बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

दशरथचन्द । बैतडीमा २१ लाख रुपैयाँ बढीका अवैध सामान बरामद गरिएको छ । सशस्त्र प्रहरीले पञ्चेश्वर गाउँपालिका-४ हल्दुविनायकबाट बोलेरो पिकअप र ट्याक्टरसहित २१ लाख आठ हजार ८१० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको हो ।      आइतबार बिहान ३ः०० बजेतिर भारतबाट भन्सार छली गरी ल्याइएका अवैध सामानसहित बोलेर पिकअप र ट्याक्टरलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक जङ्गबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार २३ क्विन्टल चिनी, पाँच क्विन्टल मिश्री र अन्य किरानाका सामान बरामद गरिएको हो ।      सुपप्र ०१ ००१ च २७८९ नम्बरको बोलेरो पिकअप र सुपप्र ०१ ००२ त ५०९० नम्बरको ट्याक्टरलाई समेत नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिए । गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी निरीक्षक रमेशप्रसाद पाण्डेयको नतृेत्वमा खटिएको मोबाइल टोलीले ती सामान बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिए । 'केही दिन पहिलेदेखि भन्सार छलीका सामान भित्रिँदैछन् भन्ने गोप्य सूचना पाएका थियौँ', उनले भने, 'सोहीअनुसार जिल्लाबाट खटिएको टोलीले जाँचबुझ गर्दा ती सामान फेला पारेको हो ।'       भन्सार छलीका सामान भित्र्याउने कार्यमा संलग्न व्यक्तिहरू भने प्रहरीको टोली देख्नेबित्तिकै भागेका सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका अवैध सामानसहित बोलेरो पिकअप र ट्याक्टरलाई आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटलाई बुझाइएको छ ।  

सिरहाबाट उन्नाइस केजी गाँजासहित युवक पक्राउ

सिरहा । जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ परेका छन् । मोटरसाइकल र अटोरिक्सामा गाँजा बोकेर भारततर्फ गइरहेका धनगढीमाई नगरपालिका-९ का  राजेश दासलाई पक्राउ गरिएको हो ।  यहाँस्थित सशस्त्र प्रहरी बलका प्रमुख सुमनजङ्ग थापाका अनुसार गाँजा तस्करी भइरहेको सूचना प्राप्त भएपछि परिचालन भएको सशस्त्र प्रहरी बलको टोलीले आज बिहान निजलाई पक्राउ गरेको हो ।  शङ्का लागेर सुखिपुर क्षेत्रमा जाँच गर्दा चाँदीका गाँजासहित ब्रासलेट, नगद रु २५ हजार र एक थान मोबाइल सेट बरामद भएको उनले बताए ।      

कारवाहीमा परे क्रिकेटर करण केसी

काठमाडौं । अम्पायरहरूविरुद्ध सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गरेको भन्दै नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका खेलाडी करण केसीलाई कारबाही गरेको छ । जारी ‘प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८२’ का क्रममा अम्पायरहरूको भूमिकालाई लिएर सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै क्यानले उनलाई प्रतिबन्ध र जरिवाना सुनाएको हो । करण केसीले जारी प्रधानमन्त्री कपको आगामी एक खेल खेल्न पाउने छैनन् । त्यसैगरी, उनलाई उक्त खेलबापत प्राप्त हुने म्याच शुल्कमा शतप्रतिशत जरिवाना गरिएको छ । क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, खेलाडी करण केसीले अम्पायरहरू प्रति सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्ति खेल भावना अनुरूप नभएको ठहर गरिएको छ। सोही कारण सम्बन्धित सरोकारवालाहरूसँगको समन्वयमा उनलाई कारबाही गर्ने निर्णय गरिएको हो ।’ मैदान बाहिर र विशेष गरी सामाजिक सञ्जालमा गरिने टिप्पणीले खेलको मर्यादामा आँच पुग्ने भन्दै क्यानले यो कदम चालेको बुझिएको छ ।