दर्ता नभएका पशु औषधि आयात गरेको आरोपमा कम्पनी सञ्चालक पक्राउ

काठमाडौं । दर्ता नै नभएका पशु औषधि अवैध रूपमा आयात गरेको आरोपमा कान्तिपुर भेट डिष्ट्रीब्यूटर्स प्रालिका सञ्चालक अध्यक्ष सुना सुवेदी पक्राउ परेकी छिन् । नेपाल प्रहरीले जनाएको अनुसार, सुवेदीले भन्सार शुल्क लाग्ने गरी औषधि आयात गर्न सिफारिस पत्र कीर्ते बनाएर अवैध रूपमा पशु औषधि भित्र्याएको आरोपमा पक्राउ गरिएको हो । कानुनी प्रक्रिया अन्तर्गत लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता भइसकेको र त्यसकै आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सुवेदीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हिजो (शुक्रबार) काठमाडौंको शंखमुलबाट उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ।

नेपालमा गैरआवासीय नेपालीहरूको एक खर्ब लगानी भित्रियो : एनआरएनए

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपालमा करिब एक खर्ब बराबरको लगानी भित्रयाएको छ । एनआरएनएले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो तथ्यांक सार्वजनिक गरेको हो ।  आफ्नो २२ औं स्थापना दिवसको अवसर पारेर आयोजित्र पत्रकार सम्मेलनमा बोल्दै एनआरएनएका अध्यक्ष डा. बद्री केसीले नेपालको अर्थतन्त्रमा ठूलो सुधार ल्याउनका लागि आफूहरुले जोड दिएको बताए । उनले गैरआवासीय नेपालीहरुले आफूले सिकेको सीपको पनि नेपालमा अधिकतम उपयोग गर्न सक्दो प्रयास गरिरहेको बताए । नेपालमा आफूहरु लगानी बढाउन प्रतिवद्ध रहेको पनि अध्यक्ष केसीको भनाई थियो । उनले भने,  ‘हामीले कमाएको केही अंश मात्रै पनि नेपालमा पठायौ भने नेपालको अर्थतन्त्रमा धेरै ठूलो सुधार हुन्छ र गर्न सकिन्छ भन्ने हाम्रो पहिलो एजेण्डा हो । अहिलेको अवस्थामा नेपालमा १ खर्ब भन्दा बढि गैरआवासीय नेपालीहरुको शिक्षा क्षेत्रमा, बैकिङ क्षेत्रमा, कृषि क्षेत्रमा, हाइड्रो क्षेत्रलगायतका विभिन्न क्षेत्रमा लगानी छ । यदि नेपालमा कुनै पनि दुर्गम ठाउँमा पनि आधुनिक, सफा क्याफे देख्नुहुन्छ भने त्यो गैरआवासीय नेपालीले खोलेको छ ।’ एनआरएनले आफूहरुले विश्वभर नेपालको पहिचान दिलाउन महत्वपूर्ण योगदान दिएको पनि दाबी गर्दै आएको छ । अध्यक्ष केसीले राजदुतावास नभएको ठाउँमा पनि नेपालीहरुले आफ्नो देशको पहिचान गराउने काम गरेको जिकीर गरे । 

जेनजी प्रतिनिधिको आह्वान : चुनावमा भाग लिऔँ

काठमाडौं । जेनजी आन्दोलनका प्रतिनिधिहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दललगायत सबै तह र तप्कालाई आह्वान गरेका छन् ।  राष्ट्रपति भवन शितलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद्का सदस्यहरुसँग छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनीहरुले निर्वाचनमा सबै दललाई भाग लिन आग्रह गरेका हुन् ।  संसदीय अभ्यासमा रहेका पूराना दलहरु निर्वाचनमा भाग नलिए चुनाव नहुने अवस्था हुने भएकाले पनि घोषित निर्वाचनलाई सदुपयोग गर्नुपर्छ भन्ने आफूहरुको मान्यता रहेको बताए ।  जेनजी आन्दोलनका प्रतिनिधि मिराज ढुङ्गानाले निर्वाचन लोकतान्त्रिक प्रक्रिया भएकाले निर्वाचनमार्फत जनप्रतिनिधिको चयन हुने हुँदा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन होस् भन्ने आफूहरुको चाहना रहेको बताए ।  ‘निर्वाचनमा सबै दलहरु आइदिनुहोस्, यो लोकतान्त्रिक प्रक्रिया हो, कसैले रोक्न सक्दैन, सबैले भाग लिन पाउनुहुन्छ, अधिकार छ, जनताले छाने भने जो तपाईं नै निर्वाचित हुनुहोला, निर्वाचनमार्फत नयाँ शक्ति पनि उदाउन सक्छ, निष्पक्ष प्रतिष्पर्धा हुन्छ सबैजना आउनुहोस’, उनले भने ।  ढुंगानाले वर्तमान मन्त्रिपरिषद्मा सडक आन्दोलनलाई उचाइमा पुर्याउन योगदान दिनेलाई समावेश गर्नुपर्छ भन्ने आफूहरुको स्पष्ट धारणा रहेको बताए ।  राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शुक्रबार अघिल्लो संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु र सरकारबीच आगामी निर्वाचनका बारेमा छलफल भएको थियो ।  उक्त छलफलमा राजनीतिक दलका तर्फबाट चुनावका लागि शान्ति सुरक्षालगायत उपयुक्त वातावरण हुनुपर्ने धारणा व्यक्त भएको थियो भने सरकारकातर्फबाट राजनीतिक दलहरुलाई चुनावमा भाग लिन आग्रह गरिएको थियो ।