छोरी जन्मिए खातामै एक हजार,छोरीकै सुरक्षाका लागि छुट्यायो रु सात करोड

काठमाडौं । कर्णाली सरकारले छोरी जन्मिए बैंक खाता खोली एक हजार रुपियाँ जम्मा गरिदिने भएकाे छ ।  २० वर्षसम्म प्रत्येक महिना रु ५०० का दरले रकम जम्मा गरिदिने कार्यक्रम ल्याएको हो । आइतबार सार्वजनिक बजेटमा छोरीको सुरक्षाका लागि रु सात करोड विनियोजन गरिएको छ । “छोरीको लालनपालन र शिक्षादीक्षाका लागि छोरी जन्मेको अवसरमा बैङ्कमा खाता खोली एक हजार रुपैयाँ जम्मा गर्ने र प्रत्येक महिना रु ५०० का दरले विवाहयोग्य उमेर २० वर्षसम्म जम्मा गरिनेछ,” बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले भने – “छोरीको सुरक्षा जीवनभरिको कार्यक्रमको घोषणा गरेको छु । यस कार्यका लागि रु ७ करोड बजेट छुट्याएको छु ।” यसका साथै शिक्षा, स्वास्थ्य, पर्यटन लगायतमा क्षेत्रमा पनि प्राथमिकताका साथ बजेट छुट्याइएको छ । महिला स्वास्थ्य स्वयंसेविकाको कामको कदर गर्दै प्रोत्साहन स्वरुप वार्षिक १० हजार रुपैयाँ उपलब्ध गराउने बजेट वक्तव्यमा उल्लेख छ । स्वास्थ्य संस्थामा आई बच्चा जन्माउने आमालाई पोषणबापत दुई हजार रुपैयाँ उपलब्ध गराइने भएको छ । प्रदेश सरकारले छाउपडी प्रथा, बालविवाह, अनमेल विवाह, घरेलु हिंसा जस्ता सामाजिक विकृति अन्त्य गर्दै छोरीलाई गर्भदेखि नै समान रुपले हुर्काउन र पढाउन छोरीबुहारी मूलप्रवाहीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसैगरी राउटे, बादी लगायतका लोपोन्मुख तथा अल्पसङ्ख्यक सिमान्तकृत वर्ग, समुदायको संरक्षणका लागि आयमूलक कार्यक्रमको व्यवस्था गरिने मन्त्री ज्वालाले बताएका छन् । आव २०७६÷७७ का लागि कर्णाली प्रदेश सरकारले ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँको बजेट ल्याएको छ । कुल विनियोजनमध्ये चालुतर्फ रु १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पुँजीगततर्फ रु २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार छुट्याइएको छ । रासस

जनता आवास: ३११ घरधुरीले अन्तिम किस्ता पाएसँगै घर निर्माण

काठमाडौं । जनता आवास कार्यक्रमको रकम यहाँका घर निर्माण गरिरहेका दलित समुदायले पाएका छन् । घर निर्माण गरी बीचमा छाडेका र निर्माण हुँदै गरेका दलित समुदायलाई रकम पाएपछि राहत मिलेको छ । यसअघि रकम निकासा नहुँदा घर निर्माणमा समस्या भएको भनी घर निर्माण गरिरहेका दलित समुदाले आक्रोश व्यक्त गरेका थिए । जनता आवास कार्यक्रमबाट साविकका दुनै, जुफा, त्रिपुराकोट, पाहाडा, लहाँ, नर्कु, कालीका, सर्मी गरी जम्मा आठ गाउँपालिकाका ३२७ वटा घरधुरीलाई निकासा दिने भनी सम्झौता भएको थियो । सरकारले दलितभित्रका विपन्न वर्गलाई लक्षित गरी सञ्चालन गरेको जनता आवास कार्यक्रमले वास्तविक गरिब दलित समुदायलाई राहत पुगेको छ । घर निर्माणकार्य शुरु भएदेखि अहिलेसम्म चार किस्ता गरी रु तीन लाख ८० हजार रकम सरकारले अनुदान दिने व्यवस्था भएबमोजिम निकासा गर्न लागेको हो । आर्थिक वर्ष २०७४/७५ असार मसान्तभित्र सक्ने भनी शहरी विकास मन्त्रालयले सम्झौता गरेको थियो, तर सङ्घीयता लागू भएपछि र कार्यालय समायोजन गरेपछि कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई जिम्मा दिँदा काम ढिला भएको थियो । अहिले आर्थिक वर्ष २०७५/७६ को असार मसान्तभित्र सम्पन्न गरी सक्नुपर्ने कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले बताएको छ । तीन सय २७ घरधुरी सम्झौता भए पनि कसैको नाम, थर दोहोरिएको र नाम थर बिग्रिएका कारण अहिले ३११ घरधुरीले पूरै रकम भुक्तानी पाउने भएको जनता आवास निर्माण कार्यक्रमका प्रमुख सजीवमान श्रेष्ठले जानकारी दिएका छन् । डोल्पाका ८० प्रतिशत घर चुलीसम्म निर्माण भइसकेको सव इञ्जिनीयर भीमसेन बस्नेतले बताए । सरकारको लगानीमा घर निर्माण भएपछि यहाँका स्थानीयवासी नयाँ घरमा बस्न पाउँदा निकै खुशी भएको त्रिपुरासुन्दरी नगरपालिका–८ पाहाडाका स्थानीय कर्णकामीले बताएका हुन् । समयभन्दा पहिला नै निर्माण भइसक्नुपर्ने घर आर्थिक अभावका कारण एकवर्ष लागेको मुड्केचुला गाउँपालिका–२ भेट गाउँका बलबहादुर सार्कीले बताउँदै भने ढिलै भए पनि सबै भुक्तानी गरेर घर निर्माण भएकोमा विकले खुशी व्यक्त गरेका छन् । रासस

टाटा ट्रस्ट र सिप्रदीयन सहायता संस्थाद्वारा पुनर्निर्माण गरिएको विद्यालय हस्तान्तरण

काठमाडौँ । टाटा ट्रस्ट तथा सिप्रदी ट्रेडिङ प्रालिको सामाजिक उत्तरदायित्व विङ (सिप्रदीयन सहायता संस्था) को सहयोगमा पुनर्निर्माण गरिएको सिन्धुपाल्चोक जिल्लास्थित कूपकन्या माध्यमिक विद्यालय हस्तान्तरण गरिएको छ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एउटा विशेष समारोहका माझ पुनर्निर्माण गरिएको उक्त विद्यालयको उद्घाटन गरे । ‘नेपाल भूकम्प पुनस्र्थापना परियोजना’को एक हिस्सास्वरूप टाटा ट्रस्टले सिप्रदीयन सहायता संस्थासँगको साझेदारीमा वि.सं. २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका सातवटा विभिन्न विद्यालयहरूको पुनर्निर्माण गरिएको गरिएको छ । भूकम्पप्रतिरोधी आधुनिक संरचना र अपांगमैत्री सुविधाहरू भएको सो विद्यालयको पुनर्निर्माण गरिएको छ । सिन्धुपालचोकमा पुनर्निर्माण गरिएका अन्य ६ वटा विद्यालयहरूमध्ये श्री कूपकन्या माध्यमिक विद्यालय सबैभन्दा ठूलो हो । वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट ती विद्यालयहरूको कक्षाकोठा, विज्ञान प्रयोगशाला र अन्य संरचनामा ठूलो क्षति पुगेको थियो । हस्तातन्तरण समारोहमा सर दोराब्जी टाटा ट्रस्टका ट्रस्टी भि.आर. मेहता, सिप्रदीयन सहायता संस्थाका अध्यक्ष सिद्धार्थ शमशेर जबरा, सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहाल, अग्निप्रसाद सापकोटा तथा अरुण नेपालको उपस्थिति थियो । त्यसैगरी टाटा ट्रस्ट्सका प्रमुख वित्त अधिकारी आशिष देश पाण्डे, क्षेत्रीय प्रमुख अमृता पतवर्धनका साथै संघीय सांसद् र स्थानीय सरकारी अधिकारीहरूको पनि उपस्थिति थियो ।