साफ वुमेन्स च्याम्पियनसिप : सडकमा लाइन लगाएर टिकट बिक्री, वालेटलाई नकाट्न उर्दी
काठमाडौं । नेपाल र बंगलादेशबीच साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल बुधबार हुँदैछ । दशरथ रंगशालामा हुने फाइनल खेल हेर्न नेपाली खेलप्रेमी तथा शुभचिन्तकहरू तम्तयार छन् । साफ वुमन्स च्याम्पियनसिपका ७ संस्करणमध्ये योसमेत गरी नेपाल ६ पटक फाइनलमा पुगेको छ तर अहिलेसम्म उपाधि उचाल्न सकेकाे छैन । यो पटक उपाधि उचाल्ने दाउमा नेपाल छ । फाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गरेर उपाधि हात पारेर नेपाली दर्शकलाई खुसी दिलाउने रणनीतिमा नेपाली फुटबल टिम छ । यसअघि नेपाल र बंगलादेशबीच १२ खेल भएका छन् । जसमध्ये ६ खेल नेपाल र १ खेलमा बंगलादेशले जितेकाे छ भने ५ खेल बराबरी भएको छ । नेपाली टिमलाई साथ दिनका लागि खेलप्रेमीहरू बिहानैदेखि लाइन लागेर टिकट काटिरहेका छन् । बेलुका साढे ६ बजेदेखि सुरु हुने भए पनि टिकटका लागि भने बिहानैदेखि सर्वसाधारण लाइनमा छन् । यसअघि नेपाल र भारतबीच सेमिफाइनलमा रंगशालाको दर्शक क्षमताभन्दा बढी टिकट बिक्री भएपछि फाइनलको टिकट भने एन्फा आफैले बिक्री गरिरहेको छ । तर, त्यसको चौतर्फी विरोध भइरहेको छ । फाइनल खेलमा कम टिकट काटेर दर्शक कम हुने वातावरण सिर्जना गरिरहेको आरोप सामाजिक सञ्जालमा छ । सूचना प्रविधिको युगमा लाइन लगाएर टिकट काट्न लगाउनु उचित नभएको भन्दै सामाजिक सञ्जाल एन्फाको विरोध भइरहेको छ । यसअघि टिकट बिक्रीका लागि जिम्मेवारी पाएको माउन्ट एभरेस्ट स्पोर्ट्स् एन्ड इभेन्ट्स प्रालिसँगको सम्झौता रद्द गर्दै एन्फाले आफै टिकट बिक्री गरिरहेको हो । जावलाखेल खेल मैदान, एन्फा मुख्यालय सातदोबाटो र भद्रकालीस्थित आर्मी अफिसर्स केन्द्रमा टिकट बिक्री केन्द्र राखिएको छ । माउन्ट एभरेस्टले ८० लाख रुपैयाँमा टिकट बिक्री अधिकार प्राप्त गरेको थियो । एन्फाले साधारणतर्फ ११ हजार र भीआईपी प्यारापिटतर्फ १ हजार मात्र टिकट बिक्री गर्ने बताएको छ । रंगशालाको क्षमता १५ हजार मात्रै भए पनि त्यो दिन करिब २० हजार दर्शक थिए । एन्फाले वालेट कम्पनीलाई पनि टिकट नकाट्न उर्दी गरेको बुझिएको छ । यसअघि वालेट कम्पनी खल्तीले टिकट काट्दै आएको थियो । साधारणतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ टिकट दर तोकिएको छ । खेल हेर्नका लागि टिकट नपाएका सर्वसाधारणका लागि काठमाडौं महानगरपालिकाले विभिन्न ठाउँमा प्रत्यक्ष प्रसारण देखाउने भएको छ । महानगरले टुँडिखेल, चावहिलको फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेको हो ।
उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली
काठमाडौं । नेपालको बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदैछ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा भारत पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले विगतका गल्ती नदोहो¥याइ फाइनल खेल जसरी भए आफ्नो पक्षमा पार्ने लक्ष्य रहेको बताए । उनले भने, ‘यसअघिका संस्करणमा पाँच पटकसम्म फाइनल खेलेर पनि हामी च्याम्पियन बन्न सकेका छैनौँ । तर यसपटक बङ्गलादेशलाई पराजित गर्दै उपाधि जित्ने गरी योजना बनाएका छौँ ।’ प्रशिक्षक तामाङले बङ्गलादेश बलियो टोली भएको टिप्पणी गर्दै आफ्नो टोलिमा घरेलु समर्थकको साथ भएकाले उपाधि जित्नेमा विश्वास व्यक्त गरे । यसअघिका छमध्ये पाँच संस्करणमा नेपाल उपविजेतामा सीमित भएको थियो । जसमा भारतसँग चार पटक र बङ्गलादेशसँग एकपटक पराजित हुन पुग्यो । एउटा संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो । बङ्गलादेशमा भएको पहिलो संस्करणमा नेपाल उपविजेता बनेको थियो । तत्कालीन समयमा फाइनलमा नेपाल भारतसँग ०–१ गोलअन्तरले पराजित भएको थियो । सन् २०१२ मा श्रीलङ्कामा आयोजना भएको दोस्रो संस्करणमा पनि नेपाल फाइनलमा भारतसँग ३–१ गोलअन्तरले पराजित हुँदै दोस्रो स्थानमा रह्यो । सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो संस्करणमा पनि उपाधि चुम्ने नेपालको लक्ष्यमा भारत बाधक बनेको थियो । त्यतिबेला नेपाल भारतसँग ६–० गोलअन्तरले स्तब्ध भएको थियो । सोही संस्करणबाट सावित्री भण्डारी ९साम्बा० ले राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन् । त्यसयता उनले नेपाली टोलीबाट उत्कृष्ट खेल पस्कदै नेपाली खेलप्रेमीको मन जित्न सफल भएकी छिन् । साम्बाले यसपटक साफ च्याम्पियनसिपको उपाधि जित्दै आम नेपालीलाई खुसी प्रदान गर्ने लक्ष्यका साथ मैदानमा उत्रने बताइन् । बङ्गलादेश बलियो टोली भएको उल्लेख गर्दै उनले नेपालले उपाधि जित्नेमा विश्वास व्यक्त गरिन् । घरेलु दर्शकको भरपुर साथ र समर्थन हुने भएकाले पनि आफूहरुलाई फाइदा हुने उनको भनाइ थियो । उनले भनिन, ‘यसअघि पाँच पटक उपविजेतामा चित्त बुझाएका थियौँ, विगतका हारबाट धेरै कुरा सिकेका छौँ । विगतका गल्तीलाई नदोहो¥याइ उपाधि उचाल्ने सोचका साथ मैदानमा उत्रनेछौँ ।’ साम्बालाई फाइनलमा गोलको कीर्तिमान बनाउने अवसरसमेत छ । उनले सेमिफाइनलमा भारतविरुद्ध बराबरी गोल गर्दै साफ च्याम्पियनसिपमा नेपालबाट सर्वाधिक २१ गोल गर्ने नेपाली राष्ट्रिय टोलीकी पूर्वकप्तान अनु लामाको कीर्तिमान बराबरी गरेकी थिइन् । युरोपका प्रतियोगितामा खेल्ने पहिलो नेपाली महिला खेलाडी समेत रहेकी साम्बा फ्रेन्च क्लब इए अभान्ट गुइग्याम्पमा खेलेर नेपाल आएकी हुन् । उनले यस संस्करणको साफ च्याम्पियनसिपमा समूह चरणको पहिलो खेल गुमाएकी थिइन् भने माल्दिभ्सविरुद्धको खेलमा बेञ्चमा बसेकी थिइन् । उनले समूह चरणको अन्तिम खेल श्रीलङ्काविरुद्ध भने खेलेकी थिएन । साम्बाले नेपालका लागि ४८ खेलमा सर्वाधिक ५५ गोल गरिसकेकी छन् । त्यसैगरी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अन्जिला तुम्बापो सुब्बाले नेपाली टोलीले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने बताइन् । उनले भनिन्, ‘हामी गत संस्करणमा बङ्गलादेशसँग पराजित भएका थियौँ । तर यसपटक भने हामी उपाधि जित्ने गरी तयारी गरेका छौँ ।’ सन् २०२२ मा नेपालमा नै आयोजना भएको गत संस्करणको फाइनलमा नेपाल बङ्गलादेशसँग १–३ गोलअन्तरले पराजित भएको थियो । सोही संस्करणमा बङ्गलादेशले पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि उचालेको थियो । सन् २०१६ मा भारतमा भएको चौथो संस्ककरणमा नेपाल सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । त्यसैगरी सन् २०१९ मा नेपालमा नै आयोजना भएको पाँचौँ संस्करणको साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ३–१ गोलअन्तरले पराजित हुँदै दोस्रो स्थानमा रहेको थियो । जारी प्रतियोगितामा नेपालले भारत र बङ्गलादेशले भुटानलाई हराउँदै फाइनल यात्रा तय गरेका हुन् । साफ च्याम्पियनसिपको फाइनल खेल बुधबार साँझ ६ः३० बजे दशरथ रङ्गशालामा हुनेछ । नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० गोलअन्तरले हराएको थियो । त्यसैगरी नेपालले श्रीलङ्कालाई ६–० ले पराजित गरेको गरेको थियो । बङ्गलादेशले समूहको पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारतलाई ३–१ ले पराजित गरेको थियो ।
नेपालद्वारा स्कटल्याण्ड पाँच विकेटले पराजित
काठमाडौं । नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत आज सम्पन्न एकदिवसीय खेलमा स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्ड ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो । स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै करन केसी, सोमपाल कामी, गुल्सन झाले २र२ विकेट तथा आरिफ शेखले एक विकेट लिए । स्कटल्याण्डका लगि मार्क वाटले ३४ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन् । स्कटल्याण्डले प्रस्तुत गरेको उक्त लक्ष्य नेपालले २९.५ ओभरमा पूरा गर्यो । नेपालको जितमा आरिफ शेखले ५१ रनको योगदान दिए । साथै कुशल भुर्तेल र गुल्शन झाले २५/२५ रन बनाए भने आसिफ शेखले २१ रन बनाए । स्कटल्याण्डका लागि ब्राण्डम म्याकुलमले २ विकेट लिए । साथै ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले समान १/१ विकेट लिए । लिग-२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । त्यस्तै स्कटल्याण्डले आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।