शुरु भो मनसुन, कालीगण्डकीमा बन्द भो र्याफ्टिङ
पर्वत । मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि (र्याफ्टिङ) जलयात्रा रोकिएको छ । विशेषगरी चैत, वैशाख र जेठ महिनामा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष असार पहिलो सातापछि मनसुन शुरु भएपछि मात्र बन्द गरिएको हो । कालीगण्डकी नदीमा अङ्ग्रेजी महीना सेप्टेम्बरको मध्यदेखि अक्टुबरसम्म र मार्चदेखि जुनसम्म जलयात्रा (र्याफ्टिङ) सहज रूपमा सञ्चालन गर्न सकिन्छ । मनसुन शुरु भएसँगै नदीमा पानीको बहाब बढेपछि र्याफ्टिङ रोकिएको व्यवसायी होमबहादुर पुनले जानकारी दिए । “अघिल्लो वर्ष जुन ५ सम्म र्याफ्टिङ गर्न सकेका थियौँ”, उनले भने, “यस वर्ष जुन १५ सम्ममात्रै सञ्चालन भएको हो । वर्षाको समाप्तिसँगै असोजको पहिलो साता अर्थात् सेप्टेम्बरदेखि पुन सञ्चालनमा आउने उनले बताए । छोटो र पारिवारिक जलयात्राका लागि कालीगण्डकी नदीमा जलयात्रा गर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएको स्वीसा र्याफ्टिङ एण्ड ट्रेकिङ टुरिजम कम्पनी पोखराका सञ्चालक देव रेग्मीको भनाइ छ । लामो, समथर र कम बहाब भएकाले विदेशी नागरिक अन्य नदीभन्दा कालीगण्डकीलाई नै रोज्ने गर्दछन् । सिजनको बेला कालीगण्डकी नदीमा अहिले दैनिक दुई-तीन समूहमा पर्यटक आउने गर्दछन् । अन्य नदीको तुलनामा पर्यटकले यसलाई पहिलो रोजाइमा पार्दै आएकाले पनि पर्यटकको आगमन बढेको रेग्मीको भनाइ छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित नयाँपुल तथा मालढुङ्गादेखि शुरु हुने जलयात्रा स्याङ्जा, पर्वत र गुल्मीको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुङ्गिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यको रूपमा रहेको छ । रासस
दीगाे शहरी विकासमा केन्द्रित ललितपुर महानगर, के के छन् याेजना ?
ललितपुर । खैरो कोटसहित नेपाली राष्ट्रिय पोशाकमा उपस्थित भएका नगरसभा सदस्यहरुमाझ संघीय सरकारका मन्त्री, संघीय तथा प्रदेश सांसदलाई साक्षी राखेर ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ललितपुर महानगर क्षेत्रलाई दिगो विकाससहित स्वस्थ र समुन्नत सांस्कृतिक शहर बनाउने लक्ष्य लिएका छन् । उनले महानगरले ‘ललितपुर नगर स्वस्थ समुन्नत सांस्कृतिक शहर’ भन्ने दीर्घकालीन सोचसहित महानगर अघि बढेको समेत बताए । अगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत र बजेटमार्फत् ललितपुर महानगरपालिकाले मूलभुत रुपमा नगरपालिकाको सार्वजनिक सेवा प्रवाहमा सुशासन, पारदर्शिता र जवाफदेहीतालाई आगामी वर्षको प्रमुख लक्ष्य बनाएको छ । त्यस्काहेक रोजगारमुखी विकास, शहरी पूर्वाधार निर्माण सम्पदा संरक्षण, पर्यटन विकास, वातावरण संरक्षण, सामाजिक समानता र समावेशीकरण, माननव संशासन विकास, गरिबी न्यूनीकरणलाई बढी प्राथमिकता दिनेगरी नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । पूर्वाधार निर्माणका लागि महानगरले पूर्वाधार विकास अवधारणा निर्माण गरी सोहीअनुसार सडक र ढल निर्माण गर्ने जनाएको छ । त्यस्तै महानगर क्षेत्रभित्रको सडक ढल खानेपानी, भवन तथा पार्क निर्माणका लागि बहुवर्षीय योजना कार्यान्वयनका लागि रणनीतिक आवधिक योजना तयार गरिने उल्लेख गरिएको छ । ललितपुरले एक वडामा कम्तीमा पनि एउटा पार्क र सार्वजनिक शौचालय बनाउने व्यवस्था गर्ने र ५० लाखसम्मको लागत साझेदारीमा शौचालय बनाई १० वर्षसम्म सञ्चालन गर्नेगरी सम्बन्धित वडाले सम्झौता गर्नसक्ने व्यवस्था समेत गरेको छ । त्यस्तै, खानेपानी, ढल र विद्युत् पोलहरुको पूर्वाधार पूरा भएका सडकहरुलाई पिच गर्दैजाने र एकपटक पिच भएका सडक २ वर्षसम्म भत्काउन नदिने व्यवस्था समेत महानगरले गर्ने भएको छ । महानगरले वातावरण सम्पदा संरक्षण गर्न भन्दै ४ मिटर भन्दा कम चौडा भएका स्थानमा ढलान नगर्ने बरु इँटा र ढुङ्गाको ब्लक छाप्ने व्यवस्था गर्ने भएको छ । त्यस्तै, पुरातात्विक सम्पदाहरुलाई ताररहित बनाउन सम्बन्धित संस्थाहरुसँग समन्वय गर्ने लक्ष्य समेत लिइएको छ । त्यस्तै, २४ नम्बर वडामा महानगरीय सभागृह, २७ नम्बर वडामा महानगरीय अस्पताल, महानगरीय व्यवसायिक शिक्षालय, तथा खेलकुद मैदानसमेत बनाउने, प्रत्येक ठूला सडकहरुमा साइकल लेन बनाउने, ठूला बसहर र विद्युतीय बसहरुलाई प्राथमिकता दिने लक्ष्य लिएको छ । महानगरका सबै सेवाहरुलाई छिटो गर्न भन्दै महानगरले विद्युतीय प्रणालीलाई विशेष महत्व दिएको छ जसअन्तर्गत सबै सेवाहरुको बारेमा मोबाइल एपमार्फत् जानकारी दिने, नक्सापास, बोलपत्र लगायतलाई विद्युतीय माध्यमबाट गर्ने, इमिडिया सचेतना कार्यक्रम गर्ने लगायतका कार्यक्रम छन् । नक्सापास भएको २ वर्षभित्र पनि भवन निर्माण सम्पन्न नभएका वा महानगरको सम्पर्कमा नआएकाको नक्सापास खारेज गर्ने, नक्सापास नगरी बनेका घरहरुलाई करको दायरामा ल्याउने व्यवस्था गर्ने योजना समेत महानगरको छ । रोजगारी अभिवृद्धि गर्ने भन्दै महानगरले महानगरले एक घर एक उद्यम नारासहित रोजगारी अभिवृद्धिमा जोड दिने भएको छ यसका लागि महिला र युवालक्षित स्वरोजगार कार्यक्रमलाई प्रभापकारी बनाइने नीति लिने लक्ष्य लिइएको छ । त्यस्तै कृषिमा आश्रितहरुलाई सहयोग पुग्नेगरी कृषि सूचना केन्द्र अद्यावधि गर्ने, अत्याधुनिक प्रविधिको प्रयोगमार्फत खेती गर्न प्रोत्साहित गर्ने, टनेल खेतीमा प्रोत्साहन तथा उच्च मूल्ययुक्त उत्पादनमा जोड दिने, बीउ एटीएम प्रविधिलाई प्रवद्र्धन गर्ने नीति समेत लिएको छ । कर तिर्नेलाई प्रोत्साहन, छल्नेको सुविधा कटौती महानगरले करको दायरामा नआएकाहरुलाई दायरामा ल्याइ नियमित रुपमा कर तिर्ने व्यवस्था गर्नेगरी राजश्व नीति ल्याउने भएको छ । त्यसका लागि कर तिर्न अटेरी गर्ने, झुटो विवरण पेश गरी कर छल्नेहरुलाई कारबाही गरी महानगरले दिने सेवा कटौती गर्दैजाने नीति समेत लिइएको छ । त्यसका लागि अन्य सुविधाहरु लिँदा सम्पत्ति कर चुक्ता प्रामाणपत्र अनिवार्य गर्ने व्यवस्था गर्न प्रदेश तथा केन्द्र सरकारसँग समन्वय गर्ने समेत लक्ष्य लिइएको छ । पहिलोपटक करको दायरामा आउन चाहनेलाई आफ्नो सम्पत्तिको स्वघोषणा गरी कर तिर्ने छुटछ दिने, वडाबाट कुनै सफिारिस दिँदा करचुक्ता गरेको प्रमाणपत्र पेश गरे १५ प्रतिशत छुट दिने, नक्सा पासविना घरको तल्ला थप्नेलाई पछि नक्सापास गर्दा सामान्य भन्दा तेब्बर शुल्क लिने व्यवस्था समेत गरेको छ । महानगगर क्षेत्रभित्रका भूकम्पपीडित लाभग्राही सूचीमा रहेकाहरुको घरको नक्सापास भने महानगरले एकपटकका लागि नि:शुल्क गरिदिनेछ ।
काठमाडौँ महानगरको मुख्य चोकमा सबैतिर उज्यालो दिने बत्ती ‘हाइमास’ जडान गरिने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मुख्यमुख्य चोकमा सबैतिर उज्यालो दिने बत्ती (हाइमास) जडानको योजना बनाएको छ । अरु सामान्य बत्तीको तुलनामा ‘हाइमास’ ले ठूलो क्षेत्रफलसम्म उज्यालो दिने भएकाले महानगरले सवारी चाप बढी भएका झण्डै २० चोकमा बत्ती जडान गर्न लागिएको जनाएको छ । कुनै पनि चोकमा ‘हाइमास’ बत्ती जडान गरेपछि त्यसले चारैतिर फैलिएर उज्यालो दिने महानगरपालिकाका प्रवक्ता ईश्वर डङ्गोलले बताए । टाढाटाढासम्म उज्यालो दिने यी बत्ती जडानका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको अन्तिम चरणमा रहेको उनले बताए । उनले भने, “त्यही प्रतिवेदनका आधारमा जडानको काम शुरु हुनेछ ।” बानेश्वर, त्रिपुरेश्वर, महाराजगञ्ज, कोटेश्वर, माइतीघर, चावहिललगायतका स्थानमा हाइमास बत्ती जडान गर्न महानगरपालिकाले बजेटको समेत व्यवस्था गर्ने प्रवक्ता डङ्गोलले बताए । चोकचोकमा बत्ती जडान गर्दा कुन उचाइमा, कता फर्काएर र कसरी जडान गर्ने भन्ने विषयमा अध्ययन भइरहेको छ । नेपालका लागि ‘हाइमास’ बत्ती नयाँ भएकाले अध्ययनकै लागि लामो समय लागेको उनको भनाइ छ । मुख्य चोकमा राख्न लागेको यो बत्ती यात्रु र चालक दुवैका लागि सहज हुने कामनपाले जनाएको छ । महानगरपालिकाले ‘मेयर उज्यालो कार्यक्रम’ अन्तर्गत मुख्य र भित्री सडकमा गरेर झण्डै १६ हजार बत्ती जडान गरिसकेको छ । महानगरपालिकाले वडा कार्यालयहरुसँगको समन्वयमा बत्ती जडान गरेको हो । रासस