कागजात दुरूपयोग गरि इसेवा मार्फत करोडौँ रकम कारोबार गर्ने कीर्तिपुरका उप्रेती पक्राउ

काठमाडौं । प्रहरीले कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम कारोबार गर्ने गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौं कीर्तिपुर नगरपालिका–७ का १९ वर्षीय क्रमिक उप्रेती पक्राउ पर्नेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनले भने, 'अनाधिकृत व्यक्तिले वाइड–स्पेस इन्टरनेशनल प्राइभेट लिमिटेडका नाममा आन्तरिक राजस्व विभागबाट जारी भएको स्थायी लेखा नम्बर (प्यान)लगायतका कागजातहरूको दुरूपयोग गरी ई सेवा ‘मर्चेन्ट वालेट’ र ई सेवा ‘वालेट’ खोली गैरकानुनी रूपमा आर्थिक कारोबार गरेको भन्ने बेहोराको उजुरीका आधारमा पक्राउ गरिएको हो ।' यसैगरी उक्त उजुरीउपर प्रारम्भिक अनुसन्धान गर्दा ई सेवा मर्चेन्ट आइडी २२२२०२००१८२१७५२७ बाट रु ५६ लाख ३३ हजार ६०३ दशमलव ७६ र ई सेवा वालेटबाट रु ५६ लाख ३१ हजार ६०३ दशमलव ७६ बराबरको कारोबार गरेको खुल्न आएको प्रहरीले जनाएको छ। उनले सट्टेबाजीलगायतका प्रयोजनका लागि रु एक करोड १२ लाखभन्दा बढीको अवैध कारोबार गरेको प्रहरीको भनाइ छ। प्रहरीले निजको साथबाट ल्यापटप एक थान, विभिन्न मोडेलका मोबाइल दुई थान, एनसेल सिमकार्ड १६ थान, नमस्ते सिमकार्ड तीन थान, स्मार्ट सिमकार्ड एक थान, पेन ड्राइभ एक थान तथा मेमोरी कार्ड एक थानसमेत गरिएको जनाएको छ। पक्राउ परेका उप्रेतीलाई बैंकिङ कसुर र सट्टेबाजीजन्य कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको प्रवक्ता आचार्यले बताए । 

प्रतिनिधिसभा निर्वाचनका लागि माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरिएको जनाएको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको हालसम्म भएको प्रगतिका बारेमा प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ । निर्वाचनलाई स्वच्छ बनाउन सरकारी तथा गैरसरकारी निकायले के कस्ता गतिविधि गर्न पाउने, राजनीतिक दल तथा सरोकारवालाहरुको भूमिका के कस्तो रहने भन्ने बारेमा आचारसंहितामा प्रष्ट व्यवस्था गरिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनका सन्दर्भमा हालसम्म भएको तयारी, निर्वाचन सामग्रीको छपाई, जनशक्ति व्यवस्थापनलगायतका बारेमा प्रधानमन्त्रीलाई शुक्रबार जानकारी गराएका थिए। आचारसंहितालाई कडाइका साथ पालना गराउन सरकार, सरोकारवाला निकायको प्रमुख भूमिका रहनुपर्ने आयोगको बुझाइ छ ।

क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

काठमाडौं । क्यासिनोमा आउने ग्राहकले रु दुई लाखभन्दा बढी रकम खर्च गरे उनीहरुको विवरण संकलन गरेर राख्नुपर्ने भएको छ ।  पर्यटन विभागले क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन, २०८२ लाई संशोधन गर्दै उक्त व्यवस्था गरिएको जनाएको छ । क्यासिनोमा हुने कारोबारलाई पारदर्शी र कानुनसम्मत् बनाउने उद्देश्यका साथ उक्त व्यवस्था गरिएको विभागको प्रष्टोक्ति छ । सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी वितरणका सम्बन्धमा क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन तुरुन्त लागु हुने विभागले उल्लेख गरेको छ ।  सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४, पर्यटन ऐन, २०३५ (संशोधनसहित)ले दिएको अधिकार प्रयोग गरी विभागले त्यस्तो निर्देशन गरिएको उल्लेख गरेको छ ।