वैदेशिक रोजगारमा आकर्षित हुँदै खेलाडी

काठमाडौं । खेल क्षेत्रमै सम्भावना बोकेका खेलाडी पछिल्लो समय वैदेशिक रोजगारका लागि आकर्षित भइरहेका छन् । रामपुर नगरपालिका–७ किसानबारी बस्ने असिम राना आफ्नै खर्चमा खेलमा लगानी गरेर प्रतिस्पर्धा गर्नुपर्दा खेलाडीलाई समस्या पर्ने गरेको बताउँछन् । आठवर्षदेखि भलिबल खेलमा आबद्ध उनी अहिले २४ वर्षको भए । प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेशको नेतृत्व गर्दै राष्ट्रियस्तरसम्मको खेलसमेत खेलिसकेका छन् । कक्षा १२ उत्तीर्णपश्चात् अध्ययनलाई बीचमै छाडेर खेलमा होमिभएका उनी अहिले भने आर्थिक समस्याका कारण स्वदेशमै खेलबाट भविष्य नदेखेपछि वैदेशिक यात्रा तय गरेका छन् । ‘खेल खेल्ने रुचि र इच्छा धेरै भएपनि आर्थिक सङ्कटले भलिबलमा जीवन बिताउन सक्छु भन्ने सपना देखिनँ’, उनले भने,’खेलाडी पैसाले भरिपूर्ण हुँदैन, आफैँले लगानी गर्नुपर्दा यस क्षेत्रलाई छाडेर वैदेशिक रोजगारको सपना बुनेको छु ।’ राज्यले स्तर छुट्याएर राम्रो खेलाडी स्वदेशमै टिकाइराख्न भत्ताको व्यवस्था, रोजगारको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । खेलाडी आफैँले लगानी गरेर खेल खेल्नुपर्दा यसबाट भविष्य नदेखेको उहाँको भनाइ छ । खेल खेलेर विजयी हुँदामात्र पैसा हुने नत्र आफैँले सबै खर्च जुटाउनुपर्दा कठिन छ । आफ्नै खर्च गरेर अन्यत्र प्रतिस्पर्धामा जानुपर्दा खेलाडीलाई समस्याले पिरोल्ने गरिरहेको छ । पूर्वखोला गाउँपालिका–६ हेक्लाङका २२ वर्षीय देउबहादुर सिंजाली पाँचवर्षदेखि भलिबल खेल खेल्दै आएका छन् । कक्षा १२ सम्मको अध्ययन गरेका उनी खेल क्षेत्रबाट राम्रो गर्छु भन्ने सपना बोकेर सो क्षेत्रमा प्रवेश गरे । खेल खेल्दै जाँदा आर्थिक समस्याका कारण उनीपनि वैदेशिक रोजगारमा जाने तयारीमा छन् । प्रतियोगिता हुँदामात्रै खेल खेलाइने भएकाले अन्य समय खाली बस्नुपर्दा आर्थिक उपाजर्नमा समस्या परिरहेको उनको गुनासो छ । बाहिर प्रतिस्पर्धामा जाँदा खाने, बस्नेलगायतका क्षेत्रमा आफैँले लगानी गर्नुपर्दा खेलाडीलाई समस्या परेको तिनाउँ गाउँपालिका–५ बिस्कुनडाँडाका १७ वर्षीय रेशम विक बताउँछन् । उनी भविष्यमा खेलबाट पहिचान दिन भलिबलमा आकर्षित छन् । कक्षा ११ मा दमकडा माध्यमिक विद्यालयमा व्यवस्थापन समूहमा अध्ययनरत विकले अहिले पढाइसँगै खेललाई अगाडि बढाएका छन् । तीनवर्षदेखि विभिन्न जिल्ला तथा प्रदेशस्तरीय खेलमा प्रतिस्पर्धा गरिरहनुभएको छ । खेलमा राज्यले सहयोग गरी खेलाडीलाई स्वदेशमै बस्ने वातावरण बनाइदिएमा यसैबाट राम्रो खेलाडी बनेर चिनिने उनको सोच छ । खेलाडीलाई संरक्षण र रोजगार दिन सकियो भने खेलाडीले नेपालमा बसेर खेल उत्पादन गर्ने प्रक्रियालाई अझ बढावा दिनेछन्, राज्यले खेलाडीको संरक्षण गर्न नसकेको बताउनुहुन्छ, राष्ट्रिय भलिबल रेफ्री तथा प्रशिक्षक अनन्त श्रेष्ठ । उमेर हुँदासम्म खेल खेल्ने र खेल खेल्ने उमेर सकिएपछि घरपरिवारको गुजारा चलाउन राम्रो सम्भावना बोकेका खेलाडी विदेशतिर खेलाडी जान बाध्य रहेको श्रेष्ठले बताए । उनी २०५२ देखि २०६५ सालसम्म निरन्तर भलिबल खेलमार्फत स्थानीय, जिल्ला हुँदै राष्ट्रियस्तरसम्मको खेलमा प्रतिस्पर्धामा पुगे । भलिबल खेल खेल्ने क्रममा धेरै अनुभव बटुलेका उनी हाल भलिवल रेफ्री तथा प्रशिक्षकको काम गर्दै आएका छन् । ‘खेलको लागि राम्रो सम्भावना बोकेका खेलाडी उत्पादन छन्, तिनलाई जिल्लाले संवद्र्धन र संरक्षण गर्नुपर्ने हो, प्रदेशमा पुगेका खेलाडीलाई पहिचान हुने गरी एउटा रोजगारीको भूमिका निभाएर संरक्षण गरेर राख्नुपर्ने थियो’, उनले भने,’राज्यले पनि अन्तर्राष्ट्रियस्तरमा खेल खेलिसकेका खेलाडीलाई नेपालमै राखेर स्वदेशको खेलकुदको विकासका लागि गर्नुपर्ने दायित्व पूरा गर्न सकेको छैन ।’ राज्यले कुनैपनि समस्या समाधानका लागि योजना बनाएर खेल क्षेत्रका विकास गर्ने हो भने ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारा पूरा हुनेछ । राज्यले खेल्नुपर्ने भूमिका सहज ढङ्गले खेलिदिएको खण्डमा विदेश पलायन हुने दर घट्नेछ । स्थानीयस्तरदेखि जिल्ला, प्रदेश र राष्ट्रियस्तरसम्म जतिपनि खेलाडी उत्पादन हुन्छन् ती खेलाडीको रोजगारको तरिकाले जुनसुकै माध्यमले संरक्षण गर्न सकियो खेलकुद क्षेत्रको विकास हुनेछ । रासस

एशिया कपका कान्छा क्याप्टेन

काठमाडौं । नेपालले यूएईलाई पराजित गरेको छ । एसीसी प्रिमियर लिगमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको हो । नेपालले ३०.३ ओभरमा ११८ रन बनाउँदै यूएईलाई पराजित गरेको हो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेल यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि हात पारेको हो । उक्त जितसँगै नेपालले यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसिया कप क्रिकेट प्रतियोगितामा पनि स्थान पक्का गरेको छ । एसिया कपमा नेपालले भारत, पाकिस्तानजस्ता विश्व क्रिकेटका हस्ती राष्ट्रहरुसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने छ । घरेलु मैदानमा हजारौंसमर्थकको साथ पाएको नेपालका लागि गुलशन झा र भिम शार्कीले उत्कृष्ट प्रदर्शन गरे । गुलशन झाले अविजित ६७ रन बनाए । उनले ८४ बलको सामना गरी ६ छक्का र ३ चौका हिर्काए । भिम शार्की अविजित ३६ रनको योगदान गरे । यो जितसँगै एशिया कपमा खेल्ले सपना पुरा गरेको नेपालको क्याप्टेनको जिम्मेवारीमा रोहित पौडेल छन् । रोहित पौडेल एशिया कप खेल्ने ६ टीममध्ये सबैभन्दा कान्छो क्याप्टेन हुन् । समूह ‘ए’मा पाकिस्तान र भारत छन् । नेपालले यही समूशमा रहेर खेल्ने भएको छ । भारतको टीमका क्याप्टेन रोहित शर्मा ३६ वर्षका भए भने पाकिस्तानको क्याप्टेन मोहमद बाबर अजम २८ वर्षका भए । यस्तै, एसिया कपको समूह ‘बी’मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । श्रीलंकाका क्याप्टेन दिमुथ करुणारत्ने ३५ वर्ष, बंगलादेशका क्याप्टेन शकिब अल हसन ३६ वर्षका र अफगानस्थानका क्याप्टेन रशिद खान २४ वर्षका भए । यी सबै क्याप्टेनहरु मध्ये नेपाली क्रिकेट टिमका क्याप्टेन रोहित पौडेल २१ वर्षका भए ।

नेपालमा ओटिटी : विदेशीमै छन् दर्शक

काठमाडौं । कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ओटिटी (ओभर द टप)प्रतिको आकर्षण बढ्यो । ओटिटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्य रुपमा बढे। सो समयमा विश्व बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्नेप्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटिटी प्लेटफर्म’ले नेपाली दर्शकलाई राम्रोसँग आकर्षित गर्न सफल भए । तर विदेशी एपमा दर्शक झुमिँदा सोही प्रकृतिका नेपाली एपहरु आइफ्लिक्स, भिडियो पसल, सिनेमाघर जस्ता एपले दर्शक पाएनन् । नेपाल राष्ट्र बैंकले वार्षिक पाँच सय डलरसम्म खर्च गर्न मिल्नेगरी डलरकार्ड उपलब्ध गराए पनि विदेशी एपमै दर्शक बढ्दै गएका छन् । आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाएपछि बन्द नै भए । नेपालमा सन् २०१६ देखि सुरू भएको एप सिनेमा घरले सब्सक्रिप्सनको सुविधा हटाएर फिल्मअनुसार भुक्तानी गरेर हेर्न मिल्ने बनाएको कम्पनीका अध्यक्ष खगेन्द्र लामिछानेले जानकारी दिए । अभिनेता, निर्माता, लेखकसँगै चलचित्र ‘पानीफोटो’मार्फत् निर्देशक बनेका लामिछाने सिनेमाघर एपसँग सन् २०१८ मा जोडिनु भएको थियो । ‘नयाँ सामग्री आउँदा दर्शक बढ्छन्, अन्य समयमा पनि थपघट भइरहन्छ’ उनले भने, ‘अब भने आफ्नै कन्टेन्ट ल्याउनेमा हामी छौँ ।’ यद्यपि त्यसको सूचिगत प्रक्रिया पूरा नहुँदासम्म आँट गर्न नसकेको उनको भनाइ छ । उनका अनुसार वार्षिक पात्रो बनाएर मात्र आफ्नै ‘कन्टेन्ट’ ल्याइने छ । यसरी तयारी गर्दा कुनै एक ‘कन्टेन्ट’ असफल हुँदा अन्यले दर्शकलाई ‘होल्ड’ गर्न सकिने उनको भनाइ छ । आइफ्लिक्स र भिडियो पसल सञ्चालन गरिसक्नु भएका ओमप्रकाश अग्रवालले भने पाइरेसीको समस्याले ओटिटीमा चलचित्र राख्न जोखिम रहेको बताए । ‘पाइरेसी गर्नेलाई कडा कारबाही नभएसम्म कन्टेन्ट सुरक्षित हुँदैनन् । यससम्बन्धी साक्षरता बढाउनु आवश्य छ’, उनले भने, ‘एप ल्याएर मात्र हुँदैन त्यसलाई दर्शकसम्म पु¥याउन हामीले आवश्यकपर्ने सामग्री सञ्चित गरिरहेका छौँ ।’ उनले पाइरेसीसम्बन्धी शिक्षाको कमीले यस्तो भइरहेको बताए । उनले भने, ‘पक्राउ परेपछि ख्यालख्यालमै चलचित्र पाइरेसी गरिएको भन्ने सुनिन्छ । यससम्बन्धी चेतना फैल्याउनुपर्छ । किनकी अहिले चलचित्र भवनबाट समेत खिचिएका दृश्य सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् ।’ स्वदेशी आफ्नै सामग्री नहुँदा दर्शकको आकर्षण बढ्न सकेको छैन । अभिनेता अर्पण थापाले निर्माण प्रक्रियामा सानो वा ठूलो पर्दा भनेर विभेद नगर्न हुने बताए । ‘हामीले शृङ्खला तयार गरिरेका छौँ भने पनि चलचित्र झैँ मेहनत गर्नुपर्छ । शृङ्खला भनेर मेहनतमा कमि भयो भने त्यसको नतिजा राम्रो आउँदैन’, अभिनेता थापाले भने , ‘मैले भर्खरै एउटा शृङ्खलामा अभिनय गरेको छु । विस्तारै हामी कहाँ पनि ओटिटीलाई लक्षित गरी काम गर्नेछौँ।’ रासस