ्न मद्दत गर्दछ । त्यस्तै पर्यटक क्षेत्र लक्षित सोलुसन बनाउँदै टिम सहयात्रीले दोश्रो स्थानमा रहन सफल भई एक लाख रुपैयाँ जित्न सफल भएको छ । ज्येष्ठ नागरिकलाई ध्यानमा राख्दै टिम पाईले बनाएको अर्लट सिस्टमले तेश्रो स्थान हासिल गर्दै ७५ हजार रुपैयाँ जित्न सफल बनेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यस्ता ह्याकाथनले सूचना प्रविधि क्षेत्रका युवा र उत्साही महिलाहरुलाई आफ्ना नवीन सोचलाई वास्तविकतामा बदल्न र उनीहरुमा रचनात्मकता बढाउन सहयोग गरेको बताए । ‘यो कार्यक्रम महिलाहरुलाई सूचना प्रविधिको क्षेत्रमा आफ्नो वृत्तिविकास गर्नका लागि प्रेरणादायी साबित भएको छ । यसले महिला र नन-बाइनरी छात्राहरुलाई अवसरका साथै उनीहलाई आवश्यक प्लेटफर्म प्रदान गरेको छ ।’ अनुरुप शिक़्वल फाउन्डेसनसँग ह्याकाथनका लागि सहकार्य गरेको थियो । गर्ल्स इन टेक र वुमन इन बिग डेटा सझेदारको रुपमा रहेको यस कार्यक्रमले डेभलपर्स, डिजाइनर्स र उद्यमीहरुलाई एक साथ नविन सोलुसन्स्हरु विकासको लागि अवसर प्रदान गरेको थियो । माघ २७ देखि २९ सम्म आयोजना गरिएको यस ह्याकाथनमा विभिन्न विषयहरुमा टक कार्यक्रम र कार्यशालाहरु आयोजन गर्दै सहभागी छात्राहरुलाई आफ्नो प्रोजेक्टको विकासको लागि चाहिने सिपहरु प्रदान गरियो । पहिलो दुई दिन आफ्नो सोलुसनमा काम गरी सहभागी टिमहरुले तेस्रो दिन आइतबार निर्णायक मण्डलसामु आफ्नो आइडियाको पिचिङ गरेका थिए । यस ह्याकाथनमा सहभागी हुँदा सहभागीहरुले विभिन्न क्षेत्रका विज्ञ व्यक्तित्वहरुबाट प्रशिक्षण पाएका थिए । शिक़्वल फाउन्डेसनका सह-संस्थापकहरु आस्था शर्मा र मेलिशाा घिमिरेले सहभागी सबैलाई उनीहरुको उत्साह र कडा परिश्रमकोलागी कृतज्ञता व्यक्त गरे र आगामी ह्याकाथनको लागी तत्पर रहेको बताए । यस कार्यक्रमले सूचना प्रविधिमा रहेका महिला र नन-बाइनरी ह्याकरहरुलाई एकअर्कासँग सहकार्य गर्न र आफ्ना नविन सोचलाई सोलुसन्समा परिवर्तन गर्न प्लेटर्फम प्रदान गरेको थियो । महिलालाई लक्षित गर्दै आयोजना गरिएको यो नेपालकै ठूलो र पहिलो ह्याकाथन हो । यस्ता कार्यक्रमले सूचना प्रविधिको क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व र आबद्घता बढाउँदै डिजिटल अर्थतन्त्रमा महिलाहरूको समान सहभागितालाई बढाउन मद्दत गर्दछ र समस्त समाज र अर्थतन्त्रलाई फाइदा पुर्याउँछ ।