लिवर्टी इनर्जी कम्पनीले साढे ३७ करोडको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौं । लमजुङ जिल्ला स्थित २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी “ए”जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जी कम्पनी लिमिटेडले स्थानीय तथा सर्वसाधारणको लागि साधारण सेयर(आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले स्थानीय तथा सर्वसाधारणको लागि कुल ३५ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले सो मात्राको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । उक्त नियुक्ती सम्बन्धी सम्झौतापत्रमा प्रवद्र्धक कम्पनीको तर्फबाट प्रबन्ध संचालक डा. आत्माराम घिमिरे तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । हाल कम्पनीको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीले उक्त पुँजीको १० प्रतिशतका दरले हुन आउने १५ करोड बराबरको १५ लाख कित्ता सेयर उद्योग प्रभावित क्षेत्र लमजुङ जिल्लाका स्थानिय बासिन्दाहरुलाई बिक्री गर्ने छ । त्यस्तै, थप १५ प्रतिशत अर्थात २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणहरुमा जारी गर्न लागेको कम्पनीले जनाएको छ । सो मात्राको सेयर जारी गरी बाँडफाँट गरे पश्चात कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ हुने कम्पनीले बताएको छ । यस कम्पनीले हाल निर्माण गरिरहेको माथिल्लो दोर्दी “ए”जलविद्युत आयोजना लमजुङ जिल्ला स्थित दोर्दी गाँउपालिका (साविकफलेनी र ढोडेनीगा.वि.स) मा अवस्थित छ । उक्त आयोजनाको हाल टनेल खन्ने कार्य सम्पन्न भई सो को फिनिसिङ कार्य भईरहेको, पेनस्टक पाईप राख्ने काम अन्तिम चरणमा पुगिसकेको, हेडवक्र्स तथा डिसेण्डर र पावर हाउस तथा टेलरेसको कार्य समेत अन्तिम चरणमा पुगेको र पावर हाउसमा जडान गरिने आवश्यक इलेक्ट्रो मेकानिकल उपकरणहरु साईटसम्म ढुवानी भईरहेको तथा जडानको लागि समेत तयारी भईरहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ९ वटा बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी रहेको उक्त आयोजनाको काम हालसम्म करीब ८५ प्रतिशत सम्पन्न भई सकेको छ । साथै, आगामी चैत मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

गण्डकी विकास बैंकको १४.२० प्रतिशत नगद लाभांश राष्ट्र बैंकबाट स्वीकृत

काठमाडौं । गण्डकी विकास बैंकको प्रस्तावित १४.२० प्रतिशत नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । उक्त नगद लाभांशलाई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरुमा वितरण हुनेछ । सभाले पारित गरेपछि बैंकले सेयरधनीलार्इ गत आर्थिक वर्षको संचित मुनाफाबाट चुक्ता पुँजीको सो मात्राको नगद लाभांश वितरण गर्ने छ । बैंकले आर्थिक वर्ष २०७५/७६ को प्रथम त्रैमासमा संचालन मुनाफा १५ करोड ३० लाख रुपैयाँ आर्जन गर्न सफल भएको थियो । सोही अवधीसम्म निक्षेप २३ अर्ब ७२ करोड रुपैयाँ र कर्जा तर्फ २१ अर्ब २४ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको बैंकले जनाएको छ ।

एनसीसीकाे ७९ लाख कित्ता शेयर लिलामी ११ गतेदेखि, कतिसम्ममा पाइएला ?

काठमाडौं । घट्दो बजार, बढ्दो ब्याजदर र बजार सुधारका लागि भइरहेको आन्दोलनका बीच एनसीसी बैंकले ७९ लाख १० हजार ९ सय ९३ कित्ता शेयर लिलामीमा ल्याउने भएको छ । बैंकले संस्थापक समूहतर्फ ६५ लाख १६ हजार ७ सय ९५ कित्ता र सर्वसाधारण समूहतर्फ १३ लाख ९४ हजार १ सय ९८ कित्ता गरी उक्त परिमाणको शेयर लिलामीमा ल्याउने भएको हो । बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा रहेको सनराइज क्यापिटलले यही पुस ११ गतेदेखि २० गतेसम्म उक्त लिलामी खुल्ला गर्ने भएको छ । उक्त लिलामीका लागि सनराइज क्यापिटलको कमलपोखरीस्थित मुख्य कार्यालय र एनसीसी बैंकका विराटनगर, वीरगञ्ज, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी, बनेपा, नारायणगढ र बागबजार कार्यालयबाट फर्म प्राप्त गर्न र आवेदन दिनसक्ने व्यवस्था रहेको बताइएको छ । उक्त शेयरका लागि संस्थापकतर्फ न्युनतम १००० कित्ता र साधारणतर्फ न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिन्छ तर १० ले भाग जाने संख्यामा मात्र आवेदन दिनुपर्नेछ भने संस्थापकतर्फ अधिकतम ६५ लाख १६ हजार ७ सय ९५ कित्ता र साधारणतर्फ अधिकतम सीमासम्मकाे शेयरका लागि अावेदन दिन सकिन्छ । संस्थापक शेयर लिन इच्छुकहरुले भने कालोसूचिमा नरहेको प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र, आयश्रोत विवरण र स्वघोषणा विवरण समेत बुझाउनुपर्ने जनाइएको छ । घट्दो बजारको प्रभाव शेयरमूल्यमा पर्नसक्ने त्रिकोणात्मक समस्याबाट ग्रसित बजारमा लगानीकर्ताहरुको मनोविज्ञान कमजोर हुँदा उक्त शेयरका लागि कममात्र मूल्यमा बोलकबोल हुनसक्ने सम्भावना रहन्छ । गत साउनमा प्रभु बैंक लिमिटेडको शेयर बजारमा १८० रुपैंया हाराहारी हुँदा उक्त शेयरको लिलामीमा १५८ रुपैंयासम्म प्रस्ताव गर्नेले समेत शेयर प्राप्त गरेका थिए । तत्कालै बजारमा आएको सुधार र बैंकको राम्रो वित्तीय विवरणका कारण शेयरमूल्य बढेर २६० भन्दा माथि पुगेको थियो । त्यसैले घट्दो बजारबीच अक्सनको लगानी छोटो समयमै मुनाफादायक समेत हुनसक्छ । यद्यपि यसले बैंकको रिजर्भमा थपिने प्रिमियम मूल्यमा भने असर गर्नसक्छ । तर लिलामी खुल्ने उक्त दिनसम्म बजारमा ठुलाे सुधार भर्इ लगानीकर्ताकाे मनाेबल उच्च भएमा भने अवस्था ठीक त्यस्ताे नहुन पनि सक्छ । वाणिज्य बैंकहरुको ‘अन्तिम’ लिलामी नेपाल राष्ट्र बैंकले तोकेको पुँजी वृद्धिका प्रयोजनका लागि जारी गरिएको हकप्रदमध्ये एनसीसी बैंकको हकप्रद अन्तिम हो र यसर्थमा बैंकको अक्सन समेत अन्तिम हुनेछ । अन्य विविध कारणले बजारमा शेयर लिलामीमा आउन सक्ने भए पनि हकप्रदमा नबिकेको शेयरका लागि यो लीलामी नै अन्तिम लिलामी हुनेछ । अब यति ठूलो परिमाणको शेयर लिलामीमा आउन सम्भवतः अर्को पुँजीवृद्धि योजना नै कुर्नुपर्नेछ ।