आजदेखि नववर्ष २०८२ प्रारम्भ, हर्षोल्लास साथ मनाइँदै
काठमाडौं । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउँछन् । ‘विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थिति अनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ,’ उनले भने । सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मठ मन्दिरमा गई पूजा आराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् । चान्द्रमान अनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै सुरु हुने नयाँ संवत्सर भने चैत १७ गतेदेखि नै सुरु भइसकेको छ । चैत १७ गतेदेखि सिद्धार्थी नामको संवत्सर सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । वैदिक सनातन हिन्दू धर्म अनुसार ६० संवत्सर छन् । यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका छन् । षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभव हो । अहिले चलिरहेको सिद्धार्थी ५३ औँ संवत्सर हो ।
निकिताले दर्ता गरेको मुद्दा सर्वाेच्चका न्यायाधीश ढुंगानाको इजलासमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले दायर गरेको मुद्दा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा पेशी परेको छ । लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेशविरुद्ध लामेछानेको तर्फबाट निकिताले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । ढुंगानाको इजलासको पहिलो नम्बरमा पेशी परेको छ । गत चैत २२ गते उच्च अदालत बुटवलको तुलसीपुर इजलासले रुपन्देही जिल्ला अदालतको धरौटीमा छाड्ने आदेश बदर गर्दै रविलाई थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेश न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासबाट आएको हो । यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गरेको थियो । तर बुटवल इजलासले सो आदेश उल्ट्याउँदै थुनामा पठाउन निर्देशन दिएको थियो । उक्त आदेशसँग असहमति जनाउँदै निकिताले सर्वोच्च अदालतको ढोका ढकढक्याए‍की हुन् ।
वर्ष २०८१ : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु, ३५१ जना पहिरोका कारण
काठमाडौं । गएको एक वर्षमा विपद्जन्य घटनामा ७४५ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षमा आठ हजार ८६१ वटा विपद्का घटना घटेको र ती घटनामा परी ७४५ जनाको मृत्यु भएको हो । ती घटनामा परी ६९ जना बेपत्ता भएका र एक हजार ७०२ जना घाइते भएका प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए । उनका अनुसार एक वर्षमा विपदबाट १८ हजार ९९१ घरपरिवार प्रभावित हुन पुगेका छन् । कुल रु तीन अर्ब १३ करोड बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ । कुन घटनामा कति मानवीय क्षति ? सबैभन्दा बढी पहिरोका कारण ३५१ जनाको ज्यान गएको छ । त्यसपछि बाढीबाट ९७, चट्याङबाट ७८ र आलागीबाट ७७ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । भारी वर्षाका कारण आठ, जनावरको आक्रमणबाट ४३, लेक लागेर २४, हवाई दुर्घटनामा २३, सर्पदंशबाट १९ जनाको मृत्यु भएको छ । त्यसैगरी, डढेलोबाट १०, हुरीबतासका कारण सात, डुङ्गा पल्टेर एक र अन्य विविध कारणबाट सात जनाको मृत्यु भएको छ । पहिरोबाट ४८, बाढीबाट १८ र हिउँ पहिरोमा परेर तीन जना बेपत्ता भएका छन् । सबैभन्दा बढी आगलागीका घटना विपद्जन्य घटनाका सङ्ख्या अध्ययन गर्दा सबैभन्दा बढी आगलागीका घटना यस वर्ष भएका छन् । विसं २०८१ वैशाख १ देखि चैत २९ गतेसम्मको तथ्याङ्कानुसार आगलागीका मात्र चार हजार १४५ वटा घटना भएका छन् । त्यसपछि डढेलोका एक हजार १९५ वटा र पहिरोका एक हजार पाँच घटना भएको छ । त्यस्तै, बाढी ४१८, भारीका वर्षाका ५६८, चट्याङका ४१८, जनावर आक्रमणका ४७७, लेक लागेका १११ वटा घटना भएका छन् । हवाई दुर्घटनाका दुई, सर्पदंशका ८४, हावाहुरीका ३४९, डुङ्गा पल्टेका एक, हिउँ पहिरोका छ, भूकम्पका ७४, असिनापानी एक र अन्य सातवटा विपद्जन्य घटना भएको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।