मस्कले यहुदी विरोधी पोस्ट समर्थन गरेको भन्दै एक्समा एप्पललगायतले रोके विज्ञापन

एजेन्सी । इलन मस्कले एक्स (ट्वीटर) प्राप्त गरेदेखि कम्पनीलाई विभिन्न समस्याले सताइरहेका छन् । अहिले भने मस्कको एक टिप्पणीले नयाँ विवाद सिर्जना गरेको छ । वास्तवमा, एक्स मालिक मस्कले सोशल मिडिया प्लेटफर्ममा यहुदी विरोधी पोस्टको समर्थन गर्दै एक टिप्पणी गरेका थिए। उक्त टिप्पणीका कारण एप्पल, आईबीएम, डिज्नी, लायन्सगेट र वार्नर ब्रदर्सलगायत धेरै ठूला प्रविधि र मिडिया कम्पनीहरूले माइक्रोब्लगिङ साइटमा आफ्ना विज्ञापनहरू बन्द गर्ने निर्णय गरेका छन् । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसले पनि मस्कको आलोचना गर्दै विज्ञप्ति जारी गरेको छ । ह्वाइट हाउसले मस्कको जवाफ अस्वीकार्य र यहुदी समुदायलाई खतरामा पार्ने जनाएको छ। वास्तवमा, सोशल मिडियामा एक पोस्टले दाबी गरेको छ कि यहुदीहरूले गोरा मानिसविरुद्ध घृणा फैलाइरहेका थिए । यो ट्वीटको समर्थन गर्दै मस्कले लेखे, ‘बिल्कुल सत्य’ । उनको कमेन्टलाई धेरैले मन पराएका छैनन् । ब्लूमबर्गको रिपोर्टअनुसार एप्पलले एक्समा विज्ञापन नगर्ने निर्णय गरेको छ । एप्पल एक्सको प्रमुख विज्ञापनदाता हो । यसले २०२२ नोभेम्बरसम्म हरेक वर्ष १० करोड अमेरिकी डलरको विज्ञापन दिइरहेको थियो । दुई कम्पनीबीचको सम्बन्ध पहिलेदेखि नै राम्रो थिएन । अब मस्कको पोस्टले तरंग बढाएको छ । विवादपछि फिल्म स्टुडियो लायन्सगेट, वार्नर ब्रदर्स र कमकास्ट–एनबीसी युनिभर्सलले पनि घोषणा गरेका छन् कि उनीहरूले एक्समा विज्ञापन बन्द गर्ने छन् । यसबाहेक न्यूयोर्क टाइम्सले रिपोर्ट गरेको छ कि डिज्नीले सोशल मिडिया प्लेटफर्महरूमा आफ्ना विज्ञापनहरू रोक्ने निर्णय गरेको छ । चलचित्र निर्माण र वितरण कम्पनीका प्रवक्ताले एएफपी समाचार एजेन्सीलाई भने, ‘एलन मस्कको हालैको यहुदी विरोधी ट्वीटका कारण लायन्सगेटले एक्समा विज्ञापन रोकेको छ ।’

दूरसञ्चार प्राधिकरणले भन्यो : अझै पनि टिकटकमा पहुँच पुगिरहेको भए जानकारी गराउनू

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अझै पनि टिकटकमा पहुँच पुगिरहेको भए त्यसबारे जानकारी गराउन अनुरोध गरेको छ । आइतबार सूचना प्रकाशित गर्दै प्राधिकरणले टिकटक प्रयोगमा रोक लगाउन सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन दिइसकेको भएपनि अझै कुनै इन्टरनेट र मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कबाट टिकटक चलिरहेको भए खबर गर्न आग्रह गरेको हो। प्राधिकरणको इमेलमा त्यस्ता कम्पनीका बारेमा जानकारी गराउन सेवाग्राहीलाई दूरसञ्चार प्राधिकरणले आग्रह गरेको हो । मन्त्रिपरिषद्को गत कात्तिक २७ गते बसेको बैठकले सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो ।

टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन गर्न दूरसञ्चार प्राधिकरणद्वारा समिति गठन

काठमाडौं । टिकटक सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले प्राविधिक समिति गठन गरेको छ । दूरसञ्चार प्राधिकरणको शुक्रबार बसेको बैठकले निर्देशक विजयकुमार रायको नेतृत्वमा चार सदस्यीय प्राविधिक समिति गठन गरेको हो । समिति सदस्यमा इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आएस्पान) का अध्यक्ष सुधीर पराजुली, नेपाल सरकार सञ्चार मन्त्रालयका प्रतिनिधि र सदस्य सचिवमा प्राधिकरणकी रोजाकिरण बासुकला रहेको प्राधिकरणले जनाएको छ । उक्त प्राविधिक समितिले ७ दिनभित्र टिकटक बन्द गरेर नगरेको सम्बन्धमा अनुगमन र अनुसन्धान गरी रिपोर्ट पेस गर्ने बताइएको छ । सरकारले २७ कात्तिकमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । लगतै दूरसञ्चार प्राधिकरणले टिकटकलाई पत्र लेखेर सरकारको निर्णय जानकारी गराएको थियो । प्राधिकरणले शुक्रबार नै अर्को पत्र पठाउँदै सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ । यस्तै सरकारले नेपालमा टिकटक प्रयोग गर्न रोक लगाएपछि प्रयोगकर्ताहरू विरोधमा उत्रिएका छन्। उनीहरूले आज माइतीघर मण्डलामा भेला भएर सरकारले गरेको निर्णयप्रति विरोध जनाएका हुन्। टिकटक प्रयोग गर्न पाउनु नागरिकको अभिव्यक्ति स्वतन्त्रता भएको बताउँदै उनीहरूले टिकटकरसँग नडराउन सरकारलाई सुझाव पनि दिएका छन् । टिकटकमा लगाएको प्रतिबन्ध तत्काल हटाउन पनि उनीहरूको माग छ। टिकटक बन्द गर्ने सरकारो निर्णय संविधानविपरीत भएको दाबीसहित शुक्रबार सर्वोच्च अदालतमा १० वटा निवेदन परेका छन् ।