झापामा ४५० घर डुबानमा, सयौं विस्थापित
बनियानी । यहाँ बाढीले ४५० घर डुबानमा परेका छन् । असोज १८ गतेदेखिको अविरल वर्षाका कारण नदीमा आएको बाढी बस्तीमा पस्दा जिल्लाका विभिन्न स्थानका घर डुबानमा परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 'नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य जारी छ', उनले भने, 'करिब १०० घरका मानिसलाई स्थानान्तरण गरिसकेका छौंँ ।' मेचीनगर नगरपालिका–६ स्थित कालीखोलामाथिबाट पानी बढ्दा पूर्वपश्चिम लोकमार्ग अवरुद्ध भएको उनले बताए । त्यस्त, शिवसताक्षी नगरपालिका–१० स्थित सुकुना खोलामा आएको बाढीले ह्युमपाइप बगाउँदा आवागमन अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने कार्य भइरहेको प्रवक्ता खड्काले जानकारी दिए । झापा गाउँपालिका–२ स्थित सुगाबथानमा ठूलो माइखोला बस्ती पस्दा ५६ घरधुरीका १४० जना विस्थापित भएका छन् । उनीहरुको उद्धार गरी स्थानीय कुवाडी माविमा स्थान्तरण गरिएको छ । त्यस्तै शिवसताक्षी–४, ५, ६ र ७ मा माई खोलाको बाढी पस्दा ३५० घर डुबानमा परेका छन् । उनीहरुको उद्धार कार्य भइरहेको छ । झापा–१, ६ र ७ मा माइखोलाको बाढी पसेको छ । बाढीपीडितको उद्धार कार्य भइरहेको प्रवक्ता खड्काले बताए । यस्तै भद्रपुर नगरपालिका–५ मा करिब २५ घर डुबानमा परेपछि उनीहरु आफन्तकामा शरण लिएर बसिरहेका छन् । मेचीनगर–१५ स्थित सतिघट्टा र ज्यामिरगढीकोबीचमा पर्ने एक बस्ती डुबानमा पर्दा यहाँका करिब २५ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीपीडितहरुको उद्धार र स्थानान्तरण गर्ने काम जारी रहेको जनाइएको छ । रासस
काठमाडौंसहितका केही स्थानमा घाम लाग्यो, नदीमा बाढी आउने क्रम जारी
काठमाडौं । काठमाडौं उपत्यकासहित अन्य केही स्थानहरुमा अहिले जनजीवन सामान्य बन्दै गएको छ । आइतबार बिहानैबाट उपत्यकामा घाम लागेको छ । वर्षा हुन रोकिएसँगै सडकमा सवारी साधनहरुको चाप पनि बढेको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौंसहित देशभरको जनजीवन विकराल बनेको थियो । भीषण वर्षालाई मध्यनजर गरी सरकारले काठमाडौं उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने सवारी साधन आवागमनमा रोक लगाएको छ । सवारी आवागमन आइतबार पनि रोक लगाइएको छ । उपत्यकामा पानी पर्न छोडेपनि उपत्यकाका नदीहरुमा बाढी उस्तै छ । केही नदीहरुमा बाहेक अन्य नदीहरुमा बाढीको जोखिम त्यत्तिकै छ । मौसमविद्हरुका अनुसार आइतबार पनि काठमाडौं उपत्यकासहितका पूर्वी भूभागमा पानी पर्ने सम्भावना छ ।
बाँकेका पाँच स्थानमा निषेधाज्ञा जारी
खजुरा । जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासनले शनिबार साँझ ७ः०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि डुडवा गाउँपालिका वडा नम्बर–६ को सम्पूर्ण क्षेत्र, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर– १४ को सम्पूर्ण क्षेत्र, वडा नम्बर–१५ को सुइया पिप्रहवा क्षेत्र, वडा नम्बर–२३ को भज्जीपुरुवा, जङ्गलीसिंहपुरुवा र लोहरनपुरुवा तथा नरैनापुर गाउँपालिका वडा नम्बर–५ को सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । गत शुक्रबार दुर्गाको मूर्ति बिसर्जनका क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । यसैबीच, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले अहिले स्थिति सामान्य रहेको बताएका छन् । शनिबार सबै राजनीतिक दल तथा स्थानीय प्रतिनिधि, नागरिक अगुवासहितको छलफल भएको जानकारी दिँदै छलफलमा घटनाको दोषीलाई पहिचान गरि कानुनबमोजिम कारवाही गर्ने, धार्मिक सद्भाव कायम गर्ने तथा प्रशासनको स्वीकृति विना जुलुस, सभा, सम्मेलन, र्याली आयोजना नगर्ने सहमति बताए ।