एएफसी च्यालेन्ज लिग प्ले अफ एक्सन स्पोर्टस् एचडीले प्रत्यक्ष प्रसारण गर्ने
काठमाडौं । एएफसी च्यालेन्ज लिग छनोटको प्ले अफको प्रत्यक्ष प्रसारण डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडीले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । सहिद स्मारक ए डिभिजन लिगको विजेता चर्च ब्वाइज युनाइटेड र भुटानको लिग विजेता पारो एफसीबीच प्ले अफ दशरथ रंगशालामा २९ साउन मंगलबार साँझ ६ः०० बजे सुरु हुने कम्पनीले बताएको छ । यो खेलका लागि चर्च ब्वाइज युनाइटेड टोलीले राष्ट्रिय टोलीका लकेन लिम्बु, सनिश श्रेष्ठ, आयुष घलानसहित केही विदेशी खेलाडीहरुलाई अनुबन्ध गरेको छ । कम्पनीका अनुसार पारो एफसीले जापानका पूर्व स्टार होन्डालाई टिममा भित्राएको छ । होन्डाले ३ पटक विश्व कप खेलिसकेका छन्, उनी एसियाकै स्टार खेलाडी हुन् । होन्डा मात्र होइन यो पटक पारोले कुल ११ विदेशी खेलाडी दर्ता गर्दै टिमलाई मजबुत बनाएको छ ।
महिला भलिबल खेलाडीलाई काठमाडौं महानगरले दियो जनही एक लाख, अफिसियललाई ५० हजार
काठमाडौं महानगरपालिकाले महिला भलिबल राष्ट्रिय टिमलाई सम्मान गरेको छ । महानगरले ‘सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगको उपविजेता टोलीलाई नगदसहित सम्मान गरेको हो । सम्मान कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले खेलाडीहरूसँग भने, ‘तपाईंहरूले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो, खेलमा कुनै कमजोरी थिएन, खेलले सबै नेपालीलाई एउटै ठाउँमा उभ्याएको थियो, यसकारण, तपाईंहरूको प्रदर्शनले भलिबल राष्ट्रिय खेल भएको प्रमाणित भएको छ ।’ उपविजेता नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिस्टलाई प्रोत्साहन गर्न नगदसहितको सम्मान प्रदान गर्दै प्रमुख शाहले, खेल विकासका लागि खेलाडीको प्रयत्नलाई नतिजामा रूपान्तरण गर्न सरकारी संयन्त्रले काम गर्नुपर्ने खाँचो रहेको बताए । त्यस अवसरमा खेलाडीलाई जनही १ लाख रुपैयाँ, टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिस्टलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो । सम्मान प्राप्त गर्ने खेलाडीहरूमा क्याप्टेन अरुणा शाहीसहित निरुता ठगुन्ना, शान्तिकला तामाङ्, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठ छन् । खेलको टिम म्यानेजर निलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादव छन् । यस्तै लोकेन्द्रबहादुर कुँवर थेरापिस्ट छन् । ‘उपविजेता टोलीले हामीजस्ता सरकारी संयन्त्रलाई खेलको पूर्वाधार, खेलमैत्री वातावरण र खेलाडीको क्षमता विकासमा काम गर्न ध्यानाकर्षण गएको छ, यो विषय छुटेको महसुस गराएको छ, यसमा हामी काम गर्नेछौँ,’ सम्मानका क्रममा प्रमुख शाहले भने ।
पेरिस ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेण्डरद्वारा राष्ट्रिय रेकर्ड कायम
काठमाडौं । पेरिस ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेण्डर शाहले एक सय मिटर फ्रि स्टाइलमा राष्ट्रिय रेकर्ड कायम गरेका छन् । राष्ट्रिय रेकर्ड कायम गरेपनि उनी ५९ औं स्थानमा रहँदै पहिलो चरणबाट नै बाहिरिएका छन् । हिट्स तीनमा रहेका उनले ५१ दशमलव ९१ सेकेण्डमा निर्धारित दूरी तय गर्दै आफ्नो नाममा रहेको रेकर्ड सुधार गरेका हुन् । यसअघि एक सय मिटर फ्रि स्टाइलमा एलेक्जेन्डरको नाममा ५२ दशमलव १७ सेकेण्डको कीर्तिमान रहेको थियो । उनले सन २०२४ को फेब्रुअरीमा दोहाको वल्र्ड एक्वेटिक्स च्याम्पियनशीपमा सो रेकर्ड बनाएका थिए । यो टइमिङमा उनी हिट्समा तेस्रो भए । कुल दश वटा हिट्सको प्रतिष्पर्धा पश्चात १६ उत्कृष्ट खेलाडी अघिल्लो चरणमा पुगेका छन् । ७९ खेलाडी सहभागी प्रतिष्पर्धामा एलेक्सले २० खेलाडीलाई पछि पारे । जारी ओलम्पिक्समा भने नेपालले बनाएको यो पहिलो राष्ट्रिय रेकर्ड हो । लगातार दोस्रो पटक ओलम्पिक्स खेलेका एलेक्जेण्डरले टोकियो ओलम्पिक्समा पनि सय मिटर फ्री स्टाइलमा प्रतिष्पर्धा गरेका थिए । जहाँ उनले ५३ दशमलव ४१ सेकेण्डमा दूरी तय गर्दै ५९ औं स्थान प्राप्त गरेका थिए । गत ओलम्पिक्सम भन्दा यो पटक उनले टाइमिङमा भने सुधार गरे । उनले दुवै पटक युनिभर्सालीटी कोटाबाट ओलम्पिक्समा सहभागीता जनाएका हुन् । तीन पटक वल्र्ड च्याम्पियनशीप र एक पटक एशियन गेम्स पनि खेलिसकेका एलेक्जेन्डर हाल अमेरिकामा बसोवास गर्दै आएका छन् । उनी सिधै अमेरिकाबाट ओलम्पिक्समा भाग लिन पेरिस पुगेका थिए । यसअघि पौडी खेलाडी डुवाना पनि हिट्सबाट नै बाहिरिएकी थिइन् । एलेक्जेन्डर बाहिरिसँगै नेपालबाट सहभागी सात मध्ये ६ खेलाडी पहिलो चरणबाट बाहिरिएका छन् । टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुष्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, पौडीकी डुवाना लामा र ब्याडमिण्टनका प्रिन्स दाहाल पनि पहिलो चरणबाट नै बाहिरिसकेका छन् । प्रीन्सले भने समूह चरणको अन्तिम खेल खेल्न बाकी छ । अब नेपालबाट सन्तोषी श्रेष्ठको प्रतिष्पर्धा मात्र बाँकी छ । उनले म्याराथनमा प्रतिष्पर्धा गर्नेछिन् । उनी आज पेरिस प्रस्थान गरेकी छिन् ।