पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
लमजुङ । हिउँदे वर्षाका कारण पहिरो जाँदा यहाँ मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड अवरुद्ध भएको छ । यस सडकअन्तर्गत मध्यनेपाल नगरपालिका १० विमिरे भञ्ज्याङमा पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । उनले भने, 'गएरातिदेखि नै हालसम्म वर्षा भइरहेका कारण सो क्षेत्रमा पहिरो जाँदा सो मार्गमा आवत जावत गर्ने सवारीसाधन सञ्चालन हुन सकेको छैन ।' पहिरो तत्काल खुलाउन पहल भइरहे पनि वर्षाले प्रभावित भएको कारण पहिरो खुलाउन समय लाग्छ उनले भने । साथै यस सडकखण्डमा विभिन्न खोला रहेको र सो खोलामा पानीको बहाव उच्च रहेकाले सवारीसाधन सञ्चालन हुन नसक्ने प्रहरीले जनाएको छ ।
कुलतको हब बन्दै काठमाडौं
घटना-१ : लागुऔषध र खैरो हेरोइनजस्तो देखिने १५ ग्रामसहित इलाम, सन्दपुर गाउँपालिका २ का २२ वर्षीय प्रोमिश राई पक्राउ परे । शुक्रबार काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र. ०१ ००२ ख ०९४ नम्बरको यात्रु वाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुङ्गासहितको संयुक्त टोलीले चेकजाँच गर्दा उनी पक्राउ परे । घटना-२ : बिहीबार धादिङ, थाक्रे गाउँपालिका १ का १९ वर्षीय सुमन तामाङ पक्राउ परे । चन्द्रागिरि नगरपालिका २ नागढुङ्गास्थित प्वाइन्टमा धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ५९९५ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गा तथा लागु औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुङ्गा समेतको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उनी पक्राउ परे । घटना-३ : लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७३ ग्रामसहित २२ वर्षीय रोहित महरा र २६ वर्षीय अशोक अधिकारी पक्राउ परे । गत बिहीबार काठमाडौंको प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले २ जनालाई चेकजाँच तथा खानतलासी गर्दा लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७.७३ ग्रामसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । घटना-४ : दुई साताअघि ४ हजार ६८० क्याप्सुल ट्रामाडोलसहित २४ वर्षीय सुनिल चिम्से भन्ने सुनिल गोलेलाई पक्राउ ग¥यो । गत चैत १८ गते नागार्जुन नगरपालिका ३ मा एक घरमा डेरामा बस्ने गोलेलाई कोठा खानतलासी गर्दा लागु औषधसहित प्रहरीले नियन्त्रणमा लिएको थियो । घटना-५ : चैत ४ गते काठमाडौंको नरेफाँटबाट सन्तोषकुमार झालाई प्रहरीले २२.८५० ग्राम लागु औषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिएको थियो । उनले काठमाडौंका विभिन्न स्थानमा लागु औषध कारोबार गर्ने गरेको सूचना पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । पछिल्लो समय काठमाडौं लगायत देशैभर लागुऔषध कारोबारी तथा प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । काठमाडौंमा प्रहरीले पक्राउ गर्दै मुद्दा चलाउनेको संख्या बढ्दै गएको बताएको छ । समाजमा दुर्व्यसनीकाे संख्या बढ्दै गएपछि प्रहरीले पनि उत्तिकै चासो दिएर निगरानी गरिरहेको छ । केही सातादेखि प्रहरीले काठमाडौं लगायत विभिन्न सहरबाट आयात हुने लागुऔषध प्रयोगकर्ता र कारोबारीलाई प्रहरीले पक्राउ गर्न थालेको छ । काठमाडौं जिल्ला प्रहरी परिसरमा मात्र ६ आर्थिक वर्षमा ३ हजार ४४३ लागुऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा २ सय ४० जनालाई मुद्दा दर्ता भएको थियो । सोही वर्ष ३ सय ३४ जना पक्राउ परेका थिए । आर्थिक वर्ष (आव) २०७८/०७९ मा ३३९ विरुद्ध मुद्दा र ४९२ जना पक्राउ परेका थिए । २०७९/०८० मा ३६८ जनालाई मुद्दा दर्ता गराइएको र ५९८ जना पक्राउ परेका थिए । २०८०/०८१ मा ३६३ जनाविरुद्ध दर्ता भएको र ६ सय ४ जना पक्राउ परेका थिए । आव २०८१/०८२ मा ४३१ जना मुद्दा दर्ता र ७२५ जना पक्राउ परेका थिए । त्यसैगरी, २०८२/०८३ मा ४३३ जनाविरुद्ध मुद्दा दर्ता र ६९० जना पक्राउ परेका थिए । नुर्फिन (एम्पुल), डाइजापाम (एम्पुल), पोलेन (ग्राम) नाइट्राभेट (ट्याब्लेट), खैरो हेरोइन, चरेश, गाँजा, फेनारगन, ब्राउन सुगर, ट्रामाडोल, कोरेक्स, ओपोट्याब, एपीनडोल, प्रोमेथओजिन, ट्रमानिल, आइस (ग्राम), स्पामो, अफिम, कोकिन र अन्य लागुऔषधसहित प्रहरीले काठमाडौबाट ६ आर्थिक वर्षमा प्रयोगकर्ता र कारोबारीलाई पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार पाँच वर्षमा मात्रमा देशभरबाट ३१ हजार २३ जनालाई विभिन्न लागु औषधसहित प्रहरीले पक्राउ गरेको हो । आर्थिक वर्ष २०७८/०७९ मा ३ हजार ८५६ मुद्दा दर्ता भएको थियो । पुरुष ५ हजार ३२१, महिला २४७, भारतीय पुरुष १९८, महिला ५, अन्य विदेशी पुरुष ३ र महिला १० जना पक्राउ परेका थिए । उक्त वर्ष कुल ५ हजार ७८४ व्यक्तिहरू पक्राउ परेका थिए । आव २०७९/०८० मा ६ हजार १८७ व्यक्तिहरू पक्राउ परेका थिए । नेपाली पुरुष ५ हजार ६३५, महिला ३२४, भारतीय पुरुष १९४ र महिला ११,विदेशी पुरुष १५ र महिला ८ जना पक्राउ परेका थिए । सोही वर्ष ४ हजार १०२ मुद्दा दर्ता भएको थियो । त्यसैगरी, २०८०/०८१ मा ४ हजार ३९९ मुद्दा दर्ता भएको थियो । नेपाली पुरुष ६ हजार ७२ र महिला ३५१, भारतीय पुरुष २ सय ४९, महिला २०, विदेशी पुरुष १७ र महिला ६ जना पक्राउ परेका थिए । सोही वर्ष ६ हजार ७१५ व्यक्ति पक्राउ परेका थिए । आर्थिक वर्ष २०८१/०८२ मा ७ हजार ८९० व्यक्ति पक्राउ परेका थिए । नेपाली पुरुष ७ हजार १४६ र महिला ४१९, भारतीय पुरुष २८३ र महिला २२, विदेशी पुरुष १३ र महिला ७ जना पक्राउ परेका थिए । सोही वर्ष ५ हजार ६१ मुद्दा दर्ता भएको थियो । चालु आर्थिक वर्ष २०८२/०८३ को माघसम्म २ हजार ८५१ मुद्दा दर्ता भएको छ । नेपाली पुरुष ४ हजार ४, महिला २१८, भारतीय पुरुष २०६, महिला ११, विदेशी पुरुष ६ र महिला २ जना पक्राउ परेका थिए । सात महिनामा देशभरबाट ४ हजार ४४७ व्यक्तिहरु पक्राउ परेका थिए । लागू औषध कारोबार तथा सेवन गर्नेहरुमा विभिन्न उमेर समूहका व्यक्तिहरू रहेका छन् । १८ वर्षदेखि ६१ वर्षसम्मका व्यक्तिहरू लागुऔषधका मुद्दामा पक्राउ पर्ने गरेका छन् । ब्यूरोका अनुसार विभिन्न पेशामा आवद्ध व्यक्तिहरू लागुपदार्थको कुलतमा छन् । कृषि पेशा, सार्वजनिक यातायातका चालक तथा सहचालक, ज्यामी मजदुर, बेरोजगार, विद्यार्थी, गृहिणी, व्यापार व्यवसाय, कर्मचारी, वैदेशिक रोजगारीमा गएकाहरु र अन्य व्यक्तिहरू लागू पदार्थको कुलतमा फस्ने गरेको ब्यूरोको भनाइ छ । शिक्षित व्यक्तिहरू नै कुलतमा काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले काठमाडौंमा १५ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरू लागु पदार्थ सेवन गर्ने गरेको पाइएको बताए । उनका अनुसार लागु औषध सेवनकर्ताहरू शिक्षित, विद्यार्थी, मेडिकल क्षेत्रमा आबद्धहरू, इन्जिनिरियङ, बेरोजगार र अन्य पेशामा रहेकाहरू बढी छन् । लागुऔषध कारोबारी तथा प्रयोगकर्ताहरू पटके अपराधमा संलग्न, पारिवारिक विखण्डनमा परेका र सामाजिक प्रतिष्ठा गुमाएकाहरू हुने गरेको भट्टराईले बताए । नेपाली युवा युवतीहरु माध्यमिक शिक्षा पार गरेका र वैदेशिक रोजगारीमा पुगेर फर्केकाहरू कुलतमा फस्ने गरेको उनको भनाइ छ । ‘काठमाडौंमा महिलाको तुलनामा पुरुषहरू कुलतमा लागेको पाइएको छ,’ उनले भने, ‘काठमाडौंमा भित्रिने तराईका जिल्ला र भारतबाट लागू पदार्थ भित्रिने गरेको अनुसन्धानबाट खुल्ने गरेको छ ।’ काठमाडौंका विभिन्न स्थानमा नेपाली लगायत विदेशीसमेत लागुपदार्थ कारोबारीमा भेटिने गरेको उनले बताए । कोशी प्रदेशमा लागुऔषधको कारोबारी बढे लागु औषध नियन्त्रण ब्यूरोका सह–प्रवक्ता जीवन निरौलाले बेरोजगार हुँदाको परिणाम र साथी संगतको लहैमा लागेर दुव्र्यसनीमा फसेको बताए । उनका अनुसार अभिभावकको माया नपाएका र प्रत्यक्ष निगरानीमा नरहेकाहरू बढी दुव्र्यसनीमा फसेका छन् । मुलुक बाहिर रहेका अभिभावकका सन्तानहरू दुव्र्यसनीनमा लागेको निरौलाले उल्लेख गरे । एक्लै बस्ने सन्तान र परिवारका ठूला सदस्यहरूको साथ नपाएकाहरू कुलतमा फस्ने गरेको उनको भनाइ छ । निरौलाले कोशी प्रदेशमा सबैभन्दा बढी लागू पदार्थ कारोबारी र प्रयोगकर्ता रहेको जानकारी दिए । झापा, मोरङ्ग र इलाममा बढी प्रयोगकर्ता हुने गरेको उनी बताउँछन् । मधेस प्रदेशको सिराहामा बढी दुव्र्यसनी रहेको उनले जानकारी दिए । ‘काठमाडौंमा भित्रिनेहरूले धेरैजसोले हेरोइन जस्ता लागुऔषध ल्याउने गरेका छन्,’ निरौलाले भने, ‘मँहगा–मँहगा लागुपदार्थहरू भारतबाट आयात गर्छन् । उनीहरूले काठमाडौंमा बिक्री गर्ने र सेवन गर्ने उद्देश्यले भित्र्याउने गरेका छन् ।’ इलामका व्यक्तिहरू उपचार गर्न आउने उद्देश्य लागुपदार्थहरू बोकेर काठमाडौं आउने गरेको उनले जानकारी दिए । उपचार गर्ने आर्थिक स्रोत अभाव हुँदा लागुपदार्थ बिक्री गर्ने गरेको एक अनुसन्धानबाट खुलेको निरौला बताउँछन् । अधिकांश लागुऔषध अहिले काठमाडौंमा कोशी र मधेस प्रदेशबाट भित्रिने गरेको उनले जानकारी दिए । यस अघि काठमाडौंमा लागू औषध वीरगञ्ज र नेपालगञ्जबाट ल्याइने गरेको थियो । साठीको दशकमा बढी लागुऔषध वीरगञ्ज क्षेत्रबाट आउने गरेको उनले जानकारी दिए । बेरोजगारी हुनु नै मुख्य कारण दुर्व्यसनमा फस्नु रहेको समाजशास्त्री सुदीप नकर्मी बताउँछन् । फुर्सद हुँदा पनि कुलतजन्य व्यवहारमा फस्ने गरेको उनको बुझाइ छ । ‘परिवार तथा साथीभाइसँगै बसे पनि एक्लो महसुस गर्नेहरु लागुपदार्थको कुलतमा लाग्ने गरेका छन्,’ उनले भने, ‘साथीभाइको संगत र सांस्कृतिक प्रभावको कारण एक हुन सक्छ । सांस्कृतिक व्यवहार कतिपय अवस्थामा दैनिक व्यवहार बन्ने गरेका छन् ।’ परिवारभित्र भए पनि पारिवारिक अंग नबनेको महसुस गर्ने दुव्र्यसनीमा लाग्ने गरेको नकर्मीले बताए । समाज र परिवारबाट अलग भएको महसुस गर्नेहरू फरक व्यवहार गर्ने गरेको उनको बुझाइ छ । पुँजीवादी समाजमा मूल्य मान्यताको क्षयीकरण हुँदा मानिसहरू कुलत जन्य गतिविधिमा लाग्ने गरेको समाजशास्त्री नकर्मीले बताए । समाजमा आफूले गर्नुपर्ने योगदानको महत्व बुझ्न नसक्नेहरू आफ्नो मात्र संसार रहेको बुझ्नेहरू कुलतमा लागिरहेको उनले उल्लेख गरे । पारिवारिक वातावरण भएमा र व्यक्तिको आफ्नो महत्त्व बुझाउन सकेमा कुलतमा युवाहरू नफस्ने उनले सुनाए । काममा व्यस्त हुने र युवाहरूलाई समय–समयमा मनोपरामर्श गरिदिँदा लागुऔषधबाट टाढा जान सक्ने उनले बताए । मनोरञ्जनले कुलतमा लागू पदार्थममा लागेकाहरू सुरुमा मनोरञ्जनका लागि सेवनकर्ता हुने तर पछि कुलतमा फस्ने नमस्ते फाउण्डेसनका अध्यक्ष रोशनसिंह लामा बताउँछन् । साथीसंगत र मनोरञ्जनकै कारण लागुऔषधको सिकार हुने गरेको उनको बुझाइ छ । ‘पारिवारिक तनाव, प्रेम सम्बन्ध बिग्रेपछि, आर्थिक कारोबार बिग्रदा र साथीको संगतका कारणले कुलतमा फस्ने गरेका छन्,’ सुधार गृहका सञ्चालक लामा भन्छन्,’ कुलतमा फसेकाहरू जुनसुकै समयमा प्रयोग गरिरहन्छन् । शौचालयमा जाँदादेखि निद्राबाट ब्युझँदासम्म सेवन गरिहाल्छन् ।’ रिकभर भएर घर फर्केका ९५ प्रतिशत व्यक्तिहरू कुलतमा फस्ने गरेको लामाको अनुभव छ । सुधार गृहमा बस्दासम्म अनुशासन जीवनमा हुने घर पुगेपछि स्वतन्त्र हुँदा कुलतमा लाग्ने गरेको उनले बताए । सुधार गृहमा पुग्नेहरू गाँजा, ब्राउन सुगर, इन्जेक्सन र मिश्रण औषधी खानेहरू पुग्ने उनको भनाइ छ । अधिकांश कुलतमा फसेकाहरू युवायुवती हुने र श्रमिक हुने गरेको उनले बताए ।अधिकांश कुलतमा फसेकाहरु भारतबाट आयात भएको लागुऔषध प्रयोग गर्ने गरेको लामाले जानकारी दिए । यस्ता छन् असर लागुऔषधको सेवनले एचआईभी एड्स, हेपाटाईटिस तथा यौनजन्य रोगहरू संक्रमण हुने, तौल घट्ने, शरीर दुब्लाउने, खानामा रूचि नहुने, ओभरडोज भएर मृत्यु समेत हुने गरेको चिकित्सकहरु बताउँछन् । यसको प्रयोगले एकोहोरोपन, फ्रस्टेसन, डिप्रेशन, सोच्न सक्ने शक्ति हराउने, स्मरण शक्ति कम हुने र नकारात्मक भावनाको श्रृजना हुने गर्छ । यस्तै, यसले पारिवारिक असमझदारी बढ्ने, घरको सामानहरू चोरी हुने, दैनिक झगडा गर्ने, सम्पत्ति घट्दै जाने, पारिवारिक दुरि बढने, अनैतिक कार्यमा संलग्न हुने गर्दछ ।
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
जानकी । नेपालगन्ज विमानस्थलमा आजदेखि यात्रुहरूका लागि निःशुल्क ट्रलीबस सेवा सञ्चालनमा ल्याइएको छ । नागरिक उड्डयन प्राधिकरणद्वारा उक्त सेवा सञ्चालनमा ल्याइएको हो । विमानस्थलदेखि राँझा चोकसम्म करिब दुई किलोमिटर दूरीमा यात्रुलाई आवतजावत सहज बनाउने उद्देश्यले ट्रलीबस सेवा सञ्चालन गरिएको नेपालगन्ज विमानस्थल कार्यालयले जनाएको छ । विशेषगरी वृद्धवृद्धा, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा धेरै सामान बोकेर यात्रा गर्ने यात्रुलाई लक्षित गर्दै यो सेवा सुरु गरिएको हो । उक्त सेवा लिएकी यात्री सरिता शर्माले निःशुल्क ट्रलीबस सेवाले विशेष राहत मिलेको बताइन् । 'म आज काठमाडौंबाट नेपालगन्ज आएकी हुँ । यहाँ झर्दा अटोले लिने चर्को शुल्क र अटोवालासँग ‘बार्गेनिङ’ गर्दा खेप्नुपर्ने गर्मी यी दुवैबाट छुटकारा पाएको अनुभूति भएको छ', उनले भनिन् । नेपालगन्ज विमानस्थल प्रमुख सन्तोषकुमार पोखरेलले यात्रुहरूको सुविधालाई प्राथमिकतामा राखेर सेवा विस्तार गरिएको बताए । उनले भने, 'करिब २५ सिट क्षमता रहेको यो बस पूर्ण रूपमा अपाङ्गमैत्री छ । शारीरिक रूपमा असहजता भएका यात्रुहरूलाई समेत सहज पहुँच होस् भन्ने सोचका साथ यसको सञ्चालन गरिएको हो ।' नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको सेवा प्रवाहलाई थप व्यवस्थित, आधुनिक र यात्रुमैत्री बनाउन विभिन्न सुधार भइरहेका छन् ।