एनआरएनएलाई विवादरहित बनाउन लागिपरेका छौं : पूर्वअध्यक्ष शेष घले

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष एव एकता महाधिवेशन उच्चस्तरीय मूल समितिका संयोजक शेष घलेले संस्थालाई कसरी विवादरहित बनाउने भन्ने प्रणालीको विकास नै गरेर अगाडि बढेको जनाएका छन् । एनआरएनको आगामी मे ३ देखि ५ मा एकता महाधिवेशन हुँदैछ । त्यसैको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले सो बताएका हुन् ।  विवादरहित निर्वाचन गर्ने अदालतको आदेश भएकाले त्यसअनुसार अहिले समिति गठन भएर लागिपरेको घषेको भनाइ थियो । उनले भने, ‘हामीले विवादरहित निष्पक्ष ढंगबाट कार्य गर्नु भन्ने अदालतबाट परमादेश पाएकाले नियम, कानुनअनुसार संस्थालाई कसरी सुधार गर्न सकिन्छ भन्ने विधि अहिलेको अधिवेशनमा लागू गर्दैछौं र त्यसलाई स्थायी रूपमा संस्थामा विधानको रूपमा लागू गर्ने तयारी गरेका छौं ।’ त्यस्तै, घलेले एनआरएनलाई नयाँ ढंगबाट सुरु गर्ने र पुरानोमा नफर्किने विचार व्यक्त गरेका छन् । उनले नयाँ एनआरएनए कस्तो हुनुपर्छ भन्ने क्लियर भिजन पनि देखिसकेको बताए ।  आगामी एकता अधिवेशनको लागि डेढ महिनाको अवधिमा ६० हजार भन्दा बढी सदस्य जोडिसकेको हुनाले यसलाई सकारात्मक लिनुपर्ने उनी बताउँछन् । सदस्यमा आधारित संस्था भएकाले सदस्यको हक, हीतअनुसार नै समितिले सदस्य शुल्कदेखि हरेक कुरामा सबैलाई एक्सेस हुने तरिकाले व्यवस्था गरेको पनि उनले जानकारी दिए । विगतमा संस्था विभिन्न विवादबाट गुज्रिएपनि यसपटक निर्वाचनलाईए निष्पक्ष बनाउनमा लागेका उनले बताए । त्यस्तै, अदालतको आदेशअनुसार तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले समिति त्यसमै केन्द्रित भएको र यसमा सबैजनाले सहयोग गर्न समेत घलेले अपिल गरे । 

विदेश छाडेर आफ्नै माटोमा सम्भावना : बाख्रापालनबाट लाखौँ आम्दानी गर्दै दाङका युवा

घोराही । वैदेशिक रोजगारबाट फर्किएका यहाँका युवा पशुपालन पेसामा आबद्ध हुँदै गएका छन् । जिल्लाका युवाहरू भैँसी, कुखुरा, बाख्रालगायत पेसा, व्यवसायमा सम्लग्न भएका हुन् । बाहिरी देशमा भनेजस्तो तलब र काम नपाइने जनाउँ युवाहरू पछिल्लो समय पशुपालन व्यवसायबाट मनग्य आम्दानी गरिरहेका छन् । दाङमा मामा भान्जा मिलेर विगत तीन वर्षदेखि व्यावसायिक रूपमा बाख्रापालन व्यवसाय गर्दै आएका छन् । घोराही उपमहानगरपालिका–१२ रमनामा बुद्ध बाख्रा फार्ममार्फत व्यवसायमा जोडिएका ३४ वर्षीय भान्जा जनक बुढा र उनका मामा ५४ वर्षीय मनबहादुर बुढा बाख्रापालन व्यवसायबाट सन्तृष्ट छन् । जनक पाँच वर्ष र मनबहादुर २५ वर्ष रोजगारका लागि साउदीमा जीवन व्यतित गरेका हुन् । किसान जनक विदेशबाट आएर बाख्रापालन व्यवसाय सुुरु गरेको बताउँछन् । उनले भने, 'वार्षिक रूपमा बाख्राको बिक्रीबाट एक वर्षमा रु १० लाख आम्दानी हुन्छ ।' तर बाख्राको दानापानी, औषधिलगायतमा खर्च हुने हुँदा त्यति धेरै बचत गर्न सकिएको छैन । 'अरुको देशमा बसेर सोचेजस्तो कमाई गर्न नसकिएको हुँदा अहिले आफ्नै देशमा बाख्रापालन व्यवसायबाट सन्तृष्ट छौँ,' उनले भने । फार्ममा हाल ७५ वटा बोयर, खरी र लोकल जातका बाख्रा छन् । दुई बिघा जग्गा भाडामा लिएर बाख्रापालन गर्दै आएका अर्का किसान मनबहादुर बुढा बताउँछन् । बाबुबाजेले गरेको पेसा पशुपालन भएकाले यही नै उत्तम व्यवसाय लागेको उनको भनाइ छ । घाँसका लागि आफैँ छर्ने गरेको हुँदा घाँसको समस्या नहुने उनी बताउँछन् । गत वर्ष मात्रै ५४ वटा बाख्रा रोग लागेर मरेका कारण रु दुई लाख ५० बढी घाटा भएको उनले सुनाए । यसैलाई निरन्तरता दिँदै जाँदा सफल हुँदै जानेमा उनस्हरू आशावादी छन् । उनीहरूले एउटा खसीलाई रु ५४ हजारसम्म बिक्री गर्ने गरेका छन् । फार्ममा धेरै काम भएका बेला घरपरिवारले पनि सहयोग गर्ने भएको हुँदा अन्य कामदारको आवश्यक नपर्ने गरेको मनबहादुर बताउँछन् । सुरुमा आठवटा बाख्राबाट सुरु गरेको व्यवसाय हाल भने बढ्दै गएको छ । पछिल्लो समय जिल्लामा व्यावसायिक रूपमा नै बाख्रापालन गर्ने युवाको सङ्ख्या बढ्दो छ । बाख्राको बजार मूल्य राम्रो भएपछि किसान व्यवसायमा आकर्षित भएका हुन् । किसानले घरघरमा थोरै भए पनि बाख्रा पालेर सामान्य घर खर्च चलाउने गरेका छन् । विशेषगरी गाउँघरमा किसानले घरमा दुई–चारवटा माउबाख्रा पालेर कमाएको रकम छोराछोरीको पढाइ खर्च, घर खर्च र केही रकम बचत गर्न थालेका छन् । जसले गर्दा दुई–चार रुपैयाँको समस्या बाख्रापालन व्यवसायले टर्ने गरेको किसान बताउँछन् । बाख्रापालन व्यवसायमा बजारीकरणको समस्या नहुने भएकाले यसबाट राम्रो आम्दानी गर्न सकिने किसानको भनाइ छ । रासस

५ करोडमा पुनःनिर्माण हुँदै नव देग मन्दिर, पुरानै शैलीमा बनाइने

काठमाडौं । काठमाडौं महानगरपालिका–२५ मा अवस्थित ऐतिहासिक नव देग मन्दिर, जसलाई भवानी शंकर मन्दिरको नामले पनि चिनिन्छ, पुरानै कलात्मक शैलीमा पुनःनिर्माण कार्य तीव्र रूपमा अगाडि बढाइएको छ । साढे ५ करोड रुपैयाँको लागतमा पुनःनिर्माण भइरहेको यो मन्दिर सन् १६७५ मा प्रताप मल्लका महामन्त्री देवीदास चिकुथिले निर्माण गराएका थिए । तत्कालीन मल्लकालीन वास्तुकलाको उत्कृष्ट नमुना मानिने यो मन्दिरको पुनःनिर्माण कार्य २०८१ भाद्र २ गतेबाट सुरु गरिएको हो, जसलाई २०८२ फागुन ४ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पुनःनिर्माणको क्रममा भेटिएको ऐतिहासिक शिलालेखमा ४९ पङ्क्ति छन्, जसमा २५ पङ्क्तिमा महादेवको स्तुति र बाँकीमा मन्दिर सञ्चालन, नित्य पूजा, आरती लगायतका विधिहरू उल्लेख गरिएका छन् । ब्राह्मण पुजारीमार्फत दैनिक पूजाआजा गरिने यस मन्दिरमा हरेक महिनाको पहिलो दिन, पूर्णिमा र महाशिवरात्रिमा विशेष पूजाको परम्परा छ । हाल बनाइँदै गरेको नयाँ संरचनामा मन्दिरको तल्लो भागमा पाँच तले ईँटको भर्‍याङ र त्यस माथि तीनतले मन्दिर निर्माण गरिँदैछ । यद्यपि सन् १९७५ को अभिलेखमा यो मन्दिर एकतले देखिए पनि अन्य अभिलेख र प्रमाणका आधारमा हाल तीनतले स्वरूपमा पुनर्निर्माण भइरहेको हो । २०३९ सालको एक अभिलेख अनुसार यो स्थानमा पहिले एक भव्य, कलात्मक मन्दिर रहेको पुष्टि हुन्छ । अझै पनि यहाँ पाँचवटा भुइँतला संरचना बाँकी छन्, जसले पुरातात्त्विक महत्व झल्काउँछन् । गर्भगृहमा शिवलिङ्गका साथै विष्णु, गणेश, सूर्य र देवीका मूर्तिहरू रहेका छन्, जसले पाँचायन देवताको प्रतिनिधित्व गर्छन् । यो मन्दिर केवल धार्मिक स्थल मात्र नभई काठमाडौंको सांस्कृतिक इतिहासको जीउँदो स्मृति पनि हो । पुनःनिर्माणपछि नव देग मन्दिर राजधानीको धार्मिक, सांस्कृतिक र ऐतिहासिक चेतनामा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।