नवीन विशेषताहरु र आकर्षक डिजाइनमा निपूर्ण भिभो भी२९ फाइभजी सिरिज
काठमाडौं । भिभो भी सिरिजले स्मार्टफोन उद्योगमा आफ्नो अत्याधुनिक टेक्नोलोजीको साथै नवीन दृष्टिकोणसहित प्रभावशाली छाप छोडेको छ । भी सिरिजको नयाँ स्मार्टफोन भी२९ फाइभजी र भी२९ई यसको ज्वलन्त प्रमाण हो । उत्कृष्ट प्राविधिक र आकर्षक डिजाइन भएको भी२९ फाइभजी सिरिज स्मार्टफोन मात्र नभएर यो यस्तो उपकरण हो जसले स्मार्टफोन फोटोग्राफी र डिजाइनको पुनः परिभाषित गर्दछ । भिभोले नवीनता साथ साथै डिजाइनमा केन्द्रित उपकरणहरु निर्माण गरेर एउटा अलग स्थान बनाउन सफल भएको छ । भी२९ फाइभजी सिरिजले स्मार्टफोन फोटोग्राफीको सीमालाई वृद्धि गर्ने भिभोको विरासतलाई निरन्तरता दिएको छ । स्मार्ट औरा लाइट पोट्र्रेट, स्मार्ट कलर टेम्परेचर एडजस्टमेन्ट, सुपर ग्रुप भिडियो, सुपर मुन मोड र एस्ट्रो मोड जस्ता विशेषताहरूसँग यसले सुक्ष्म विवरणहरू, जीवन्त रङहरू खिच्न र आश्चर्यजनक पोट्र्रेटहरू सिर्जना गर्न मद्दत गर्दछ । यो एक फोटोग्राफी पावरहाउस हो जुन हरेक क्षणलाई जादूमय ढंगबाट कैद गर्न डिजाइन गरिएको हो । दुवै भी२९ फाइभजी र भी२९ई फाइभजी ले फोटोग्राफीलाई अगाडि ल्याउने क्यामेरा सेटअप प्रदर्शन गर्दछ । भी२९ फाइभजी मा, ५० एमपी ओआईएस अल्ट्रा–सेन्सिङ क्यामेरा, ८एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा र २ एमपी मोनोक्रोम क्यामेरा रहेको छ जसले गुणस्तरीय फोटो प्रदान गर्दछ । भी२९ई फाइभजी मा ६४ एमपी अल्ट्रा–सेन्सिङ क्यामेरा, ८ एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा, र २एक्स प्रोफेशनल पोट्र्रेट मोडहरू छन् । यी सुविधाहरूले प्रयोगकर्ताहरूले प्यानोरामिक शटहरूदेखि लिएर उत्कृष्ट पोट्र्रेटहरू सम्म सजिलै खिच्न सक्छन् । भिभो भी२९ फाइभजी सिरिज भिभोको सुरुचिपूर्ण डिजाइनप्रतिको प्रतिबद्धताको प्रमाण हो । यो स्मार्टफोनमा स्लिम प्रोफाइल बडी र हल्का तौल रहेको छ । भी२९ फाइभजीमा उद्योगकै पहिलो ‘इनोभेटिभ थ्रीडी म्याग्नेटिक पार्टिकल’ प्रविधि प्रयोग गरिएको छ जसले फोनको पछाडिको प्यानलमा आकर्षक पिक ब्लू रङ प्रदान गर्दछ । साथै नोबेल ब्ल्याक कलरमा फ्लोराइट एजी ग्लास रहेको छ जसमा भएको न्यानो–स्केल फोटो इचिंग टेक्निकले स्थायित्व प्रदान गदै स्टेन रेसिस्टेन्ट बनाउँछ । त्यस्तै भी२९ई फाइभजीमा रोज गोल्डको लागि नानो–स्केल फोटोइचिङ प्रविधि र फरेस्ट ब्ल्याकको लागि फ्लोराइट एजी ग्लास रहेको छ । यी डिजाइनले सौन्दर्यता बढाउनुका साथै स्थायित्व प्रदान गर्दछ । भी२९ई को स्लिम फ्ल्याट फ्रेमले यसको सौन्दर्यता थप्नुका साथै समग्र प्रयोगकर्ता अनुभव वृद्धि गर्दछ । दुवै भी२९ फाइभजी र भी२९ई फाइभजीमा १२० हर्ट्जको रिफ्रेस रेट रहेको छ जसले प्रयोगकर्ताहरूको भियूङ्ग अनुभवलाई पुनः परिभाषित गर्दछ । हरेक पटक स्वाइप वा स्क्रोल गर्दा प्राकृतिक र सहज अन्तरक्रिया महसुस गर्न सकिन्छ । भी२९ फाइभजी मा क्वालकम स्न्यापड्रेगन ७७८ प्रोसेसर रहेको छ जसले सिमलेस मल्टिटास्किङ र सहज गेमिङ अनुभवहरू सुनिश्चित गर्दछ । यो १२जीवी र्याम र २५६जीवी स्टोरेज भरियन्टका साथ आउँछ । यसैबीच, भरपर्दो कार्यसम्पादनका लागि भी२९ई फाइभजी क्वालकम स्न्यापड्रेगन ६९५ प्रोसेसर र प्राइभजी कनेक्टिभिटीको साथ आउँछ । यसमा ८जीवी र्याम र २५६जीवी स्टोरेज रहेको छ जसले गर्दा दक्षता र पर्याप्त ठाउँको सन्तुलन कायम भएको छ । तपाईं चाहे अनौपचारिक प्रयोगकर्ता वा पावर प्रयोगकर्ता हुनुहुन्छ भने यी उपकरणहरुले तपाईंको आवश्यकताहरू पूरा गर्छन् । ब्याट्रीको बारेमा कुरा गर्दा, भी२९ फाइभजीमा ४६०० एमएएच ब्याट्री र ८० वाट्टको फ्ल्यासचार्ज रहेको छ जसले तपाईंलाई सधैं कनेक्टेड राख्दछ । त्यस्तै भी२९ई फाइभजीमा ४८०० एमएएच ब्याट्री रहेको छ जसले तपाईंलाई निर्बाध रुपमा काम गर्न, गेमिङ वा स्ट्रिमिङ गर्न मद्दत गर्दछ । भिभो भी२९ फाइभजी सिरिज स्मार्टफोन बजारमा उत्कृष्ट डिजाइन र अत्याधुनिक प्रविधिको प्रतीकको रूपमा प्रस्तुत भएको छ । यसको आकर्षक सौन्द्रयशास्त्र, शक्तिशाली क्यामेरा क्षमताहरू, सिमलेस कार्यसम्पादन र लामो समयसम्म चल्ने ब्याट्री लाइफका साथ भिभो नेपाली बजारमा निकै सफल भएको छ । यी उपकरणहरूले आधुनिक प्रयोगकर्ताहरूको आवश्यकताहरू पूरा गर्दछ, हरेक पक्षमा उत्कृष्ट अनुभव प्रदान गर्दछ । नेपाली बजारमा भी२९ फाइभजी ५९,९९९ र भी२९ई फाइभजी ४२,९९९ मा उपलब्ध रहेको छ ।
कर्मचारीको विरोधपछि माइक्रोसफ्टले साम अल्टम्यानलाई ओपन एआईको सीईओमै फिर्ता बोलाउने
एजेन्सी । ओपन एआईको नाम लामो समयदेखि चर्चामा छ । धेरैपटक कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बारम्बार परिवर्तनको समाचार आउँछ । गत सातामात्र कम्पनीले साम अल्टम्यानलाई सीईओ पदबाट हटाउने निर्णय गरेको थियो । बोर्डले अचानक यस्तो निर्णय गरेको हो । यो निर्णयपछि साम अल्टम्यानले गुगल मिटमा यो जानकारी दिएका छन् । सामलाई हटाएपछि प्रेसिडेन्ट ग्रेग ब्रोकम्यानले पनि राजीनामा दिएका थिए । हाल ओपन एआईले साम अल्टम्यान कम्पनीको सीईओका रूपमा फिर्ता हुने घोषणा गरेको छ। यसबाहेक, ग्रेग ब्रोकम्यान पनि च्याटजीपीटी निर्माताका रूपमा कम्पनीमा फर्किने छन्। कम्पनीले सोसल मिडिया प्लेटफर्म एक्समा साम ओल्टम्यानको फिर्ताबारे जानकारी दिएको छ । अल्टम्यानको राजीनामापछि ओपन एआईका धेरै कर्मचारीले राजीनामा दिने तयारी गरिरहेका थिए । नयाँ सञ्चालक समितिको प्रारम्भिक सदस्य पूर्वसेल्सफोर्स डेपुटी सीईओ ब्रेट टेलर हुन्, जसले अध्यक्षका रूपमा सेवा गर्नेछन्। पूर्वअमेरिकी ट्रेजरी सेक्रेटरी ल्यारी समर्स र वेबसाइट ‘कोरा’ का सीईओ एडम डी एन्जेलो अघिल्लो बोर्डका एकमात्र उत्तराधिकारी हुन् । ‘मलाई ओपन एआई मनपर्छ र मैले पछिल्लो समयमा गरेका सबै कुरा यही टोलीका लागि भएको हो । साथै, हामीले यो मिसन पूरा गर्न एकजुट भएर काम गरेका छौं,’ ओल्टम्यानले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जब मैले आइतबार माइक्रोसफ्टमा सामेल हुने निर्णय गरेँ, यो मेरो र टोलीका लागि राम्रो विकल्प थियो । अहिलेका लागि म नयाँ बोर्ड र माइक्रोसफ्टसँग राम्रो साझेदारीका साथ पार्टनरसिपमा फर्कन तयार छु ।’ ओपन एआईको बोर्डले गत शुक्रबार ओल्टम्यानलाई कम्पनीबाट हटाउने घोषणा गरेको थियो । उनलाई हटाएको विरोधमा ब्रोकम्यान र अन्य एआई कर्मचारीहरूले पनि विरोधमा राजीनामा दिएका थिए ।
भीपीएन प्रयोग गरेर टिकटक नचलाउनु, डाटा चोरी हुनसक्छ : प्रहरी
काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भीपीएन र डीएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ । यसबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डाटा चोरी हुनसक्ने भएकाले त्यस्ता अवैध प्रविधिको प्रयोग निरुत्साहित गर्न प्रहरीले आग्रह गरेको हो । नेपाल सरकार मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयबाट पूर्णरूपमा प्रसारणमा बन्देज लगाएको सामाजिक सञ्जाल टिकटक भीपीएन, डीएनएसजस्ता असुरक्षित र अवैध माध्यमबाट सञ्चालन भइरहेको भन्ने सूचना प्राप्त भएको उल्लेख गर्दै ब्यूरोका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले त्यसको प्रयोग नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ । ब्यूरोले भीपीएन, डीएनएसको प्रयोगले प्रयोगकर्ताको डिभाइसमा रहेका महत्तवपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणको समेत पहुँच पुर्याइ चोरी हुने र आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाका दृष्टिकोणले समेत बढिरहेको पाइएको जनाएको छ । यस्तै विद्युतीयस्वरूपमा गैरकानूनी कुरा सम्प्रेषण गर्ने, सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै व्यक्तिको चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउनेजस्ता गतिविधि पनि भइरहेकाले यसतर्फ सचेत हुन अनुरोध गरिएको छ । राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्नेलगायतका दुष्प्रभाव सिर्जना गर्ने गतिविधिसमेत टिकटकका माध्यमबाट हुने गरेको पाइएको हुँदा प्रविधिको दुरुपयोग गरी यस्ता गतिविधि नगर्न र नगराउन ब्यूरोले आग्रह गरेको छ । रासस