सरकारलाई महेश बस्नेतको चेतावनी - मलाई पक्राउ गरेर देखाउनुस्
काठमाडौं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन चेतावनी दिएका छन् । एक महिलाले दिएको उजुरीको आधारमा प्रहरीको साईवर व्युरोमा बयान दिए लगत्तै बुधबार उनले पत्रकार सम्मेलन गरी आफूलाई समातेर देखाउन सरकारलाई चुनौति दिएका हुन् । नेता बस्नेतले आफूहरुले अब डिजिटल फोर्स गठन गरेर जेनजी आन्दोलनको नाममा भएका आगजनी, लुटपाट र हत्याको खोजीका लागि सरकारसँग प्रहरीमा जाहेरी दिने बताए । उनले भने, ‘मलाई समातेर देखाउनुस् । विधिको पक्षमा, लोकतन्त्रको पक्षमा लड्नेहरु देश र जनताको पक्षमा जेल जान आफू तयार भएपनि कसैले लगाएको आरोप सह्य हुँदैन । जेन जी सरकारले आगजनी, लुटपाट र हत्या संलग्नहरुलाई कारबाहीको दायरामा ल्याओस् । नेता बस्नेतले सरकारले आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचनमाथि पनि आशंका उत्पन्न भएको बताए ।
दोषी सबैलाई कारबाही होस् : महेश बस्नेत
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आन्दोलनमा हराएका हतियार फेरि पड्किन सक्ने तर्फ सचेत गराएका छन् । भदौ २३ र २४ गते लुटिएका हतियारहरू फेरि पड्किए भने त्यसको परिणाम दुरूह हुन सक्ने दाबी गरेका छन् । एमाले मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै नेता बस्नेतले सबै दोषीलाई कारबाही गर्न माग गरेका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालको नाम लिँदै बस्नेतले सरकारले राजनीतिक प्रतिशोध साध्न खोजेको आरोप समेत लगाएका छन् । बस्नेतले पत्रकार सम्मेलनमार्फत आफूलाई पक्राउ गरेर देखाउन चुनौती समेत दिएका छन् । अनेरास्ववियुले काठमाडौंका मेयर बालेन शाहलगायतका विरुद्ध उजुरी परेको अवस्थामा समेत उनीहरूलाई पक्रिन चुनौती दिएका छन् । बस्नेतले एमाले पार्टी कार्यालय र नेताहरूका घर जलाउने मानिसहरू चिनेको बताउँदै त्यसको हिसाब गरिने समेत बताएका छन् ।
सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो : सञ्चारमन्त्री खरेल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘जेनजी’ आन्दोलनको जगबाट निर्मित वर्तमान सरकारको मुख्य कार्यादेश सबै राजनीतिक दल र जनताको सहभागितामा तोकिएको समयावधिमा प्रतिनिधिसभाको निर्वाचन गराउनु रहेको बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको बुधबार अवलोकन भ्रमणपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउन सबैसँग आग्रह गरे । निर्वाचन गर्ने सन्दर्भमा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीबाट प्रतिबद्धता आइसकेको स्पष्ट पार्दै निर्वाचनको वातावरण निर्माण गर्न महत्त्वपूर्ण भुमिका हुने सञ्चार जगतबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । 'यो जेनजी आन्दोलनको जग, सबै राजनीतिक दल र जनताको चाहनामा बनेको सरकार हो । निर्वाचनमा जाने सबै दल र जनताको चाहना छ । यसै क्रममा निर्वाचन आयोगबाट कार्यतालिका प्रकाशन भइसकेको छ । निर्वाचनको वातावरण बनाउन राससले पनि भूमिका खेल्नेछ भन्ने मैले विश्वास लिएको छु', सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले भने, 'यो सरकारसँग निर्वाचनका साथै सुशासन कायम, भ्रष्टाचारको अन्त्य र जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिमाथिको छानबिन र कारबाही एवं प्राकृतिक विपद्पछिको राहत र पुनःस्थापना पनि ‘म्याण्डेट’ रहेको छ । त्यो पूरा गर्न सरकार प्रतिबद्ध छ ।' उनले आसन्न निर्वाचनको वातावरण तयार गर्न प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राजनीतिक दलहरुसँग संवाद भइरहेको उल्लेख गरे ।