यस्तो छ विभिन्न देशका लागि दसैँको टीका लगाउने साइत (सूचीसहित)

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ । समितिको शनिबार बसेको बैठकबाट विभिन्न देशका लागि शुभ साइत सार्वजनिक गरेको समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिए ।  विभिन्न देशमा बसोबास गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूबाट दसैँ टीकाको साइतबारे जिज्ञासा राखिएकाले तिथ्यादिको स्थानीयमानअनुसार सम्बन्धित देशको स्थानीय समयअनुसार शुभ साइत सार्वजनिक गरिएको उनले बताए ।    समितिले नेपालका लागि असोज १६ गते बिहान ११ः५३ बजे,  दिल्ली,  भारतका लागि सोही दिन अर्थात् २ अक्टोबरका दिन ११ः४९, न्युयोर्क अमेरिकाका लागि अक्टोबर १ का दिन बिहान ११ः२५, फ्र्याङ्कर्फट केन्टुकी अमेरिकाका लागि बिहान ११ः५७, वोवेन्स्वोरो केण्टुकी अमेरिकाका लागि अक्टोबर ११ः०५, टेक्सासका लागि अक्टोबार ११ः३३, वासिङ्गटन डिसीका लागि ११ः३५, क्यालिफोर्नियाका लागि बिहान ११ः११, कोलोराडोका लागि ११ः२९ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले जानकारी दिए । यसैगरी, टोरेण्टो क्यानडाका लागि १ अक्टोबरका दिन बिहान ११ः५५,  भ्यानकुभरका लागि ११ः३३, टोकियो जापानका लागि २ अक्टोबरका दिन बिहान ११ः३१, सिड्नी अष्ट्रेलियाका लागि २ अक्टोबरका दिन बिहान ११ः४३, मेलबर्न अष्ट्रेलियाका लागि सोही दिन बिहान ११ः१९, व्रीसवेन अष्ट्रेलियाका लागि बिहान ११ः५३, एडिलेटका लागि ११ः३५, क्यानबेराका लागि ११ः५१, तास्मानियाका लागि ११ः४५, पर्थका लागि ११ः२५ र डार्बिन अष्ट्रेलियाका लागि बिहान ११ः४७ बजेको साइत शुभ रहेको छ ।  यस्तै, बेलिङ्गटन न्यूजिल्यान्डका लागि २ अक्टोबरका दिन बिहान ११ः२३, लिस्बन पोर्चुगलका लागि सोही दिन बिहान ०९ः२३, लण्डन बेलायतका लागि बिहान ०९ः१७, पेरिस, फ्रान्सका लागि बिहान ०९ः५७, नर्वेको ओस्लोका लागि बिहान १०ः०३, क्वालालम्पुर मलेसियाका लागि बिहान ११ः११, अवुधावी युएइका लागि बिहान १०ः५५, दोहा कतारका लागि बिहान १०ः१३, बैंकक थाइल्याण्डका लागि बिहान १०ः४५, सियोल दक्षिण कोरियाका लागि बिहान १०ः५७, तेल अभिभ इजरायलका लागि बिहान ११ः३५, सिङ्गापुरका लागि बिहान ११ः०९, हङ्गकङ्गका लागि बिहान ११ः४५, साउदी अरेबियाका लागि बिहान १०ः५५, याङ्गून म्यानमारका लागि बिहान १०ः२७, जेनेभा स्विट्जरल्याण्डका लागि बिहान १०ः२५ र माल्टाका लागि बिहान १०ः५५ बजेको साइत स्थानीय समय अनुसार शुभ रहेकाले प्रकाशन गरिएको समितिका उपसभापति प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

जेनजी पुस्ताले उठाएका मुद्दा सामान्य रुपमा नलिऔँ : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सडकमा पोखिएको नयाँ पुस्ताको अभिव्यक्तिलाई हल्का नलिन सबैलाई आग्रह गरेका छन् । उनका अनुसार यो आन्दोलन गहिरो राजनीतिक असन्तोषको परिणाम हो, जसले भविष्यमा नयाँ राजनीतिक संरचना निर्माण गर्ने संकेत दिएको छ । ‘नयाँ पुस्ताले उठाएका मुद्दालाई हल्का रूपमा लिनु हुँदैन । यो आन्दोलनले नयाँ युगको सुरुवात गरेको छ’‚ भट्टराईले भने । नयाँ पुस्ता (जेनजी)भन्नाले सन् १९९७ पछि जन्मेका, सूचना–प्रविधि, सामाजिक सञ्जाल र विश्वव्यापी चेतनासँग हुर्किएका युवालाई बुझिन्छ । यही पुस्ता अहिले भ्रष्टाचार, अवसरविहीनता र असमानताविरुद्ध सडकमा उत्रिएको छ । भट्टराईका अनुसार नयाँ पुस्ताले केवल आन्दोलनमा सीमित नभई वैकल्पिक राजनीतिक संरचना निर्माण गर्ने क्षमता राख्छ । आन्दोलनबाट आएका नेताहरूले जनताको विश्वास कायम राख्न नसको र जनताको सम्पत्ति दोहन गरेर सत्ताको दुरुपयोग गरेको भट्टराईले आरोप लगाए । यस्तो सम्पत्तिको छानबिन गरी राष्ट्रियकरण गर्नु अपरिहार्य भएको उनको माग छ । हालै बनेको अन्तरिम सरकारबारे पनि भट्टराईले स्पष्ट पारेका छन् । उनले यो सरकारको भूमिका शान्ति सुव्यवस्था कायम गर्नु, जनधन क्षतिको छानबिन गर्नु र चुनावको तयारी गर्नु मात्र भएको स्पष्ट पारेका छन् । भट्टराईले रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल सक्षम र योग्य व्यक्तित्व भएको बताए । उनका अनुसार रामेश्वर खनाल आर्थिक प्रशासन‚ कुलमान घिसिङ विद्युत् क्षेत्र र ओमप्रकाश अर्याल कानूनी क्षेत्रमा स्पष्ट दृष्टिकोण भएका पात्र भएको बताए । नेपालको विद्युत् क्षेत्र लामो समयदेखि सुधारको बाटोमा छ । खासगरी कुलमान घिसिङको नेतृत्वमा भएका उपलब्धिहरूले धेरैलाई आशा जगाएको बताएका छन् । भट्टराईले हालैको डेडिकेटेड लाइन प्रयोग गर्ने उद्योगी व्यवसायीले महसुल अनिवार्य रूपमा तिर्नुपर्ने कुराको खुलेरै समर्थन गरे । संसदीय प्रणालीले गठबन्धन, दल फुट, लोभ र स्वार्थ मात्र बढाएको छ। त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था ल्याएर मात्र राजनीतिक स्थायित्व सम्भव हुने उनको धारणा छ । भट्टराईका अनुसार नयाँ पुस्ताले राजनीति केवल सडक आन्दोलनमा सीमित नगरी संस्थागत बनाउनुपर्ने बताए । उनले शहीदहरूको बलिदानलाई खेर जान नदिई नयाँ इतिहास कोर्ने जिम्मेवारी यही पुस्तामाथि आएको बताए ।   

सडक अवरोध तत्काल हटाउन र २४ घण्टा कन्ट्रोल रुम सञ्चालन गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन र सडक सुरक्षाबारे शनिबार सरोकारवालासँग छलफल गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभाग र सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीसहितको बैठकमा मन्त्री घिसिङले यात्रुहरूको सहज आवागमनका लागि विशेष व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । मन्त्री घिसिङले सडक अवस्थाबारे २४ घण्टा जानकारी दिन सक्ने र यात्रुको गुनासो तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिए । पहिरोलगायत कारण सडक अवरुद्ध भए तुरुन्तै पुनःस्थापना गर्ने व्यवस्था गर्न पनि उनले जोड दिए । बैठकले गरेको निर्णयअनुसार दशैं अवधिमा काठमाडौं उपत्यकाबाट बाहिरिने सार्वजनिक यातायात सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने र त्यसपछि मात्रै सो मार्गमा अन्य सवारी साधनलाई प्रवेश गराउने तयारी गरिएको छ । त्यस्तै, दशैं अवधिमा राजमार्गमा सुरक्षा व्यवस्था कडा पार्न, प्रहरी संख्या बढाउन र गस्ती सञ्चालन गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ । सडकको कमजोर अवस्थालाई मध्यनजर गर्दै बुटवल–नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्रमा १२ चक्काभन्दा ठूला भारवाहक सवारी साधन नचलाउने र अत्यावश्यक वस्तु ढुवानी गर्ने गाडीलाई भने छुट दिने व्यवस्था गरिने भएको छ । सडक स्तरोन्नति र सुधारका लागि पहिरो व्यवस्थापन, उपकरण उपलब्ध गराउने, नारायणगढ–मुग्लिन सडकको तुइन खोलामा अवरोध हटाउने र तातोपानी नाका जोड्ने सडक दशैंअघि सञ्चालनमा ल्याउन निर्देशन दिइएको छ । यात्रामा निस्कँदा मौसम र सडकको अवस्थाबारे जानकारी लिन आम नागरिकलाई आग्रह गर्दै मन्त्रालयले सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको छ । साथै, यातायात साधनलाई सुरक्षित र प्रविधिमैत्री बनाउन कार्यविधि र निर्देशिका छिट्टै ल्याउने, र सडक सुरक्षाका लागि २४ घण्टा सञ्चालन हुने कन्ट्रोल रुम व्यवस्थापन गर्ने पनि निर्णय भएको छ ।