बीमा समूहले उचाल्यो बुधबारको बजार, नेप्से ३० अंकले बढ्दा ६५ करोडको कारोबार
काठमाडौं । बुधबारको सेयर बजारलाई जीवन र निर्जीवन बीमा दुबै समूहले बढाएको छ । दुबै समूहको सूचक एकाएक त्रिपल अंकले बढेपछि नेप्से परिसूचकमा पनि उच्च वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा बुधबार जीवन बीमा समूहको सूचक सबैभन्दा बढी ४४३ अंकले बढेको छ । त्यस्तै, निर्जीवन बीमा समूहको सूचक २४५ अंकले उकालो लागेको छ । कारोबारमा आएका कुल ११ समूहमध्ये फाइनान्स बाहेक बाँकी समूहको सूचक दोहोरो अंकले उकालो लागेको छ । कारोबार शुरु भएदेखि उकालो लागेको नेप्से परिसूचक ३०.२६ अंकले बढेर १२१६ अंकमा पुगेको छ । सबै समूहहरु दोहोरो अंकले बढेपछि परिसूचकमा पनि सुधार देखिएको हो । समग्रमा बुधबारको बजार अघिल्लो दिनको तुलनामा २.५५ प्रतिशतले बढेको छ ।
अपडेटः नेप्सेले नाघ्यो १२०० अंक, सबै सूचकमा छायाे हरियाली
काठमाडौं । बुधबारको सेयर बजार दोहोरो अंकले बढेको छ । दिउँसो २ बजेसम्म नेप्से परिसूचक २२.४१ अंकले बढेर १२०८ अंकमा पुगेको छ । सो दिनको बजार शुरु भएदेखि नै निरन्तर उकालो लागिरहेको छ । सो अवधिसम्म कुल १६४ कम्पनीको ४४ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भईसकेको छ । सबैभन्दा बढी नेपाल बैंकको सेयर किनबेच भईरहेको छ । कारोबार शुरु भएको तीन घण्टाको अवधिमा दुई कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । नागरिक लगानी कोष र विशाल बजार कम्पनीका लगानीकर्ताले क्रमशः ९.९९ र ९.९७ प्रतिशत कमाएका छन् । यता कारोबारमा आएका ११ वटै समूह हरिया भएका छन् । यसअवधिसम्म सबैभन्दा बढी जीवन बीमा समूहको सूचक २३२ अंकले बढेको छ ।
४५ प्रतिशत लाभांश प्रस्तावसहित फरवार्ड माइक्रोफाइनान्सले तोक्यो एजीएमको मिति, पुस १५ गते बुक क्लोज
काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले संचालक समितिको प्रस्तावलाई पारित गर्न आगामी पुस २७ गते वार्षिक साधारणसभा(एजीएम) डाकेको छ । सभामा संस्थाले सेयरधनीलाई २० प्रतिशत नगद र २५ प्रतिशत बोनस सहित ४५ प्रतिशत लाभांश दिने विशेष प्रस्ताव लैजाँदै छ । सभाले पारित गरेपछि सेयरधनीले चुक्ता पुँजीको ४५ प्रतिशत लाभांश पाउनेछन् । हाल संस्थाको चुक्ता पुँजी ३० करोड एक लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस सेयरपछि माइक्रोफाइनान्सको चुक्ता पुँजी ३७ करोड ५२ लाख रुपैयाँ नाघ्ने छ । साेहि सभामा जाने प्रयोजनको लागि संस्थाले आगामी पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । सो निर्णय संस्थाको संचालक समितिको बैठकले गरेको हो ।