हलमा स्वदेशी चलचित्रको वर्चस्व : ‘जेरी अन टप’ले करिब १‍२ करोड कमाउँदा अन्यको कति?

काठमाडौं । गत तिहारको अवसर पारेर प्रदर्शन गरिएका नेपाली चलचित्रलाई दर्शकले साथ दिएका छन् । केही वर्षअगाडि सम्म तिहारमा नेपालीभन्दा विदेशी चलचित्रको वर्चस्व देखिन्थ्यो, तर पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा नेपाली चलचित्र नै परेको पाइएको छ ।  नेपाली कला र संस्कृतिसँगै सामाजिक कथा समावेश गरेर तयार गरिएका प्रदर्शनरत चलचित्रहरूले दर्शकको साथ पाउँदा घरेलु बजारमा राम्रो व्यापार गरेका छन् । चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘बक्सअफिस २ सिनेपाः’ को तथ्याङ्क सार्वजनिक गरिएको छ, जहाँ नेपाली चलचित्र हेर्ने दर्शक बढिरहेको पाइन्छ ।  गएको शनिबार अर्थात् कात्तिक २२ गतेसम्मको सार्वजनिक तथ्याङ्कअनुसार सगरमाथाको विषयमा निर्माण गरिएको चलचित्र ‘जेरी अन टप’ ले सबैभन्दा बढी कमाई गरेको छ । उक्त चलचित्रलाई तीन लाख ७५ हजार ८१ दर्शकले हेर्दा रु ११ करोड ७१ लाख ४१ हजार ४९८ कमाई (ग्रस कलेक्सन) गरेको छ ।  विश्वकै सर्वोच्च शिखर सगरमाथाको विषयमा विदेशमा धेरै चलचित्र बने तापनि नेपालमा कमै बनेका छन् । उक्त चलचित्रमा सगरमाथा आरोहण र त्यस क्रमको प्रेमकथालाई देखाइएको छ । नेपालमा सुन्दर दृश्यलाई कैद गरिएको उक्त चलचित्रले पर्यटनमा समेत टेवा पु¥याउने विश्वास निर्माता सरोज न्यौपानेको छ । उक्त चलचित्रमा अनमोल केसी, भुवन केसी, आँचल शर्मा, जसिता गुरुङ, उषा खड्गी लगायतका कलाकारले अभिनय गरेका छन् । गत असोज ३१ गतेदेखि प्रदर्शनरत उक्त चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका छन् ।  यस्तै भाइटीकाका अवसर पारेर गत कात्तिक ६ गतेदेखि प्रदर्शनरत चलचित्र ‘वरिष्ठ बलराम’ ले सोही अवधि (शनिबार बेलुकी) सम्म रु दुई करोड ५६ लाख ५७ हजार ९२९ कमाएको छ ।  उक्त चलचित्रलाई ८५ हजार ३५६ दर्शकले हेरेका छन् । दयाहाङ राई, विजय बराल, सम्वृद्धि अर्याल लगायतका कलाकारले अभिनय गरेको उक्त चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् ।    यस्तै, कात्तिक ६ मै प्रदर्शन भएको चलचित्र ‘सोल्टिनी’ले भने अपेक्षाभन्दा निकै कमजोर कमाइ गरेको छ । उक्त चलचित्रलाई आठ हजार ९४५ दर्शकले हेर्दा रु २९ लाख पाँच हजार ९५६ मात्र कमाइ गरेको छ ।  प्रकाश सपूत, परीक्षा लिम्बू लगायतका कलाकारले अभिनय गरेको उक्त चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका छन् । निर्देशक सुवेदीले यसअघि निर्देशन गरेको ‘रङ्गेली’ पनि घरेलु बजारमा असफल भएको थियो । ‘तक्मे बुढा’ को उपनामले परिचित अभिनेता विल्सनविक्रम राईले निर्देशन गरेको ‘मैझारो’ ले पनि घरेलु बजारमा सफलता प्राप्त गर्न सकेन । अभिनेता राईको पहिलो निर्देशकीय चलचित्र नै असफल भयो ।  अभिनेता धिरज मगर, मिरुना मगर, दयाहाङ राई लगायतका कलाकारले अभिनय गरेको उक्त चलचित्रले रु एक करोड चार लाख २९ हजार २८८ कमाएको छ । ३५ हजार १७६ दर्शकले मात्र उक्त चलचित्रलाई हेरेका थिए ।  यस्तै कात्तिक १४ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘परान’ ले दर्शकको राम्रो साथ पाएको छ । नीर शाह, मदनकृष्ण श्रेष्ठ जस्ता दिग्गज अभिनेताले अभिनय गरेको उक्त चलचित्रमा बाउछोराको कथालाई देखाइएको छ । दीपकप्रसाद आचार्यले निर्देशन गरेको उक्त चलचित्र दर्शकबाट प्राप्त प्रतिक्रिया कै कारण घरेलु बजारमा राम्रो कमाई गरिरहेको छ ।  उक्त चलचित्रले तीन करोड ७१ लाख ३६ हजार ५५३ कमाई गरेको छ । उक्त चलचित्रलाई एक लाख २८ हजार ६७९ जनाले हेरेका छन् । सुरुआती व्यापार कमजोर भए तापनि चलचित्रले सकारात्मक प्रतिक्रिया पाउँदा दर्शकको चाप चलचित्र भवनमा बढेको निर्देशक आचार्यले बताए ।  उक्त चलचित्रमा केकी अधिकारी, महेश त्रिपाठी, पूजा चन्द, अञ्जना बराइली लगायतका कलाकारले अभिनय गरेका छन् ।  यस्तै कात्तिक २१ मा प्रदर्शन भएका दुई चलचित्र ‘जारी २ः सङ अफ च्याब्रुङ’ र ‘मन विनाको धन’ लाई दर्शकले प्रारम्भिक रूपमा साथ दिएका छन् । यद्यपि, यी दुईको व्यावसायिक रिपोर्ट अझै सार्वजनिक भइसकेको छैन ।  समग्रमा चाडपर्वलाई लक्षित गर्दै प्रदर्शन भएका नेपाली चलचित्रमा दर्शकको उपस्थिति बलियो देखिएको छ । विदेशीको तुलनामा नेपाली चलचित्रप्रतिको आकर्षण बढेको देखिँदैछ । घरेलु बजारमा नेपाली चलचित्रले गरिरहेको कमाइले समग्र चलचित्र क्षेत्रलाई नै सकारात्मक सन्देश प्रवाह गरेको वितरक करण श्रेष्ठले बता‍ए।  उनले दर्शकको विश्वास जित्ने चलचित्र आगामी दिनमा पनि तयार गर्न निर्माता तथा निर्देशकलाई आग्रह गरे ।  अघिल्लो वर्ष ‘पूर्णबहादुरको सारङ्गी’ ले ऐतिहासिक व्यापार गरेपछि नेपाली चलचित्रमा दर्शकको आकर्षण बढेको पाइन्छ । दशैं-तिहार, शिवरात्रि, नयाँवर्ष जस्ता बिदाको समयमा नेपाली चलचित्रको व्यापार उच्च हुने गरेको तथ्याङ्क बक्सअफिसमा देखिएको छ । 

त्रिविको जग्गा मिच्नेहरूलाई कारबाही हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी छन् । प्रधानमन्त्री कार्कीले मंगलबार दिउँसो सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेलसमेतको उपस्थितिमा त्रिविका उपकुलपति प्रा दीपक अर्याल, रेक्टर प्रा खड्ग केसी,  रजिस्ट्रार प्रा केदारप्रसाद रिजाललगायतसँग छलफल गरेकी हुन् । छलफलमा मुख्य सचिव एकनारायण अर्यालसहित जग्गा खोजबिन समितिका पदाधिकारीहरू पनि सहभागी थिए । प्रधानमन्त्री कार्कीले प्रतिवेदन कार्यान्वयनमा हालसम्म भएको प्रगतिबारे जानकारी माग गर्दै आगामी प्रक्रियाका विषयमा चासो राखेकी थिइन् । उनले प्रतिवेदन सार्वजनिक भएपछि के कति फिर्ता आयो, फिर्ता हुने प्रक्रिया कसरी अघि बढेको छ र दोषीमाथि कारबाहीको प्रक्रिया के–के भयो भनेर जिज्ञासा राखेकी थिइन् । त्रिविका पदाधिकारीले विश्वविद्यालयको जग्गा ओगटेर बसेकाहरूलाई हटाउन र अपचलन भएर गएको जग्गाको लगत कायम गर्न सरकारको सहयोगको अपेक्षा रहेको बताए । गृहमन्त्री अर्यालले लगत कायम गर्ने प्रक्रियामा विश्वविद्यालय आफैँ अग्रसर हुनुपर्ने र किर्ते गरी जग्गा हडपिएको छ भने प्रत्येक घटनाको अलगअलग मुद्दाका रूपमा सीआईबीलगायत निकायमा जाहेरी दिनुपर्ने बताए । जग्गा अपचलनमा सीआईबीको विशेषज्ञता र अनुभव पनि रहेकाले कारबाही अघि बढाउन तयार रहेको उनको भनाइ थियो । मुख्य सचिव एकनारायण अर्यालले प्रतिवेदनमा औँल्याइएका विषयमध्ये ६० प्रतिशत काम विश्वविद्यालय आफैँले गर्न सक्ने बताए । सबै कामका लागि सरकारको मुख ताक्न नहुने उनको धारणा थियो । शिक्षामन्त्री पुनले यो विषय धेरै नतन्काइकन गर्न सक्ने काम तुरुन्तै गरिहाल्नुपर्ने र यसका लागि सबै सरोकारवाला निकायहरूको प्रतिनिधि रहने गरी कार्यदल बनाउनुपर्ने प्रस्ताव राखे । प्रधानमन्त्री कार्कीले असम्बन्धित संघसंस्था र व्यक्तिहरूले त्रिविको जग्गा ओगट्ने, बल भएकै आधारमा मिचेर खाने र बेचबिखन समेत गर्ने प्रवृत्ति तत्काल रोक्न निर्देशन दिइन् । साथै यसमा जो–जो दोषी भए पनि तत्काल कठघरामा उभ्याउनुपर्ने उनको निर्देशन छ ।

लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेको हुँ : मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लोकतन्त्रको संस्थागत विकासका लागि आफूले मुख्यमन्त्री पद स्वीकार गरेको बताएका छन् ।      मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी उनले आफू वर्तमान संविधानअनुसार  मुख्यमन्त्री बनेको जानकारी दिँदै  मधेसका समस्या समाधान गर्न पद स्वीकार गरेको स्पष्ट पारे ।      नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभामा सबैभन्दा ठूलो राजनीतिक दल भएकाले संविधानको धारा १६८ को उपधारा  (३) बमोजिम मुख्यमन्त्री भएको बताए । उनले मधेसका समस्या समाधान गर्न सबै राजनीतिक दलको सहयोग आवश्यक भएको बताए । मुख्यमन्त्री यादवले विध्वंसात्मक गतिविधि त्याग्न सम्बद्ध पक्षलाई अनुरोध गर्दै वस्तुनिष्ठ समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई अनुरोध गरे ।