आर्ट अफ लिभिङ पोखराले शुक्रबार खुल्ला योग शिविर सञ्चालन गर्ने, प्रवेश निशुल्क
काठमाडौं । आर्ट अफ लिभिङ पोखराले शुक्रबार खुल्ला योग शिविर सञ्चालन गर्ने भएको छ । जुन २१ मा अन्तराष्ट्रिय योग दिवस मनाइने हुदाँ सोही दिन पारेर पोखरामा पनि योग शिविरको आयोजना गर्न लागिएको आर्ट अफ लिभिङ पोखराका संयोजक विश्वमोहन अधिकारीले बताएका छन् । संयोजक अधिकारीका अनुसार शिविर बिहान ६ बजेदेखि बेलुका ७ बजे सम्म केदारेश्वर मन्दिर परिसर मैदानमा हुनेछ । योग शिविरलाई भव्य रुपमा सम्पन्न पार्न विभिन्न उप–समितिहरु गठन समेत गरी तयारीलाई तिव्र पारिएको छ । आर्ट अफ लिभिङको कोर्ष अनुसार योग शिक्षकले नै सहभागीलाई योग सिकाउनेछन् । योग शिविरमा सहभागी हुने सबैलाई प्रवेश निशुल्क गरिएको जनाइएको छ । शुक्रबार हुने उक्त योग शिविरमा बढीभन्दा बढी सहभागी जुटाउन आर्ट अफ लिभिङ पोखराले आइतबारबाट पोखरा क्षेत्रका विभिन्न स्कुल, कलेज, धार्मिक संघ संस्थामा योग शिविरको प्रचार प्रसार गर्दै शिविरमा सहभागीतालाई आग्रह गरेको छ । हालसम्म विश्वभर १५५ देशमा आर्ट अफ लिभिङका सेन्टर स्थापित छन् । यसका गुरु रबिशंकर हुन् । पोखरामा मात्र करिब १८००० जनाले आर्ट अफ लिभिङको कोर्ष लिइसकेका छन् । हालैमात्र आर्ट अफ लिभिङ पोखराले अध्यात्म, उद्यमशिलता र गतिशिलता विषयक ४ दिने यूवा परियोजना सञ्चालन गरिसकेको संयोजक विश्वमोहन अधिकारीले बताएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरमा महिला क्रिकेट शुरु : पहिलो खेलमा सुदूरपश्चिम विजयी
काठमाडाैं । कञ्चनपुरको महेन्द्रनगरमा राष्ट्रिय खेलकूद परिषद्को आयोजनामा बुधबारदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको गण्डकीले २० ओभरमा सबै विकेट गुमाएर ५८ रन बनाएको थियो । गण्डकीका शिला रेग्मीले १९ र सुशिला गुरुङले १७ रन बनाए । सुदूरपश्चिमका तर्फबाट कविता कुँवर, लक्ष्मी साउद र जानकी भट्टले समान दुई विकेट तथा कविता जोशीले एक विकेट लिएका थिए भने तीन खेलाडी रन आउट भएका छन् । लक्ष्य पूरा गर्न ब्याटिङमा उत्रेको सुदूरपश्चिमले एक विकेट गुमाएर निर्धारित २० ओभरको खेलमा सात ओभरमै लक्ष्य भेटाएको थियो । सुदूरपश्चिमका तर्फबाट कविता कुँवरले २१ तथा कविता जोशी र रेवती धामीले समान १२ रन बनाएका थिए । गण्डकीका तर्फबाट मनिषा उपाध्यायले एक विकेट लिएकी थिइन् भने खेलको म्यान अफ दी म्याच कविता कुँवरलाई घोषित गरियो । रासस
अग्निपीडितका लागि राहत, ३९ परिवारको आवास पुनःनिर्माण सम्पन्न
काठमाडाैं । आगलागीबाट खण्डहर बनेको बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवीगाउँको बस्ती पुनःनिर्माण गरिएको छ । ढोरपाटन नगरपालिकाले अग्निपीडित परिवारलाई उपलब्ध गराएको रु एक लाख राहत रकम र नगरप्रमुख देवकुमार नेपालीले व्यक्तिगत रूपमा उपलब्ध गराएको जस्तापाताले अग्निपीडितको घर पुनःनिर्माण गरिएको हो । विसं २०७५ मङ्सिर ९ गते नवीगाउँमा भएको भीषण आगलागीबाट घरबासविहीन बनेका ३९ परिवारको आवास पुनःनिर्माणकार्य सम्पन्न भएको ढोरपाटन नगरपालिकाले जनाएको छ । नगरपालिकाले बस्ती निर्माणका लागि ३९ घरपरिवारलाई पहिलो किस्ता रु २५ हजार पहिला नै हस्तान्तरण गरेको थियो भने बस्ती निर्माण सम्पन्न भएसँगै अन्तिम किस्ता रु ७५ हजार हस्तान्तरण गरिएको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताएका छन् । ढोरपाटन नगरपालिकाको तर्फबाट रु एक लाख तथा नगरप्रमुखको व्यक्तिगत रङ्गीन जस्तापाता र एक/एक थान सौर्य उपकरण सहयोग गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले जानकारी दिए । आगलागीबाट खरानी बनेको नवीगाउँको पुनःनिर्माणपछि बस्तीको मुहार नै फेरिएकामा अग्निपीडित खुशी भएका छन् । “जनताका निम्ति धेरै आलोचनाका बीचमा बस्ती पुनःनिर्माण गरेका छौँ”, नगरप्रमुख नेपालीले भने, “अग्निपीडितले गाउँमै सिंहदरबार आएको बल्ल महसुस गर्न पाए ।” आगलागीबाट घर पूर्णरुपमा नष्ट भएपछि अस्थायी छाप्रोमा बस्दै आएका अग्निपीडित दिलीपकुमार विकले ढोरपाटन नगरपालिका र नगरप्रमुखको सहयोगमा नयाँ घरमा बस्न पाउँदा साँच्चिकै स्थानीय सरकार घरदैलोमा आएको भन्दै खुशी व्यक्त गरेका छन् । पहिले कुरुप देखिने नवीगाउँ अहिले एउटै रङको जस्तापाताले छाएको एकै प्रकारको घरले सुन्दर भएको छ । सुन्दर आवाससँगै सोलार पातासमेत पाएपछि आफूहरुमा खुशीकाे सीमा नरहेको अग्निपीडित काले कामीले बताए । रासस