सेयर लगानीका लागि सस्तोमा ऋण दिँदै नबिल बैंक, व्याजदर ७.७५ प्रतिशत मात्रै
काठमाडौं । नबिल बैंकले दोश्रो बजारमा सेयर लगानीका लागि सस्तोमा ऋण दिने भएको छ । बैंकले वार्षिक ७.७५ प्रतिशतको आकर्षक ब्याजदरमा लगानीकर्ताहरुलाई सेयर कर्जा दिने भएको हाे । यससँगै लगानीकर्ताले नेप्सेमा कारोबार हुने सेयरहरु धितो राखी नबिल बैंकबाट ५० लाख रुपैयाँ अथवा सोभन्दा बढीको सस्तो ब्याजदरमा सजिलै सेयर धितो कर्जा पाउने भएका छन् । यससँगै, लगानीकर्ताले नेपाल राष्ट्र बैंकको मार्गनिर्देशन भित्र रही नबिल बैंकको जुनसुकै शाखाहरुबाट सेयर धितो कर्जा पाउन सक्ने बैंकले जानकारी गराएकाे छ । हाल बैंककाे ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको हो ।
जनरल इन्स्योरेन्सको आईपीओः पहिलो दिनमै मागभन्दा बढी आवेदन, कतिले भरे ?
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले जारी गरेको प्राथमिक सेयर(आईपीओ)मा पहिलो दिन नै मागभन्दा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक एनआईबीएलएस क्यापिटलका अनुसार साँझ ५ बजेसम्ममा ९५ हजार ८ सय ५० जना आवेदकले ३१ लाख ८७ हजार ५ सय सेयरको लागि आवेदन दिएका छन् । जुन संस्थाले माग गरेको भन्दा १.१६ गुणा बढी हो । मेराे सेयरकाे सफ्टवेयरमा समस्या आउँदा पनि कम्पनीकाे सेयरमा मागभन्दा बढी आवेदन परेकाे हाे । कम्पनीले आइतबार (असोज ११ गते) बाट ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्रीमा राखेको हो । कूल ३० लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । उक्त सेयरमा आवेदन दिन पिन कोड अनिवार्य चाहिने भएको छ । जनरल इन्स्योरेन्सको आईपीओ भर्न पिन कोड अनिवार्य चाहिने, कसरी लिने ? आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असोज १४ गते बैंकिङ समय पश्चात हुने छ । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ । कम्पनीको लेखा परिक्षण हुन बाँकी रहेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/२०७७ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १०४.०२ रुपैयाँ र प्रतिसेयर आम्दानी २.२५ रुपैयाँ रहेको छ । जुन चालु आव २०७७/२०७८ मा बढाएर क्रमशः ११५.९ रुपैयाँ र १७.३८ रुपैयाँ पुर्याउने कम्पनीको प्रक्षेपण रहेको छ ।
मेरो सेयरमा समस्या देखिएपछि लगानीकर्ताले सेयर भर्न पाएनन्, प्रवक्ता भन्छन्ः करिब आधा घण्टामा समाधान हुन्छ
काठमाडौं । सीडीएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको ‘मेरो सेयर’मा आइतबार प्राविधिक समस्या देखिएको छ । आइतबार बिहानैदेखि उक्त साइट लगइन गर्नमा नै समस्या देखिएकाे हाे । सेयर आवेदन दिनेमा समस्या आएको र उक्त समस्याको समाधान हुन लागेको संस्थाका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् । ‘बिहान देखि नै सेयर आवेदन दिनेमा समस्या देखिएको छ । प्राविधिक साथीहरुले हेर्दैहुनु हुन्छ । त्यसको समाधान हुँदैछ । लगभग आधा घण्टामा उक्त समस्याको समाधान हुन्छ ।’- प्रवक्ता न्यौपानेले भने । उक्त साइटमा समस्या देखिएसँगै लगानीकर्ताले जनरल इन्स्योरेन्स कम्पनी नेपालको आईपीओमा आवेदन दिन पाएका छैनन् । यसका साथै, दोश्रो बजारमा कारोबार गर्ने लगानीकर्ताले इडीआईएस देखि सेयर ट्रान्सफर लगायतका मेरो सेयर मार्फत हुने कामहरु गर्न पाएका छैनन् । आईपीओ निष्काशनकाे समयमा लगानीकर्ताकाे बढी चाप हुने भएकाले साइटमा बढी समस्या आउने गरेकाे संस्थाले जनाएकाे छ । थप समाचारः जनरल इन्स्योरेन्सको आईपीओ खुल्यो, अधिकतम १० हजार कित्तासम्म भर्न पाइने