पूर्वएआईजी देवेन्द्र सुवेदीविरुद्ध साइबर ब्यूरोमा उजुरी
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध गलत प्रचार गरेको आरोपमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ। 'सुवेदीले विभिन्न सामाजिक सञ्जालमार्फत प्रचण्डको निवासमा घर जलाइने घटनाअघि दुई करोड रुपैयाँ दुई ट्रकमा लुकाइएको जस्ता पूर्णतया गलत र तथ्यहीन समाचार प्रचार गरिरहेका छन्,' उजुरीमा उल्लेख छ । झुटो सामग्री फैलाएर भ्रम सिर्जना गर्नुका साथै चरित्रहत्या समेत भएको उजुरीमा जनाइएको छ। डिजिटल माध्यममार्फत गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग संयोजकको सचिवालयले गरेको छ । उजुरीमा सुवेदीले संयोजक दाहाल निवासबाट घर जलाइनुभन्दा दुई दिन पहिले नै दुईवटा ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाएको कुरा गलत र तथ्यहीन भएको उल्लेख छ ।
राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने तयारी
काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने तयारी अगाडि बढेको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गत शुक्रबार निर्वाचन आयोगका आयुक्तहरूसँग छलफल गरेका थिए । आयोगका आयुक्तहरूले यस अवसरमा निर्वाचन माघ ११ गते गर्ने तयारी रहेको जानकारी दिएका थिए । प्रधानमन्त्री सुशीला कार्कीले पनि यही असोज २१ गते आयोगका आयुक्तहरूसँग भेटघाट गर्दै निर्वाचन तयारीबारे छलफल गरेकी थिइन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त डा. जानकीदेवी तुलाधर र सगुन शमशेर जबरा उपस्थित थिए । आइतबार प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भएको भेटमा पनि राष्ट्रिय सभा निर्वाचनको तयारीबारे विस्तृत छलफल भएको थियो । यस क्रममा अध्यक्ष दाहालले आयोगसँगको भेटबारे जानकारी दिएका थिए ।
पशुपति क्षेत्र विकास कोषले रद्द गर्यो ८ प्रकारका रसिद
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले आफ्ना विभिन्न ८ प्रकारका रसिदहरू रद्द गरेको छ । कोषका अनुसार जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण हराएका रसिदहरूलाई अमान्य घोषित गरिएको हो । कोषले सार्वजनिक सूचना जारी गर्दै रद्द गरिएका रसिदहरूको सूची सार्वजनिक गरेको छ । कोषका अनुसार ती रसिदहरू अबदेखि प्रयोगमा आउने छैनन् । रद्द गरिएका रसिदहरूमा नगदी, चन्दा, पर्यटक, किरियापुत्री भर्पाई, वनकाली उद्यान प्रवेश, घाट सेवा दाउरा स्लिप, घाट सेवा नगदी रसिद र पूजा आम्दानी रसिद रहेका छन् ।