युवाको आकंक्षा बढी भयो, सिंगापुर बनाउने कुरा भयो : मुख्यसचिव अर्याल
काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले युवा केन्द्रित आर्थिक रणनीति अपनाउन जरुरी रहेको बताएका छन् । शनिबार काठमाडौंमा महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विकासलाई मूल मन्त्र ठानेर आन्दोलन गरे मात्रै सफल भइने बताए । रोजगारी र अवसर सिर्जनाको निर्णयमा अब छलाङ मार्नुपर्ने जरुरी रहेको बताए । आन्तरिक रोजगारी बढाउने र विदेश जानुपर्ने बाध्यता कम गद लैजानुपर्ने बताए । युवाको आकंक्षा र राज्यको क्षमताबीचमा ठूलो अन्तर रहेको बताउँदै यसबारे आम नागरिकलाई बुझाउन जरुरी रहेको बताए । शासन र सेवाप्रति अपेक्षा बदलिएकाले अब विगतमा गर्न नसकिएका कुराहरु गर्न जरुरी रहेको बताए । उनले भने,‘यहाँहरुले ढुक्क भएर काम गर्नुहोला । जेन जी आन्दोलनको सन्देश युवाको आकंक्षा र राज्यको क्षमताबीचमा अन्तर छ । यो कुरा बताउनुपर्छ । अनावश्यक यसो र उसो गर्छौं किन्न भन्नु, क्षमता छैन । हाम्रो क्षमता के हो त्यो बताउनुपर्छ । युवाहरुको आकंक्षा बढी भयो, सिंगापुर बनाउने कुरा भयो । सिंगापुर कसरी बन्यो भन्नेकुरा स्टार्ट गर्नुपर्छ । युवाको आकंक्षा र क्षमताबीचको अन्तरमा ठूलो ग्याप छ ।’ मुख्यसचिव अर्यालले नेपालको विकासको मोडल फरक हुनुपर्ने बताए । तीन तहको सरकारबीच समन्वय हनु नसक्दा पनि विभिन्न समस्याहरु आइरहेको जिकिर गरे । कति वटा सरकारसँग निजी क्षेत्रले डिल गर्ने भन्नेकुराको पहिचान हुन नसकेको बताए । भिन्न भिन्न ढंगले गरिने विकासले नेपाललाई समृद्ध बनाउन नसक्ने बताए ।
शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म लगानीको वातावरण बन्दैन : अध्यक्ष पाण्डे
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म लगानीको वातावरण बन्न कठिन हुने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय वृहत आर्थिक बहस २.० मा बोल्दै उनले यस्तो बताएका हुन् । लगानी बढ्न नसके त्यसको प्रत्यक्ष असर रोजगारीमा पर्ने बताए । आजको विश्व बजार कुनैपनि लगानीकर्ताको लागि खुला रहेको हुँदा शान्ति सुरक्षाको लागि यो वा त्यो नभनि संवेदनशिल रुपमा लिनुपर्ने बताए । मुलुकको समग्र आर्थिक विकासका लागि सुशासन र सुरक्षा निवारण, सार्वजनिक क्षेत्रमा पारदर्शितासँगै स्थिरता हुनुपर्ने माग गरे । जेनजीले उठाएका विषयहरुको कार्यान्वयनले तिब्रता पाउँछ भन्ने अपेक्षा लिएको पनि जानकारी दिए । ‘मुलुकको समग्र आर्थिक विकासका लागि सुशासन र सुरक्षा निवारण, सार्वजनिक क्षेत्रमा पारदर्शितासँगै स्थिरता हुनुपर्छ । सरकार गठनसँगै सरकार भएका केही निर्णयहरुले त्यो सन्देश दिएको पनि छ । आन्दोलनका क्रममा सार्वजनिक एवं निजी सम्पतीमाथि भएको आगजनी, तोडफोड, लुटपाटको घटनाले उद्योगी व्यवसायीहरुलाई दुःखी र चिन्तित बनाएको छ,’ उनले भने । अध्यक्ष पाण्डेले समयमै लगानीकर्ताको मनोबल बढाउन उचित कदम चाल्न आग्रह गरे । आन्दोलनको बहानामा निजी सम्पतीमाथि आक्रमण र आगजनी गर्नेमाथि कारबाही गर्न माग गरे ।
जेनजी आन्दोलनमा भएको आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कारबाही होस् : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । शनिबार काठमाडौंमा महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो माग गरेका हुन् । उनले आगजनी, तोडफोड लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही नभए दण्डहीनता मौलाउने जिकिर गरे । विभिन्न पेशा व्यवसाय गरी खाने वर्गले सुरक्षित रुपमा काम गर्न पाउने अधिकारको सुनिश्चितता गर्न माग गरे । नाफा आर्जन गर्नु नै अपराधको रुपमा चित्रित हुनु दुःखद् भएको बताए । उनले भने, ‘युवा पुस्ताको आन्दोलन र माग बमोजिम मुलुकमा भ्रष्टाचार न्युनिकरण गरी शुसासन कायम गर्ने प्रयत्नमा सरकार लागेको छ । तर निजी क्षेत्र विगतका आन्दोलनहरु भन्दा यसपटक बढी आहत भएको छ । जसो तसो जोहो गरेर, सरसापट गरेर, ऋण काडेर उद्यमीले लगानी गरेको हुन्छ । रोजगारीको अवसर सिर्जना गरेको हुन्छ । तर पनि उद्यमी व्यवसायीका शयन कक्षसम्म लुटपाट भएको छ । व्यापार व्यवसायमा आगो लागेको छ ।’ अध्यक्ष ढकालले निजी क्षेत्रले देशमा ठूलो रोजगारी सिर्जना गरेको तर निजी क्षेत्रमाथि नै हमला हुनु दुःखको विषय भएको बताए ।