नेप्से दोहोरो अंकले घट्यो, लाइफ इन्स्योरेन्स कर्पोरेसनका लगानीकर्ताले गुमाए सबैभन्दा बढी

काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । कारोबार शुरु भएदेखि घटेको नेप्से परिसूचक अन्त्यमा १३ अंकले घटेर १२०७ अंकमा झरेको छ । समग्रमा सो दिनको बजारमा १.०९ प्रतिशतको गिरावट आएको छ । बजारमा परिसूचकमा गिरावट देखिएपनि कारोबार रकममा भने केही सुधार देखिएको छ । आइतबार कुल १५४ कम्पनीको ५६ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी माछापुच्छ्रे बैंकको प्रमोटर सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन १६ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोहोरो अंकले ओरालो लागेको बजारमा सबैभन्दा बढी लाईफ इन्स्योरेन्स कर्पोरेसन(नेपाल)का लगानीकर्ताले गुमाएका छन् । एकैदिन कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ८० रुपैयाँ अर्थात ५.६३ प्रतिशत गुमाएका छन् । कम्पनीले ३६ प्रतिशत बोनस घटाएर १२ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेपछि इन्स्योरेन्सको सेयर मूल्यमा भारी गिरावट आएको हो । धेरै लाभांशको आसमा रहेका लगानीकर्ताहरु निराशजनक अवस्थामा रहेका सेयर मूल्यले संकेत गरेको छ । बजारमा अन्य समूह बाहेक बाँकी समूहको सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको सूचक ६५ अंकले घटेको छ । त्यस्तै, निर्जीवन बीमा ६५, बैंकिङ् १६, उत्पादनमूलक १५ र हाइड्रोपावर समूह ११ अंकले ओरालो लागेका छन् ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनले १२ प्रतिशत बोनस दिने, सेयर मूल्यमा भारी गिरावट

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)ले सेयरधनीलाई १२ प्रतिशत बोनस दिने भएको छ । साथै, कर प्रयोजनका लागि इन्स्योरेन्सले ०.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव हालै बसेको कम्पनीे सञ्चालक समितिको बैठकले गरेको हो । समितिले कम्पनीको आर्थिक वर्ष २०७३/०७४ को नाफाबाट चुक्ता पुँजीको सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । यस अघि कम्पनीले ३६ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरी बीमा समितिमा पेश गरेको थियो । उक्त प्रस्तावलाई बीमा समितिले विभिन्न प्राविधिक कारणवश वित्तिय विवरणमा संसोधन गरी पुनः पेश गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनलाई पालना गर्दै वित्तिय विवरण पुनः पेश गरेकाे कम्पनीको प्रस्तावित लाभांशमा गिरावट आएको हो । सोही अनुसार कम्पनीले १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । समितिको प्रस्तावलाई बीमा समितिले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश दिने छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ३३ करोड रुपैयाँ रहेको छ । जसमा १२ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी साढे एक अर्ब रुपैयाँ कायम हुने छ । लाभांश घोषणासँगै कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ । आइतबार प्रतिकित्ता १५८० रुपैयाँमा कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता १५२० रुपैयाँ पुगेको छ । बोनस सेयर घटेर १२ प्रतिशतमा झरेपछि धेरै बोनस पाउने आसमा रहेका लगानीकर्तामा निरासा देखिएको सेयर मूल्यले संकेत गरेको बुझिन्छ ।

१५ प्रतिशत बोनस पछि ग्लोबल आईएमई लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । आइतबार ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले संस्थाको १५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य घटेर प्रतिकित्ता ११०४ रुपैयाँमा झरेको छ । जसको आधार मूल्य प्रतिकित्ता १३३३ रुपैयाँ रहेको थियो ।