धितोपत्र ऐन संशोधनः बोर्डको आदेश नमान्नेको लाइसेन्स निलम्बनदेखि १५ लाख जरिबानासम्म

काठमाडौं । सरकारले धितोपत्र ऐन २०६३ लाई संशोधन गर्न प्रतिनिधिसभामा विधेयक दर्ता गरेको छ । संसदमा दर्ता भएको विधेयकमा कारबाहीको व्यवस्था कडा पारिएको छ भने बोर्ड संचालक समितिबाट निजी क्षेत्रको प्रतिनिधित्व हटाइएको छ । अर्थमन्त्रालयको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेको विधेयकमा नेपाल उद्योग वाणिज्य महासंघबाट प्रतिनिधित्व हुने व्यवस्था हटाइएको छ । अहिलेसम्म महासंघको तर्फबाट एक जना सदस्य बोर्ड संचलक हुने व्यवस्था छ । यस्तै, लेखापरीक्षकहरुको नियमनकारी निकाय नेपाल चार्डर्ड एकाउन्टेन्ट संस्थाको प्रतिनिधित्व पनि हटाइएको छ । अहिलेसम्म संस्थाबाट एक जना संचालक रहने व्यवस्था छ । महासंघ र संस्थाबाट प्रतिनिधित्व हटाएपछि धितोपत्र बोर्डमा ५ सदस्यीय संचालक समिति रहनेछ । अहिलेसम्म सरकारले नियुक्त गरेको अध्यक्ष्य, अर्थमन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल राष्ट्र बैंक, नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट एक÷एक जना तथा सरकारले तोकेको एक जना विज्ञ संचालक गरी ७ सदस्यी संचालक समिति रहने व्यवस्था छ । यस्तै, अहिलेसम्म बोर्ड संचालक हुन तोकिएका क्षेत्रको कम्तिमा ७ वर्षको अनुभव भएको व्यक्ति हुनुपर्ने व्यवस्था छ । विधेयकमा अनुभवलाई ३ वर्ष बढाएर कम्तिमा १० वर्ष बनाइएको छ । अनुमतिपत्र नविकरण गर्ने म्याद घट्यो विधेयकमा संगठित संस्थाले अनुमतिपत्र नविकरण गर्ने म्याद पनि घटाइएको छ । अहिलेको ऐनको दफा ४२ मा आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्रमा अनुमतिपत्र नविकरण गरिसक्नु पर्ने व्यवस्था छ । संसदमा दर्ता भएको विधेयकमा आर्थिक वर्ष सकिन १५ दिन बाँकी हुदै अनुमतिपत्र नविकरण गरिसक्नु पर्ने व्यवस्था गरिएको छ । यस्तै, अनुमतिपत्र नविकरण गर्ने म्याद सकिएको ३ महिनाभित्र २५ प्रतिशत जरिवाना तिरेर अनुमतिपत्र नविकरण गर्न सकिने व्यवस्था अहिलेको ऐनमा छ । संसदमा दर्ता भएको विधेयकमा सो व्यवस्थामा परिवर्तन गर्दै नविकरण गर्नुपर्ने म्याद सकिएको ७ दिनभित्रमा २५ प्रतिशत जरिबाना तिरेर नविकरण गर्न सकिने व्यवस्था गरिएको छ । बैंकिङ कारोबारको विवरण बोर्डले लिन सक्ने विधेयकको दफा ८६ (क) थपिएको छ । थपिएको नयाँ व्यवस्थामा धितोपत्र कारोबारको बैंकिङ विवरण बोर्डले लिन पाउने व्यवस्था गरिएको छ । यस्तो विवरण भने नेपाल राष्ट्र बैंकमार्फत माग्नुपर्ने व्यवस्था विधेयकमा छ । ‘कुनै व्यक्ति, कम्पनी वा संगठिन संस्थाले गरेको धितोपत्रसँग सम्बन्धित बैंकिङ कारोबारको सम्बन्धमा कुनै जाँचबुझ गर्नु परेमा बोर्डले त्यस्तो कारोबार सम्बन्धी अभिलेख सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट उपलब्ध गराई दिन नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्न सक्नेछ,’ विधेयकमा थप गरिएको दफा ८६ (क) मा उल्लेख छ । बोर्डले यसरी विवरण मागेमा नेपाल राष्ट्र बैंकले सम्बन्धित बैंक वा वित्तीय संस्थासँग कारोबारको विवरण मागेर बोर्डलाई दिनुपर्ने व्यवस्था गरिएको छ । दण्ड जरिबानाकाे मात्रा बढ्याे विधेयकमा दण्ड र जरिबानाको मात्रा निकै बढाइएको छ । ऐनको दफा १०१ मा भएको दण्ड र जरिबानाको व्यवस्थामा व्यापक संशोधन गरिएको छ । अहिलेको ऐनमा भित्री कारोबार गर्नेलाई भित्री कारोबार गरेको ठहरेमा विगो बमोजिम जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने भन्ने व्यवस्था छ । विधेयकमा सो व्यवस्थाको संशोधन गरी बिगो खुलेमा बिगो बराबर जरिबाना भराई ३ बर्षसम्म जेल वा दुबै सजाय र बिगो नखुलेमा १० लाख रुपैयाँसम्म जरिबाना वा ३ बर्षसम्म जेल वा दुबै सजाय हुने भनिएको छ । यस्तै, अहिलेको एनेमा ऐनको दफा ९४, ९५ र ९६ बमोजिमको कुनै काम गर्नेलाई ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ र त्यस्तो काम कारबाहीबाट कसैलाई हानि नोक्सानी पर्न गएको रहेछ भने त्यस्तो हानि नोक्सानी समेत भराई दिनु पर्नेछ भन्ने व्यवस्था छ । विधेयकमा सो व्यवस्थामा परिवर्तन गरी ‘बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिमको जरिबाना वा ३ वर्षसम्म कैद वा दुबै सजाय र बिगो नखुलेकोमा १ लाख ५० हजार रुपैयाँदेखि ४ लाख ५० हजार रुपैयाँसम्म जरिबाना वा ३ बर्षसम्म कैद वा दुबै सजाय हुने’ व्यवस्था गरिएको छ । साविकको ऐनको ९७, ९८, ९९ र १०० बमोजिमको कुनै काम गर्नेलाई १ लाख रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म जरिबाना वा २ वर्षसम्म कैद वा दुवै सजाय हुने तथा त्यस्तो कारोबारबाट कसैलाई हानि नोक्सानी भएको रहेछ भने त्यस्तो हानि नोक्सानी समेत भराई दिनु पर्ने भन्ने व्यवस्था छ । विधेयकमा सो व्यवस्था संशोधन गरी बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिमको जरिबाना वा ६ वर्षसम्म कैद वा दुबै सजाय र बिगो नखुलेकोमा ३ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिबाना वा ६ वर्षसम्म कैद वा दुबै सयाज हुने व्यवस्था गरिएको छ । ऐनको दफा १०१ को (४) मा ‘कसैले जानीजानी वा बदनीयत साथ यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा विनियम बमोजिम राख्नु, बनाउनु, तयार गर्नु वा पेश गर्नु पर्ने हिसाब किताब, खाता, विवरण, प्रतिवेदन, सूचना, जानकारी वा यस्तै अन्य कुनै कागजात सो राख्नु, बनाउनु, तयार गर्नु वा पेश गर्नु पर्ने समयमा पेश नगरेमा, नराखेमा वा नबनाएमा वा तयार नगरेमा वा झुट्टा विवरण वा कागजात बनाएमा वा राखेमा, तयार गरेमा त्यस्तो गर्नेलाइ बोर्डले ५० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ’ भन्ने प्रावधान छ । विधेयकमा सो व्यवस्था संशोधन गर्दै आर्थिक जरिबानालाई १ लाख ५० हजार रुपैयाँदेखि ६ लाख ५० हजार रुपैयाँसम्म बनाइएको छ । ऐनको दफा १०१ को (५) मा ‘कसैले जानीजानी यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा विनियम वा यस ऐन अन्तर्गत जारी गरिएको आदेश वा निर्देशनको बर्खिलाप काम गरी कुनै संगठित संस्था, धितोपत्र बजार, धितोपत्र व्यवसायी वा लगानीकर्तालाई हानि नोक्सानी गरे गराएमा बोर्डले त्यस्तो व्यक्तिलाई ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ । त्यस्तो काम कारबाहीबाट कसैलाई कुनै हानि नोक्सानी पुग्न गएको भए सो बापत बोर्डले वास्तविक हानि नोक्सानीको क्षतिपूर्ति समेत भराई दिन सक्नेछ’ भन्ने व्यवस्था छ । विधेयकमा यस्तो जरिबाना रकम बढाएर ५ लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म बनाइएको छ । ऐनको दफा १०१ मा एउटा उपदफा थप गरिएको छ । थप गरिएको उपदफामा ‘यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा विनियम बमोजिम बोर्डले दिएको आदेश वा निर्देशनको पालना नगर्ने यस ऐन बमोजिम अनुमतिपत्र प्राप्त संस्था वा त्यसको संचालक, पदाधिकारी वा कर्मचारीलाई बोर्डले तोकिएका एक वा एकभन्दा बढी कारबाही गर्न सक्ने’ भन्ने व्यवस्था छ । कारबाहीका यस्ता विकल्पहरुमा सचेत गराउने वा लिखित चेनावनी दिने, त्यस्तो संगठिन संस्थाको कारोबारमा आंशिक वा पूर्ण रुपमा प्रतिबन्ध लगाउने, बोर्डले उपलब्ध गराउने सेवा निलम्बन गर्ने वा रोक्का राख्ने, अनुमतिपत्र निलम्बन गर्ने वा निलम्बन गर्न आदेश दिने, सम्बन्धित अनुमतिपत्र प्राप्त संगठित संस्थाको संचालक समितिलाई तलब भत्ता लगायतका सुविधा उपलब्ध नगराउन आदेश दिने, संचालक समितिलाई पदबाट हटाउन वा पदाधिकारी वा कर्मचारीलाई सेवाबाट अवकाश दिन सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थाको संचालक समितिलाई आदेश दिने भनिएको छ । संस्थाहरुलाई गरिने आर्थिक जरिबानाको मात्रा पनि बढाइएको छ । ऐनको दफा १०१ को (७) मा ‘यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत जारी गरिएका आदेश बमोजिम तयार गर्नुपर्ने विवरण वा प्रतिवेदन वा कागजात तयार नगर्ने, दिनुपर्ने जानकारी नदिने वा पेश गर्नुपर्ने काजगात तथा विवरण तोकिएको समयभित्र पेश नगर्ने वा यिमन, निरीक्षण वा अनुगमन गर्दा बोर्ड वा सो कार्यका लागि बोर्डबाट खटिएको कुनै अधिकारीले माग गरेको कागजपत्र, विवरण तथ्यांक वा अभिलेख तोकिएको अवधिभित्र उपलब्ध नगराउने धितोपत्र दर्ता गराउने संगठित संस्था वा बोर्डबाट अनुमति प्राप्त संस्थालाई बोर्डले अन्य सजायको अतिरिक्त देहाय बमोजिमको जरिबाना गर्न सक्नेछ’ भनिएको छ । देहाय बमोजिमको जरिबाना भनेर म्याद नाघेको ७ दिनसम्मको लागि दैनिक १० हजार रुपैयाँ, म्याद नाघेको ८ दिनदेखि १५ दिनसम्मका लागि दैनिक २५ हजार रुपैयाँ तथा म्याद नाघेको १६ दिनदेखि दैनिक ५० हजार रुपैयाँ जरिबाना लाग्ने भनिएको छ ।

कम उतार चढावको माछापुच्छ्रे बैंकको सेयरमा लगानी गर्नु कति उत्तम ? (समग्र विश्लेषण)

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ८२ करोड ९१ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको यही अवधिको तुलनामा बैंकको नाफा ५.१८ प्रतिशतले बढेको छ । पहिलो त्रैमाशको तुलनामा भने बैंकको नाफा १८ प्रतिशतले बढेको छ । बैंकले पहिलो त्रैमाशसम्ममा ३७ करोड ६० लाख नाफा गरेकोमा दोस्रो त्रैमाशको तीन महिनामा ४४ करोड ५८ लाख गरेको थियो । बैंकले हालसम्मको नाफाको आधारमा लगानीकर्तालाई ६० करोड ६३ लाख रुपैयाँ वितरण गर्न सक्छ । यो भनेको चुक्ता पुँजीको आधारमा ७.१६ प्रतिशत हो । सेयर प्रिमयमको रुपमा बैंकसँग ३ करोड ८ लाख छ । योसहित लाभांश क्षमता ७.५३ प्रतिशत रहेको देखिन्छ । –दोस्रो त्रैमाशमै करीब ८ प्रतिशतको लाभांश क्षमता –महतो समूहको पकड –इक्रा भन्छः मध्यम खेलाडी –लगानी अगाडी ध्यान दिनुपर्ने अवस्था यद्यपि माछापुच्छ्रे बैंकको सेयर मूल्यमा धेरै उतार चढाब देखिदैन । यही सन्दर्भमा बैंकको सेयरमा लगानीका लागि कस्तो रणनीति अपनाउनु पर्ला भन्ने दृष्टिको यो सामग्री तयार पारिएको छ । सन् १९९८ मा पहिलो क्षेत्रीय वाणिज्य बैंकको रुपमा माछापुच्छ्रे बैंकको स्थापना भएको हो । सन् २००० अघिसम्म यो बैंकको केन्द्रीय कार्यालय पोखरामा नै रहेर सञ्चालन भइरहेको थियो । हाल १ सय ५१ शाखाबाट सेवा दिइरहेको बैंकको १ सय ३८ वटा शाखारहित बैंकिङ सेवा र १ सय ८६ वटा एटिएम छन् । अन्तिम दुई दिनमा पहिलो दिन सानो सेतो मैनवत्ति र अन्तिम दिन कालो मैनवत्ति बनाएको छ । यसले मूल्य घट्न सक्ने संकेत देखाइरहेको छ । यद्यपि यो दरिलो संकेत देखिदैन । कम्पनीले हालै धितोपत्र बजारमा बिक्री प्रबन्धक, सेयर प्रत्याभूतीकर्ता, सेयर रजिष्ट्रार, लगानी व्यवस्थापकको रुपमा काम गर्ने गरी मर्चेन्ट बैंकर कम्पनी स्थापनाको अनुमति पाएको छ । १०.२६ प्रतिशत बेस रेट रहेको बैंकले यसमा अधिकतम ६ प्रतिशतसम्म कर्जाको व्याजदर तोकेको छ । बचतमा बैंकले ४ प्रतिशतदेखि अधिकतम ९.२५ प्रतिशतसम्म व्याज तोकेको छ । उपलब्धि एक वर्षअघि बैंकले आइएसओ सर्टिफिकेशन पाएको छ । बैंकले १७ डिसेम्बर २०२१ सम्मको लागि यो प्रमाणपत्र पाएको हो । बैंकको गुणस्तर व्यवस्थापन प्रणालीको लागि यस्तो प्रमाणपत्र दिइएको उल्लेख छ । महतो समूहको पकड बैंकको अध्यक्षमा डा. विरेन्द्र महतो छन् भने प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा छन् । महतो समूहको बैंकमा २५ प्रतिशतभन्दा धेरै र पूर्व अध्यक्ष सूर्यबहादुर केसीलगायतको समूहको १५.३३ प्रतिशतभन्दा बढी सेयर लगानी छ । औसत १६ प्रतिशतको लाभांश बैंकले विगत ५ वर्षमा बार्षिक औसत १६ प्रतिशत लाभांश दिएको छ । गत आवमा नाफापछि बैंकले ५ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश दिएको हो । वित्तीय अवस्था बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा ८२ करोड ९१ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको यही अवधिको तुलनामा बैंकको नाफा ५.१८ प्रतिशतले बढी हो । पहिलो त्रैमाशको तुलनामा भने बैंकको नाफा १८ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । बैंकले पहिलो त्रैमाशसम्ममा ३७ करोड ६० लाख नाफा गरेकोमा दोस्रो त्रैमाशको तीन महिनामा ४४ करोड ५८ लाख गरेको थियो । बैंकले हालसम्मको नाफाको आधारमा लगानीकर्तालाई ६० करोड ६३ लाख रुपैयाँ वितरण गर्न सक्छ । यो भनेको चुक्ता पुँजीको आधारमा ७.१६ प्रतिशत हो । सेयर प्रिमियमको रुपमा बैंकसँग ३ करोड ८ लाख छ । यो सहित लाभांश क्षमता ७.५३ प्रतिशत रहेको देखिन्छ । बैंकको सञ्चित तथा जगेडा कोषमा २ अर्ब ६६ करोड रुपैयाँ रकम छ । बैंकलाई पुँजी केही सस्तो पर्न थालेको कोष लागतमा भएको सामान्य कमीले देखाउछ । कोष लागत ७.९८ प्रतिशतबाट घटेर ७.६४ मा सिमित भएको छ । यद्यपि ५ अर्ब ६८ करोड ब्याज आम्दानी गरेको बैंकको खुद व्याज आम्दानीमा पनि १७ प्रतिशतले वृद्धि भएर १ अर्ब ९८ करोड पुगेको छ । बैंकको व्याज खर्च ३ अर्ब ६९ करोड छ । खराब कर्जाको दरमा सीमान्त दरमा बढेको बैंकले खराब कर्जाको आधारमा सो रकमको २ सय ७९ प्रतिशत रकम राखेको छ । बैंकले ५६ प्रतिशतले प्रावधान रकम वृद्धि गरेर १७ करोड राखेको छ । निक्षेप प्राथमिक पुँजीको आधारमा कर्जा लगानी अनुपात ७८.७२ छ । बैंकसँग थप लगानीको लागि मार्जिन कम नै छ । बैंकको प्रतिसेयर आम्दानी १९.४३ प्रतिशत, मूल्य आम्दानी अनुपात ११.७८ प्रतिशत र प्रतिसेयर नेटवर्थ १ सय ३३ प्रतिशत छ । केही महिनाअघि बैंकले इक्रा नेपालबाट ऋणपत्रको रेटिङ समेत गरेको छ । बैंकले ए माइनस रेटिङ पाएको थियो । इक्रा नेपालका अनुसार बैंकका केही पक्षहरु यी हुन्ः –३/४ वर्ष यता खुद व्याज मार्जिन ३.५ प्रतिशत –आवधिक निक्षेप उच्च, बजारमा रहेको तरलता समस्याबाट केही राहत –निक्षेप संरचना मध्यम किसिमको (सस्तो लागतको निक्षेप ३४ प्रतिशत, समग्र क्षेत्रको यस्तो औसत निक्षेप ४१ प्रतिशत छ) –निक्षेप र कर्जा केन्द्रीकरण (प्रमूख २० ग्राहकमा निक्षेप २३ प्रतिशत, कर्जा २२ प्रतिशत लगानी) –भाका नाघेका कर्जाको दर बढ्दो क्रममा, भाका पुगेको कर्जा ४ महिनामा ५ प्रतिशतबाट बढेर ७.५ प्रतिशत –समग्र वाणिज्य बैंकहरुमा मध्यमस्तरको खेलाडी (बजार हिस्सामा बैंकको निक्षेप ३.०२ प्रतिशत र कर्जा ३.२३ प्रतिशत) प्राविधिक विश्लेषण बैंकको सेयर मूल्यले एक वर्षयता २ सय ७८ को उच्च विन्दु बनाएको छ । सो बिन्दुबाट घटेर २ सय १३ को न्युनसम्म पुगेको मूल्य फर्किएर २ सय ४० रुपैयाँसम्म आएको छ । यसले हालसम्म सो उच्च विन्दुबाट ४१ प्रतिशतको रिट्रेस गरेको देखाउँछ । हालै ३८ प्रतिशतको रिटे«स पार गरेकोले यसमा ठूलो प्रतिरोध भने देखिदैन । रिटे«समेन्टमा २३, ३८, ६० र ७८ को विन्दुलाई प्रतिरोधको विन्दु पनि मानिन्छ । बैंकको सेयरमा खासै उतार चढाव छैन । एक वर्षमा ७३ रुपैयाँको मूल्य अन्तरमा तल माथि गरिरहेको छ । बैंकको सो अवधिको स्ट्याण्डर्ड डेभिएसन ०.२२ (२२) छ । बैंकिङ समूहको गत अप्रिल ८ यता सूचकको स्टेयाण्डर्ड डेभिएसन ४० हुँदा सोही अवधिको यस बैंकको २० छ । समूह सूचकभन्दा यसमा कम उतार चढाव देखिन्छ । मूल्य केही सातादेखि कारोबारको सन्तुलिन क्षेत्रमा रहेको १४ दिने आरएसआई सुचकले देखाइरहेको छ । आरएसआईको स्केल ६० मा आएको छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ । वित्तीय विवरण प्रकाशन भएयता बैंकको सेयर मूल्य झिनो रुपमा भएपनि वृद्धिको दिशामा छ । हुन त पछिल्लो समय सेयर बजारमा उत्साह नै थपिएको आभास मिल्छ । रेखाचित्रको आधारमा केहीदिन अघि मात्र बैंकको सेयर मूल्यले डब्लु आकृति बनाएर बढ्न लागेको संकेत गरेको छ । हालै सिम्पल मुभिङ एभरेज रेखा नजिकिएका छन् । तर ७ दिने रेखा नै २१ दिने रेखा माथि छ । यद्यपि ध्यान दिनुपर्ने देखिन्छ । पीभट विश्लेषणले भने अब बजार बढ्ने क्रममा नै रहे एक महिनामा २ सय ५१ मा पहिलो प्रतिरोध र घट्ने क्रममा रहे २ सय २५ मा पहिलो टेवा पाउने देखाउँछ । बैंकको सेयर मूल्यले अन्तिम दुई दिनमा पहिलो दिन सानो सेतो मैनवत्ति र अन्तिम दिन कालो मैनवत्ति बनाएको छ । यसले मूल्य घट्न सक्ने संकेत देखाइरहेको छ । यद्यपि यो दरिलो संकेत देखिदैन । लगानीको लागि आगामी दिनको कारोबार हेर्नु उपयुक्त हुन्छ । सम्बन्धित सामग्री ६ महिनामा माछापुच्छ्रे बैंकको नाफा ८३ करोड रुपैयाँ

नेप्से १२ अंकले घट्दा साढे एक अर्बको कारोबार, दुई कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

काठमाडौं । मंगलबारको नेप्से परिसूचक १२.०९ अंकले घटेको छ । बजार खुलेदेखि उतारचढाव देखिएको बजारमा काराेबार बन्द हुँदा परिसूचक ०.९० प्रतिशतले घटेर १३३७ अंकमा झरेकाे छ । दिनभरको बजारमा कूल एक अर्ब ५७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कूल १७६ कम्पनीको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार गर्नेमा बीमा कम्पनीहरु अग्रस्थानमा रहेका छन् । सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनीको १० करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, दोश्रो र तेश्रो स्थानमा नेको इन्स्योरेन्स कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यी कम्पनीको क्रमशः ६ करोड १३ लाख र ४ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन् । दोहोरो अंकले ओरालो लागेको बजारमा दुई कम्पनीका सेयरधनीले ९ प्रतिशतभन्दा बढी कमाएका छन् ।सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा बढी अर्थात ९.९९ प्रतिशत कमाएका छन् । त्यस्तै, दिब्यश्वरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.६२ प्रतिशतले बढेको छ । बजारमा चार समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ७६ अंकले घटेको छ । होटल ७४, माइक्रोफाइनान्स २२, हाइड्रोपावर १६, बैंकिङ १३ र उत्पादनमूलक ११ अंकले घटेका छन् । सबैभन्दा निर्जीवन बीमा समूह २८ अंकले बढेको छ । विकास बैंक, फाइनान्स र अन्य समूह सामान्य अंकले बढेका छन् ।