मालपोतमा जग्गा रोक्का गरेपछि उद्योगीले बुझाए जरिवानासहित विद्युत् महसुल
काठमाडौं । लामो समयदेखि विद्युत् महसुल बक्यौता राखेको र कालोसूचीमा परेको एक उद्योगले आफ्नो जग्गा मालपोत कार्यलयमा रोक्का भएपछि रु २२ लाख ७५ हजार जरिवानासहित विद्युत् महसुल तिरेको विद्युत् वितरण केन्द्र हेटौँडाले जनाएको छ । विगत १० वर्षदेखि महसुल नतिर्ने मकवानपुर क्रसर उद्योगको भीमफेदी–१ मा पर्ने जग्गा मालपोत कार्यालयमा रोक्का गरी सूचना जारी भएपछि सम्बन्धित उद्योगले बक्यौता रकम बुझाएको केन्द्रका प्रमुख शम्भु कुसियत यादवले बताए । यसरी मालपोतमा पहिलोपल्ट सो केन्द्रले जग्गा रोक्का गरेको सूचना गरेपछि उक्त रकम बुझाएको बताइएको छ । यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय हेटौँडाले पनि लामोे समयसम्म बक्यौता रहेको रु १४ लाख ५० हजार विद्युत् महसुुुल बुझाएको बुझिएको छ । वितरण केन्द्रका अनुसार लामो समयदेखि विद्युत् महसुल नतिर्ने, अटेर गर्ने तथा विद्युत् चोरी गर्ने ७१८ जनाको विद्युत् लाइन कट्टा गरी जरिवानासमेत गरिएको छ । विद्युत् कट्टा गरिएकोमध्ये ७०० ले जरिवानासहित महसुल बुझाएका छन् । उक्त रकम रु तीन करोडभन्दा बढी रहेको छ । साथै कार्यालयले विद्युत् चुहावट रोक्न अनुगमनकार्य तीव्र पारेको छ । कार्यालयले विद्युत् महसुल इ–बिलिङमार्फत शुरु गरेको प्रमुख यादवले बताएका छन् । मासिक रु १७ करोडभन्दा बढी विद्युत् महसुल उठाउँदै आएको केन्द्रको ग्राहक सङ्ख्या ५० हजार हारहारीमा रहेको छ । हाल केन्द्रमा निवेदन दिएलगत्तै विद्युत मिटर जडान हुने गरेको छ । त्यस्तै कार्यालयले नेपाल सरकारको उज्यालो कार्यक्रमअन्तर्गत विपन्न, गरिब तथा सुकुम्वासीलाई निःशुल्क विद्युत् मिटर वितरणसमेत गरेको छ । रासस
स्पोर्टस अवार्डका लागि क्राउन प्लाजा बन्याे सहप्रायोजक
काठमाडौं । विसं २०७५ मा प्राप्त गरेको उपलब्धि र चर्चालाई आधार मान्दै नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्डका लागि नक्सालस्थित होटल क्राउन प्लाजाले सहयोग गर्ने भएको छ । यही असार १७ गते आयोजना हुने उक्त अवार्डका लागि होटलले सहप्रायोजकको रुपमा सहयोग गर्ने आयोजक मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र उक्त होटलका प्रबन्ध निर्देशक युवराज श्रेष्ठले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै होटलले अवार्ड र मञ्चको कार्यक्रमका लागि चार लाखसम्म बस्न र खानपानका लागि खर्च व्यहोर्ने छ । होटलका प्रबन्ध निर्देशक श्रेष्ठले अवार्डका लागि दुई दिनको खाना र १० वटा कोठा निःशुल्क दिने जानकारी दिए । यस पटक वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र इन्टरनेसनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्रदान गरिने छ । यसरी,कार्यक्रममा वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही रु ५० हजारसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । विभिन्न १० विधामा प्रदान गरिने उक्त कार्यक्रम कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिँदै छ । रासस
रामपुरमा जन्मिने छोरीले पाउने भइन्, स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा
काठमाडौं । रामपुर नगरपालिकाले अब जन्मने छोरीलाई स्तातकोत्तर तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने भएको छ । पाँचौं नगरसभामा नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रममार्फत आर्थिक वर्ष २०७६/७७ देखि जन्म हुने सबै छोरीलाई स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने बताइएको छ । नगरप्रमुख रमणबहादुर थापाले स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमालाई बीमाको व्यवस्था गरिएको र छोरी जन्मिएमा पाँच सय रुपैयाँ थप प्रदान गर्ने बताएका छन् । लैङ्गिक समानता तथा समावेशीकरणका लागि उपभोक्ता समिति गठनमा ३३ प्रतिशत महिला अनिवार्य गर्नाका साथै प्रमुख पदमा कम्तीमा एक जना महिला हुनुपर्ने नीतिको कार्यान्वयन गरिने नगरप्रमुख थापाले बताए । त्यस्तै, एकल महिलाहरुको क्षमता अभिवृद्धि गर्न विपन्नलाई आय, पीडितलाई न्याय कार्यक्रम अघि बढाइने बताउँदै उनले भने, “नगरलाई स्मार्ट सिटीका रुपमा अघि बढाउन संरचनाहरु बालमैत्री, अपाङ्ग एवं ज्येष्ठ नागरिक मैत्री बनाइनेछ ।” प्रत्येक अवस्थामा स्थानीय सरकारको तीन फरक कार्यक्रमको व्यवस्थाअन्तर्गत बालबालिकालाई शिक्षा, स्वस्थ्य, पोषण, युवालाई सीप, उद्यमशीलता र रोजगारी र ज्येष्ठ नागरिकलाई सम्मान, संरक्षण र सुरक्षाको प्रत्याभूतिका लागि कार्यक्रम सञ्चालन गर्ने थापाले बताएका हुन् । त्यसैगरी, ज्येष्ठ नागरिकहरु जिउँदो इतिहास भएकाले नगरपालिकाले अनुभव आदानप्रदान गर्न विभिन्न स्थानमा ज्येष्ठ नागरिक मिलन केन्द्र, चौतारो निर्माण तथा लौरी वितरण कार्यक्रम गरिने र बाबुआमा नपाल्ने सन्तानलाई नगरपालिका तथा वडाको सेवासुविधाबाट वञ्चित गरिने नीति लिइने नगरपालिकाले जनाएको छ । आगामी तीन वर्षभित्र अपेक्षा गरिएको लक्ष्य हासिल गर्न सहयोग पुग्ने गरी नगर, वडा र टोलस्तरीय गौरवका योजना तथा कार्यक्रम तय गरी कार्यान्वयन गर्न प्राथमिकताका साथ नगर, प्रदेश र सङ्घमा स्रोतको व्यवस्थाका लागि पहल गर्ने उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताएकी हुन् । यसरी, नगरपालिकाले खरको छानोरहित घरका लागि जस्तापाता वितरण, ग्रामीण क्षेत्रमा सडक ट्र्याक खोल्ने, कृषि आधुनिकीकरण, युवा स्वरोजगार, सडक स्तरोन्नतिका योजनासँगै सेवालाई प्रभावकारी बनाई गुणात्मक भौतिक तथा संस्थागत पूर्वाधार तयार गर्ने नीति समेत लिएको छ । रासस