एनसेल प्रिजेन्टसको दरबारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे सम्पन्न

काठमाडौं । नेपाली नयाँ वर्ष अवसरमा शनिबार काठमाडौंको दरवारमार्गमा आयोजित एनसेल प्रिजेन्टस् १६ औं दरवारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे सम्पन्न भएको छ । ‘नेपाली उत्पादन हाम्रो शान, सभ्यता र संस्कृति जोगाउनु हाम्रो काम’ भन्ने नाराका साथ यो महोत्सव आयोजना गरिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) ले एनसेलसँग महासंघको विषेश सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना गरेको हो । संस्कृति, पर्यटन तथा नागरीक उड्यन मन्त्रि सुदन किराती, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) का पदाधिकारीहरुले संयुक्त रुपमा महोत्सवको उद्घाटन गरेका थिए । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पु¥याउने, लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्ने, नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने, काठमाडौं महानगरपालिकाभित्रको सांस्कृति प्रवद्र्धन एवं संरक्षणमा सहयोग गर्ने यस महोत्सवको मुल उद्देश्य रहेको थियो । काठमाडौं उपत्यका भित्रका संस्कृति झल्कने प्रस्तुतीका साथ महोत्सवको औपचारिक शुभारम्भ विहान ११ः०० बजे देखि सुरु भएको थियो । गीतसंगितका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु र महोत्सव आयोजना गरिएको क्षेत्रमा विविध रमाइला गतिविधिहरु सहित यो महोत्सव उत्साहका साथ बेलुका ९ बजेसम्म आयोजना गरिएको थियो । कार्यक्रम सुरु भए देखि बेलुका सम्म १ लाख ५० हजार भन्दा बढि मानिसहरुले महोत्सवमा भाग लिएका थिए । यस महोत्सवमा चर्चित गायकगायिका, कलाकार तथा सांगितिक समुहहरुले आ–आफना प्रस्तुति रहेका थिए । कुटुम्ब, दिपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, पहेलो बत्ति मुनी, त्रिशाला गुरुङ, आविस्कार केसी, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्टस्ले उपस्थित दर्शक तथा आगन्तुकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । यसका साथै महोत्सवमा शारिरीक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तुहरु र महिला उद्यमी सहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका पनि प्रर्दशनीमा राखिएका थिए । बालबालिकाका लागि विभिन्न आकर्षक गेमहरु सहित छुट्टै किडस् जोनको विषेश व्यवस्था गरिएको थियो भने विभिन्न नेपाली खानाका परिकारहरु र स्वदेशी उत्पादनहरुको विषेश प्रदर्शन/प्रस्तुतिका स्टलहरु महोत्सवको आकर्षणमा रहेको थियो । यसैगरी महोत्सवमा भिडिओ गेमका पारखीहरुका लागि अनलाइन गेमिङ् प्रतियोगिता पनि संचालन गरिएको थियो । महोत्सवमा आउने सबैकालागि फोटो तथा भिडियो बनाउन टिकटक बुथ र डिजे बुथ पनि राखिएका थिए । महोत्सव काठमाडौं महानगरपालिका र नेपाल पर्यटन बोर्डको विषेश सहयोगमा आयोजना भएको हो । सह–प्रायोजकमा काल्र्सबर्ग र अन्य सहयोगी संस्थामा कुनु नेपाल र एनडीज् आइसक्रिम रहेका थिए । पछिल्लो पटक देखिएको तरलता संकट लगायत विविध कारणले थलिएको अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चांडोभन्दा चांडो पुनरुत्थान, नव उत्थानमा लैजान सकिन्छ भनि निरन्तर काम भैरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठूलो सहयोग गर्ने विश्वास आयोजकहरूको रहेको छ ।

निगुरो बेचेर मनग्य आम्दानी गर्दै

कावासोती । पूर्वी नवलपरासी कावासोती–११ की मनमाया बोटे दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्छिन् । उनले चैतदेखि साउन, भदौसम्म निगुरो टिपेर आफ्नो छ जना परिवारको खर्च चलाउँदै आएकी छिन् । दैनिक चार सयदेखि छ सय रुपैयाँसम्म आम्दानी हुने उनी बताउँछिन् । मनमायाजस्तै कावासोती–१२ की रीता माझी पनि परिवार पाल्न र छोराछोरीको पढाइ खर्च जुटाउन निगुरो टिप्ने गरेको बताउँछिन् । पूर्वी नवलपरासीको विषेश गरेर चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको जङ्गलमा निगुरो पाइन्छ । शिख्रौली, पिप्रहर, केउरानी, लौगाई, पिठौली, अमलटारीलगायतका नारायणी नदी नजिकका सामुदायिक वनमा पाइने निगुरो स्थानीय बजारदेखि काठमाडौँका भान्सासम्म पुग्ने गरेको छ । चैत सुरु भएदेखि पूर्वी नवलपरासीका विषेशगरेर मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा डोको बोकेर निगुरो खोज्नेको ताँती लाग्छ । बिहान झिसमिसेमै जङ्गल पसेका महिला तथा बालबालिका डोकोभरि निगुरो बोकेर निस्कन्छन् । स्कुले बालबालिकासमेत बिदामा स्टेशनरीको जोहो गर्न निगुरो टिप्न आउँछन् । वन आसपास बस्दै आएका धेरै बालबालिकाले निगुरो टिपेर पढाइ खर्च जुटाउने गरेका छन् । विद्यालय पढ्ने बालबालिकादेखि कलेज पढ्दै गरेका किशोर–किशोरीले समेत बिदाको समयमा निगुरो टिप्ने गरेका छन् । दुई दशकदेखि नारायणी नदी आसपासका जङ्गलको निगुरो सङ्कलन गर्दै जिल्लाको कावासोती, दलदले, रजहर, डन्डालगायतका बजारमा लगरे बिक्री गर्दै आएको कावासोती–१२ गैरीकी माया नेपाली बताउँछिन् । गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दुका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा दैनिक तीन–चार सय जनाले निगुरो टिप्दै आएका छन् । धेरै मजदुरले दैनिक निगुरो बेचेर परिवारको खर्च चलाउँदै आएका छन् । यस क्षेत्रबाट दैनिक निगुरो सङ्कलन गरी जिल्ला विभिन्न बजारमा बिक्री गर्न लैजाने गरेको कावासोती–१२ मा रहेको राजरत्न मध्यवर्ती सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद लम्साल बताउँछन् । यहाँबाट स्थानीयदेखि नारायणघाट, काठमाडौंसम्मका व्यापारी निगुरो लैजाने गरेका छन् । स्थानीय बजारमै निगुरोको माग अत्यधिक हुने भएकाले स्थानीय बजार नै प्राथमिकता रहने गरेको मध्यविन्दुकी अनिता माझी बताउँछिन् । माझीका अनुसार कहिले वनबाट टिपेर ल्याएको निगुरो स्थानीय बजार नपुग्दै गाउँघरमा नै सकिन्छन् । निगुरोको माग अत्यधिक हुने गरेको र बजार राम्रो भए पनि जोखिम उठाएर स्थानीयले निगुरो सङ्कलन गर्ने गरेका छन् । वनमा भेटिने एकसिङ्गे गैँडा, बाघको डर मात्रै होइन निकुञ्जको सुरक्षामा खटिएका सुरक्षाकर्मीको त्रास पनि उस्तै हुने कावासोतीका कृष्णबहादुर बोटे बताउँछिन् । विषेशगरेर नारायणी नदी किनारमा रहेका बोटे माझी मुसहरले चैतदेखि साउनसम्म नारायणीमा माछा मार्न अनुमति नपाउँदा निगुरो बेचेर घर चलाउँदै आए पनि वन्यजन्तु र निकुञ्ज प्रशासनको डरको कारणले जोखिम मोलेरै भए पनि निगुरो टिप्ने तथा सङ्कलन गर्दै आएका छ्न् । रासस

जुम्लामा धान खेती भन्दा यर्सा टिपेर तेब्बर आम्दानी हुने

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलोमा मार्सी धानको खेती घट्दै गइरहेको छ । विश्वको उच्च स्थानमा कालीमार्सी धान फल्ने छुमचौर जिउलोमा अहिले मार्सी धानखेती विस्तारै घटेको पातारासी गाउँपालिका–३ का स्थानीयवासी मुनबहादुर एडीले जानकारी दिए । यहाँका कतिपय किसानले जौँ, गहुँ, मकै, आलु रोप्ने गर्छन् । कतिपयले खेत बाँझै राख्ने गरेका छन् । खेतमा कालीमार्सी धान रोप्दा रोग–कीरा लाग्ने र बाली निकै कम हुने भएपछि कालीमार्सीको खेती गर्न छाडिएको जनाइएको छ । उनले भने, ‘धानखेतीका लागि प्रशस्त पानी छ । सिँचाइ कुला पनि खेतसम्मै पुगेका छन् । तर महिनौँदेखि मेहनत गरेर रोपिएको कालीमार्सी धान घर भित्र्याउने समयमा रोग–कीराको सङ्क्रमण हुने र असिना पानीले झारिने गर्दा यहाँका किसान कालीमार्सी धान रोप्ने चासो नदिएका हौँ ।’ पछिल्लो समय उत्पादनमा गिरावट आउन थालेपछि कालीमार्सी खेती गर्न छाडिएको छ । कालीमार्सी धानको आफ्नै पहिचान छ । तर पहिचानले खान लाउन पुग्दैन । धान लगाउन पर्याप्त धान उत्पादन पनि हुन जरुरी रहेको पातारासी–२ का ६२ वर्षीय गोर्खे बुढाले बताए । समुद्री सतहबाट दुई हजार आठ सय ५० मिटरको उचाइ रहेको छुमचौर जिउलोमा मार्सी धानखेती हुने गरेको पातारासी गाउँपालिका कृषि शाखाका प्रमुख रुपक बुढाले जानकारी दिए । कालीमार्सी धानखेती संरक्षण गर्नका लागि पालिकाले आवश्यक सहयोग गरेको छ । किसानलाई उत्पादनमूलक क्षेत्रमा जोड्नका लागि विभिन्न क्षमता अभिवृद्धिका तालिमसमेत दिएको छ । किसानले उत्पादन गरेको धान बजारीकरण हुनसकेको छैन । केही किसानले खेतमा धानको सट्टा अर्को बाली लगाउँदै आएका छन् । यो वर्षबाट पूरै छुमचौर जिउलोमा धानखेती गरिने कृषि शाखाका प्रमुख बुढाको भनाइ छ । कृषि शाखाले पनि सो जिउलोको धानखेतीमा लगानी गरेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । किसानका अनुसार धान उब्जनी कम हुन थालेपछि धान सिजनमा यहाँका अधिकांश बालबालिका र युवायुवती यार्सा सङ्कलनका लागि पाटनतिर जाने गरेका छन् । जिउलोमा धान पाक्न आठ महिना लाग्छ तर त्यसको सट्टामा पाटनमा यार्सा टिप्न जाँदा एक महिनामै तेब्बर आम्दानी हुन्छ । यार्सा टिप्न गएपछि पाटनमा एक घर परिवारले एक महिनामा न्यूनतम ५० हजार रुपैयाँदेखि एक लाखसम्म कमाउँछन् । एक महिनाको कमाइले वर्षभरको रोजीरोटी सहजै व्यवस्था हुने देखिएपछि जिउलोमा मेहनत गर्नुभन्दा पाटनमा गएर यार्सा टिप्नु नै सहज हुने पातारासीका किसान बताउँछन् । कृषि अनुसन्धान केन्द्र जुम्लाले पनि कालीमार्सी धान निकै पुरानो भएकाले रोग प्रतिरोधी मार्सी धानको अनुसन्धान भइरहेको जनाएको छ । जिल्लाका आठवटै स्थानीय तहमा यहीँ जेठ महिनाको पहिलो सातादेखि खेतमा मार्सी धानको रोपाइँ हुने गरेको छ । यो याममा खेतमा किसानले जोँखेती गरेका छन् । रासस