युगाण्डाबाट ठमेलमा आएर यौनधन्दा गराउने २० जना महिला पक्राउ

काठमाडौं । ठमेलमा अनैतिक क्रियाकलाप गर्ने युगाण्डाका २० जना विदेशी महिला पक्राउ परेका छन् । घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई सार्वजनिक स्थानमै अवैध रूपमा पैसामा बार्गेनिङ गरी यौन धन्दामा संलग्न गराउने विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको हो ।  प्रहरीका अनुसार उनीहरूले व्यवसाय सञ्चालन गरी बाटो हिँड्ने सर्वसाधारण मानिसहरूलाई समेत दुःख हैरानी दिने गरेका थिए । ठमेल स्थित विभिन्न स्थानहरूमा चेकजाँच गर्ने क्रममा काठमाडौं महानगरपालिका २६ ठमेल फायरचोकबाट यौन धन्दामा संलग्न विदेशी महिलाई पक्राउ गरेको हो । युगाण्डाका महिला नागरिकहरूले बाटो हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलाप सम्बन्धी मोलमोलाई गरी दुःख हैरानी दिने गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १२ दिनको म्याद थप गरेर प्रहरी वृत लैनचौरबाट अनुसन्धान भइरहेको छ ।   

कम्बोडियाबाट ५१ नेपालीको उद्धार, दूतावासको पहलमा स्वदेश फिर्ता

काठमाडौं । विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका तथा त्यहाँ अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएका ५१ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको छ । नेपाली राजदूतावास बैंककको पहल तथा कम्बोडिया सरकारको सहयोगमा गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरूलाई नेपाल फर्काइएको हो । उद्धार गरिएका नेपालीहरू चैत १० गते कम्बोडियाबाट उडी चैत ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ । दूतावासका अनुसार अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपाली नागरिकलाई समेत स्वदेश फर्काउने पहल जारी रहेको छ । कम्बोडियामा नेपाली नागरिकलाई अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको तथा भिसाविना वा भिसा अवधि सकिएपछि समेत बसिरहेको जानकारी प्राप्त भएपछि उद्धार प्रक्रिया अघि बढाइएको दूतावासले जनाएको छ । यस्तो अवस्थामा रहेका नेपाली नागरिकलाई नेपाल फर्कन सहजीकरणका लागि नेपाली राजदूतावास बैंकक वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिहरूसँग यथाशीघ्र सम्पर्क गर्न अनुरोध गरिएको छ । स्क्यामिङ केन्द्रहरूमा काम गराइएका धेरै नेपालीको राहदानी कम्पनीले जफत गर्ने वा स्थानान्तरणका क्रममा हराएको गुनासो आएको दूतावासले जनाएको छ । त्यस्ता अवस्थामा नेपाल फर्कन चाहने नागरिकलाई दूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र उपलब्ध गराउने व्यवस्था रहेको जानकारी दिइएको छ । कम्बोडियाको पर्यटनसम्बन्धी तथ्यांकअनुसार पछिल्ला वर्षहरूमा भ्रमण भिसामा कम्बोडिया जाने नेपालीको संख्या तीव्र रूपमा बढेको देखिएको छ । सन् २०२१ मा १०१ जना नेपाली कम्बोडिया गएकोमा सन् २०२२ मा १,९७७, सन् २०२३ मा २,९४०, सन् २०२४ मा ६,४०४ र सन् २०२५ मा ९,६७७ जना पुगेका छन् । नेपाल सरकारले तोकेको मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा छिटो र धेरै पैसा कमाउने प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड लगायतका मुलुकमा भ्रमणको बहानामा रोजगारीका लागि नजान दूतावासले पुनः आग्रह गरेको छ । साथै, उक्त सन्देश व्यापक रूपमा प्रवाह गर्न आमसञ्चार माध्यम र नागरिक समाजसँग पनि दूतावासले सहयोगको अपेक्षा गरेको छ । 

नवौं वर्षमा सानिमा रिलायन्स लाइफ, रक्तदान र सामाजिक कार्यक्रम गरियो

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नवौं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न सामाजिक तथा संस्थागत कार्यक्रमहरू आयोजना गरी वार्षिकोत्सव मनाएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष, सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत तथा उच्च पदाधिकारीहरूको सहभागितामा कम्पनीको प्रधान कार्यालयसहित देशभरका क्षेत्रीय तथा प्रादेशिक कार्यालयहरूमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । मानव जीवनको संरक्षण गर्ने उद्देश्यसहित नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ । यसै अवसरमा काठमाडौंको शान्तिनगरस्थित असहाय वृद्धवृद्धाहरूलाई विशेष आश्रय प्रदान गर्दै आएको निःसहाय सेवा सदनमा ‘आहार–विहार’ कार्यक्रममार्फत सामाजिक उत्तरदायित्वसम्बन्धी गतिविधिहरू पनि सञ्चालन गरिएको थियो । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहज बनाउने, ग्राहक सम्पर्क प्रणाली सुदृढ गर्ने तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी तथा भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको जनाएको छ । हाल कम्पनीले देशभर १६८ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २४ अर्ब रुपैयाँभन्दा बढी लगानी परिचालन गरेको छ । साथै, कम्पनीमा २२ हजारभन्दा बढी अभिकर्ता कार्यरत रहेका छन् ।