कर्मचारी सञ्चय कोषको ५ अर्ब ३० करोड मुनाफा वितरण
काठमाडौं । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा आर्जन गरेको कूल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई करिब ५ अर्ब ३० करोड रुपैयाँ मुनाफा वितरण गरेको छ । जसअनुसार कोषका सञ्चयकर्ताहरूको खातामा करिब ५ अर्ब १९ करोड रुपैयाँ र योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताहरूको खातामा करिब १० करोड ५५ लाख रुपैयाँ जम्मा गरिएको छ । कर्मचारी सञ्चय कोष सञ्चालक समितिको फागुन २७ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गर्दै, सञ्चयकर्ता र योगदानकर्ताको व्यक्तिगत खातामा रहेको मौज्दात रकममा १ प्रतिशत दरले मुनाफा वितरण गर्ने निर्णय गरेको थियो । कोषले आर्जन गरेको कूल मुनाफाको करिब ९० प्रतिशत रकम सञ्चयकर्तालाई वितरण गर्ने र बाँकी रकम विभिन्न कल्याणकारी तथा जगेडा कोषमा राख्ने गरेको छ । सञ्चयकर्ताले चालू आर्थिक वर्षमा ४.२५ प्रतिशत ब्याज प्राप्त गर्ने व्यवस्था रहेको छ भने सञ्चित रकमको सुरक्षणमा सञ्चयकर्ताले ९५ प्रतिशतसम्म विशेष सापटी ५.७५ प्रतिशत ब्याजदरमा पाउने छन् । यसरी मुनाफा र ब्याज जोड्दा कुल प्रतिफल ५.२५ प्रतिशत पुगेको छ । कोषले सञ्चयकर्ताको सेवाकालका आवश्यकता अनुसार विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल सापटी र जग्गा खरिद सापटी पनि उपलब्ध गराउँदै आएको छ । साथै, सञ्चयकर्ता दम्पत्तीलाई स्वास्थ्य उपचार सोधभर्ना सुविधा, काजकिरिया अनुदान, सुत्केरी तथा शिशु स्याहार सुविधा, दुर्घटना क्षतिपूर्ति अनुदान जस्ता सामाजिक सुविधा पनि प्रदान गर्दै आएको छ । गत आर्थिक वर्षमा सुत्केरी तथा शिशु स्याहार सुविधामा १९ हजार १११ जना सञ्चयकर्तालाई करिब १४ करोड ३४ लाख, काजकिरिया अनुदानमा ६०५ जनालाई करिब २ करोड ४२ लाख, दुर्घटना क्षतिपूर्ति १७० जनालाई करिब ३ करोड ३९ लाख, स्वास्थ्य उपचार सोधभर्नामा ५ हजार ३५५ जनालाई करिब ३४ करोड र विशेष आर्थिक सुविधामा १७२ जना सञ्चयकर्तालाई करिब १ करोड ७३ लाख रुपैयाँ वितरण गरिएको छ । हाल कर्मचारी सञ्चय कोषमा ५ लाख ७८ हजार सञ्चयकर्ता र ९६ हजार निवृत्तभरण कोष योगदानकर्ता रहेका छन् ।
वसन्तमा काठमाडौंको मुहार फेरिँदै
काठमाडौं । हुन त यो चैत वैशाखको याम जताततै रुखविरुवामा पालुवा पलाउने र हरियाली हुने सयम हो । तर, यसपटक भने काठमाडौं उपत्यकामा अघिल्ला वसन्तहरू भन्दा केही बढी हरियाली छाएको देखिएको छ । वसन्त ऋतुको आगमनसँगै यतिखेर काठमाडौंका कतिपय सडक दायाँबायाँ र बस्तीछेउ सफा र हराभरा भएका छन् । अघिल्लो हप्तासम्म खडेरी र धुवाँधुलोले काठमाडौंको आकाश धुम्ब थियो । केही दिनयताको वर्षाले रुखविरुवाका पात पखालिए भने सडक र बस्ती पनि सफा भएका छन् । वर्षासँगै काठमाडौं उपत्यकाको आकाशमा देखिएको तुँवालो हटेको छ । तुवाँलो हटेसँगै उपत्यकाका वरपरिका डाडाँहरु पनि स्वच्छ र हरियाली वातावरण देखिएको छ । यतिबेला काठमाडौंको मुख्य सडकका छेउछाउदेखि विभिन्न पार्कमा हरियाली छाएको देख्न सकिन्छ । वसन्त ऋतुमा धेरै विदेशी पाहुनाहरू समेत नेपाल आउने गरेका छन् । काठमाडौंको लैनचौर–महराजगञ्ज सडक, जमल–भद्रकाली सडक, माइतीघर–तीनकुने सडक, थापाथली–कालिमाटी सडक, ललितपुरको कुपण्डोल–पुल्चोक–जावलाखेल सडकका वरपर फूलेका फूलहरुले मानिसको ध्यान तानेको छ । ललितपुरमा विसं २०७४ को स्थानीय तहको निर्वाचनमा चिरिबाबु महर्जन नगरप्रमुख भएसँगै त्यहाँको सडक वरपर रहेका वोटविरुवाको संरक्षण गरी थप वृक्षरोपण गरिएको थियो । ललितपुरको जावलाखेलमा रहेको चिडियाखाना वरपर पनि हाल हरियाली छाएको छ । यसैगरी, काठमाडौंको मुटुमा रहेको शङ्खधर उद्यान (रत्नापार्क), बाइसधारा उद्यान (बालाजु पार्क) शङ्खपार्कलगायतका पार्कका बोटविरुवामा पालुवा पलाएर हरियाली छाएको छ । सन् २०१४ को डिसेम्बरमा काठमाडौंमा भएको दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क)को १८ औँ शिखर सम्मेलनको समयमा विदेशी पाहुनाको स्वागतार्थ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, माइतीघर, थापाथली, त्रिपुरेश्वर हुँदै सोल्टी होटलसम्म वोटविरुवा रोपिएको थियो । तीमध्येका कतिपय विरुवा हुर्काउन नसकिए पनि केही विरुवा भने सोही क्षेत्रका स्थानीयले मलजल गरी मर्न दिएका थिएनन् । ती विरुवा हुर्केर सडक छेउछाउको शोभा बढाएका छन् । बाँकी रहेका ती विरुवा हुर्केर अहिले काठमाडौंको सौन्दर्यमा केही चमक थपिदिएको छ । कोरोना महामारीको समयमा अक्सिजनको महत्वको खुब प्रचार भएको थियो । त्यसपछि मानिसहरूमा सम्भव भएसम्म घर परिसर या वरपरको बस्ती तथा सडकमा रुख विरुवा हुर्काउनुपर्छ भन्ने चेतना र भावना बढेको पाइएको छ । यसले पनि पछिल्लो समयमा काठमाडौंमा हरियाली वातावरण बनाउन केही सहयोग पुगेको पाइएको छ । कोरोनाको बेलामा अक्सिजनको चेतना भएसँगै धेरै मानिसहरूले घर वरपर र छतमा वृक्षरोपण गरेका छन् । त्यस महामारी यता काठमाडौंमा कौशी खेती बढेको पनि पाइएको छ । उक्त कार्यले पनि काठमाडौंको हरियालीमा थप सहयोग पुगेको छ । काठमाडौं महानगरपालिका अन्तर्गत उद्यान तथा हरियाली प्रवद्र्धन आयोजनाका इन्जिनीयर सरकारदीप श्रेष्ठ महानगरभित्रका विभिन्न १४० खुला स्थानमा पार्क निर्माण गरी हरियाली प्रवद्र्धनलाई अगाडि बढाउँदै आएको बताउँछन् । 'काठमाडौंभित्रका खुला ठाउँमा पार्क निर्माण गरी विभिन्न प्रजातिका फूल रोप्ने, दुबो रोप्ने, खोलाका किनारामा वृक्षरोपण गर्नेलगायतका कामलाई महानगरले प्राथमिकता दिएको छ,' उनी भन्छन् । महानगरले चार भागमा बाँडर ठेक्कामार्फत पार्कको व्यवस्थापन गर्दै आएको उनको भनाई छ । पार्कमा फूल रोप्ने, दुबो रोप्ने, पार्कको सरसफाईलगायतका काम ठेकेदारमार्फत हुँदै आएको छ । अहिले काठमाडौं भित्रका अधिकाशं पार्कमा सिजनल फूलहरु फुलिरहेका छन् । यसबाहेक महानगरले काठमाडौंभित्रका ठूला सडकको आसपासमा रहेका फूटपाथमा विरुवाहरु रोप्ने कामसमेत गर्दै आएको छ । आर्थिक वर्ष २०८१/०८२ मा मात्र आठ हजार विरुवा रोपिएको इन्जिनीयर श्रेष्ठ बताउन्छन् । चालू आवमा पनि चार हजार विरुवा रोप्ने कार्यक्रम रहेको उनको भनाई छ । महानगरले गत वर्ष रोपेर मरेका विरुवाको ठाउँमा पुन नयाँ विरुवा रोप्ने अभियानलाई समेत अगाडि सारेको छ । इन्जिनीयर श्रेष्ठ महानगरले एक सिजनमा ३० हजार फूलका विरुवा रोप्ने गरेको बताउँछन् । यसबाहेक महानगरले काठमाडौंभित्रका ठूला रुखहरुलाई काँटछाँट गरेर मिलाउने गरेको छ । काठमाडौंभित्रका दुई ठूला नदी बागमती र विष्णुमति नदीको किनारामा पाँच फिटभन्दा अग्ला बेगमबेली र विभिन्न प्रजातिका फलफूल रोप्ने कामलाई अगाडि बढाइएको इन्जिनीयर श्रेष्ठ बताउँछन् । शङ्खधर उद्यान तथा रानीपोखरी एकाई (रत्नापार्क) का प्रमुख उत्तमकुमार घले पछिल्लो समय रत्नापार्कको हरियाली हेर्न थुप्रै मानिसहरु आउने गरेको बताउँछन् । विगत १५ वर्ष अगाडि रत्नापार्कलाई फोहरको दृष्टिकोणले हेर्ने गरेपनि पछिल्लो समय महानगरको उद्यान तथा हरियाली प्रवद्र्धन महाशाखाले रत्नापार्कलाई व्यवस्थित बनाएसँगै यहाँ घुम्न आउनेको सङ्ख्या दिनप्रतिदिन बढ्न थालेको उनी बताउँछन् । रत्नापार्कका प्रमुख घले पार्कभित्र ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्त, एकल महिलालाई प्रवेश निःशुल्क गरिएको बताउँछन् । रत्नपार्कभित्र अहिले निःशुल्क इन्टरनेट सेवा जडान गरेसँगै यहाँभित्र प्रवेश गरेर इन्टरनेट सेवा लिनेको सङ्ख्यासमेत बढ्न थालेको छ । काठमाडौंभित्रको वातावरण सौन्दर्यलाई थप प्रभावकारी बनाउन पार्कले विभिन्न योजना अगाडि सारेको छ । डिभीजन वन कार्यालयका काठमाडौंको सूचना अधिकारी अनुपा घिमिरे काठमाडौंभित्रको हरियालीलाई कायम गर्न डिभीजन वन कार्यालय काठमाडौंले चाल्नाखेलमा एक लाख विरुवा उत्पादन गरेको बताउँछिन् । उत्पादित विरुवालाई वहुवर्षीय रुपमा वृक्षरोपण गर्दै जाने उनको भनाई छ । सूचना अधिकारी घिमिरे डिभीजन वन कार्यालयले काठमाडौंभित्रका सडकको सौन्दर्यलाई कायम राख्न गतवर्ष टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, गोकर्णेश्वर नगरपालिका र कलङ्कीदेखि थानकोट सडकका फुटपाथमा एक हजारभन्दा बढी बोटविरुवा वृक्षारोपण गरेको बताउँछिन् । यसबाहेक डिभिजन वन कार्यालयले गतवर्ष काठमाडौंभित्रका विभिन्न सङ्घ, संस्था र समूहलाई वृक्षरोपणका लागि १० हजार विरुवा उपलब्ध गराएको छ भने काठमाडौंभित्रका १३७ सामुदायिक वनलाई समेत हजारौँ बोटविरुवा उपलब्ध गराएको सूचना अधिकारी घिमिरे बताउँछिन् । डिभिजन वन कार्यालयले चालू आर्थिक वर्षमा काठमाडौंका विभिन्न सडक पेटीमा झण्डै एक हजार बोटविरुवा रोप्ने लक्ष्य लिएको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ कार्डियोलोजिष्ट डा मिलनप्रकाश श्रेष्ठ हरियाली वातावरणसँगै फोक्सो, मुटुलगायतमा हुने सङ्क्रमणमा कमी आउने बताउँछन् । 'जति स्वच्छ वातावरण भयो, त्यति नै मानिसले स्वच्छ रुपमा श्वासप्रश्वास गर्न पाउँछ, स्वच्छ वातावरण भएसँगै फोक्सो, मुटुलगायतमा हुने संक्रमणमा कमी आउँछ,' डा. श्रेष्ठ भन्छन् । वसन्त ऋतुको समयमा विभिन्न प्रजातिका बोटबिरुवाले पालुवा फेर्ने हुँदा यहाँको सौन्दर्यले मानिसमा मनमोहक वातावरण पैदा गरेको छ । पहिले पहिले काठमाडौं धुलाम्मे तथा फोहर मात्र देखिने सहरका रुपमा मानिसहरुले लिने गर्दथे । काठमाडौंको मुहार फेरिएको छ । अब राजधानी सहरलाई त्यसरी चित्रण गर्नु हुँदैन । यो हरियालीले पनि यही सन्देश प्रवाह गर्न खोजेको छ । रासस
चैते दशैँको अवसरमा देशभरका शक्तिपीठहरूमा भक्तजनको घुइँचो
काठमाडौं । बिहीबार चैत्र शुक्ल अष्टमी अर्थात चैते दशैँ । यस अवसरमा काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शक्तिपीठ एवं देवीका मन्दिरहरूमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ । विशेष गरी काठमाडौंको भद्रकाली, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, र गुह्येश्वरी मन्दिरहरूमा पूजाआजा र दर्शन गर्नेहरूको घुइँचो देखिएको छ । चैते दशैँका दिन देवीको उपासना गर्नाले सुख, शान्ति र मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । उपत्यका बाहिरका गोरखाको मनकामना, पोखराको विन्ध्यवासिनी, बागलुङ कालिका र ताप्लेजुङको पाथीभरा लगायतका प्रसिद्ध मन्दिरहरूमा पनि दर्शनार्थीको विशेष उपस्थिति रहेको छ । वर्षमा दुई पटक मनाइने दशैँमध्ये चैत्रमा मनाइने यो दशैँलाई ‘सानो दशैँ’ का रूपमा पनि लिइन्छ । असोजको बडादशैँ जस्तै यस दिन पनि शक्तिस्वरूपा भगवतीको विशेष पूजा गरिन्छ । चैते दशैँको भोलिपल्ट अर्थात चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । भगवान श्रीरामको जन्मजयन्तीका अवसरमा भोलि राम मन्दिरहरूमा विशेष उत्सव हुने गर्दछ ।