चिनियाँ प्रधानमन्त्रीद्वारा बालेन्द्र शाहलाई बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै द्विपक्षीय सहकार्य र साझेदारीलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  प्रधानमन्त्री शाहलाई शनिबार एक बधाई सन्देश पठाउँदै चिनियाँ प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।  चीन र नेपाल पहाड र नदीले जोडिएका परम्परागत छिमेकी राष्ट्र भएका उल्लेख गर्दै  प्रधानमन्त्री लीले सन्देशमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्षमा ‘शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त’मा आधारित द्विपक्षीय सम्बन्ध विकास हुँदै आएको बताएका छन् । यहाँस्थित चिनियाँ राजदूतावासका अनुसार प्रधानमन्त्री लीले  नेपाल सरकारको सुशासन प्रयासमा चीनको समर्थन रहने जनाउँदै नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।  सन्देशमा प्रधानमन्त्री लीले प्रधानमन्त्री शाहसँग मिलेर ‘बेल्ट एण्ड रोड इनिसिएटभ्’ लाई अघि बढाउने तथा विभिन्न क्षेत्रमा उच्चस्तरीय सहकार्य विस्तार गर्ने बताएका छन् । साथै प्रधानमन्त्री लीले विकास र समृद्धिका लागि चीन–नेपाल मैत्रीपूर्ण रणनीतिक सहकार्य साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याएका छन् ।    

बाढीले बगाएर एक कर्मचारीको मृत्यु, विपी राजमार्ग खुलाउने प्रयास

काभ्रेपलाञ्चोक । शुक्रबार साँझको बर्सातपछि रोशी खोलामा आएको बाढीले बगाएर डिभिजन सडक कार्यालय भक्तपुरअन्तर्गत कार्यरत एक कर्मचारीको मृत्यु भएको छ ।  बाढीले बगाएर रोशी गाउँपालिका–७ का अन्दाजी ४० वर्षका कुन्साङ तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मङ्गलटारले जनाएको छ । उक्त कार्यालयका सुपरभाइजर तामाङ रातको समयमा स्थायी रूपमा निर्माणाधीन विपी राजमार्गमा काम गर्ने व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट पाइएको इप्रका मङ्गलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए । उनका अनुसार राति मोटरसाइकलमा सवार दुई जना खोला तर्न लाग्दा बग्न लागेपछि मोटरसाइकल छाडेर नजिकको स्काभेटरमा चढेको र उनीहरूलाई जोगाउन जाँदा तामाङलाई बाढीले बगाएको थियो । बाढीले एक मोटरसाइकल र एक इलेक्ट्रिक गाडी बगाएको प्रहरीले जनाएको छ ।    यसैबीच शुक्रबार साँझको बर्सातका कारण विपी राजमार्गमा यातायात अवरुद्ध भएको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्डअन्तर्गत रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा लेदोसहितको बाढीपहिरोका कारण यातायात अवरुद्ध भएको हो ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बिरुवाडाँडा, कालढुङ्गा, चौकीडाँडा र मङ्गलटारमा कतै लेदोसहितको पहिरो तथा बाढी ९खहरेखोलामा पानीको बहाव उच्च रहको०ले राजमार्गको विभिन्न स्थानमा यातायात अवरुद्ध भएको हो । कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले बाढीको सतह घट्न थालेकाले आज बिहानदेखि सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा पहिरो पन्छ्याउने प्रयास भइरहेको बताए ।  धाँजूका अनुसार शुक्रबार हावाहुरी र निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छ्याउन निकै कठिनाइ भएको थियो । गत वर्षको बाढीपहिरोका कारण उक्त क्षेत्रको सडक क्षतिग्रस्त भएपछि खोलाबाटै अस्थायी सडक बनाएर सञ्चालनमा ल्याइएको थियो ।  यसैबीच वर्षाका कारण विपी राजमार्गको रोशी क्षेत्रको विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि ट्राफिक प्रहरीले शुक्रबार साँझदेखि सवारीसाधन ‘होल्ड’ गरेको छ । उक्त राजमार्गअन्तर्गत प्रवेशमार्गस्थल धुलिखेलको काभ्रेभञ्ज्याङ र भकुण्डे तथा पूर्वतर्फबाट राजधानी प्रवेश गर्ने नेपालथोक र मङ्गलटारमा सवारीसाधन होल्ड गराइएको धाँजुले जानकारी दिए । रासस  

त्रिवि अस्पतालमा एमाले अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण हुँदै

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण गर्न प्रहरीले उनलाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ । अस्पतालको आकस्मिक कक्षमा अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण भइरहेको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले बताए । 'प्रहरीले अध्यक्ष ओलीलाई स्वास्थ्य परीक्षण गर्न भनेर अस्पताल ल्याएको छ', उनले भने, 'अहिले उहाँको रगत, एक्सरेलगायतका स्वास्थ्य परीक्षण भइरहेको छ । परीक्षणको रिपोर्ट आएपछि के गर्ने भन्ने थाहा हुन्छ ।' एमाले अध्यक्ष ओलीलाई शनिबार बिहान भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेर भद्रकालीस्थित जिल्ला प्रहरी परिसर कार्यालयमा एकछिन राखेर स्वास्थ्य परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।  जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।