फुटबल महानायक रोबर्टो कार्लोस एनएसएल क्वालिफायरमा वैशाख ६ गते नेपाल आउने

काठमाडौं । फुटबलका विश्व चर्चित डिफेन्डर र ब्राजिलका लिजेन्ड खेलाडी रोबर्टो कार्लोस वैशाख ६ गते नेपाल सुपर लिग (एनएसएल) को क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने पक्का भएको छ । एनएसएलले वैशाख ६ मा आयोजना गर्न लागेको रोमाञ्चक क्वालिफायर खेलमा कार्लोसको उपस्थिति तय भएपछि नेपाली खेलप्रेमीहरूमा विशेष उत्साह थपिएको छ । ललितपुर सिटी एफसी र धनगढी एफसीबीच हुने उक्त खेल गत सिजनको फाइनलको पुनरावृत्ति हुनेछ । ललितपुर उपाधि रक्षा गर्ने लक्ष्यमा मैदान उत्रनेछ भने धनगढी पहिलो उपाधिको खोजीमा हुनेछ । रोबर्टो कार्लोस आफ्नो तीव्र फ्रिकिक, अद्वितीय गतिशीलता र विश्वस्तरीय डिफेन्स क्षमताका कारण विश्व फुटबलमा उच्च सम्मानित छन् । उनले रियल म्याड्रिड र ब्राजिल राष्ट्रिय टिमको तर्फबाट खेलेर फिफा विश्वकप, चार ला लिगा उपाधि र थुप्रै अन्तर्राष्ट्रिय सफलता हासिल गरेका छन् । कार्लोस वैशाख ५ गते नेपाल आउने छन् । सोही दिन उनले गाला डिनर, भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा समेत सहभागिता जनाउने कार्यक्रम रहेको छ । एनएसएलमा कार्लोसको उपस्थितिले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ । एनएसएलको यो सिजन कार्लोसको आगमन, रोमाञ्चक खेलहरू र देशभरका शीर्ष खेलाडीहरूको सहभागितासहित अहिलेसम्मकै भव्य सिजन बन्ने अपेक्षा गरिएको छ । प्रशंसकहरूले खेल हेर्नको लागि खल्ती एपमार्फत टिकट खरिद गर्न सक्नेछन् ।

जुम्ला–रारा ५१ किलोमिटर म्याराथन वैशाख २७ गतेदेखि, बेलायत, इटाली र अमेरिकाका धावक आउने

काठमाडौं । जुम्ला सदरमुकाम खलङ्गा बजारमा आगामी वैशाख २७ गतेदेखि प्रतियोगिता सुरु हुने भएको छ । कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा छैटौँ संस्करणको जुम्ला-रारा अल्ट्रा म्याराथन प्रतियोगिता हुने भएको हो । खेलकुद पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको क्लबले विगत १७ वर्षदेखि जुम्लामा खेलकुद विकास, सामाजिक उत्थान र बालबालिकाको हितमा काम गर्दै आएको छ । क्लबका संरक्षक तथा ओलम्पियन हरिबहादुर रोकायाको नेतृत्वमा प्रतियोगिता हरेक वर्ष हुँदै आएको क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए। अन्तर्राष्ट्रिय मापदण्डअनुसार दूरी ५१ किलोमिटर तोकिएको छ । अध्यक्ष शाहीले भने, ‘दौडको रुट पनि परिवर्तन गरिएको छ । यसबाट जुम्लादेखि रारासम्मको पदयात्रा प्रवर्द्धनसमेत योगदान पुग्ने विश्वास छ ।’ प्रतियोगिताका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालयले सहयोग गरेको छ । माथिल्लो मिलीचौरदेखि राराताल किनार, ठाकुर बाबाको मन्दिर हुँदै हुटुमा समापन हुने गरी तय गरिएको क्लबका अध्यक्ष शाहीले जानकारी दिए । दौडमा सहभागी खेलाडीले तिरेको दर्ता शुल्कको १० प्रतिशत उच्च पर्वतीय प्रशिक्षण भवन निर्माणका लागि छुट्याइएको छ । भवन क्लबका संरक्षक रोकायले प्रदान गरेको जग्गामा निर्माण गरिनेछ । प्रतियोगितामा ५१ किलोमिटर अल्ट्रा दौड, ५ किलोमिटर खुल्ला दौड (उद्योगी, व्यापारी, कर्मचारी) र १९ वर्ष मुनिका विद्यार्थीका लागि १० किलोमिटर दौडको व्यवस्था गरिएको छ ।  दौडमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय धावकको सहभागिता रहने छ । विगतमा बेलायत, नेदरल्यान्ड, भारत, इटाली र अमेरिका समेतबाट समेत धावकले भाग लिएका थिए । दौड चन्दननाथ भैरवनाथको आँगन, खलङ्गा बजारको जुम्लाबाट शुरु भई मुगुको रारा तालको हुटुमा समापन हुने छ । ५१ किलोमिटर प्रतियोगितामा प्रथम हुने (महिला/पुरुष) १/१ लाख रुपैयाँ प्रदान गरिने छ । यस्तै (महिला र पुरुष) दोस्रो स्थान हासिल गर्नेलाई जनही ७५ हजार रुपैयाँ, तृतीयलाई ५० हजार रुपैयाँ, चौथोलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।  ५ किलोमिटर दौड प्रतियोगितामा प्रथम हुनेलाई (महिला र पुरुष) ५ हजार रुपैयाँ, दोस्रोलाई ३ हजार रुपैयाँ र तृतीय हुनेलाई ३ हजार रुपैयाँ प्रदान गरिने छ ।  विद्यालयस्तरीय १० किलोमिटर दौड प्रतियोगितामा प्रथम हुनेलाई (महिला/पुरुष) १० हजार रुपैयाँ, दोस्रो हुनेलाई ६ हजार रुपैयाँ र तृतीय हुनेलाई ४ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । 

सूर्य नेपाल एनपिजिए म्याच-प्ले सुरू

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच-प्लेको पहिलो दिन नम्बर एक प्रो भुवन नगरकोटी र नम्बर दुई खेलाडी निरज तामाङले फराकिलो अन्तरको जितमा क्वाटरफाइनलमा स्थान बनाएका छन् ।   डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापति, धन बहादुर थापा, रवि खड्का, प्रदीप कुमार लामा, तोरण विक्रम शाही र रामे मगरले पनि अन्तिम आठमा स्थान बनाए । रोयल नेपाल गल्फ क्लबमा मंगलबार भएको खेलमा नेपाल नम्बर एक गल्फर भुवन नगरकोटीले १६ औं वरियताका पशुपति शर्मालाई ५/४ ले हराए । चार होल अगाडि जित निकालेका उनले अब क्वाटरफाइनलमा धन बहादुर थापालाई प्रतिद्वन्द्वीको रूपमा भेट्टाएका छन् । आठौं वरियताका धन र नवौं वरियताका भुवन कुमार रोक्काबीच कडा प्रतिस्पर्धा चलेको थियो । १७ औं होलको समाप्ती सम्म दुवै बराबरीमा थिए । १८ औं होल जितेर धनले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । नेपाल नम्बर २ प्रो निरज तामाङले १५ औं वरियताका सूर्य प्रसाद शर्मालाई सहजै ५/४ ले हराए। चार होल अगाडि पहिलो चरणको खेल जितेका निरज यो सिजन तेस्रो उपाधि जित्ने दाउमा छन्। निरजले अब सातौं वरियताका रामे मगरसँग क्वाटरफाइनल खेल्नेछन् । रामेले १० औं वरियताका दीपक मगरलाई ४/३ को नतिजामा माथ दिए।   डिफेन्डिङ च्याम्पियन तेस्रो वरियताका दिनेश प्रजापतिले १४ औं वरियताका रमेश अधिकारीलाई ४/३ ले माथ दिए । उनले अब अनुभवी तोरण विक्रम शाहीसँग सेमिफाइनल प्रवेशको लागि खेल्नेछन् । ११औं वरियताका तोरणसँग छैटौं वरियताका जयराम श्रेष्ठ ३/२ ले पराजित हुन पुगे । यसैगरी चौथो वरियताका रवि खड्काले १३ औं वरियताका टंक बहादुर कार्कीलाई ३र२ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । रविले अब १२औं वरियताका प्रदीप कुमार लामासँग खेल्नेछन् । प्रदीपले पाँचौ वरियताका सञ्जय लामा विरूद्ध २/१ को अप्रत्याशित नतिजा निकाले । सन् २०२३-२४ को अर्डर अफ मेरिटको आधारमा १६ प्रोफेसनल गल्फरले प्रतिस्पर्धा गरेका हुन् । प्रतियोगिताको कुल नगद पुरस्कार राशी २ लाख ५० हजार रहेको छ । उपाधि विजेताले नगद ६० हजार प्राप्त गर्नेछन् । यसैगरी दोस्रो हुनेले ४२ हजार, तेस्रो हुनेले ३२ हजार र चौथो हुनेले २४ हजार हात पार्नेछन् । क्वाटरफाइनलमा पराजित हुने चार खेलाडीले ११ हजार प्राप्त गर्नेछन् । आज पहिलो चरणमा पराजित भएका आठ खेलाडीले नगद ६/६ हजार पाउनेछन् । भोलि क्वाटरफाइनल र सेमिफाइनल खेल १८र१८ होलको हुनेछ । फाइनल र तेस्रो स्थानको लागि बिहीबार प्रतिस्पर्धा हुनेछ । फाइनल भने ३६ होलको हुनेछ ।