पञ्चकन्या माई हाइड्रोको सेयर कारोबार खुला, एक करोड १० लाख कित्ता सेयर सूचिकृत
काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको आज(बुधबार)बाट सेयर कारोबार गर्न सकिने छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता १०२.४९ देखि ३०७.४७ रुपैयाँसम्म मूल्य तोकेको छ । जुनसुकै कम्पनीको सेयर नेप्सेमा सूचिकरण भएको ७ दिनमा पहिलो कारोबार शुरु हुनेछ । पुलचोकमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको हालै एक करोड १० लाख कित्ता साधारण सेयर सूचिकृत भएको छ । साथै, कम्पनीको स्टक सिम्बोल पीएमएचपीएल रहेको छ ।
८ अंकले बढेको बजारमा नाडेप लघुवित्तका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । साताको पहिलो दिन ओरालो लागेको बजार दोश्रो दिन करिब ८ अंकले बढेको छ । सोमबारको नेप्से परिसूचक ७.९९ अंकले बढेर १२२२.३५ अंकमा पुगेको छ । सो दिनको बजार कारोबार खुलेदेखि नै उकालो लाग्ने क्रममा रहेको थियो । बजारमा १६३ कम्पनीको ३७ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १४ लाख ५१ हजार ५७२ कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी माछापुच्छ्रे बैंकको ९ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, एनआईसी एशिया, एनसीसी, हिमालयन डिष्टिलरी र मेगा बैंकको एक करोड भन्दा बढी सेयर कारोबार भएको छ । एकल अंकले बढेको बजारमा सबैभन्दा बढी नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । सोमबार उक्त संस्थाका सेयरधनीले ९.९६ प्रतिशत कमाएका छन् । सोमबार होटल समूहको सूचक ४८ अंकले बढेको छ । सो दिन जलविद्युत समूहको सूचक ३ अंकले घटेको छ भने कारोबारमा आएका बाँकी समूह सामान्य अंकले उकालो लागेका छन् ।
पूर्णिमा विकास बैंकले ११ प्रतिशत लाभांश दिने, चुक्ता पुँजी ४६ करोड नाघ्ने
काठमाडौं । पूर्णिमा विकास बैंकले सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आवको नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस र करसहित ६.३७ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरको हो । उक्त प्रस्ताव गत असोज १९ गते बसेको संचालक समितिले गरेको हो । समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पुँजी ४४ करोड ४ लाख रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस पछि कम्पनीको पुँजी ४६ करोड रुपैयाँ नाघ्ने छ ।