हिमालय रोडिज सिजन-५ को अडिसन सुरु

काठमाडौं । हिमालय रोडिज सिजन ५ को ‘फिजिकल अडिसन’ सुरु भएको छ । मुलुकका आठ सहरमा हिमालय रोडिज सिजन ५ को ‘फिजिकल अडिसन’ सुरु भएको हो । हिमालय टिभीले अडिसन हुने सहर, मिति र समयको घोषणा गरेको छ । जेठ १२ गतेदेखि सुरु भएकाे ‘फिजिकल अडिसन’ २१ गतेसम्म चल्नेछ । अडिसन पहिलो दिन बर्दिवासमा, १३ गते इटहरी, १४ गते हेटौंडा, १५ गते भरतपुर, १६ गते बुटवल, १७ गते नेपालगञ्ज, १९ गते पोखरा र २१ गते काठमाडौंमा अडिसन सञ्चालन हुने जनाइएको छ ।

काठमाडौंमा पानीको हाहाकार

काठमाडौं । विगत चार वर्षदेखि काठमाडौंमा कोठा भाडा लिएर बस्दै आएका भोजपुरका रमेश खड्काले विगत एक सातादेखि पानीको समस्या भोग्नु परेको छ । काठमाडौंको घट्टेकुलो क्षेत्रमा बस्ने खड्कालाई घरधनीले आधा महिनासम्म पानी नआउने जानकारी गराएपछि उनी एक सातादेखि समस्यामा छन् । उनी अहिले नुहाउन, लुगा धुन, भाडा माझ्न र खाना पकाउन लगायतका काम गर्न जारको पानी प्रयोग गर्छन् । यति धेरै काम गर्नको लागि उनले दैनिक पानीकै लागि दैनिक तीन/चार सय रुपैयाँ खर्च गर्नु परेको गुनासो गरे । ‘एक साता भइसक्यो पानी आएको छैन, घरवेटीलाई सोध्दा पानी नै आएको छैन भन्ने जवाफ सुनिन्छ,’ उनले गुनासो गर्दै भने, ‘अब त जारको पानी पनि किन्न सकिँदैन ।’ उनका अनुसार उनले दैनिक प्रतिजारको ५० रुपैयाँमा खरिद गर्छन् । उनले दिनमा तीन/चार सय रुपैयाँ खर्च गर्नुभन्दा होटलमा खाना खान सजिलो भएको भन्दै केही दिनदेखि होटलमा खाना खाने गरेको सुनाउँछन् । काठमाडौंको मैतीदेवीमा बस्दै आएका चित्रराज भण्डारी पनि पानीको समस्या भएको बताउँछन् । उनले पानीको अभावले शौचालयमा जान पनि समस्या भएको सुनाउँछन् । उनले समस्या के भएको भन्ने विषय जानकारी नभएको बताए । उनले पानी नभएकै कारण लुगा ड्राइक्लिनरमा दिनु पर्ने बाध्यता रहेको सुनाए । यसै गरी धादिङका कपिल श्रेष्ठ पनि अहिले पानीको समस्यामा नै छन् । उनी बस्ने घरमा पनि पानी नआएको एक साता भइसकेको छ । पानी नहुँदा ठूलो समस्या भोग्नु परेको उनको गुनासो छ । यी त केही उदाहरण मात्रै हुन् । अहिले काठमाडौंमा बस्ने सबैलाई पानीको समस्या छ । मेलम्ची खानेपानी आयोजनाले काठमाडौंका धारामा जेठ १ गतेदेखि दुई हप्तासम्म मेलम्चीको पानी रोकेका कारण काठमाडौंवासीलाई पानीको समस्या भएको हो । मेलम्ची खानेपानीको मुहान र टनेल मर्मत/सम्भारको काम गर्नु पर्ने भएकोले पानी रोकेको बुझिएको छ । सोही कारणले काठमाडौंमा पानीको समस्या भएको हो । सुरुङको रेक्टिफिकेसन र २०७८ को बाढीले क्षतिग्रस्त हेडवक्र्सको मर्मतका लागि पानी वितरण रोकिएको हो । उक्त मर्मतपछि सामान्य बाढीको समयमा समेत पानी पठाउने सकिने बताइएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रवक्ता प्रकाशकुमार राईले मेलम्चीको पानी बन्द भएपछि काठमाडौंमा पानीको समस्या भएको स्वीकार गरे । ‘मेलम्चीको पानी दिनमा १६ करोड लिटर आउँथ्यो, जेठ ५ गतेदेखि पानी वितरण रोकिएको छ, हामीलाई १० देखि १५ दिन भित्र त्यहाँको मर्मत सम्भार भएर पानी आउँछ भन्ने सूचना छ,’ उनले भने । केयूकेएलले भएको पानी आम नागरिकलाई उपलब्ध गराइ राखेको पनि उनले बताए । उनका अनुसार अहिले केयूकेएलले ९/१० करोड लिटर पानी दैनिक वितरण भइरहेको जानकारी दिए । मेलम्चीको पानी आउन छाडेपछि केयूकेएलले पानी वितरणको तालिका पनि बनाएको छ । सोही तालिका अनुसार नै पानी वितरण भइरहेको उनको भनाइ छ । उक्त तालिका शाखा तथा केन्द्रीय कार्यालयको सामाजिक सञ्चालनमा पनि राखिएको छ । मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र प्रसाद पन्तले मेलम्ची हेडबक्समा आवश्यक मर्मतको काम भइरहेकोले पानी वितरण रोकेको बताए । उनका अनुसार वैकल्पिक प्रणालीको गेट नम्बर एकमा सुधारको काम भइरहेको छ । बर्खाको समय नजिकिँदै गरेको कारण बर्खा लाग्नु पूर्व नै सुरक्षाको काम गरिएको हो, हेडबक्सको स्थायी समाधान नहुञ्जेलसम्म यो समस्या समाधान हुँदैन, उक्त समस्या समाधान गर्न केही समय लाग्छ, त्यसैले पानी रोकेका हौं, अहिले वैकल्पिक रुपमा पानी वितरण भइरहेको छ,’ उनले भने । उनका अनुसार एक साता भित्र मर्मत तथा सुधारको काम सकिनेछ ।

आसेपासेलाई जागिर दिन खोजेपछि संस्थानमा खैलाबैला, नाम निस्केपछि विज्ञापन रद्द

काठमाडौं । नेपाल खानेपानी संस्थानले वि.सं. २०७८ चैत्र १ गते सूचना प्रकाशन गर्दै करारमा कर्मचारी आवश्यक रहेको भन्दै आवेदन खुल्ला गर्यो । संस्थानले एकदेखि तीन तहसम्मका करार कर्मचारीको आवश्यकता परेको भन्दै सो आवेदन खुल्ला गरेको थियो । संस्थानमा रिक्त रकेको पदहरू मध्ये खुल्ला प्रतियोगितात्मक अन्तर्वार्ता परीक्षाद्वारा ६ महिनाको लागि करार सेवामा पदपूर्ति गर्नका लागि आवेदन खुल्ला गरेको सो सूचनामा उल्लेख थियो । विभिन्न पदमा ४६ जना कर्मचारी आवश्यक रहेको विज्ञापनमा उल्लेख थियो । संस्थानले जूनियर प्लम्बरमा ७, लाइट ड्राइभर ७, प्लान्ट एटेन्डेन्ट १, ल्याब बोइ ३, हेल्पर १४, कार्यालय सहयोगी १४ गरी ४६ जना माग गरेको थियो । विज्ञापन खुलेको ३० दिनभित्र रिक्त पदमा आवेदन दिनुपर्ने कुरा उल्लेख गर्दै संस्थानले आवश्यक योग्यता र प्रमाण पत्र पनि सम्बन्धित कार्यालयमा बुझाउन भनिएको थियो । सो समय अवधिमा करिब ११ सयको आवेदन परेको संस्थानले जानकारी दिएको छ । आवश्यकता भन्दा बढी आवेदन परेपछि संस्थानले सूचनामा प्रकाशन भए अनुसार नै सबैको उम्मेदवारको अन्तर्वार्ता लियो । अन्तर्वार्ता पोखरा, बुटवल र लिइएको संस्थानका सूचना अधिकारी त्रिदीप कुमार श्रेष्ठले बताए । लामो समयदेखि कर्मचारीको अभाव झेल्दै आएको संस्थान कर्मचारी भर्ना गर्न आतुर थियो । सबैको अन्तर्वार्ता सक्काएर नतिजा प्रकाशनको तयारीमा थियो संस्थान । तर नतिजा प्रकाशन गर्नु अगावै एकलौटी कर्मचारी नियुक्त गर्न खोजेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्यो । उजुरी परेपछि यस विषयमा आयोगले खानेपानी मन्त्रालयलाई पत्राचार गर्यो । त्यसपछि मन्त्रालयले यस विषयमा छानबिन गर्न समिति गठन गर्यो । छानबिन समितिले प्रक्रिया गलत भएको भन्दै कर्मचारी छनोटको प्रक्रिया अगाडि बढाउन उचित नभएको निष्कर्ष निकाल्यो । समितिले यस्तो निष्कर्ष निकालेपछि संस्थाले सो विज्ञापन रद्द भएको सूचना निकालेको छ । संस्थाले सञ्चालक समितिको बैठकले विज्ञापन रद्द गर्ने निर्णय गरेको र आवेदन दिएकाहरुले तिरेको दस्तुर १५ दिनभित्र फिर्ता लिन आग्रह गरेको छ । नेपाल खानेपानी संस्थानका महाप्रबन्धक ईश्वर प्रसाद नेपालले मन्त्रालयको निर्णय बमोजिम नै विज्ञापन रद्द गर्नु परेको बताए । उनले कर्मचारी भर्ना एकलौटी नभई सबै मिलेर गरेको भएपनि छानबिन समितिले रद्द गर्नु भनेपछि रद्द गरेको बताए । ‘हामीले नियम अनुसार कर्मचारीको भर्ना प्रक्रिया अगाडि बढाएका थियौं, पछि उजुरी परेपछि प्रक्रिया रोकियो, अब विनियमावली बनेपछि भर्ना गर्ने कुरा भएको छ,’ उनले भने । खानेपानी मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेल भने उम्मेदवारहरुको योग्यता नपुगेको कारण विज्ञापन रद्द गर्नु परेको बताउँछन् । संस्थानले योग्यता नपुगेकाहरुलाई भर्ना गर्न लागेपछि समितिको सिफारिसमा विज्ञापन रद्द भएको उनको भनाइ छ । ‘योग्यता पुगेन, लखडा पर्यो, धादली भयो, त्यही भएर विज्ञापन रद्द भएको हो, योग्यता नपुगेको मान्छे ड्राइभर भएपछि कसरी हुन्छ, उनले भने, ‘ करारका कर्मचारी राखेर संस्थान चल्दैन, अब स्थायी कर्मचारी राखेरै संस्थान चलाउनु पर्छ ।’ संस्थानले एक पटक मात्र होइन, पटक–पटक कर्मचारीको पदपूर्ति सम्बन्धी सूचना निकाल्दै विज्ञापन रद्द गर्दै आएको छ । वि।सं। २०७७ पुस १६ गते पनि संस्थानमा कर्मचारी आवश्यक भएको भन्दै विज्ञापन जारी गरिएको थियो । सो मितिमा ८ जना सिभिल इन्जिनियर माग गरेको थियो । तर, बिचमै संस्थानले त्यो विज्ञापन पनि रद्द गरेको थियो । खानेपानी संस्थानमा कर्मचारीको पदपूर्ति हुन नसकेपछि जनशक्तिको अभाव रहेको बुझिएको छ । अहिले संस्थानमा ३ सय २२ जना करार कर्मचारी कार्यरत छन् । विभिन्न विवाद र विवादको टुङ्गो समयमा नलाग्दा आवश्यक कर्मचारी भर्ना गर्न नसकेको संस्थानको भनाइ छ । ‘वार्षिक २० जना बढी कर्मचारीहरु उमेर हद पुरा गरेर अवकाश लिइरहेका छन्, उनीहरुको सट्टामा नयाँ कर्मचारीहरु भर्ना गर्न सकिएको छैन, संस्थानमा ८ सय ३३ जनाको दरबन्दी छ, तर अहिले त्यसको आधा मात्रामा पनि कर्मचारी छैनन्, सूचना अधिकारी श्रेष्ठले भने । उनका अनुसार अहिले एउटै कर्मचारीले दुइटा शाखाको जिम्मेवारी सम्हाल्नु पर्ने बाध्यता छ ।