आइएमई खल्तीले सार्वजनिक गर्यो ‘खल्ती ट्रान्स्फर लिग’ अफर

काठमाडौं । आइएमई खल्ती लिमिटेडले नयाँ अफर ‘खल्ती ट्रान्स्फर लिग’ सार्वजनिक गरेको छ । नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा उत्साह थप्दै कम्पनीले मङ्सिर २ गतेदेखि २९ गतेसम्म चल्ने १ महिनाको अवधिको यस अफरलाई क्रिकेट खेल जस्तै रमाइलो बनाएको कम्पनीले जनाएको छ । यस अफरअन्तर्गत खल्तीका सेवाग्राहीहरूले विभिन्न फन्ड ट्रान्स्फर कारोबार मार्फत ‘रन’ कमाउन सक्नेछन् । खल्तीबाट खल्तीमा ट्रान्स्फर गर्दा १ रन, खल्ती एस्क्रो प्रयोग गर्दा २ रन, खल्तीबाट बैंक खातामा ट्रान्स्फर गर्दा ४ रन, र विदेशबाट पठाइएको रेमिट्यान्स प्राप्त गर्दा ६ रन प्राप्त हुने व्यवस्था गरिएको छ । कमाएको रनहरू जम्मा गरेर सहभागीहरूले दैनिक, साप्ताहिक र बम्पर पुरष्कार जित्ने अवसर पाउनेछन् । ६ रनमा दैनिक एनपिएलको टिकट, ५० रनमा हरेक हप्ता सि एम एफ फोन १, र १०० रनमा बम्पर पुरष्कार स्वरूप बजाज पल्सर एन१६० डुअल एबिएस जित्न सकिने व्यवस्था गरिएको छ । कम्पनीले यस अफर मार्फत आफ्ना ग्राहकहरूलाई वित्तीय कारोबारमा सहभागी हुने रमाइलो र आकर्षक अनुभव दिने लक्ष्य राखेको जनाएको छ ।

आज लुम्बिनी लायन्स र चितवन राइनोज भिड्दै

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । रोहित पौडेलको कप्तानीमा लुम्बिनी मैदानमा उत्रन लागेको हो भने कुशल मल्लको नेतृत्वमा चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवन गति कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ । लुम्बिनी सुखद सुरूआत गर्न चाहन्छ । गत संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो । चितवन राइनोज गत संस्करण प्लेअफसम्म पगेको थियो ।  गत संस्करणको  लिग चरणमा चितवनविरुद्ध लुम्बिनी ३३ रनले विजयी भएको थियो । आज उक्त हारको बदला लिने दाउमा चितवन रहनेछ भने लुम्बिनी अर्को जित हात पार्ने लक्ष्यमा छ ।

एनपीएलको सबै टिकट बिक्री, अनावश्यक भीड नगर्न प्रहरीको अनुरोध

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानमा बुधबार साँझ ४ बजे हुने नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गुरखास र सुदूरपश्चिम रोयल्सबीचको ओपनिङ खेलका लागि सबै टिकट बिक्री भइसकेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले टिकट नपाएका दर्शकहरूलाई खेलस्थल वरिपरि अनावश्यक भीड नगर्न विशेष अनुरोध गरेको छ । प्रहरीका अनुसार दर्शकको संख्या बढ्दा सुरक्षा व्यवस्थापनमा चुनौती आउन सक्ने भएकाले सूचना जारी गरिएको हो । नेपाली क्रिकेटप्रति दर्शकको बढ्दो क्रेज र उत्साहका कारण आजको खेलका लागि टिकटहरू छिट्टै सकिएको हो।  प्रहरीद्वारा जारी सूचनामा भनिएको छ, 'टिकट नपाएका महाशयहरू उक्त स्थान वरिपरि भीड नगरी सुरक्षा व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरिन्छ ।'