कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ । उच्च रक्तचाप, सुगरलगायत स्वास्थ्यमा समस्या देखिएपछि विगत एक महिनादेखि काठमाडौंको सीनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गराइरहेका आलमको शनिबार बिहान २ः०० बजे निधन भएको हो । आलमलाई दसैँअघिदेखि अस्पतालमा भर्ना गरेर राखिएको थियो । पछिल्लो एक सातादेखि स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । आलमको उपचारका क्रममा शनिबार निधन भएको अस्पतालका सञ्चालक एवं कांग्रेसका निवर्तमान सांसद डा सुनिल शर्माले जानकारी दिए । आलम विसं २०५१ को उपनिर्वाचनमा पहिलोपटक संसदीय निर्वाचनमा विजयी भएका थिए । विजयी भएसँगै विसं २०५४ मा श्रम राज्यमन्त्री र २०५५ मा वन राज्यमन्त्री भएका थिए । त्यसपछि उनी २०५६ सालको संसदीय निर्वाचन र विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि निर्वाचित भएका थिए । त्यसपछि उनी भूमि सुधारमन्त्री र श्रम तथा यातायातमन्त्रीसमेत बनेका थिए । उनी विसं २०६७ को पार्टीको १२ औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका थिए । स्व आलमले विसं २०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा बम विस्फोटमा परेका यमुनामाई गाउँपालिका घर भएका घाइतेद्वय पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जन्मकैदको फैसला भएपछि कारागार जीवन बिताएका थिए ।  उनलाई गत जेठ १४ गते रौतहट जिल्ला अदालतको फैसलाले कारागारमुक्त भएपछि ब्रेन स्टोक भएको थियो । पूर्वमन्त्री आलमको दुई छोरा र एक छोरी छन् ।   

स्थानीयले बन्द गरे मेलम्ची खानेपानीको पानी पथान्तरण

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले पूर्णरुपमा बन्द गरेका छन् । विगतमा भएको सहमति कार्यान्वयन नभएको भन्दै संघर्ष समिति, राजनीतिक दल र बाढी प्रभावित स्थानीयले पानी पथान्तरण बन्द गरेका हुन् ।  आफूहरुको माग पूरा नभएसम्मका लागि पानी पथान्तरण पूर्णरुपमा बन्द गरेको स्थानीयले बताएका छन् । मेलम्ची नदी हेलम्बुबाट पानी पथान्तरण पछि सुन्दरीजलमा प्राप्त हुने पानीको परिमाणको आधारमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बिक्रि गरेवापतको मूल्यको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने स्थानीयको माग रहेको छ । स्थानीहरुले बाढी प्रभावितलाई आवश्यक राहत वितरण गरर्नुपर्ने र आयोजनाका बोर्ड सदस्यहरुको सम्पती विवरण सार्वजनिक गर्न समेत माग राखेका छन् । 

सुदूरपश्चिम सरकारले आगलागी पीडितलाई आठ लाख सहयोग गर्ने

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले अछामको साँफेबगर नगरपालिका–३ हाटबजारमा गत शनिबार राति भएको आगलागीबाट पीडितलाई आर्थिक सहयोग गर्ने भएको छ ।      बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा उनको निवासमा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले अछामका आगलागी पीडितका लागि तत्काल साँफेबगर नगरपालिकालाई आठ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।      मुख्यमन्त्री शाहले अछाममा आगलागीबाट पीडित भएका परिवार तथा व्यवसायीलाई उक्त सहयोग गर्ने निर्णय भएको बताए । 'साँफेबगर बजारमा भएको आगलागीबाट क्षति पुगेका परिवार तथा व्यवसायीलाई मानवीय सहायता स्वरुप तत्कालका लागि आठ लाख रुपैयाँ पालिकामार्फत् उपलब्ध गराउने निर्णय भएको छ', उनले भने, 'सम्बन्धित पालिकाले स्पष्ट मापदण्ड तयार पारेर उक्त मानवीय सहायता रकम आगलागी पीडितलाई वितरण गर्नेछ ।'      त्यसैगरी बैठकले गत भदौमा दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित टिङ्कर र छाङरु क्षेत्रमा आएको बाढीपहिरोबाट क्षतिग्रस्त भएका पुलको तत्काल पुनःनिर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।      कञ्चनपुरको लालझाँडी गाउँपालिका, बेलौरी, शुक्लाफाँटा, बेदकोट, भीमदत्त र दोधरा चाँदनी नगरपालिकामा वन्यजन्तुको आक्रमणबाट हुने मानवीय क्षति, मानवबस्तीमा आक्रमण र खेतबारीमा हुने बालीनाली नोक्सानी न्यूनीकरण गर्नका लागि रोकथामका उपाय अवलम्बन गर्न टर्चलाइटलगायत सुरक्षा उपकरण स्थानीयस्तरमा वितरणका लागि आवश्यक प्रबन्ध गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरिएको मुख्यमन्त्री शाहले जानकारी दिए । रासस