३ घण्टा जाममा परेपछि मन्त्री दाहालले दाउन्नेमा चाँडो यातायात खुलाउन ठेकेदारलाई दिए निर्देशन
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले हिलाम्य भएर राजमार्ग अवरुद्ध हुने क्रम बढेपछि दाउन्नेका ठेकेदारसँग छलफल गरेका छन् । शुक्रबार मन्त्री दाहालले सचिव, विभागीय प्रमुख, चिनियाँ ठेकेदार कम्पनी र परामर्शदाताबीच चितवनमा छलफल गरेको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बिहीबार मन्त्री दाहाल महेन्द्र राजमार्गको स्थलगत अनुगमनका लागि बुटवल हुँदै चितवन फर्किएका थिए । फर्कने क्रममा करिब ३ घन्टा जाममा परेपछि उनले आज बिहान ठेकेदारसँग छलफल गरेका हुन् । मन्त्री दाहालले झरी पर्न सुरु हुन लागेकाले त्यसतर्फ ध्यान दिँदै वर्षाद् सुरु हुनुअघि नै निर्माण कार्य सकेर सवारी आवागमन सहज बनाउन निर्देशन दिएका हुन् । दाउन्ने सडकखण्डमा तत्काल सडक बनाउने र ग्राभेल थपेर यातायात सुचारु हुने व्यवस्था मिलाउने विषयमा चिनियाँ ठेकेदार सहमत भएको सचिवालयले जनाएको छ । अहिले दाउन्ने सडक हिलाम्य हुँदा यातायात अवरुद्ध भएको छ ।
विकासन्युजमा नयाँ सिरिज ‘रेमिट्यान्सको संसार’ आउँदै
काडमाडौं । नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्स तथा वैदेशिक रोजगारसम्बन्धी नयाँ सिरिज (कार्यक्रम) विकासन्युजमा प्रसारण हुने भएको छ । यो कार्यक्रम वैदेशिक रोजगारीका अवसर र चुनौती उजागर गर्दै रेमिट्यान्सलाई अझ प्रभावकारी रूपमा परिचालन गर्ने उपाय पहिल्याउने प्रयास हो । ‘रेमिट्यान्सको संसार’ विकासन्युज डटकमको अफिसियल युट्युब च्यानल विकासन्युजमा बैशाख १९ गतेदेखि हरेक शुक्रबार बेलुकी ८ बजे प्रसारण हुनेछ । नेपालबाट लाखौँ श्रमिक विदेशिने गरेका छन् । यसले नेपालको आर्थिक र सामाजिक क्षेत्रमा व्यापक परिवर्तन ल्याइरहेको छ । त्यस्तै, यसका आफ्नै असर पनि छन् । शृङ्खलामा नेपालबाट बहुसङ्ख्यक श्रमिक जाने प्रमुख गन्तव्यको श्रम नीति, त्यहाँका कामदारको अवस्था, त्यहाँ नेपालीले पाउने पारिश्रमिक र सुविधा तथा श्रमिकले भोग्ने चुनौतीसम्बन्धी तथ्य र तथ्याङ्क प्रस्तुत गरिएको छ । रेमिट्यान्सले लाखौँ नेपालीको जीवनशैलीमा परिवर्तन ल्याएको छ । विदेशमा श्रम गरेर कमाएको आम्दानीले एकातिर परिवारका आवश्यकता र अर्कातिर देशको आर्थिक वृद्धिमा योगदान गरेको छ । तर पनि रेमिट्यान्सको प्रभाव आर्थिक पक्षमा मात्र सीमित छैन, यसले सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि असर पारिरहेको छ । रेमिट्यान्सको संसार कार्यक्रममा यिनै विषयमा केन्द्रित हुनेछ । सही सीप विकास, अवसरको सदुपयोग र परिश्रम नै श्रमबजारमा सफलताका आधार मानिन्छन् । रेमिट्यान्सको संसार कार्यक्रममा रेमिट्यान्सभित्रको सकारात्मक र नकारात्मक प्रभावबारे विश्लेषण गरिनेछ । प्रवासी नेपालीको योगदान अझ प्रभावकारी बनाउन, रेमिट्यान्सको सही सदुपयोग गर्न र भविष्य सुरक्षित बनाउने सवालमा कार्यक्रम केन्द्रित हुनेछ । साथै, बैदेशिक रोजगारीमा जाने सोचमा रहेका युवा पुस्तालाई गन्तव्य मुलक र नेपालको नीतिबारे महत्वपूर्ण जानकारी दिइनेछ । विशेष कारण शुरू मिति एक सातापछि सारिएकाे-सम्पादक
फुटबल महानायक रोबर्टो कार्लोस एनएसएल क्वालिफायरमा वैशाख ६ गते नेपाल आउने
काठमाडौं । फुटबलका विश्व चर्चित डिफेन्डर र ब्राजिलका लिजेन्ड खेलाडी रोबर्टो कार्लोस वैशाख ६ गते नेपाल सुपर लिग (एनएसएल) को क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने पक्का भएको छ । एनएसएलले वैशाख ६ मा आयोजना गर्न लागेको रोमाञ्चक क्वालिफायर खेलमा कार्लोसको उपस्थिति तय भएपछि नेपाली खेलप्रेमीहरूमा विशेष उत्साह थपिएको छ । ललितपुर सिटी एफसी र धनगढी एफसीबीच हुने उक्त खेल गत सिजनको फाइनलको पुनरावृत्ति हुनेछ । ललितपुर उपाधि रक्षा गर्ने लक्ष्यमा मैदान उत्रनेछ भने धनगढी पहिलो उपाधिको खोजीमा हुनेछ । रोबर्टो कार्लोस आफ्नो तीव्र फ्रिकिक, अद्वितीय गतिशीलता र विश्वस्तरीय डिफेन्स क्षमताका कारण विश्व फुटबलमा उच्च सम्मानित छन् । उनले रियल म्याड्रिड र ब्राजिल राष्ट्रिय टिमको तर्फबाट खेलेर फिफा विश्वकप, चार ला लिगा उपाधि र थुप्रै अन्तर्राष्ट्रिय सफलता हासिल गरेका छन् । कार्लोस वैशाख ५ गते नेपाल आउने छन् । सोही दिन उनले गाला डिनर, भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा समेत सहभागिता जनाउने कार्यक्रम रहेको छ । एनएसएलमा कार्लोसको उपस्थितिले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ । एनएसएलको यो सिजन कार्लोसको आगमन, रोमाञ्चक खेलहरू र देशभरका शीर्ष खेलाडीहरूको सहभागितासहित अहिलेसम्मकै भव्य सिजन बन्ने अपेक्षा गरिएको छ । प्रशंसकहरूले खेल हेर्नको लागि खल्ती एपमार्फत टिकट खरिद गर्न सक्नेछन् ।