बस र ट्रक ठोक्किँदा १५ भारतीय तीर्थयात्री घाइते, गाडीमा पूर्ण क्षति

काठमाडौं ।  म्याग्दीको बेनी नगरपालिका-९ जलेश्वरमा आज साँझ बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा १५ जना भारतीय तीर्थयात्री घाइते भएका छन् । मुस्ताङबाट पोखरा जाँदै गरेको ग२ख १४५७ नम्बरको बस र भैरहवाबाट दानाको रुप्सेतर्फ जाँदै गरेको ग प्र.०१००१ख ००१२ नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको हो ।  जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार बस र ट्रकको अगाडिको भाग पूर्ण क्षति भएको छ । बसमा सवारी २४ जनामध्ये चालक र सहचालकसहित नौ जना सकुसल छन् । घाइते मुस्ताङको मुक्तिनाथ तीर्थयात्रा गरेर फर्कंदै गरेको भारतीय तीर्थयात्री रहेका प्रहरी निरीक्षक तिमिल्सिनाले बताए ।  भारतको उत्तरप्रदेशका ६२ वर्षीय दीपकराज मित्तल, ६३ वर्षीय शङ्कर लाल केशवानी, ४२ वर्षीया कृति शर्मा, ३८ वर्षीय गौरव सेनी, गुजरातका ७२ वर्षीय राज अडोलिया, २० वर्षीया सिम्रन साहाय, हरियानाका ६७ का प्रेमा शर्मा, उत्तर प्रदेशका ५३ का अल्का गुप्ता, जयपुर राजस्थानका ५८ वर्षीय अरविन्द भट्ट, दिल्लीका ६९ वर्षीय रामगोपाल शर्मा र ४८ वर्षीया बन्धना शर्मा, मध्यप्रदेशका ३७ वर्षीया ऋचा कौशिक र ३९ वर्षीय गौरव कौशिक, गुजरातका ४८ वर्षीय विनित गोयल र ४२ वर्षीय निरु चौधरी घाइते भएका प्रहरीले जनाएको छ ।  अस्पतालका अनुसार घाइतेहरूमध्ये अधिकांशको अनुहार, हात र खुट्टामा चोट लागेको छ । बस चालक कास्कीको माछापुच्छ्रे« गाउँपालिका-४ का लाहाचोकका ३१ वर्षीय विकास जिसी घाइतेको उपचारमा संलग्न र ट्रक चालक पर्वतको जलजला गाउँपालिका-७ धाइरिङका २८ वर्षीय नारायणप्रसाद शर्मा प्रहरीको सम्पर्कमा रहेको प्रहरीले जनाएको छ । 

चन्द्रागिरीमा एकजनामाथि ४ जनाले कुटपिट गरिएको भिडियो भाइरल भएपछि पक्राउ

काठमाडौं । चन्द्रागिरीको झम्सीखेलमा एक युवकमाथि अभद्र व्यवहार गर्ने चार जना पक्राउ परेका छन् । मंगलबार चन्द्रागिरिस्थित एक मानिसलाई अपशब्द बोली गाली गलौज तथा हातपात, लछार पछार गरेर हेलमेट समेतले प्रहार गरी घाइते बनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।  काठमाडौं चन्द्रागिरीका ३० वर्षीय राजिब पन्त, २६ वर्षीय रोहन पन्त, ३१ वर्षीय विनोद पन्त र ३४ वर्षीय अस्मित सिटौला पक्राउ परेका हुन् । अभद्र व्यवहार गर्न नहुने कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दिन ५ (पाँच) को म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।  

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण मौसम बदली भई अहिले पश्चिम नेपालबाट वर्षा सुरु भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लागेको छ भने बाँकी भूभागमा साधारणतया बादल लागेको छ । अहिले बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ । विभागका मौसमविद् रोजन लामिछानेले वर्षा दिउँसो बढ्ने र कुनैकुनै ठाउँमा भारीसम्म वर्षा र हिमपात हुने जानकारी दिनुभयो । अहिले बिहान १०ः०० बजे विभागमा प्राप्त वर्षा मापनअनुसार पछिल्लो तीन घण्टामा चितवनदेखि पश्चिम ६० भन्दा बढी केन्द्रहरूमा वर्षा भएको छ । विभागका अनुसार अछाममा ८.६, सुर्खेतमा ७.६, डडेलधुरामा ५.२, रोल्पामा ८.२, प्युठानमा ५.२, चितवनमा ४.२ मिलीमिटर वर्षा भइसकेको छ । यस्तै कालीकोट, डोटी, रुकुम, रोल्पा, म्याग्दी बाग्लुङ, दाङ, अर्घाखाँचीलगायतका जिल्लामा पनि हल्का वर्षा भएको छ । वर्षा पूर्वतर्फ सर्ने क्रममा रहेको जनाइएको छ । विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लाग्ने तथा बाँकी भूभागमा साधारणतया बादल लागेको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानमा, मधेस प्रदेशलगायत कोशी र बागमती प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङ, हुरीबतास र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागको एकदुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । रासस