ग्रिन टि खाने कि ब्ल्याक टि?

काठमाडौं। ‘ग्रिन टी’ र ‘ब्ल्याक टी’ एउटै चियाको बोटका पातबाट बनाइन्छन् तर यी दुई बिचमा निकै भिन्नता हुन्छ। बिभिन्न अनुसन्धानले धेरैजस्तो चियाको फाइदाहरु उस्तै हुने बताउँछ। तापनी ग्रिन टी र ब्ल्याक टीका केही मुख्य फाइदाहरु भने केही फरक छन्। ग्रिन टीः एउटै पातबाट बन्ने भएतापनि ‘ग्रिन टी’, ‘ब्ल्याक टी’ जस्तो ‘फर्मेन्टेसन’ प्रक्रियाबाट गुज्रदैन, अर्थात ‘ब्ल्याक टी’ झै ‘ग्रिन टी’ बनाउँदा ‘अक्सिडेसन’ प्रक्रिया भएको हुदैन। त्यसैले ग्रिन टीमा ‘इजीसीजी’ नामक एक ‘एन्टीअक्सिडेन्ट’ पाइने हुन्छ जसले क्यान्सर र कार्डियोभास्कुलर (मुटु र रक्तवाहिनी नली) सम्बन्धि रोग प्रतिरोधमा सहयोग पुर्याउँछ। अक्सिडेसन नहुनाले ग्रिन टीमा धेरै ‘पोलीफिनोल्स’ सुरक्षित हुने विश्वास गरिन्छ। जसले तौल घटाउन गरिने कसरत अनि ‘डाएट’ संगैसंगै काम गर्छ। दिउँसोको आरामको समय र बेलुकाको ध्यानको समयमा ग्रिन टीलाई निकै लाभदायक मानिन्छ। यो कम ‘एसिडिक’ हुने हुनाले पेटका अम्ल (एसिड) हरुलाई सफा गर्ने काम पनि गर्छ। शुद्ध अर्गानिक ग्रि टीको ‘डिटोक्सीफाइङ इफेक्ट’ ले छाला चम्काउनुको साथै रोग प्रतिरोध गर्ने क्षमतालाई बढाउँछ। ब्ल्याक टीः यो चिया बनाउँदा फर्मेन्टेसन हुने भएकाले यसमा ग्रिन टीको जस्तो ‘एन्टीअक्सिडेन्ट’ पाइदैन। कफिमा पाइने क्याफिन ब्ल्याक टीमा पनि पाइन्छ, तर केही थोरै मात्रामा। क्याफिनले शरिरमा पानीको मात्रा कायम गर्न मद्धत गर्छ। साथै मष्तिष्कमा रगतको बहाव बढाउन मद्धत गर्छ अनि ब्याक्टेरियासंग ‘फाइट’ गर्ने एन्टीअक्सिडेन्टको कारणले प्रतिरक्षा प्रणालीलाई पनि मजबुत बनाउँछ। ब्ल्याक टीले ध्यान अनि दिमाग केन्द्रित गर्न मद्धत पुर्याउँछ। ब्ल्याक टी र कफि बढी एसिडिक हुन्छ। तर मनतातो ब्ल्याक टीमा कागती राख्नाले शरिरलाई हानिकारक ती एसिड घुलाइदिन्छ। चिया बनाउँदा फरक फरक चियापत्ती एकै ठाँउमा प्रयोग गर्न हुदैन। पानीलाई अत्याधिक उमाल्न हुदैन। ग्रिन टीलाई अत्याधिक उमाल्दा त्यसबाट पाइने फाइदा लिन सकिदैन

नेपाल इन्स्योरेन्स कम्पनीले चितवन टाइगर्सका खेलाडीको बीमा गर्ने

काठमाडौं । नेपालको सबैभन्दा पुरानो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले एभ्रेष्ट प्रिमियर लिग २०१८ मा चितवन टाइगर्सका खेलाडीको बीमा गरेको छ । मंसिर २२ गते देखि पुष ७ गते सम्म हुन गइरहेको टुर्नामेन्टमा चितवन टाइगर्सका खेलाडीहरुको स्वास्थ्य र दुर्घटना बीमा कम्पनीले प्रयोयजन स्वरुप गर्ने समझदारी भएको छ । यस सम्बन्धि सम्झौतामा नेपाल इन्स्योरेन्स कम्पनीका डेपुटी सीईओ विक्रान्त पाण्डे र चितवन टाईगर्सको प्रतिनिधिबीच भएको हो । आगामी तेस्रो एभ्रेष्ट प्रिमियर लिग टि–२० टुर्नामेन्टमा त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । नेपालमा क्रिकेट खेलको लोकप्रियता बढ्दै आइरहेको कारण खेलको प्रगतिको लागि चितवन टाइगर्सका खेलाडीको बीमा गरिएको पाण्डेले बताए । यस कार्यले खेलकुद प्रतियोगिता आयोजना गर्न सहयोग पनि पुग्ने र खेलाडीको जोखिम हस्तान्तरणको लागि बीमा पनि हुने उनले बताए । चितवन टाइगर्स पृथु बास्कोटाको कप्तानीसँगै दिपेन्द्र सिंह अ‍ैरी, आईरलाण्डको पल स्टर्लिङ्ग र बेलायतको जोन सिम्पसन, जर्ज स्कट र अन्य उत्कृष्ट खेलाडीहरुको साथ “रोर रोर चितवन टाइगर्स” को नारा लिई यो टुर्नामेन्टमा सहभागी हुन गइरहेको छ ।

१ महिना देखी फोन गर्न एक दिन हिँड्नुपर्ने बाध्यता

हुम्ला। हुम्लाको उत्तरी गाउँपालिकामा मोवाइल फोनको टावर बिग्रदा एक महीनादेखि सेवाग्राही मर्कामा परेका छन् । सो टावर बिग्रँदा नाम्खा गाउँपालिका, वडाकर्मी, यालवाङ, याङ्गार, मुचु, गारीलगायतका गाउँका सेवाग्राही मर्कामा परेको नाम्खा माहामाया आधारभूत विद्यालयका शिक्षक दत्तबहादुर शाहीले बताए। नमस्ते नेपालको टावरले काम नगर्दा नाम्खाका स्थानीयवासीले सञ्चो, बिसञ्चो खबरसँगै अन्य अति आवश्यक कुराकानी गर्न नपाएको त्यस क्षेत्रका स्थानीयवासीले गुनासो गरेका छन् । घरबाट धेरै टाढा भएकाले घर परिवारको खबर आदानप्रदानका लागि एक दिनको बाटो हिँडेर सिमकोट गाउँपालिकाको डाँडाफया आउनुपर्ने बाध्यता रहेको शिक्षक शाहीले गुनासो गरेका छन्। यसको मर्मतको लागि पटकपटक नेपाल टेलिकम शाखा हुम्लालाई हारगुहार गर्दा कुनै सुनुवाइ नभएको उक्त गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए। मोबाइलमा कहिलेकाहीँ टावर देखाए पनि नेटवर्कले काम नगर्दा ब्यालेन्समात्र सकिने गरेको शिक्षक शाहीको भनाइ रहेको छ । त्यस क्षेत्रका स्थानीयवासीले फोनमा कुरा गर्नका लागि एक दिनको पैदल यात्रा डाँडाफया पुग्नुपर्ने बाध्यता रहेको छ । हिउँद लागेसँगै चिसो बढेका कारण पावर नपुगेर त्यति काम नगरेको नेपाल टेलिकम शाखा हुम्लाका प्रमुख रामबहादुर खातीले बताए। रासस