दोषी सबैलाई कारबाही होस् : महेश बस्नेत
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आन्दोलनमा हराएका हतियार फेरि पड्किन सक्ने तर्फ सचेत गराएका छन् । भदौ २३ र २४ गते लुटिएका हतियारहरू फेरि पड्किए भने त्यसको परिणाम दुरूह हुन सक्ने दाबी गरेका छन् । एमाले मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै नेता बस्नेतले सबै दोषीलाई कारबाही गर्न माग गरेका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालको नाम लिँदै बस्नेतले सरकारले राजनीतिक प्रतिशोध साध्न खोजेको आरोप समेत लगाएका छन् । बस्नेतले पत्रकार सम्मेलनमार्फत आफूलाई पक्राउ गरेर देखाउन चुनौती समेत दिएका छन् । अनेरास्ववियुले काठमाडौंका मेयर बालेन शाहलगायतका विरुद्ध उजुरी परेको अवस्थामा समेत उनीहरूलाई पक्रिन चुनौती दिएका छन् । बस्नेतले एमाले पार्टी कार्यालय र नेताहरूका घर जलाउने मानिसहरू चिनेको बताउँदै त्यसको हिसाब गरिने समेत बताएका छन् ।
सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो : सञ्चारमन्त्री खरेल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘जेनजी’ आन्दोलनको जगबाट निर्मित वर्तमान सरकारको मुख्य कार्यादेश सबै राजनीतिक दल र जनताको सहभागितामा तोकिएको समयावधिमा प्रतिनिधिसभाको निर्वाचन गराउनु रहेको बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको बुधबार अवलोकन भ्रमणपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउन सबैसँग आग्रह गरे । निर्वाचन गर्ने सन्दर्भमा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीबाट प्रतिबद्धता आइसकेको स्पष्ट पार्दै निर्वाचनको वातावरण निर्माण गर्न महत्त्वपूर्ण भुमिका हुने सञ्चार जगतबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । 'यो जेनजी आन्दोलनको जग, सबै राजनीतिक दल र जनताको चाहनामा बनेको सरकार हो । निर्वाचनमा जाने सबै दल र जनताको चाहना छ । यसै क्रममा निर्वाचन आयोगबाट कार्यतालिका प्रकाशन भइसकेको छ । निर्वाचनको वातावरण बनाउन राससले पनि भूमिका खेल्नेछ भन्ने मैले विश्वास लिएको छु', सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले भने, 'यो सरकारसँग निर्वाचनका साथै सुशासन कायम, भ्रष्टाचारको अन्त्य र जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिमाथिको छानबिन र कारबाही एवं प्राकृतिक विपद्पछिको राहत र पुनःस्थापना पनि ‘म्याण्डेट’ रहेको छ । त्यो पूरा गर्न सरकार प्रतिबद्ध छ ।' उनले आसन्न निर्वाचनको वातावरण तयार गर्न प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राजनीतिक दलहरुसँग संवाद भइरहेको उल्लेख गरे ।
मौसम विभागको पूर्वानुमान काठमाडौं र इलाममा किन फरक पर्यो ?
काठमाडौं । गत वर्ष जस्तै यस वर्ष पनि मनसुनको अन्त्यतिरको भारी वर्षाका कारण काठमाडौं लगायत मधेस र कोशी प्रदेशका जिल्लाहरूमा ठूलो जनधनको क्षति भयो । मनसुन बाहिरिने समयमा लगातार दुई वर्ष उही समय र उही प्रकृतिको वर्षाको कारण मुलुकले डुबान, बाढी र पहिरोको सामना गर्नुपर्यो । गत वर्ष जस्तै यस वर्ष पनि मौसम पूर्वानुमानको प्रक्षेपण झन्डै एक साता अघिदेखि नै गरिएको थियो । सम्भावित क्षति न्यूनिकरणका लागि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग लगायत सरकारका संयन्त्रहरूको सक्रियता प्रभावकारी देखियो । यस पटक समग्र विपद् व्यवस्थापनमा सरकारका निकायहरूको समन्वय र सहकार्य एकीकृत देखिएको थियो । विपद्पूर्व, विपद्को समयमा र विपद्पछिको प्रतिकार्यका लागि सरकारले देखाएको सक्रियताको प्रशंसा भइरहेको छ । यद्यपि जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार काठमाडौंमा वर्षा नभएको र इलाममा पूर्वानुमान भन्दा बढी वर्षा भएर ठूलो मानवीय क्षति भएको सन्दर्भलाई लिएर विभागको पूर्वानुमानमा प्रश्न गरिएको छ । यस सम्बन्धमा विभागले वर्षा गराउने प्रणालीको विस्तृत अध्ययन पछि मात्रै भन्न सकिने बताएको छ । त्रिभूवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रिय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देलले पानी पार्ने प्रणाली काठमाडौंबाट छिटो मुभ भएका कारण प्रक्षेपण गरे भन्दा कम वर्षा भएको बताए । त्यसैगरी इलाममा पनि विभागको फोरकास्टमा ३ घण्टाको फरक देखिएको बताए । जलवायु विज्ञ डाक्टर सिग्देलले जल तथा मौसम विज्ञान विभागले निकालेको तीनदिने मौसम पूर्वानुमान सटिक भएको भएपनि तीन घण्टाअघि नै मौसमी प्रणाली मध्य नेपालबाट पूर्वतिर सरेको बताए । मौसम प्रणालीको अनपेक्षित परिवर्तनले कहिलेकाहीँ पूर्वानुमान सही नहुने तथा केही तलमाथि पर्नसक्ने उनको भनाइ थियो । डाक्टर सिग्देलकाअनुसार विभागले शनिबार, आइतबार र सोमबारको फोरकास्टिङ सार्वजनिक गरेको थियो । उक्त बुलेटिङअनुसार शनिबार काठमाडौंसहितका क्षेत्रमा वर्षा हुने र आइतबार बिहान मात्र मौसमी प्रणाली पूर्वी नेपालमा प्रवेश गर्ने अनुमान गरिएको थियो । डाक्टर सिग्देलले शनिबारदेखि आइतबारसम्म रौतहटको गौर, महेशपुर तथा वीरगञ्ज लगायत क्षेत्रमा ३०० मिलिमिटरभन्दा बढी वर्षा भएको बताए । उनले यस पटकको वर्षा प्रणाली ‘डिप्रेशन सिस्टम’मा विकसित भएको साइक्लोनिक सर्कुलेसनसँग सम्बन्धित रहेको उल्लेख गर्दै सो प्रणाली बलियो भएकाले लगातार वर्षा भएको बताए । उनले तल्लो तह (लोअर लेभल)मा आवश्यक परिमाणको आपूर्ति मध्यम मात्र भएकाले प्रणाली लामो समय स्थिर रहन नसकेको कारण विभागले प्रक्षेपण गरे भन्दा अगाडि नै मौसमी प्रणाली पूर्वी क्षेत्रमा सिफ्ट भएको बताए । डेढ किलोमिटर माथिको हावाको तह (लोअर लेभल जेड)मा सुख्खा र चिसो हावाको प्रभाव परेकाले प्रणाली अपेक्षाभन्दा चाँडै पूर्वतिर सरेको उनको भनाइ छ । उनले मौसमी प्रणालीको निरन्तर निगरानी गरेर सूचनाहरू दिने कार्य भइरहे पनि शनिबार मध्यराति मात्र प्रणाली पूर्व सरेको कारण समयमै सूचना सम्प्रेषण हुन नदेखिएको टिप्पणी गरे । बार्मर मोइस्चर र कुल ड्राइ एअर आपसमा ठोक्किँदा प्रणाली छिट्टै सरेका कारण विभागको पूर्वानुमानमा थोरै समय फरक परेको र त्यसले विपद् व्यवस्थापनको तयारीमा समेत असर परेको उनको भनाइ छ । जलवायु विज्ञ डाक्टर सिग्देलले जल तथा मौसम विज्ञान विभागको रियल–टाइम अनुगमन प्रणालीलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याए । ऋतुगत मौसम पूर्वानुमान (सिजनल फोरकास्टिङ) स्टाटेस्टिकल, डायनामिकल र हाइब्रिड विधिमा गर्ने विश्वव्यापी प्रचलन छ । नेपालमा स्टाटिस्टिकल मोडेल प्रयोग हुँदै आएको छ । मौसम विज्ञान विभागले ६/६ घण्टामा मौसम पुर्वानुमानको बुलेटिन निकाल्दै आएको छ । इलामको घटनाबाट गणीतिय मौसम पुर्वानुमान पद्धतिलाई छोटो अवधिमा नै अपडेट गर्नुपर्ने आवश्यकता देखाएको छ । भविष्यमा यो पुर्वानुमानको पद्धतिलाई छोटो बनाउन नसक्ने हो भने छिटफुट यस्ता घटनाका कारण विभागको सूचनामाथिको विश्वसनीयतामा प्रभाव पार्ने देखिन्छ ।