गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिनुपर्छ : मन्त्री शर्मा

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताको सबैभन्दा नजिकको सरकारका रूपमा रहेको स्थानीय सरकारले गुणस्तरीय सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने बताएकी छन्। सल्यानको कपुरकोट गाउँपालिकाले आज आयोजना गरेको स्वागत कार्यक्रममा उनले सरकारको प्राथमिकता सुशासन र गुणस्तरीय सेवा प्रवाह भएकाले स्थानीय सरकारले पनि नागरिक केन्द्रित सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताइन् । सरकारले सुशासन र गुणस्तरीय सेवा प्रवाहमा जोड दिने नीति लिएपछि शैक्षिकसत्र सुरु हुनुअघि नै पाठ्यपुस्तक सम्बन्धित स्थानीय तहसम्म पुगेको, मल आपूर्ति सहज भएको, सेवा प्रदायक कार्यालयमा लामो लाइन बस्नुपर्ने समस्या अन्त्य भएकोलगायत उदाहरण पेस गर्दै मन्त्री शर्माले सेवा प्रवाहलाई थप सहज र प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताइन् । सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले पूर्वाधार निर्माण र विकासका अन्य काम सङ्घीय तथा प्रदेश सरकारले गर्ने बताइन् । सङ्घीयताले जनताको घर नजिक सरकार पुर्याएको भन्दै उनले यसबाट जनताले शासन होइन सेवा अनुभूति गर्नुपर्नेमा जोड दिइन् । राप्ती लोकमार्गको स्तरोन्नति, टेलिफोन सेवा सुधारलगायत विकास निर्माणमा सरकारको प्राथमिकता रहेको मन्त्री शर्माले स्पष्ट पारिन् । कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत भरतकुमार ओलीले गरेका थिए । गाउँपालिकाका समस्याबारे उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी गराएका थिए ।

१ खर्ब ४३ अर्बमा किनिएकाे एनसेल ६ अर्ब ६६ करोडमा बेचियो

काठमाडौं । एनसेलबाट बाहिरिन लागेको आजियाटाको ८० प्रतिशत सेयर सतिशलाल आचार्यले खरिद गरेका छन् । एनसेलबाट आफ्नो ८० प्रतिशत सेयर स्वामित्व बिक्री गरेर बाहिरिने निर्णय गरेको आजियाटा र आचार्यबीच सेयर खरिदबिक्रीको सहमति भएकाे हाे । आजियाटाले आचार्यकाे स्पेकट्रलाइट युके लिमिटेडलाई ८० प्रतिशत सेयर बिक्री गरेको हो । आजियाटाले एक विज्ञप्ति जारी गर्दै सेयर बिक्री गरेको र नेपालबाट बाहिरिएको बताएको हो । आजिएटाले कुल ५ करोड अमेरिकी डलर अर्थात्  ६ अर्ब  ६६ करोड रुपैयाँमा शेयर बिक्री गरेको र यसमध्ये ५० लाख अमेरिकी डलर ६ महिनाभित्र भुक्त्तानी गर्नुपर्ने खरिद सम्झौता भएको उल्लेख गरेको छ । आचार्य स्पेकट्रलाइट युकेकाे सञ्चालक हुन् । नेपाल दूरसञ्चार प्राधिकरणको सहमतिबिना सेयर खरिद बिक्री नहुने भएपनि यी दुई कम्पनीबीच सेयर खरिद बिक्रीको सहमति भएको हो । सतिश र उनका भाइ सचिनलाल आचार्यले एनसेलको ८० प्रतिशत सेयर खरिद गर्ने प्रतिवद्धता आजियाटासँग गरिसकेका छन्। आचार्य गैर आवासीय नेपाली हुन् । उनी सिंगापुरमा बस्छन् । यो कम्पनीको सेयर खरिद गर्नमा उनको श्रीमती भावना सिंहको पनि ठूलो हात रहेको बुझिएको छ । आचार्य र आजियाटाबीच विगत लामो समयदेखि राम्राे सम्बन्ध छ । विज्ञप्तिमा आजियाटाका अध्यक्ष तान श्री शहरिल रिड्जा रिडजुआनले एनसेलले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको बताएका छन् । उनले एनसेल देशमा एक उच्च करदाताको रुपमा रहेको र हालसम्म २ खर्ब ८३ अर्ब रुपैयाँ कर तिरेको उल्लेख गरेका छन् । यस्तै, उनले अब आफ्नो व्यवसायिक रणनीतिमा अगाडि बढ्ने बताएका छन् । यस्तै, आजियाटाका प्रबन्ध निर्देशक विवेक सूदले नेपालको कर नीति, लाइसेन्स नवीकरणलगायत नीतिले ठूलो चुनौती देखिएकोले बाहिरिनु परेको बताएका छन् । उनले नेपालबाट बाहिरिनु नै कम्पनीका सेयरधनीहरुको हितका लागि भएको बताएका छन् । वि.सं २०६१ मा एनसेलले जीएसएम मोबाइल सेवाका लागि अनुमति प्राप्त गरेको थियो । आजिएटा भने सन् २०१६ मा नेपालमा भित्रिएको थियो । त्यो बेला १ अर्ब ३६ करोड अमेरिकी डलर (त्यसबेलाको विनियमदरअनुसार १ खर्ब ४३ अर्ब रुपैयाँ) मा एनसेलको सेयर आजिएटाले किनेको थियो । सात वर्षको अवधिमा एनसेलले आजियटालाई २ अर्ब २ करोड रुपैयाँ लाभांश दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले भने आजियाटालाई सेयर खरिद बिक्री गर्नुअघि पूर्व स्वीकृति लिन पत्र काटेको छ । कम्पनीले सेयर खरिद बिक्रीको पूर्व स्वीकृति नलिएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार एनसेल आजियाटालाई पत्र काटेको हो । एनसेल आजियाटाको होल्डिङ कम्पनीको सेयर बिक्री तथा हक हस्तान्तरण गर्न लागिएको भनि जारी विज्ञप्तिप्रति ध्यानाकर्षण गराउँदै उक्त पत्र काटेको हो । पत्रमा सेयरधनीको सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था रहेको बताइएको छ । ‘दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (ट) बमोजिम चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी सेयर खरिद वा विक्री गर्नु अघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था उल्लेख भएको र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री) विनियमावली, २०७६ को विनियम ४ (क) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तीले आफ्ना शेयरधनीको सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नु पर्ने व्यवस्था रहेकोले सो अनुरूप गर्न गराउन जानकारी गराइन्छ’, प्राधिकरणले काटेको पत्रमा उल्लेख छ । [pdf id=449560]

नेपालमा के चुनौती देखेर बाहिरिन खोज्यो एनसेल ? यस्तो भन्छन् पूर्व अर्थसचिव

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मुख्य कम्पनी आजियाटा एनसेललाई बेचेर बाहिरिन खोजेको छ । विज्ञप्ति जारी गर्दै आजियाटाले एनसेललाई बिक्री गरेर बाहिरिने घोषणा गरेको हाे । एनसेलबाट बाहिरिनु पर्ने केही कारणहरू देखाउँदै आजियाटाले बाहिरिने घोषणा गरेको हो । एनसेलले करको मार र ब्याजपछिको नाफामा गिरावट आएको भन्दै बाहिरिने निर्णय गरेको उल्लेख गरेको छ । एनसेलले बिक्रीका लागि गरिएको सम्पत्तिको पुनःवर्गीकरण भएको जनाएको छ । कम्पनीले नाफामा गिरावट आउनुको कारण भनेको ह्रासकट्टी, वित्तीय लागत, औसत ब्याजदरमा भएको वृद्धि लगायतका विषयलाई बाहिरिनुको कारण देखाएको छ । एनसेल बिक्रीको लागि सम्पत्तिको पुर्नमूल्यांकन गर्नुपूर्व यसको ऋण बढेको जनाइएको छ । साथै, आजियाटाले घरेलु सस्क्राइबरहरू बढेको, डाटा तथा डिजिटल सर्भिसबाट आम्दानी बढेको र बद्लिँदो परिवेशमा कतिपय चुनौती थपिँदै गएको बताएकाे छ । गैर-व्यावसायिक ‘चुनौती’ शब्दको प्रयोग विज्ञप्तिमा आजियाटाका अध्यक्ष तान श्री शहरिल रिड्जा रिडजुआन र आजियाटाका प्रबन्ध निर्देशक विवेक सूदले आफ्नो प्रतिक्रिया पनि दिएका छन् । प्रबन्धक निर्देशक सुदले ‘नेपालमा चुनौती थपिँदै गएकोले बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको र सोहीअनुसार एनसेललाई बिक्रीमा राखिएको’ बताएका छन् । सो निर्णयले एजियाटाको प्राथमिकतापूर्ण रणनीति र सेयरहोल्डरहरूलाई दीर्घकालीन हितमा सहयोग पुर्याउने सुदले जनाएका छन् । नेपालमा चुनौती रहेको भनेपनि उनले नेपालमा एनसेलले व्यावसायिक बाहेक अन्य कस्तो चुनौतीको सामना गर्यो भन्ने विषयमा भने उल्लेख गरेका छैनन् । यो वर्षमा वृहत आर्थिक चुनौतीहरुको बाबजुद आजियाटाको अर्थपूर्ण यात्रा निरन्तर रहेको आजियाटाका अध्यक्ष तान श्री शहरिल रिड्जा रिड्जुआनले प्रतिक्रिया दिएका छन् । आफ्नो रणनीति अनुकुलन काम गर्न, पोर्टफोलियो सुधार गर्न र कम्पनीको सफलताको लागि सही व्यवसायिक साझेदारीमा अगाडि बढ्ने उनले विज्ञप्ति मार्फत् जानकारी गराएका छन् । पूर्व अर्थसचिव भन्छन् : प्रयोग गरिएको भाषा असामान्य छ पूर्वअर्थसचिव रामेश्वर खनालले आजियाटाले प्रेस विज्ञप्तिमा प्रयोग गरेको भाषा सामान्य नभएको बताएका छन् । ‘सामान्य व्यावसायिक हिसाबले एउटा कम्पनीले अर्को कम्पनीलाई आफ्नो सम्पत्ति बेच्न खोज्नु चाहिँ सामान्य प्रकृयामा चिन्ता मान्न पर्दैनथ्यो, संसारभर एउटा कम्पनीले अर्को कम्पनी किन्छन्’, उनले भने, ‘तर, विज्ञप्तिमा मलेसियाको आजियाटाको प्रमुखले नेपालमा काम गर्न सहज नभएको भन्ने जुन शब्द प्रयोग गरेका छन्, त्यसले भने केही गम्भिर संकेत गर्छ,’ उनले भने । पूर्वसचिव खनालले यदि विज्ञप्तिमा भनिएको विषय सत्य भएको भए सरकारले आगामी दिनमा गर्न खोजेको अन्तर्राष्ट्रिय लगानी सम्मेलन नगरे पनि हुने प्रतिक्रिया दिए । ‘यदि त्यो सत्य हो, उहाँहरूलाई काम गर्न अप्ठ्यारो भएको कारणले नेपालबाट बाहिरिन खोजेको हो भने त्यसले लगानी सम्मेलनलाई एकदम अप्ठ्यारो पार्छ, सरकारले लगानी सम्मेलन नगरे पनि हुन्छ’, खनालले भने । फाइभ जी परिक्षण गर्न दूरसञ्चारबाट अनुमति नपाएको, कर विभागसँग केही असहमति भएको हुनसक्ने र महालेखा परीक्षकको कार्यालयले पनि केही बेरुजु औंल्याएक लगायतका विषयहरू एनसेलसँग जोडिएको देखिएको भन्दै खनालले सरकारको तर्फबाट छलफल र समन्वय गर्न आवश्यक भएको बताएका छन् । पूर्व अर्थसचिव भएर समेत काम गरिसकेका खनाल एनसेलले नेपालमा गर्दै आएको व्यवसाय र कम्पनीको रणनीतिका विषयमा जानकार छन् । एनसेलले सरकारलाई अर्बौं कर नतिरेको विषय पनि बेला बखत चर्चामा आउने गरेको छ । एनसेलले सरकारलाई अर्बौं कर तिर्न बाँकी रहेको सरकारी अधिकारीहरू बताउँछन् । अब कसले किन्दैछ एनसेल ?  एनसेलले नेपालबाट बाहिरिने घोषणा गरेसँगै अब एनसेलको स्वामित्व कसले ग्रहण गर्छ भन्ने विषयले पनि चर्चा पाएको छ । अहिले पनि ठूला व्यवसायिक घरानाहरूले दूरसञ्चार सेवाका लागि अनुमति माग गर्ने लविङ गरिरहे पनि त्यसमा सफलता हात पार्न सकिरहेका छन् । त्यसको एउटा उदाहरण हो सीजी ग्रुप । सीजी ग्रुपले सीजी टेलिकममार्फत् सरकारसँग दुरसञ्चार सेवाको अनुमति माग गरेपनि कम्पनीका मालिक विनोद चौधरीले सफलता पाउन सकेका छैनन् । अब उनै चौधरीले एनसेलको स्वामित्व खरिद गर्ने अड्कलबाजी पनि धेरैले गर्न थालेका छन् । हाल एनसेलसँगै सेयर साझेदारका रूपमा सुनिभेरा क्यापिटल भेन्चरले काम गरिरहेको छ । कम्पनीमा आजियाटाको ८० प्रतिशत स्वामित्व छ भने सुनिभेरा क्यापिटल भेन्चरको २० प्रतिशत सेयर स्वामित्व छ । धेरैले अब आजियाटाको ८० प्रतिशत सेयर सुनिभेराले नै खरिद गर्न सक्ने अनुमान गरेका छन् । तर, कम्पनीले आफ्नो औपचारिक धारणा भने अहिलेसम्म राखेको छैन । सन् २०२२/२३ मा एनसेलको व्यापार ३७ अर्ब ४४ करोड रूपैयाँमा भएको छ। कम्पनीले २०२१/२२ मा ३९ अर्ब ७२ करोड, २०२०/२१ मा ४० अर्ब ४२ करोड र २०१९/२० मा ४६  अर्ब ८७ लाख रूपैयाँको कारोबार गरेको थियो। प्रत्येक वर्ष एनसेलको बिजनेस खस्किँदै गएको तथ्यांकले पनि देखाउँछ । २०२३ को तेस्रो त्रैमासिकमा एनसेलको आम्दानीमा ८ प्रतिशत गिरावट आउँदा कम्पनीको वार्षिक आम्दानी  ६.४५ ले घटेको विज्ञप्तिमा उल्लेख छ ।