एनआईसी एशिया बैंकको बोनसमा लाभिए लगानीकर्ता, २ करोड बढीको सेयर कारोबार

काठमाडौं । आइतबारको सेयर बजार घटेपनि लगानीकर्ता एनआईसी एशिया बैंकको लाभांशमा लोभिएका छन् । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेपछि लगानीकर्ताको आकर्षण बढेको हो । बैंकले गत शुक्रबार सेयरधनीलार्इ सो मात्राको लाभांश दिने घोषणा गरेको थियो । लाभांश घोषणासँगै कम्पनीको २ करोड ९८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । दिनभरको कारोबारमा बैंकको ७० हजार ६७५ कित्ता सेयर बिक्री भएका छन् । बैंकको सेयर कारोबार सँगसगै सेयर मूल्यमा पनि वृद्धि भएको छ । जसको सेयर मूल्य ५ रुपैयाँले बढेर प्रतिकित्ता ४२२ रुपैयाँमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.२० प्रतिशत बढी हो । आइतबारको बजारमा कुल १४५ कम्पनीको ३३ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल बैंकको १४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यसपछि बढी कारोबार गर्नेमा एनआईसी एशिया बैंक रहेको छ । समग्रमा आइतबारको नेप्से परिसूचक १०.१४ अंकले ११९४ अंकमा झरेको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूह २९ अंकले घटेको छ । सो दिन ट्रेडिङ समूह बाहेक बाँकी समूह राताम्मे भएका छन् । ट्रेडिङ समूह सामान्य ०.८४ अंकले उकालो लागेको छ ।

एनएमबि माइक्रोफाइनान्सले १५ प्रतिशत बोनस दिने, सेयर मूल्य बढ्यो

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । साथै, संस्थाले कर प्रयोजनको लागि ०.७८९४ प्रतिशत अर्थात ११ लाख १२ करोड रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफा तथा जगेडा कोषबाट कायम भएको चुक्ता पुँजीको सो मात्राको बोनस दिने प्रस्ताव गरेको हो । हाल संस्थाको चुक्ता पुँजी १४ करोड ८ लाख रुपैयाँ पुग्ने छ । १५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी १६ करोड रुपैयाँ नाघ्ने छ । उक्त लाभांश दिने प्रस्ताव संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । बोनस घोषणा गरेपछि संस्थाको सेयर मूल्य बढेको छ । आइतबार प्रतिकित्ता १२५६ रुपैयाँमा कारोबार शुरु भएको संस्थाको सेयर मूल्य बढेर प्रतिकित्ता १२८१ रुपैयाँसम्म बिक्री भइरहेको छ ।

सोल्टी होटलले २६ प्रतिशत लाभांश दिने, मंसिर २६ गतेदेखि एक महिना बुक क्लोज

काठमाडौं । सोल्टी होटल लिमिटेडले सेयरधनीलाई २६.३२ प्रतिशत लाभांश दिने भएको छ । होटलले सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस र १६.३१७ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ६६ करोड ६० लाख रुपैयाँ रहेको छ । उक्त पुँजीमा कम्पनीले ६ करोड ६६ लाख रुपैयाँ बोनस सेयर दिने भएको छ । सो मात्राको बोनस पछि कम्पनीको पुँजी ७३ करोड २६ रुपैयाँ नाघ्ने छ । साथै, कम्पनीले रकमका आधारमा १० करोड ८६ लाख रुपैयाँ नगद लाभांश दिने छ । होटलको सञ्चालक समितिको सो मात्राको लाभांश दिने प्रस्तावलाई आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको ४४औँ वार्षिक साधारणसभा पुस २६ गते काठमाडौंको कमलादीमा बस्दै छ । सो प्रयोजनको लागि आगामी मंसिर २६ गतेदेखि पुस २६ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ ।