स्पर्स लघुवित्त र माउन्टेन हाइड्रोलाई आईपीओ जारी गर्न अनुमति, २० करोड ८५ लाखको ल्याउँदै
काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्था र माउन्टेन हाइड्रो नेपालले साधारण सेयर(आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । बोर्डले यी दुई संस्थालाई कुल २० करोड ८५ लाख ७४ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति दिएको हो । सो मध्ये स्पर्स लघुवित्तले २ करोड ६९ लाख ६३ हजार र माउन्टेन हाइड्रोले १८ हजार १६ लाख ११ हजार रुपैयाँ बराबरको सेयर जारी गर्न अनुमति पाएका हुन् । बोर्डको अनुमति पाएसँगै अब स्पर्स लघुवित्तले अंकित मूल्य १०० रुपैयाँको दरले २ लाख ६९ हजार ६३० कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गर्ने छ । लघुवित्तले २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्न अनुमति पाएको हो । संस्थाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्ने भएको छ । त्यस्तै, माउन्टेन हाइड्रोले सर्वसाधारण र स्थानिय बासिन्दालाई गरी कुल १८ हजार १६ लाख ११ हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । हाइड्रोले अंकित मूल्य १०० रुपैयाँको दरले १८ लाख १६ हजार ११० कित्ता सेयर निष्काशन गर्ने छ । जसमध्ये हाइड्रोले पहिलो चरणमा बिक्री नभएको ५ लाख ६६ हजार ११० कित्ता सेयर आयोजना प्रभावित पाँचथर जिल्लाका स्थानिय वासिन्दालाई र बाँकी १२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न बोर्डको अनुमति पाएकाे हाे । हाइड्रोको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्ने भएको छ ।
नेप्सेले खुलायो १० जनालाई जागिर, २१ दिनभित्र आवेदन दिनुपर्ने
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले १० जनालाई जागिर खुलाएको छ । नेप्सेले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरेर आन्तरिक र खुलातर्फ गरी सो मात्रामा दरखास्त आव्हान गरेको हो । आन्तरिक तर्फ उपप्रबन्धकमा २, सहायक प्रबन्धकमा २, सहायक आईटी प्रबन्धकमा १ र वरिष्ठ अधिकृत तहमा २ जना मागेको छ । त्यसैगरी, खुलातर्फ उपप्रबन्धक, वरिष्ठ अधिकृत र खुला/आधिवासी जनजातितर्फ वरिष्ठ अधिकृतमा १/१ जना गरी कुल ३ जना मागेको छ । उक्त सम्बन्धित तहको लागि आवश्यक न्युनतम शैक्षिक योग्यता प्राप्त गरेको र एक तह मुनिको पदमा कम्तीमा ३ वर्ष सेवा गरेको हुनुपर्ने छ । नेप्सेको सूचना हेर्न यसमा क्लिक गर्नुहोस्) योग्यता पुगेका उम्मेदवारले न्युनतम दस्तुर तिरेर यस सूचना प्रकाशित भएको मितिले २१ दिनभिन र दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र फारम भर्न सकिनेछ । योग्य उम्मेदवारले फागुन ३ गतेदेखि बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म भद्रकालीस्थित नेप्सेको कार्यालयमा पेश गर्न सक्नेछन् ।
एभरेष्ट बैंकको एक अर्ब ९१ करोड बढीको संस्थापक सेयर कारोबार, कसले किन्यो ?
काठमाडौं । सेयर बजार घटेको दिन एभरेष्ट बैंक लिमिटेडको ठूलो परिमाणमा संस्थापक(प्रमोटर) सेयर किनबेच भएको छ । बैंकको एकैदिन(बिहीबार) एक अर्ब ९१ करोड ७६ लाख ३९ हजार ३७५ रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको हाे । बिहीबार ब्रोकर नम्बर ५८(नासा सेक्युरिटज कम्पनी) र ब्रोकर नम्बर ४९(अनलाइन सेक्युरिटज प्रा.लि) मार्फत ठूलो परिणाममा एभेष्ट बैंकको प्रमोटर सेयर कारोबार भएको हो । बैंकको एकैदिन भएको तीनवटा कारोबारमा प्रतिकित्ता २६५ रुपैयाँमा कुल ७२ लाख ३६ हजार ३७५ कित्ता सेयर किनबेच भएको छ । पहिलो कारोबारमा अनलाइन सेक्युरिटजले नासा सेक्युरिटज मार्फत प्रतिकित्ता २६५ रुपैयाँमा १६ लाख ५९ हजार ५६२ कित्ता सेयर किनेकाे छ । नासाले अनलाइनलाई कुल ४३ करोड ९७ लाख ८३ हजार ९३० रुपैयाँको बैंककाे संस्थापक सेयर बेचेको हो । त्यस्तै, दोश्रो कारोबारमा नासाले अनलाइन सेक्युरिटीजमार्फत ९५ करोड ८८ लाख १९ हजार ८२० रुपैयाँ बराबरको सेयर किनेकाे छ । नासाले पनि प्रतिकित्ता २६५ रुपैयाँमा ३६ लाख १८ हजार १८८ कित्ता सेयर किनेकाे हाे । त्यसैगरी, अर्को कारोबारमा पुनः अनलाइन सेक्युरिटजले नासा सेक्युरिटज मार्फत प्रतिकत्ता २६५ रुपैयाँमा १९ लाख ५८ हजार ६२५ कित्ता सेयर किनेकाे छ । उक्त कारोबारमा ५१ करोड ९० लाख ३५ हजार ६२५ रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । बजारमा लामो समयपछि २ अर्ब बढी रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार कुल १६४ कम्पनीको २ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । समग्रमा बिहीबारको बजार ८.२१ अंकले घटेर १११२.८७ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७३ प्रतिशतले घटी हो ।