खेल पूर्वाधारसम्बन्धी प्रदेश र स्थानीय तहको बजेट कटौती
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदबीच बजेट निर्माणमा आवश्यक सहयोग तथा समन्वय नहुँदा खेलकुद पूर्वाधार निर्माणका लागि प्रदेश र स्थानीय तहमा जाने सशर्त अनुदान गुम्न पुगेको छ । अर्थ मन्त्रालयद्वारा तोकिएको समयसीमाभित्र योजना छनोट गरी पठाउनुपर्नेमा मन्त्रालय र परिषद्बीचको द्वन्द्वका कारण ती कार्यक्रम प्रभावित भएका हुन् । प्रदेश र स्थानीय तहको खेल पूर्वाधार निर्माणसम्बन्धी सशर्त अनुदान प्रस्ताव गरी अर्थ मन्त्रालय पठाइएकामा बजेट वक्तव्यपछि प्राप्त सूचनामा त्यस शीर्षकमा अनुदान रकम शून्य रहेको भनी लेखीआएको युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता शिवप्रसाद रेग्मीले जानकारी दिए । मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि खेलकुद पूर्वाधार निर्माण गर्न स्थानीय तहलाई ६१ करोड र प्रदेशलाई ५० करोड रुपैयाँ बजेट माग गर्ने निर्णय गरेको थियो । प्रवक्ता रेग्मीले भने, ‘प्रदेशगतरूपमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएकाले अहिले नै क्रमिकरुपमा खेल पूर्वाधारमा लगानी नगर्ने हो भने पछि एकै पटक गर्न खोज्दा हतारो हुन्छ । गुणस्तर गुम्न सक्छ ।’ नेपाल सरकारको प्रदेश–स्थानीय तह समन्वय परिषदको सुझाव साना योजना प्रदेश र स्थानीय तहले आफै छनोट गरुन भनी खेलपूर्वाधार निर्माण गर्न विगतको जस्तै यस पटक पनि मन्त्रालयले बजेटका लागि योजनासहित प्रस्ताव गरेको थियो । ‘एक पालिका, एक खेलकुद’को अवधारणाअनुसार विगत तीन आवदेखि उक्त कार्यक्रमका लागि बजेट विनियोजन हुँदैआएको थियो । थोरै बजेट आउने गरेकाले त्यो कार्यक्रम सबै पालिकामा पुग्न सकेको थिएन । उक्त बजेटबाट ७ सय ५३ स्थानीय तहमध्ये विगतमा नसमेटिएका चार सय पालिकालाई सहयोग गर्ने मन्त्रालयको योजना थियो । मन्त्रालय र परिषद्बीचको द्वन्द्वले मन्त्रालयगत बजेट प्रविष्ट प्रणालीमा योजना समावेश गर्न ढिलाइ हुँदा त्यो कार्यक्रम प्रभावित भएको हो । मन्त्रालयले यस पटक स्थानीय तहलाई आफै योजना तोक्न दिने र त्यसका लागि कम्तीमा १२ लाख ५० हजारभन्दा बढी उपलब्ध गराउने निर्णय गरेको थियो । मन्त्रालयका योजना शाखा प्रमुख डा. गणेशमान गुरुङ भन्छन्, ‘यस पटक त्यो रकम प्राप्त भए खेलकुद पूर्वाधारका लागि सशर्त अनुदान नपाउने कुनै स्थानीय तह हुन्थेनन् ।’
नेपाली टोलीको प्रत्येक रन र विकेटमा ओमोडाले रुख रोप्ने
काठमाडौं । विद्युतीय गाडी (ईभी) ब्राण्ड ओमोडाले आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपमा सहभागी नेपाली टोलीले जोड्ने हरेक रन र ढाल्ने विकेटमा रुख रोप्ने भएको छ । दोस्रो पटकको ऐतिहासिक विश्वकप यात्रा तय गरेको नेपाली टोलीलाई हौसला प्रदान गर्ने मुख्य उद्देश्यका साथ कम्पनीले ‘नेपाल स्कोर, ओमोडा ग्रोज’ नाराका साथ यो वातावरणीय अभियान सार्वजनिक गरेको हो । यो अभियान अन्तर्गत ओमोडाले हरेक रनमा एउटा रूख रोप्ने सङ्कल्प गरेको छ । त्यसैगरी हरेक ‘चौका’मा पाँचवटा रूख रोपिनेछ भने हरेक ‘छक्का’ र हरेक ‘विकेट’मा १० वटा रूख रोपिने छ । यसअन्तर्गतको वृक्षारोपणका लागि ब्रान्डसँगै नेपालभर रहेका ओमोडा खरिदकर्ता तथा चालकहरूले सहभागिता जनाउने कम्पनीले बताएको छ ।
एफसी चितवनद्वारा फुटबल खेलका विभिन्न आयमहरुबारे भरतपुरमा अन्तर्क्रिया
भरतपुर । फुटबल क्लब, ‘एफसी चितवन’ले नेपालमा फुटबल खेलका विभिन्न आयमहरुबारे सरोकारवालाहरू बिच अन्तर्क्रिया गराएको छ । एफसी चितवनले भरतपुर मेयर कप फुटबल प्रतियोगिताको अवसरमा नेपाली फुटबलमा युवा प्रतिभाहरूलाई हुर्काउने र दिगो भविष्यको निर्माणको पहलहरूका बारेमा भरतपुरमा छलफल आयोजना गरेको हो । अन्तर्क्रियामा ५ सय भन्दा बढी खेलाडीहरू, विद्यार्थीहरु र नेपाली फुटबलका सरोकारवालाहरू सहभागी थिए। छलफलमा फुटबल खेल तथा खेलाडीको विकासमा स्थानीय निकाय, सङ्घसंस्थाहरू, निजी संस्थाहरू र खेलाडीहरूको भूमिकाबारे विभिन्न दृष्टिकोणहरू प्रस्तुत भएका थिए । साथै विभिन्न सरोकारवालाहरू बिच समन्वय, लगानीमैत्री वातावरण सिर्जना, लिग प्रणालीलाई पुनर्संरचना र नीति निर्माणमा खेलाडीहरूको आवाजलाई समावेश गर्ने जस्ता महत्त्वपूर्ण विषयहरू पनि छलफलमा उठेका थिए । अन्तरक्रिया सँगसँगै खेलकुद विज्ञान, पोषण, शारीरिक तन्दुरुस्ती, खेलकुद मनोविज्ञान र चोटपटक रोकथाम जस्ता आवश्यक विषयहरूमा समेत विज्ञद्वारा प्रस्तुति गरिएको थियो । आधुनिक उपकरणहरू तथा प्रस्तुतिबाट विद्यार्थी खेलाडीहरू उत्साहित भएका थिए । यसलाई अबका प्रशिक्षण र विकासमा जोड्नु पर्न खेलाडीहरूको भनाइ थियो । अन्तर्क्रियामा अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज विक्रम नेम्बाङ, एफसी चितवनका अध्यक्ष सचिन ढकाल र खेलाडी सङ्घका अध्यक्ष विक्रम लामाको सहभागिता रहेको थियो । यो अन्तर्क्रिया सँगै एफसी चितवनले आफ्ना साझेदारहरूसँग मिलेर स्थानीय तहबाटै फुटबलको रूपान्तरणको यात्रालाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।