आइसिटी अवार्ड २०२५ को छनौट प्रक्रिया जारी : ४ विधामा छानिए उत्कृष्ट १२ र १३ सेमिफाइनलिस्ट
काठमाडौं । आइसिटी अवार्ड २०२५ का लागि केही विधामा नोमिनेशन खुला रहेको र केही विधामा बहुपर्यायी छनोट प्रक्रिया जारी छ । क्याटेगोरी ‘ए’ अन्तर्गत दोस्रो चरणको मूल्यांकन पश्चात् चार विभिन्न विधामा उत्कृष्ट १२ र १३ सेमिफाइनलिस्टहरू सार्वजनिक गरिएको छ । स्टार्टअप र प्रडक्ट आइसिटी अवार्डमा उत्कृष्ट १२-१२ सेमिफाइनलिस्ट चयन गरिएका छन् भने राइजिङ स्टार इन्नोभेसन र सोसियल इन्नोभेसन विधामा उत्कृष्ट १३-१३ सेमिफाइनलिस्ट चयन भएका छन् । १४ जना विज्ञ जूरी सदस्यहरूले आवेदनकर्ताहरूका कागजात, वेबसाइट, प्रणाली र एप्लिकेसनहरूको अध्ययन गरी व्यवस्थित डिजिटल भोटिङ प्रणालीमार्फत मूल्यांकन गर्दै सेमिफाइनलिस्टहरूको छनोट गरेका हुन् । अब सेमिफाइनलिस्टहरूले उत्कृष्ट ५ फाइनलिस्ट छनोटका लागि विभिन्न प्री–इभेन्ट, ग्राण्ड जूरी प्रस्तुती र स्पीड डेटिङ चरणहरू पार गर्नुपर्नेछ । पहिलो चरणमा प्राप्त आवेदनहरू सर्टलिस्ट गरी १५ दिनभित्र विज्ञ जूरीले ग्राण्ड जूरीको लागि सेमिफाइनलिस्टहरू सार्वजनिक गरेका हुन् । यी चार विधामा ३०० बढीको अनलाइन नोमिनेसन प्राप्त भएको थियो । यी विधाहरू बाहेक क्याटेगोरी ‘सी’ अन्तर्गतका संस्थागत अवार्डहरूको छनोट प्रक्रिया जारी छ भने क्याटेगोरी ‘बी’ अन्तर्गतका व्यक्तिगत अवार्डहरूको नोमिनेशन अझै खुला रहेको छ । यसैगरी दक्षिण एसियाली देशहरूलाई लक्षित साउथ एसिया स्टार्टअप र प्रोभिन्स स्टार्टअप रिकग्निसनको नोमिनेशन पनि अन्तिम चरणमा पुगेको छ ।
जेनजीहरुले छुट्टै राजनितिक दल खोल्नुपर्छ : शहीद तथा घाइते परिवार
काठमाडौं । जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारका सदस्यहरूले जेनजी आन्दोलनको उपलब्धिलाई रक्षा गर्नको लागि जेनजीहरुको छुट्टै राजनिनितक दल खोल्नुपर्ने बताएका छन् । आन्दोलन भएको एक महिना पुगेको दिन बिहीबार (असोज २३) काठमाडौंस्थित नवदुर्गा होटलमा आयोजित राष्ट्रिय भेलामा उनीहरुले छुट्टै राजनितिक दलको आवश्यकता औंल्याएका हुन् । जेन जेड, वाई, एक्सको सहभागीताका तत्कालै राजनितिक दल गठन हुनुपर्ने उनीहरुको भनाई छ । राजनीतिक दल गठन पश्चात जेनजी आन्दोलनले अन्तर्राष्ट्रिय मान्यता पाउने हुनाले प्राप्त उपलब्धि रक्षा गर्न सहज हुने उनीहरुले बताए । उनीहरुले सरकारले तुरुन्तै शहीदहरुको सपना र घाईतहरुको माग सम्बोधन गर्नुपर्ने बताए । भदौ २३ र २४ गतेको घटनाको छानबिन गरी दोषिउपर कारबाही गर्न पनि उनीहरुले माग गरे । जेनजीको समूह फरक-फरक भएको भन्दै उनीहरुले एकजुट हुन पनि आग्रह गरे । जेनजी आन्दोलनका उपलब्धीहरुको रक्षा र भावी योजना तय गर्ने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरिएको हो । गत भदौ २३ र २४ गते जेन जी आन्दोलन भएको थियो । आन्दोलनमा धेरै धनजनको क्षति भएको छ ।
जेनजीका माग पूरा नगरेको भन्दै सरकारविरुद्ध प्रदर्शन, सुरक्षा व्यवस्था मजबुत
काठमाडौं । जेनजीहरुका माग पूरा नगरेको भन्दै अन्तरिम सरकारविरुद्ध प्रदर्शन गर्न पुगेका केही अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बिहान माईतीघर मण्डलामा जेनजीका मागहरु सरकारले पूरा नगरेको भन्दै प्रदर्शनका लागि पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा डाक्टर निकोलस भुसाल र स्वतन्त्र अभियन्ता एसपी साह लगायत रहेका छन् । उनीहरू जेनजीहरुले अन्तरिम सरकारसँग राखेका मागहरु पूरा गर्न ढिलाइ गरेको, भ्रष्टाचार र बेथिति विरुद्ध कुनै कदम नचालेको, जेनजी पुस्ताले गत भदौ २३ गते गरेको आन्दोलनमा दमन गर्नेहरूलाई पक्राउ नगरिएको भन्दै विभिन्न माग राखेर प्रदर्शन गर्न पुगेका हुन् । प्रहरीले पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखेका छ । जेनजीका नाममा माईतीघरसहित काठमाडौंका विभिन्न स्थानमा गतिविधिहरू बढ्दै गएपछि सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।