‘गौतमबुद्ध’ रङ्गशालालाई प्रदेश सरकार र स्थानीय तह रकम छुट्याउँदै

काठमाडौं । राष्ट्रियरुपमा चर्चा पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि प्रदेश नम्बर ३ सरकारले रु पाँच करोड रकम विनियोजन गरेको छ । भरतपुर महानगरपालिका र वडा कार्यालयले पनि रकम विनियोजनको तयारी गरेका छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रदेश सरकारले रु पाँच करोड रकम विनियोजन गरिसकेको छ । काम अघि बढ्दै गर्दा थप रकम दिन प्रदेश सरकार सकारात्मक देखिएको दाहालले जानकारी दिएका छन् । मंगलबार परिषद् गर्न लागेको महानगरले रङ्गशालाका लागि रु पाँच करोड विनियोजन गर्ने तयारी गरेको छ । महानगरभित्र रहेका २९ वटा वडाले रु पाँच लाखका दरले रकम विनियोजन गर्ने तयारी गरेका छन् । बहुवर्षीय योजना भएकाले महानगरले शुरुआती रकमका रुपमा यो बजेट विनियोजन गरेको भए पनि आउँदो वर्ष अरु थप रकम विनियोजन गर्ने देखिएको छ । महानगर प्रमुख दाहालले निजी क्षेत्रसँगै सङ्घ, प्रदेश र स्थानीय तहले रङ्गशाला निर्माणका लागि रकम विनियोजन गर्ने क्रम शुरु भएको जानकारी दिए । जिल्ला समन्वय समिति चितवनका प्रमुख एवं रङ्गशाला निर्माण सहयोग समितिका संयोजक कृष्णकुमार डल्लाकोटीले रङ्गशाला निर्माणका लागि सहयोग जुटाउन सबै स्थानीय तह सकारात्मक देखिएको बताएका छन् । कतिपयले बजेटमा नै राखेर र कतिपयले कोषको पूँजीबाट सहयोग गर्ने उनले जानकारी दिए । गत जेठ १५ गते स्थानीयले बाटो विस्तारको माग गर्दै रङ्गशालाको टिनको बार भत्काएपछि काम रोकिएको छ । रङ्गशाला निर्माणमा जुटेको धुर्मुस सुन्तली फाउण्डेशनका पदाधिकारी काठमाडौँमा रहेका छन् । डल्लाकोटीका अनुसार एक दुई दिनमा उनीहरुको उपस्थितिमा बैठक बसी काम अघि बढाइने छ । फाउण्डेशन र सरकारी निकायले के के गर्ने भन्ने टुङ्गो लगाएर कामलाई अघि बढाइने डल्लाकोटीको भनाइ छ । जिल्लाका सबै राजनीतिक दलसहित जिल्लावासी रङ्गशाला निर्माणका लागि सकारात्मक रुपमा अघि बढेका छन् । रङ्गशालाको शिलान्यास भदौमा गर्ने तयारीका साथ कामलाई तीव्रता दिइएको थियो । भरतपुर महानगरपालिका–१५ मा दुई वर्ष छ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको रङ्गशाला निर्माण गर्न रु तीन अर्ब खर्च हुने अनुमान गरिएको छ । उक्त रङ्गशाला निर्माणका लागि निजी क्षेत्रबाट रु छ करोडभन्दा बढी रकम सङ्कलन एवं आश्वासन प्राप्त भइसकेको छ । रासस

अमेरिकामा पूर्व गृह राज्यमन्त्री बाँस्कोटालाई सम्मानार्थ विद्यावारिधि

काठमाडौं । योग, ध्यान र यज्ञका माध्यमबाट राष्ट्र एवं विश्व शान्तिका लागि महत्वपूर्ण योगदान दिएको भन्दै अमेरिकाको आयोवामा रहेको महर्षि व्यवस्थापन विश्वविद्यालयले पूर्व गृह राज्यमन्त्री दीपकप्रकाश बाँस्कोटालाई सम्मानार्थ विद्यावारिधि प्रदान गरेको छ । नेपाली काङ्ग्रेसबाट राजनीति शुरु गरेका बाँस्कोटा पछिल्लो समय पार्टी गतिविधि भन्दा वैदिक ज्ञानको प्रचारप्रसारमा सक्रिय भए । दुई दशक अघिदेखि नेपाल महर्षि वैदिक फाउण्डेसन नामक संस्था स्थापना गरी वैदिक नेपाल बनाउने अभियानमा क्रियाशील भएका छन् । महर्षि महेश योगी शुरु गरेका विश्वव्यापी रुपमा वैदिक ज्ञान प्रसारको अभियानमा फाउण्डेसन सक्रिय हुँदै आएको छ । यस अभियान अन्तर्गत हाल देशका ७५ वटा वैदिक गुरुकुलमा राष्ट्र एवं विश्व शान्तिको सङ्कल्पले योग, भावातित ध्यान, सिद्धिसहित रुद्राभिषेक भइरहेको छ । विगत पाँच वर्षदेखि गुरुकुलमा यो अनुष्ठान भइरहेको छ । यसअघि शान्ति प्रक्रियाको सफलतासहित दिगो राष्ट्र एवं विश्व शान्तिको कामना गर्दै काठमाडौँको बाँसबारी र पशुपतिस्थित विश्वरुप मन्दिरमा पनि वैदिक रुद्राभिषेक गरिएको थियो । राष्ट्रिय सहकारी महासङ्घका पूर्व अध्यक्षसमेत रहेका बाँस्कोटा अर्गानिक खेतीमा समेत संलग्न छन् । आयुर्वेदलगायत वैदिक कृषि, वास्तु लगायतको प्रवद्र्धनमा समेत उनले महत्वपूर्ण काम गरेको फाउण्डेसनले जनाएको छ । विश्वव्यापी रुपमा फैलिएका महर्षि महेश योगीका चेलाले नेपालमा वैदिक ज्ञानको प्रचारप्रसारका लागि सहयोग गर्दै आएका छन् । ऋग्वेदबाट आएको भावातित ध्यानका प्रणेता महर्षि महेश योगीले विसं २०३१ मा नेपाल भ्रमण गर्दा नेपालले वैदिक ज्ञान प्रसारमा विश्वको नेतृत्व गर्नसक्ने प्रवचन टुँडिखेलमा गरेका थिए । हिमालयको देश नेपालमा प्राचीन कालमा ऋषिमुनिले ध्यान साधनाका माध्यमबाट वेदका मन्त्र देखेकाले गुरु देशका रुपमा विकास गर्न वैदिक ज्ञानको विस्तार गरिनुपर्ने महेश योगीको जोड थियो । महेश योगीको श्रव्यदृश्य सामग्रीबाट प्रभावित भई उनका चेलाको ध्यान हाल नेपालमा केन्द्रित भएको फाउण्डेसनले जनाएको छ । सम्मानार्थ विद्यावारिधि उपाधि पाएपछि रासससँग कुरा गर्दै अध्यक्ष बाँस्कोटाले यो सम्मान समग्र नेपालको वैदिक अभियानका लागि भएको प्रतिक्रिया दिएका छन् । नेपालमा निकट भविष्यमै वैदिक कृषि, वैदिक स्वास्थ्य, वैदिक आवास, चेतनामा आधारित शिक्षालगायत कार्यक्रम विस्तार गर्ने तयारी भइरहेको जानकारी पनि उनले दिए । हाल एक दर्जन विद्यालयमा भावातित ध्यानसहितको चेतनामा आधारित शिक्षा लागू भएको छ । रासस

बागलुङमा मात्रै छ महिनामा ४६ आपराधिक घटना, बढी घरेलु हिंसा

काठमाडौं । पछिल्लो छ महिनामा जिल्लामा आपराधिक र मानवअधिकार उल्लङ्घनका ४६ घटना भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले ‘मानव अधिकार वर्ष पुस्तक– २०२०’ का लागि शनिबार गरेको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा उक्त तथ्य सार्वजनिक भएको हो । सबैभन्दा बढी घरेलु हिंसाका २१ घटना छन् । जसमध्ये ११ घटना मिलापत्रमा टुङ्गिएका छन् । तीन घटना अदालत पुगेको र बाँकी प्रक्रियामा छन् । इन्सेकद्वारा सार्वजनिक विवरणमा जबर्जस्ती करणीका सात र करणी उद्योगका नौ घटना भएका छन् । राजनीतिक अधिकारसम्बन्धी एक, धम्की तथा कुटपिटसम्बन्धी एक, सामाजिक अधिकारसम्बन्धी एक, बालअधिकारको एक, जातीय विभेदको एक, बहुविवाहसम्बन्धी तीन र महिला अधिकारसम्बन्धी एउटा घटना भएका छन् । इन्सेक प्रतिनिधि सिर्जना पन्तले भनिन् “मानव अधिकार वर्ष पुस्तकका लागि पछिल्लो छ महिनाभित्रका ४६ घटना प्रलेख गरिएको छ”। स्थलगत अध्ययनसँगै प्रहरी र अदालतको स्रोतबाट इन्सेकले घटना विवरण सङ्कलन गर्ने गरेको छ । देशको मानवअधिकारको अवस्था झल्कने गरी इन्सेकले वर्षेनी मानवअधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको र हिंसा र अपराधसँग जोडिएका घटनालाई पनि पछिल्लो समय मानवअधिकारसँग जोडेर हेर्ने गरिएको छ समिक्षा कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले घटनाका दोषीलाई संरक्षण गर्न नहुनेमा जोड दिएका छन् । “मानवअधिकारको रक्षाका लागि सम्बद्ध सबै पक्ष जिम्मेवार हुनुपर्छ”, उनले भने, “मुख्य दायित्व राज्यको रहन्छ ।” रासस