नेपालमा महिला बेरोजगारीको संख्या बढ्दो
काठमाडौं । नेपालमा बेरोजगारीको दर १२.६ प्रतिशत रहेको छ । सोमबार अर्थ मन्त्रालयले जारी गरेको स्वेत पत्रमा नेपालमा बेरोजगार दर १२.६ प्रतिशत रहेको उल्लेख छ । नेपालमा बेरोजगारी दर उच्च हुँदा बेरोजगारी, अर्धबेरोजगारी र अल्प-उपयोगी दर उच्च रहेको मन्त्रालयले जनाएको छ । चौथो नेपाल जीवनस्तर सर्वेक्षणका अनुसार नेपालमा बेरोजगार दर १२.६ प्रतिशत रहेको बताइएको छ । महिलाको बेरोजगारी दर १३.१ प्रतिशत र पुरुषको १०.३ प्रतिशत रहेको छ। १५-२४ वर्ष उमेर समूहका युवाको बेरोजगारी दर २२.७ प्रतिशत रहेको जनाइएको । रोजगारीप्राप्त व्यक्तिमध्ये ६४.९ प्रतिशतले दैनिक ज्यालादारी पाउने गरेको पत्रमा उल्लेख छ । नेपालको श्रम बजारमा युवा र महिला बेरोजगारीको अवस्थ धेरै रहेको मन्त्रालयले बताएको छ । रोजगारी पाएका अधिकांश व्यक्ति न्यून ज्याला र असुरक्षित काम गर्ने मन्त्रालयले प्रस्ट पारेको छ ।
८३ प्रतिशत मध्यम वर्गलाई समेट्न नसक्ने राजनीति अब सफल हुँदैन : सुरेन्द्र पाण्डे
काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले नेपालको बदलिँदो सामाजिक संरचना र अन्तर्राष्ट्रिय परिवेशलाई बुझेर मात्रै अबको राजनीति सफल हुने बताएका छन् । मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित ‘मदन भण्डारी, सामाजिक एकता र राष्ट्र निर्माण’ विषयक विचार गोष्ठीमा बोल्दै पाण्डेले पुरानो शैलीको राजनीतिले आजको आवश्यकता पूरा गर्न नसक्ने तर्क गरेका हुन् । नेपालका राजनीतिक दलहरूले आफ्नो वर्ग आधार पुनरावलोकन गर्नुपर्नेमा जोड दिए । उनले केवल १७ प्रतिशतको मात्र कुरा गरेर र ८३ प्रतिशत डोमिनेन्ट मध्यम वर्गलाई उपेक्षा गरेर अब कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने ठोकुवा गरे । जनताको बहुदलीय जनवाद (जबज) को सान्दर्भिकता चर्चा गर्दै पाण्डेले मदन भण्डारीले जहिले पनि शास्त्रभन्दा जीवन्त यथार्थलाई महत्व दिएको स्मरण गरे । पार्टीहरूले हिजोको भूमिगतकालीन मानसिकता र नियन्त्रणमुखी शैली नत्यागे नयाँ पुस्ता राजनीतिमा नआउने उनको चेतावनी छ । पाण्डेले भने, ‘२००६ सालमा पार्टी स्थापना हुँदा ९० प्रतिशतभन्दा बढी मानिस गरिब थिए, तर आज परिस्थिति फेरिएको छ । अहिले १७.४ प्रतिशत मात्र गरिबीको रेखामुनि छन् भने ८३ प्रतिशत जनसंख्या मध्यम वर्गमा उक्लिएको छ ।’ नेता पाण्डेले अबको राष्ट्रियता ‘आर्थिक राष्ट्रियता’ हुनुपर्ने बताए ।
ठूलो जनमत प्राप्त गरेको सरकार अलोकप्रिय नबनोस् : कांग्रेस महामन्त्री पौडेल
पाटन । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ठूलो जनमतसहित गठन भएको सरकार अलोकप्रिय नहोस् भन्ने कामना गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी हुन जाने क्रममा महामन्त्री पौडेलले सुकुमबासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको हो कि भन्ने आफूलाई लागेको बताए । 'सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन, यो सरकारले राम्रोसँग काम गरोस्' उनले भने । महामन्त्री पौडेलले सुकुमबासीलाई हटाउनु हुँदैन भन्ने कांग्रेसको धारणा नभएको र सबै सुकुमबासी थिए भन्नेमा पनि आफ्नो पार्टीको धारणा नभएको बताए । कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक अहिले पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी छ । ११ः०० बजे बोलाइएको बैठक दिउँसो १ः०० बजेदेखि सुरु भएको हो ।