बलिदानको व्यापार १ करोड बढी, यस्तो छ दसैँमा प्रदर्शन भएका चलचित्रको व्यापार
काठमाडौं । दसैँका अवसर पारेर तीन नेपाली चलचित्र प्रदर्शन भएका छन् । फूलपाती अर्थात् असोज १३ गतेदेखि चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका छन् । दसैँको बिदा भए पनि तीन वटै चलचित्रले घरेलु बजारमा अपेक्षाकृत व्यापार भने गर्न सकेका छैनन् । चलचित्र विकास बोर्डको ‘बक्स अफिस २ सिनेमा’ एपमा चलचित्र ‘बलिदान’ ले २ दिनमा १ करोड ५ लाख ६५ हजार रुपैयाँ व्यापार (ग्रस कलेक्सन) गरेको तथ्याङ्क छ । उक्त चलचित्रले पहिलो दिन असोज १३ गते नेपालभर प्राप्त गरेको २४४ ‘शो’बाट ५७ लाख १९ हजार ३४० रुपैयाँ र दोस्रो दिन २१३ शोबाट ४८ लाख ४६ हजार रुपैयाँको व्यापार गरेको छ । सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्र ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारले अभिनय गरेका छन् । यस्तै, अभिनेता हरिवंश आचार्यले शीर्ष भूमिका निर्वाह गरेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले प्रदर्शनको २ दिनमा ५९ लाख ५८ हजार रुपैयाँको व्यापार गरेको छ । उक्त चलचित्रले असोज १३ गते १३४ शोबाट २४ लाख ८५ हजार ६४ रुपैयाँ र दोस्रो दिन ३४ लाख ७३ हजार रुपैयाँको व्यापार गरेको छ । उक्त चलचित्रले पहिलो दिन र दोस्रो दिन समान ‘शो’ पाएको छ । दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल लगायतका कलाकारले अभिनय गरेका छन् । अभिनेता आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गरेकाे चर्चित पात्र ‘हरिबहादुर’ लाई यसपटक चलचित्रमा ल्याएका हुन् । प्रदर्शनरत तेस्रो चलचित्र ‘माइतीघर’ ले प्रदर्शनको २ दिनमा ३८ लाख ६३ हजार रुपैयाँको व्यापार गरेको छ । उक्त चलचित्रले असोज १३ गते पहिलो दिन १४४ ‘शो’बाट १८ लाख ९६ हजार ४५५ रुपैयाँ र दोस्रो दिन १३० ‘शो’बाट १९ लाख ६७ हजार रुपैयाँको व्यापार गरेको तथ्याङ्क चलचित्र विकास बोर्डको ‘बक्स अफिस २ सिनेमा’ एपमा छ । रोहित अधिकारीले निर्माण तथा मिलन तामाङले निर्देशन गरेको यस चलचित्रमा केदार घिमिरे, उपासना सिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायत कलाकारले अभिनय गरेका छन् । पछिल्ला वर्षमा दसैँमा नेपाली चलचित्रको व्यापार राम्रो भएको पाइएको छ । सोही कारण यो दसैँमा तीन चलचित्रले प्रदर्शन मिति तय गरेका हुन् । बिदाको समयमा चलचित्रले राम्रो प्रतिक्रिया पाएमा त्यसको व्यापार बढ्ने अपेक्षाले चाडपर्व केन्द्रित प्रदर्शन हुने क्रम बढेको चलचित्रकर्मीको भनाइ छ ।
दसैँको मासु भित्र्याएर कुछिभ्वय् खाई महाअष्टमी मनाइँदै नेवार समुदाय
लक्ष्मी गारु काठमाडौं । मोहनी नखःको आज आठौँ दिन नेवार समुदायले विधिवत रुपमा दसैँको मासु भित्र्याएर ‘कुछीभ्वय’ खाई महाअष्टमी पर्व मनाउँदैछन् । बडा दसैँलाई महनी नखाःका रुपमा मनाउने नेवार समुदायले महाअष्टमीको साँझ कुछीभ्वय खाएर पर्व मनाइन्छ । विशेष गरेर अष्टमीलाई कुछिभ्वय, नवमीलाई स्याक्वट्याक्व नखाः र दशमीलाई चाँलका रुपमा भवानीको प्रसाद ग्रहण र टीकासँगै नेवार समुदायले मोहनी नखाः मनाइन्छ । आश्विन शुक्ल प्रतिपदाको दिन नलाः स्वनेगु अर्थात् जमरा राखेर नेवार समुदायले मोहनी नखाःको सुरुआत गर्दछन् भने अष्टमीको दिन कुछिभ्वय खाँदै मोहनी नखाःको भोजको सुरुआत गर्दछन् । कुछिभ्वय खाएदेखि दशमीको दिन बिहान भवानीको प्रसाद ग्रहण नगरेसम्म भात खान नहुने प्रचलन रहेको छ । वर्ष भरी मनाइने चाडपर्वमध्ये मोहनी नखाः सबैभन्दा महत्वपूर्ण र ठूलो चाड हो । मोहनी नखाः मनाउन घर परिवारदेखि टाढा परदेशमा नोकरी गर्ने, व्यापार व्यवसाय गर्नेहरू घर आउने गर्दछ । त्यसैगरी छुटिएर भिन्न बसेका दाजुभाइहरु एउटै घरमा घरका ज्येष्ठ सदस्य भएको घरमा जम्मा भई मोहनी नखाः मनाउने गर्दछ । विभिन्न चाडपर्वलाई विशेष र मौलिक परम्पराका साथ मनाउन सिपालु नेवार समुदायमा अष्टमीको खाने कुछीभ्वयको विशेष महत्व रहेको छ । यसको परिकारसमेत अन्य भोजको भन्दा भिन्न प्रकारको हुन्छ । कुछीभ्वय खान तरकारीका परिकार मात्रै १२ थरी चाहिन्छ भने छोयला १२ टुक्रा राखिन्छ । केराको पातमा दुई माना चिउरासँगै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपीच्यपी (काँचो फर्सीका स–साना दुईथरी चाना), अदुवा, बोडी, केराऊ, मस्याङ, घिरौला, भटमासलगायत परिकार राखेर कुछीभ्वय खाने प्रचलन रहेको संस्कृतिकर्मी हरिशरण राजोपाध्यले बताए । कुछीभ्वय्मा फलफूलमा अम्बा र केरा अनिवार्य मानिन्छ । कुछिभ्वय खाने बेलामा माटोको सानो घैँटोमा जाँड अथवा रक्सी राखेर ‘थापिँचा स्वनेगु’ गर्ने प्रचलन रहेको राजोपाध्यले बताए । थापिँचा स्वने बेला माटोको सानो घैँटोलाई सलिँचाले घैँटोलाई छोप्ने र त्यसमाथि केराको पातमा राँगोको मासु एक टुक्रा राख्ने प्रचलन रहेको राजोपाध्यले बताए । यसरी थापिँचा स्वनेगु गर्दा राखेको जाँड र मासु नवमीको दिन प्रसादका रुपमा खाइन्छ । यो प्रसाद खाँदा पेटसम्बन्धी विकार हट्ने धार्मिक विश्वास रहेको छ । आफन्तको मृत्यु भएर जुठो परे पनि कुछीभ्वय खानुपर्ने मान्यता केही नेवार समुदायमा रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराऊको बारा राख्ने प्रचलन रहेको छ । नेवार समसदायमा कुछिभ्वयका सन्दर्भमा दुई वटा भनाइ प्रचलनमा रहेको छ । एकथरी भनाइअनुसार कुछिको अर्थ ‘दुई माना’ हो भने भ्वयको अर्थ ‘भोज’ हो । दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम ‘कुछी भ्वय्’ रहन गएको एकथरीको भनाइ छ भने अर्कोथरी संस्कृतिकर्मीले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकोले यसको नाम कुलछी भ्वय् हुन गएको र पछि अपभ्रंश भएर कुछीभ्वय हुन गएको भनाइ छ । महाअष्टीको अवसर पारेर नेवार समुदायले घरघरमा दसैँको मासु भित्र्याएका छन् । नेवार समुदायमा गुठी, टोल छिमेक मिलेर संयुक्त रुपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलनअनुसार आज दसैँको मासु भित्र्याएको हो । मासु भित्र्याउँदा घरको मूलढोका अगाडि राखेर चोखो पानी छरेर तीनपटक दायाँबायाँ ढुटो, मासुको टुक्रा र रगत र्छकेर मन्छाएर मात्र घर भित्र्याउने प्रचलन रहेको छ । यो परम्परा घरको नकींबाट गर्ने चलन रहेको छ । रासस
दसैँमा महिलाहरू घरायसी काममा व्यस्त, पुरुष जाँडरक्सी र जुवा तासमा मस्त
काठमाडौं । दसैँको समयमा घरबाहिर रहेका वा रोजगारीमा रहेका घर फर्किएका छन् । यो समयमा परिवारका सबै सदस्य जम्मा हुने, खानपान तथा रमाइलो गर्ने चलन छ । यस्तो बेलामा घरायसी काम बढ्ने गर्दछ । घरायसी काम बढ्दा महिलालाई कामको बोझ बढ्ने गरेको महिला बताउँछन् । चाडपर्व भनेपछि प्रायजसो सबैलाई रमाइलो गर्न मनपर्छ । नेपाली समाजमा महिला घरायसी कामले पिल्सिने, पुरुष रमाइलो गर्ने, फुर्सदिला भएकाजस्तो देखिन्छ । भजनी नगरपालिकाकी साधना साउदका घरमा अहिले दसैँको रौनक छ । विदेशमा भएका श्रीमान् घर आएपछि घर आफन्त तथा पाहुनाले भरिएको छ । सबैलाई घरमा रमाइलो छ तर साधनाको भोक निद्रा हराएको छ । ‘दुई वर्षपछि श्रीमानसँग भेट भएकोमा खुसी छु, यसपाली श्रीमानसँग घुम्ने योजना थियो, तर घरको कामबाट फुर्सद छैन,’ उनले भनिन्, ‘बिहान ४ बजेदेखि राति ११ बजेसम्म कामै सकिँदैन, सबै रमाउनेहरु मात्रै छन्, काम जति मेरै जिम्मामा छ ।’ टीकापुरकी द्रोपती तिमिल्सिनाले चाडपर्वमा समाजमा महिलालाई भ्याइनभ्याइ भएको देखेकी छिन् । ‘दसैँ, तिहार बिदामा समाजमा पुरुष फुर्सदिला देखिने, महिला भने घर सरसफाइ, भान्साको काम, पाहुनाको स्वागतमा व्यस्त रहेको देखिन्छ,’ उनले भनिन्, ‘महिलाले पनि यो समयमा नयाँ ठाउँ घुम्ने, अध्ययन गर्ने, नयाँ काम गर्ने, आफ्ना लागि समय छुट्याउन पाएको देखिँदैन ।’ द्रोपतीका श्रीमान् भने निकै सहयोगी छन् । उनीहरू मिलेर घरायसी काम गर्छन् । चाडपर्वमा गरिने खर्च, किनमेल र नयाँ योजना बनाउँदा पनि सल्लाह गरेर गर्छन् । अर्की महिला जानकी कुँवर महिलालाई त्यसै पनि घरायसी कामको बोझ हुने गरेका बेला चाडपर्व तथा उत्सवले थप जिम्मेवारी थप्ने बताउँछिन् । ‘कामकाजी महिलालाई अझ दोहोरो जिम्मेवारी हुने हुँदा महिलालाई घरायसी काम व्यवस्थापन गर्न कठिन हुन्छ,’ उनले भनिन्, ‘यस्तो बेला परिवारका सदस्य सहयोगी हुनुपर्छ । चाडपर्वमा खुसी हुने अवसर सबैलाई दिनुपर्छ । परिवार भनेको सामूहिक खुसी हो भन्ने सबैमा भावना हुनुपर्छ ।’ पुरुष घुमघाम गर्ने, रमाइलो गर्ने, जाँडरक्सी खाने, जुवा तास खेल्ने गलत अभ्यास हाम्रो समाजमा अहिले पनि देखिन्छ । जसले समाजमा अशान्ति र हिंसा बढाउँछ, भन्नेमा सबै सचेत हुनुपर्ने अधिकारकर्मी चन्द्रावती शर्माको भनाइ छ । ‘महिला रातदिन घरको काममा व्यस्त हुने, पुरुष जुवा तासमा रमाउने गर्दा पारिवारिक कलह हुनसक्छ । परिवारका सबै सदस्य मिलेर घरायसी काम गर्ने, मिलेर रमाइलो गर्दै चाडपर्व मनाउने गरेमा चाडपर्व सबैका लागि रमाइलो हुन्छ । तर समाजमा यस्तो अभ्यास निकै कम छ,’ उनले भनिन् । अर्की महिला अधिकारकर्मी कौशल्या खनाल पितृसत्तात्मक समाजका कारण विगतमा छोराछोरीलाई बराबरी काम नसिकाएकै कारण अहिले महिलाले हिंसा भोगिरहेका बताउँछिन् । ‘घरायसी काममा असमानता महसुस गरिरहेकाले अबका आमा सचेत हुनुपर्छ । छोराछोरीले बराबरी काम गर्नुपर्छ भन्ने सन्देश दिनुपर्छ । सानैबाट छोरालाई घरायसी काम सिकाउनुपर्छ,’ उनले भनिन् । चाडपर्वका बेला महिलाले खानपान, काम मात्र नभनी आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने, धेरै तनाव नलिने, योग तथा ध्यान जस्ता कार्यमा सहभागी भएर आफूलाई सम्हाल्नुपर्ने स्वास्थ्यकर्मी हेमा ज्ञवालीको सुझाव छ । ‘चाडपर्व सबैका लागि आएको हुन्छ । चाडपर्वमा रमाउने, राम्रो लगाउने, मीठो खाने चाहना सबैको हुने भएकाले सबै मिलेर काम बाँडफाँड गर्ने, अनावश्यक खर्च नगर्ने, घर सल्लाहमा खर्च गर्ने गरेमा महिला पुरुष दुवै खुसी हुन्छन् । महिला पुरुष खुसी भएमा परिवार, समाजमा शान्ति छाउँछ,’ उनले भनिन् । रासस