त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु
कीर्तिपुर । कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ । रङ्गशालालाई अन्तरराष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो । यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान गरिँदैछ । निर्माणको जिम्मा पाएको बिजी कन्स्ट्रक्सनका इञ्जिनियर सुनील शाहका अनुसार प्यारापिटमा पहेलो सेतो खैरो हरियो नीलो र सुन्तला गरी पाँच रङका कुर्सी जडान हुने छन् । प्यारापिटलाई रङ्गशालाको पश्चिमतर्फ छ र पूर्वतर्फ दुईगरी आठ खण्डमा विभाजन गरिएको छ । प्रत्येक खण्डमा ६५२ कुर्सी राखिनेछन् ।
२ लाख ५० हजार पुरस्कार सहित फुटबलर राजुकाजी र भलिबलकी अरूणा शाही सम्मानित
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान राजुकाजी शाक्य र नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरूणा शाही सम्मानित भएका छन् । शरदचन्द्र शाह स्मृति फाउन्डेसनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शाक्य र शाहीलाई एससीएसएमएफ स्पोट्र्स अवार्ड २०२५ सहित नगद २ लाख ५० हजार रुपैयाँ प्रदान गरी सम्मान गरेको हो । फाउन्डेसनकी अध्यक्ष रेणु शाहले दुवै खेलाडीलाई सम्मान हस्तान्तरण गरिन् । शरदचन्द्र शाहले नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्मा ११ वर्षसम्म सदस्यसचिवको जिम्मेवारी सम्हालेका थिए । उनलाई नेपालको सफल सदस्यसचिवका रूपमा स्मरण गरिन्छ । कार्यक्रममा पूर्वमन्त्री निरन्जन थापाले शाहको योगदान र नेतृत्व क्षमताको चर्चा गर्दै नेपाली खेलकुदको समृद्धिमा उनको भूमिकालाई स्मरण गरे । 'नेपाली खेलकुदले गरेको प्रगतिको फड्को नै शाहप्रति सच्चा श्रद्धाञ्जली हो,' उनले भने । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर शाहले पनि अरूणा शाहीको नेतृत्व र योगदानको प्रशंसा गर्दै, शरदचन्द्र शाहकै कार्यकालमा नेपाली खेलकुदमा धेरै विकास भएको बताए । कार्यक्रममा शाहका नाती शभिर शाहले पनि आफ्ना हजुरबुबाको सम्झना गर्दै आगामी दिनमा नेपाली खेलकुदको हितमा अझै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन एमेच्योर खेलाडी राहुल विश्वकर्माले एकल अग्रता बनाएका छन् । समग्रमा १६-अन्डर २ सयको स्कोरमा राहुलले साविक विजेता तथा भारतीय गल्फ टुर खेलिरहेका सुबाश तामाङलाई एक स्ट्रोकले पछि पारे। राहुलले आज ६-अन्डर ६६ स्कोर गरे । पहिलो दिनका संयुक्त लिडर सुबाशले आज बोगी रहित ५-अन्डर ६७ को स्कोर जोडे । समग्रमा उनले १५-अन्डर २ सय १ स्कोर बनाएका छन् । एमेच्योर सदभाव आचार्यले बुधबार ५-अन्डर ६७ को नतिजा निकाले । समग्रमा १३-अन्डर २ सय ३ स्कोरका साथ उनी तेस्रो स्थानमा छन् । समग्रमा ११-अन्डर २ सय ५ को स्कोरमा निरज तामाङ र भुवन नगरकोटी संयुक्तरुपमा चौथो स्थानमा रहे । भुवनले आज दिनकै उत्कृष्ट ८-अन्डर ६४ को स्कोर दर्ज गरे । निरजले ४-अन्डर ६८ मा खेल पुरा गरे । भुटानका निम दोर्जी तामाङ समग्रमा ८-अन्डर २ सय ८ सहित छैटौं स्थानमा छन् । उनले आज २-अन्डर ७० खेले । उनी एमेच्योरतर्फ भने तेस्रो स्थानमा छन् । समग्रमा ७-अन्डर २ सय ९ सहित दिनेश प्रजापति सातौं स्थानमा रहने क्रममा आज ४-अन्डर ६८ को नतिजा निकाले । समग्रमा ३-अन्डर २ सय १३ सहित शुक्र बहादुर राई, सञ्जय लामा र रबि खड्का आठौं स्थानमा रहे । आज शुक्रले ३-अन्डर ६९, सञ्जयले २-अन्डर ७० र रबिले १-अन्डर ७१ को स्कोर बनाए । लिडर राहुलले आज फ्रन्ट नाईनमा बोगी रहित ५-अन्डर ३१ को उत्कृष्ट प्रदर्शन गरे । उनले पहिलो देखि तेस्रो तथा छैटौं र सातौं होलमा गरी कुल ५ बर्डी प्रहार गरे । यसपछि ११औं होलमा १ सट खेर फाल्दा १५औं र १८औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा सकाए । सुबाशले फ्रन्ट नाइनमा ३-अन्डर ३३ र ब्याक नाइनमा २-अन्डर ३४ खेले । यो क्रममा उनले तेस्रो, चौथो, नवौं, बार्हौं र तेर्हौ होलमा बर्डीको सफलता प्राप्त गरे । सदभावले दोस्रो, तेस्रो, सातौं र नवौं होलको बर्डीले फ्रन्ट नाइन ४(अन्डर ३२ मा सकाए । यसपछि ११औं होलमा डबल बोगी खेपे । तर लगत्तै १२औं होलमा इगलको सफलता प्राप्त गरे भने १८औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा सकाए । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित चार दिने प्रतियोगितामा हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशी रहेको छ । विजेताले उपाधि सहित ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुने खेलाडीले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार र पाँचौं हुनेले ९२ हजार रुपैयाँ हात पार्नेछन् । शीर्ष २१ भित्र रहने सबै प्रोफेसनल खेलाडी नगद पुरस्कारको हकदार बन्नेछन् । चार दिने प्रतियोगितापछि असार ७ गते (शनिबार) प्रो-एम प्रतियोगिता हुनेछ । जहाँ २५ जना प्रोफेसनल र १०० जना कर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिनेछन् ।