यूएईविरुद्ध नेपाल ३७ रनले विजयी

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार भएको खेलमा नेपाल विजयी भएको छ । नेपालले यूएईलाई ३७ रनले पराजित गर्‍यो । नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै १६३ रनमा समेटियो । खेलमा नेपालका लागि करण केसीले सर्वाधिक चार विकेट लिए । त्यसैगरी, सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई विकेट लिए । नेपालका दीपेन्द्रसिंह ऐरी र ललीत राजवंशीले समान एक विकेट लिए । ब्याटिङतर्फ यूएईका हरप्रित सिंहले ३९ रन बनाए । ५२ बल खेलेका उनले ५ चौका प्रहार गरे । त्यसैगरी, मुहम्मद वसिमले ३४ र अक्षदीप नाथले ३० रन जोडे । यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै २०० रनको योगफल बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ९० बलमा पाँच चौका र दुई छक्कासहित ७५ रन बनाएका हुन् । नेपालको सुरुआत कमजोर रहँदा आसिफ शेख सात रनमै आउट भए भने कप्तान रोहित पौडेल केवल दुई रनमा पवेलियन फर्किए । त्यस्तै, कुशल भुर्तेलले २४ रन, बसिर अहमदले २० रन र करण केसीले २२ रनको योगदान दिए । अन्य खेलाडीहरूमा भीम सार्कीले १० तथा आरिफ शेखले र सोमपाल कामीले समान १५ रन बनाए । बलिङतर्फ युएईका जुनैद सिद्दिकी, अजय कुमार र खुजैमा तनवीरले समान तीन विकेट लिए ।

सुकुम्वासी बस्ती हटाउने क्रम जारी, हालसम्म ६८ परिवार सरकारको सम्पर्कमा

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक तथा सरकारी जग्गामा बनाइएका अनधिकृत बस्तीहरू खाली गराउने कार्यलाई तीव्रता दिएको छ । यस क्रममा काठमाडौं महानगरपालिका-११ स्थित थापाथलीको बस्ती खाली गरिएको छ भने वडा नम्बर ९ को गैरीगाउँ र वडा नम्बर ३१ को शान्तिनगरमा बस्ती हटाउने क्रम जारी रहेको छ । यस्तै, कागेश्वरी मनोहरा नगरपालिका-८ को गोठाटार बुद्धचोक तथा वडा नम्बर ९ को मनोहरा टोलमा रहेका अनधिकृत बस्तीहरू पनि खाली गर्ने तयारी गरिएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ अनधिकृत घरधुरी रहेका छन् । बस्ती खाली गराउने क्रममा नेपाल प्रहरी र महानगरका सुरक्षाकर्मीहरूले स्थानीयवासीलाई सामान उठाउन तथा ढुवानी गर्न प्रत्यक्ष सहयोग गरेका छन् । प्रभावित परिवारहरूले पनि सरकारको कदममा सहयोग गरेपछि थापाथलीमा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा बस्ती खाली गरिएको जनाइएको छ । हालसम्म थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी रहेको छ । सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशालामा पुर्‍याएर उनीहरूको विवरण सङ्कलन गरिनेछ र त्यसपछि काठमाडौंका विभिन्न होटलहरूमा अस्थायी रूपमा राख्ने तयारी गरिएको छ । हालका लागि घरायसी सामानहरू कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपालमा सुरक्षित रूपमा राखिएको छ । अब होटलमा राखिएका परिवारहरू वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान प्रक्रिया भोलिदेखि सुरु गरिनेछ । वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका-१ स्थित सरकारी अपार्टमेन्टमा स्थानान्तरण गरिनेछ । त्यसपछि उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम अघि बढाइने सरकारको तयारी छ ।

हवाइफायरिङ गरेर ३ जना लागुऔषध कारोबारी पक्राउ

नेपालगन्ज । प्रहरीले नेपालगन्जमा आज हवाइफायरिङ गरेर तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।      जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक तथा निमित्त सूचना अधिकारी रमेश विष्टले नेपालगन्ज उपमहानगरपालिका वडा नं २२ स्थित शान्तिनगरचोक नजिक तीन राउण्ड हवाइफायरिङ गरेर उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए । पक्राउ परेकाहरूको साथबाट ३७० ग्राम ब्राउनसुगरसमेत प्रहरीले बारमद गरेको छ ।       पक्राउ गरेर नियन्त्रणमा लिएकामा नेपालगन्ज उपमहानगरपालिका २२ का ३५ वर्षीय नुरमोहम्मद किङ्गरिया, सोही स्थानका २८ वर्षीय दिनेश बासखोरी र २९ वर्षीय सरोश शाही रहेको प्रहरी निरीक्षक विष्टले उल्लेख गरे । उनले धेरै दिनको प्रयासपछि उनीहरूलाई पक्राउ गर्न सफल भएको जानकारी दिँदै कार्यालय सुरु भएपछि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिने बताए ।    'हामीले धेरै दिनदेखि पिछा गरिरहेका थियौँ र सुराक पनि परिचालन गरेका थियौँ, आज कारोबार गर्न लागेको समयमा पक्राउ गर्न सफल भयौँ', उनले भने । बाँकेमा दैनिकजसो प्रहरीले लागुऔषधमा संलग्न भएका व्यक्ति र कारोबारीलाई पक्राउ गर्दै आएको छ ।